ती दिनहरू अब कहिले फर्कलान् र !

ती दिनहरू अब कहिले फर्कलान् र !

हरिविनोद अधिकारी  |  दृष्टिकोण  |  आश्विन १७, २०७६

या देवी सर्वभूतेषु शान्तिरूपेण संस्थिता ।
नमस्तस्यै नमस्तस्यै नमस्तस्यै नमोनमः ।

(सबै प्राणीमा शान्ति रूपमा अवस्थित माता दुर्गालाई मेरो नमस्कार, नमस्कार, नमस्कार छ । सबैमा शान्ति होस् ।)

दशैँ हामी नेपालीहरूको विशेष चाड हो नै । साँच्चै दशैँलाई हिन्दुहरूले मात्र मनाउँदैनन् नेपालमा, बौद्ध धर्मावलम्बीहरूले पनि मनाउँछन् । अर्थात् नेपालमा यो राष्ट्रिय चाडको रूपमा मनाइन्छ ।

अचेल त नेपाली इस्लामहरूले पनि दशैँलाई खुसीको र खानपिनको चाडको रूपमा मनाउन थालेका छन् । जस्तो कि इद हिन्दुहरूले पनि इस्लामहरू सँगै बसेर अल्लाहका नाममा आराधना गर्दै उनीहरूसँगै खानपिन गर्ने गर्छन् ।

हुनत यो पर्वको आफ्नै अध्यात्मिक महत्त्व छ । यो पर्व हिन्दुहरूकै हो हुनत । नवदुर्गाको आशीर्वाद पाउनका लागि र  मनोवाञ्छित विजय प्राप्तिका लागि भगवतीको आराधना गर्ने अनि आप्mनो मनोकाङ्क्षा पूरा गर्नका लागि दुर्गा भवानीको आशीर्वाद लिएर कार्यसिद्धि गर्नका लागि अभियान चलाउने भनेर नै शारदीय समयमा देवीको आराधना गर्ने चलन पहिलेदेखि नै रहेछ । भगवान पुरुषोत्तम श्रीरामले महावली रावणलाई पराजित गर्नका लागि नवदुर्गाको आराधना गर्नुभयो । त्यही कारणले उहाँले विजय प्राप्त गर्नुभएको भनिन्छ । खासगरी दशमीका दिन पाती प्रसाद ग्रहण गरेपछि सिद्धि प्राप्त हुने भनेर नै विजया दशमीको साइतमा टीकाटालो लगाउने प्रचलन नेपालमा मात्र अझै देखिन्छ ।

वसन्त ऋतु र शरद ऋतुमा नवदुर्गाका विभिन्न रूपलाई पूजा अर्चना गर्ने र आशीर्वाद लिने चलन भएकाले नेपालमा चैते दशैँ र वडादशैँ भनेर मानिन्छ । चैते दशैँभित्र नै रामनवमी पनि पर्छ । चैतमा यसरी धुमधामसँग चाडको रूपमा नमनाए पनि दशैँको झझल्को मानेर खानपिन अष्टमीका दिन गरिन्छ तर राम नवमीमा ब्रत बस्ने र फलाहार गर्नेहरूका कारणले दशैँमा जस्तो मासु खाने चलन हुँदैन । र, पनि चैते दशैँको रूपमा मनाइन्छ नै ।

कुरो देवीको आराधना भए पनि नेपालमा दशैँमा सबैभन्दा बढी सबैका लागि सार्वजनिक बिदा दिइन्छ र टाढाटाढा गएका परिवारजनहरूको मिलन तथा पुनर्मिलन गरिने समयको रूपमा लिइन्छ । पहिले जस्तो गाउँगाउँमा अहिले रौनक छैन भन्छन् किनभने या त युवाहरू खाडीमा गएका छन् या कुनै न कुनै बाहिरको देशमा गएकै छन् । पिङ खेल्ने, मासु खाने, घरमा मान्यजनबाट टीका लगाएपछि माइत, मावल, ससुराल जाने चलन अझै पनि छ किनभने मान्यजन जहाँजहाँ छन्, त्यहाँत्यहाँ जाने हो टीका लगाउन । त्यही टीका हो, जुन देवीको प्रसादको रूपमा चढाइएको चामलको लगाउनुपर्छ, त्यही टालो हो, जुन देवीलाई चढाएर प्रसादको रूपमा राखिएको हुन्छ । फूलको सट्टा जमरा लगाउने त दशैँको विशेषता नै हो । पहेँला जमरा, निधारमा रातो टीका लगाउने चाड नै त हो दशैँ ।

