केही दिनभित्र पार्टी एकताको बाँकी काम पूरा हुन्छ -प्रचण्ड

केही दिनभित्र पार्टी एकताको बाँकी काम पूरा हुन्छ -प्रचण्ड

लोकसंवाद संवाददाता  |  समाचार  |  फाल्गुन १, २०७५

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी एकताको बाँकी काम केही दिनमा हुन सक्ने बताउनुभएको छ।  आज पार्टी मुख्यालय धुूम्रबाराहीमा आयोजित ‘जनआन्दोलन र जनयुद्धका सहिदप्रति श्रद्धाञ्जलि’ सभामा उहाँले पार्टी एकताका बाँकी कामलाई टुङ्ग्याएर राष्ट्रव्यापी अभियानमा लाग्ने बताउनुभयो ।

उहाँले सहिदप्रति श्रद्धाञ्जलि कार्यक्रमले पार्टी एकतामा थप ऊर्जा  प्राप्त गर्ने अवसर रहेको बताउनुभयो । ‘कार्यकर्तामा पार्टी एकता जनसंगठनको एकता ढिलो भइरहेको बेला के होला कसो होला भनेर चिन्ता
बेलाबेलामा प्रकट हुने गर्दथ्यो,’ उहाँले भन्नुभयो, ‘अब हामी पार्टी एकता केही दिनभित्र पूरा गर्न लागिरहेका छौँ । केही दिनभित्र पार्टी एकता र जनसंगठनको एकतालाई टुङ्ग्याएर एउटा राष्ट्रव्यापी अभियानमा अगाडि बढ्ने छौँ ।’ उहाँले पार्टी एकता सफल पार्न एकरदुई जना नेताले मात्र नभएर सबै नेता, कार्यकर्ता लाग्नुपर्नेसमेत धारणा राख्नुभयो ।वैचारिक र राजनीतिकरूपमा नयाँ चरणमा पार्टी प्रवेश गरेको उल्लेख गर्दै उहाँले भावनात्मक रुपमा अलगअलग धारमा अगाडि बढेका नेता, कार्यकर्तालाई यस्ता कार्यक्रमले एक ठाउँमा ल्याउने बताउनुभयो ।

जेठ ३ र फागुन १ गतेलाई वैचारिक राजनीतिक एकतालाई सुदृढ गर्ने र हामीभित्र सांगठनिक भावनात्मक एकतालाई मजदुत बनाउने अवसरको रुपमा लिनुपर्ने उहाँको भनाइ रहेको बताउनुभयो । उहाँले सबै राजनीतिक दलको सहमति र सहकार्यबाट मुलुकलाई छिटोभन्दा छिटो विकासका राम्रा काम गरेर जनताको सपना पूरा गर्नुपर्ने बताउनुभयो ।

पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष दाहालले एकताबद्ध हुन नसकेका कम्युनिस्टलाई पनि अहिलेको पार्टी एकतामा गोलबद्ध हुन आग्रह गर्नुभयो । उहाँले कम्युनिस्ट समूहलाई मात्र नभएर नेपाली काङ्ग्रेस र मधेस केन्द्रित सबै पार्टी विकास र समृद्धिको एजेण्डामा सहकार्य गरौँ भन्दै नेपाली जनताले राजनीतिक स्थिरताका लागि निकै ठूलो बलिदान गरेको हुनाले अब एक भएर विकास र समृद्धि यात्रामा अगाडि बढ्न आह्वानसमेत गर्नुभयो । कार्यक्रममा नेकपामा महासचिव विष्णु पौडेलले संविधानमार्फत् समाजवादको  आधारशिला निर्माण गरेकाले सहिदको सपना पूरा गर्न समाजवाद ल्याउने
बताउनुभयो ।

कार्यक्रममा जनयुद्ध र सुखानीमा शहीदप्रति अध्यक्ष दाहालसहित महासचिव पौडेल, स्थायी कमिटी सदस्य सुभाष नेम्बाङ, भीम रावलले श्रद्धाञ्जलि व्यक्त गर्नुभएको खबर राससमा छ ।