दशैँले पुराना यादहरू ताजा पार्छन् । म सिन्धुली ग्वाल्टारको बासिन्दा । भन्छन्, हामी काभ्रेको दाप्चाबाट हैबार हुँदै देउरालीटारबाट ग्वाल्टार पुगेका हौँ रे ! मेरा बुढा हजुरबा नै ग्वाल्टारमा जन्मिनुभएको भन्छन् । मसहित मेरा भाइहरू हिमालय, शम्भु, श्री र तारिणी अनि बहिनीहरू मुना र जगदम्बा हामी सबै नै ग्वाल्टारमा नै जन्मिएका हौँ । मेरा पनि कान्छी छोरी अर्चना र कान्छो छोरो पुलकित ग्वाल्टारमा जन्मिएका होइनन्, अरू सिद्धि, करुणा र अरूणाचाहिँ ग्वाल्टारमा नै जन्मिएका हुन् ।

प्रसंग दशैँको । बा आमाहरू हुनुहुन्थ्यो । टीका त बाको हातबाट पहिला लगाउने हो । मेरा बाहरू तीन भाइ हुनुहुन्थ्यो । मेरा बा जेठो  रामप्रसाद उपाध्याय, माहिला बा कृष्णप्रसाद उपाध्याय र कान्छा बा कमलाकान्त उपाध्याय गरी तीन जना हुनुहुन्थ्यो । कान्छा बा २०२४ सालमा नै स्वर्गीय हुनुभयो भने माहिला बा २०३८ सालमा स्वर्गीय हुनुभयो । मेरा बाचाहिँ २०६१ भदौ ३१ ग्ते स्वर्गीय हुनुभयो ।

फुपूहरू तीन जना हुनुहुन्थ्यो । माहिली फुपूलाई मैले देखिनँ तर ठूली फुपू अर्थात् ठूली दिदी पछिसम्म पनि हुुनुहुन्थ्यो । कान्छी दिदी अझै नै हुनुहुन्छ चन्द्र निगाहपुरमा । ठूली दिदीको घर नाङ्गेडाँडा सिन्धुलीमा थियो । भिनाजु अर्थात् फुपाजु हुनुहुन्थ्यो अत्यन्त हक्की स्वभावका, गाउँमा मुखिया । सबैले मानेका । भान्दाजुहरू हुुनुहुन्थ्यो तीन जना । धेरैजसो माइला भान्दाजु दशैँमा टीका लगाउन आउनुहुन्थ्यो । रुद्र भान्दाइ । अध्यात्मिक चेतनशील व्यक्तित्व हुनुहुन्थ्यो उहाँ । ठूला भान्दाइ धेरैजसो नै विराटनगरतिर बस्नुहुन्थ्यो । कहिलेकाहीँ मात्र मावल आउनुहुन्थ्यो । कान्छा भान्दाइ पहिले पहिले त आउनुहुन्थ्यो जब उहाँ जागिरे हुनुभयो अनि उहाँको दर्शैँैमा आउने क्रम पातलियो ।

माहिली दिदीका छोराहरू जनक दाइ, लोकु दाइ र भुवन दाइ सामान्यतः प्रत्येक दशैँमा आउनुहुन्थ्यो र रमाइलो हुन्थ्यो । कान्छी दिदी नजिकै हुनुहुन्थ्यो र भान्दाइ, भानिज भाइ, दिदी बहिनीहरू दशैँमा आउँदा घरै रमाइलो हुन्थ्यो । हामी पनि मावल जान्थ्यौँ पगरबास, रामेछाप । दशैँको रौनक भनेको खानपिन र भेटघाट मात्र होइन, दशैँमा पिङ तान्ने खेल पनि रमाइलो हुन्थ्यो । हाम्रो गाउँलाई दुई भागमा विभाजित गरी दुई समूहले पिङ तानिन्थ्यो ।

मेरा माहिला बा, कान्छा बा, कार्की बा, माझी दाइको टोली जता लाग्छ, त्यही टोलीले जित्छ भनिन्थ्यो । सौभाग्यवश, त्यो टोली हाम्रै गाउँको पश्चिम भागमा पथ्र्यो र सधैँजसो हामीले जित्थ्यौँ । यदि माझी दाइ आउनुभएको रहेनछ भने हामी केटाकेटीहरू उहाँको घरमा गएर बोलाएर ल्याउँथ्यौँ– ‘बाले बोलाउनुभएको छ, छिट्टै आउनु रे’ भनेर किनभने हामीलाई त्यो ‘टग अफ वार’ जित्नु थियो । जितिन्थ्यो । अब ती दिनहरू कता गए कता ?

अनि म्युजिकल चेयर खेलिन्थ्यो । त्यति मात्र होइन, हामी युवाहरूले बाहिर सिकेका कुराहरूलाई गाउँमा सिकाउनु पनि थियो र ती नयाँनयाँ खेलहरू प्रयोग गथ्र्यौं र त्यसको अभ्यासका लागि सुरुवात गथ्र्यौं । वास्तवमा शिक्षाको एउटा त्यो अपरिहार्य गुण थियो, जानेका कुरा जसरी हुन्छ अरूमा सार्ने । दशैँ त्यसका लागि अत्यन्त सुहाउने समय हुन्थ्यो किनभने प्रायः सबैतिरबाट मानिसहरू जम्मा हुन्थे दशैँमा । अझ कलकत्ते बा हुुनुहुन्थ्यो, उहाँले त घप्पु खेलाएर मनोरञ्जन दिलाउनुहुन्थ्यो । त्यो वास्तवमा जुवाको एउटा स्वरूप रहेछ तर उहाँ केटाकेटीको पैसा जिते लैजाओस्, हारे फिर्ता दिनुहुन्थ्यो । फगत मनोरञ्जनका लागि घप्पु खेलाउनुहुन्थ्यो ।

घप्पुमा छवटा चिह्न हुन्थे, त्यहाँ पैसा राख्यो । त्यो चिह्न परे पैसा पाइयो थपेर, नभए मथ्र्यो । एक प्रकारको जुवा नै हो तर हामीलाई त्यो एउटा फगत मनोरञ्जन थियो । १ पैसा, २ पैसा, प्वाली परेको ४ पैसा, हात भएको ५ पैसा, १० पैसे ढ्याक, २० पैसा, २५ पैसा, ५० पैसा र १ रुपैयाँको मुद्रा, यिनै थिए थाप्ने पनि मार्ने पनि मर्ने पनि ।

पूर्णिमाको रात भएकाले कहिले त नृत्य निरन्तर गरिन्थ्यो मादलको तालमा पनि । कोही पिङ खेलिरहेका हुन्थे । कोही बल्लबल्ल भेटिएका आफन्त तथा पल्लो गाउँका मानिसहरूसँग गफिएका हुन्थे किनभने गाउँमा रिहर्सलमै धेरै कुरा थाहा हुन्थ्यो नाटकमा के छ भनेर, कसले नाच्दै छ भनेर र कसले कमिकमा के देखाउँछ भनेर ।

प्रायः दशैँमा सबैसँग पैसा हुन्थ्यो किनभने टीका लगाएर पैसा आउँथ्यो मावल, बुढा मावलबाट । छोरीहरूका लागि त दशैँ दक्षिणाको मौसम नै थियो । आमाहरू रौसिएर छोरीहरूलाई बढीभन्दा बढी पैसा दिने अनि छोरीहरूलाई उचालेर घप्पुमा हामी लैजाने । कति रमाइलो । आहा ! ती दिन अब कसरी फर्केलान् र ? 

मैले सबै कुरा प्रतीकात्मक रूपमा के भन्न खोजेको भने हिजोका दिनमा दशैँ अध्यात्मिक रूपमा देवीको आराधना मात्र होइन कि आपसमा भेटघाट र चिनजानको एउटा आधार पनि थियो । रमाइलो गर्ने मौसम थियो । स्कुलमा नाटक लाग्थ्यो पूर्णिमाका दिन, कोजाग्रत पूर्णिमाका दिन, किनभने हाम्रो कौशिका प्राथमिक विद्यालयको स्थापना दिवस त्यही दिनलाई मानिएको छ । त्यो दिन नाटक लाग्थ्यो– समाजिक कुरीतिका विरुद्धमा जनजागरण जस्तै गरी । सानासाना बालबालिकाहरूको स्वतस्फूर्त क्षमताको अभिव्यक्ति पनि थियो त्यो । बाहिरबाट आउनेले नयाँनयाँ गीत र कला सिकेर सिकाउँथे, त्यही बेला नै त्यसको अभ्यास गरिन्थ्यो ।

कमिक सबैले मनपराउँथे अनि नाटकको करिब १० दृश्यका बीचमा नृत्य, प्रहसन, विभिन्न क्षमता प्रदर्शन गरिन्थ्यो । खासगरी उद्घोषकले बारम्बार अब कसको के आउँछ भनेर माइकमा फुक्थे तर सुनिँदैनथ्यो किनभने गाउँमा मानिसहरू धमाधम आउँथे र बस्ने ठाउँको खोजीमा चिनेका परिवारका मानिसहरूसँग बस्थे अनि हल्ला बढी हुन्थ्यो । कोही हल्ला नै गर्थे किनभने सुनिँदैनथ्यो परबाट ।

हार्मोनियमको बाजा, मादलको ध्वनि अनि सस्वर गाइने गीतले एकातिर आवाज पुग्दैनथ्यो, अर्कोतिर मैन्टोल बेलाबेलामा निभ्थ्यो अनि टर्चले किन थेग्नु ? अनि हल्ला हुन्थ्यो मैन्टोल नबनुन्जेलसम्म । कहिले जाली फुट्थ्यो, कहिले पुतलीले मैन्टोलेका जालीमा गएर आत्मदाह गर्थे र जाली फ्यास्स जान्थ्यो हामीलाई अप्ठ्यारो पार्दै ।

पूर्णिमाको रात भएकाले कहिले त नृत्य निरन्तर गरिन्थ्यो मादलको तालमा पनि । कोही पिङ खेलिरहेका हुन्थे । कोही बल्लबल्ल भेटिएका आफन्त तथा पल्लो गाउँका मानिसहरूसँग गफिएका हुन्थे किनभने गाउँमा रिहर्सलमै धेरै कुरा थाहा हुन्थ्यो नाटकमा के छ भनेर, कसले नाच्दै छ भनेर र कसले कमिकमा के देखाउँछ भनेर ।

दशैँमा हामीलाई अरू कुराको खासै महत्त्व थिएन, थियो त नयाँ लुगा लगाउन पाउने रमाइलो । हाईस्कुलमा गएपछि त त्यस्तो भएन किनभने जहिले पनि नयाँ लुगा लाउन पाइने हुन्थ्यो । सानैमा त गाउँको दमाईं दाइले लुगा छेक्दा पनि लाएजस्तो हुने । झन् नयाँ लुगा सिएर लाउन पाएको दिन त के कुरा गर्नु ? संसार नै जितेको जस्तो लाग्थ्यो ।

अहिले बाआमा हुनुहुन्न मेरा । म जस्ता मेरो उमेरका धेरैका बाआमा अब हुनुहुन्न । त्यस्तो कसैको पनि नहोस् भन्यो तर हुनेरहेछ । पहिले हामीलाई पनि लाग्थ्यो मेरा बा आमालाई चाहिँ केही हुँदैन । तर, एक दिन उहाँहरू पनि हामीलाई छोडेर सदाका लागि जानुभयो । सबैभन्दा बढी सम्झना दशैँमा नै हुन्छ । बाले साइतको टीका लगाउनका लागि घडी हेरेर बस्नुहुन्थ्यो र सबैभन्दा पहिला जेठो छोरोका रूपमा मलाई टीका लगाउनुहुन्थ्यो बा र आमाले । हजुरआमा हुन्जेलसम्म त बा माहिलाबाको घरमा गएर टीका लगाउनुहुन्थ्यो र हामी पनि बासँगै जान्थ्यौँ । बाले घरमा आएर टीका लगाएपछि उहाँहरूले यति धेरै आशीर्वाद दिनुहुन्थ्यो कि म अचम्म मानेर सुनिरहन्थेँ । वास्तवमा आफ्ना सन्तानको हित कुनचाहिँ बाबुआमाले चिताउँदैनन् र ?

हामी पालैसँग टीका लगाउने अनि माहिला बाको घरमा, कान्छाबाको घरमा जान्थ्यौँ । पालैसँग सबै घरमा सबै जना मिलेर टीका लगाउने चलनले परिवारमा एउटा एकताको भावना, अपनत्वको भावना अनि आफ्ना वर्षभरिका अनुभवहरूको विनिमय हुन्थ्यो ।

त्यो बेलामा हाम्रो गाउँ सिन्धुलीको ग्वाल्टारमा हाईस्कुल थिएन । कक्षा पाँच पढेपछि केही समय गाउँमा नै हाईस्कुल खोल्ने भनेर कक्षा छमा पढियो तर पछि स्कुल खुलेन र रामेछापमा कक्षा ८ मा पढ्न गएँ । कक्षा ९ र १० सिन्धुलीको कमला हाईस्कुलमा पढेँ । घरबाट बाहिर गएपछि बल्ल लामो बिदा र दशैँको विदाको महत्त्व थाहा भयो । स्कुल बिदा भएपछि घर कहिले पुगौँ हुन्थ्यो । दशैँमा हामीलाई अरू कुराको खासै महत्त्व थिएन, थियो त नयाँ लुगा लगाउन पाउने रमाइलो । हाईस्कुलमा गएपछि त त्यस्तो भएन किनभने जहिले पनि नयाँ लुगा लाउन पाइने हुन्थ्यो । सानैमा त गाउँको दमाईं दाइले लुगा छेक्दा पनि लाएजस्तो हुने । झन् नयाँ लुगा सिएर लाउन पाएको दिन त के कुरा गर्नु ? संसार नै जितेको जस्तो लाग्थ्यो ।

हाम्रो पसल थियो साझा । बुद्धिमान श्रेष्ठ दाइले बासँग मिलेर पसल चलाउनुभएकाले हाम्रा लागि प्रत्येक दशैँमा नयाँ लुगा बुद्धिमान दाइले नै ल्याइदिनुहुन्थ्यो । दशैँका लागि चाहिने सबै खालका मसला, लुगा दाइले नै दिनुहुन्थ्यो । साह्रै असल हुनुहुन्थ्यो उहाँ । साह्रै माया गर्नुहुन्थ्यो । उहाँका छोराहरू पछि जन्मिएकाले पनि होला, बालबालिकालाई असाध्यै माया गर्नुहुन्थ्यो । उमेर त मेरा बाको भन्दा पनि धेरै रहेछ तर त्यस्तो लाग्दैनथ्यो ।

हाम्रो घरमा अर्थात् हामी अधिकारीका घरमा फूलपातीका दिन बोको पूजा नगर्ने हुनाले होला, अष्टमीका दिन नै खसी मार हान्ने चलन थियो । अरू बराल, पोखरेल, थापा, कार्कीहरूका घरमा नवमीमा मार हान्ने चलन थियो । सायद फूलपातीमा बोको पूजा गरेर होला, नवमीमा मार हान्ने चलन थियो । हाम्रा घरमा अष्टमीमा मार हान्ने र दशमीमा बोको काट्ने चलन थियो । टीका लगाउनुभन्दा पहिले नै भीमसेनको पूजा गर्ने भन्थे । पछि त्यो चलन त्यसै हराएको थियो ।

गच्छेअनुसार दशैँ मनाउने चलन थियो तर अहिले दशैँ एउटा फगत खानपिन र भेटघाटको मेला भएको छ । रमाइलो त समयअनुसार फरक फरक भइसक्यो । जे होस्, अहिले पनि दशैँ भनेको आशीर्वाद र भेटघाटको पर्व बनेको छ ।

यही कामना गरौँ, विजया भवानी हामी सबैका लागि दाहिना होऊन् । हामीलाई रूप दिऊन्, जय दिऊन्, यश दिऊन् तर क्रोध, द्वेष र हिंसात्मक प्रवृत्तिको चाहिँ नाश गरून् । सबैको, मानव मात्रको कल्याण गरून् । सबैमा विजया दशमीको शुभकामना । दशैँ निरापद रूपमा सम्पन्न होस् ।