भरतपुर कारागारबाट पचास कैदी  भीमफेदीमा स्थानान्तरण

भरतपुर कारागारबाट पचास कैदी  भीमफेदीमा स्थानान्तरण

लोकसंवाद संवाददाता  |  अपराध  |  आश्विन १७, २०७६

चितवन । कारागार कार्यालय चितवनमा कैदीबन्दीको चाप बढेकाे भन्दै पचास  कैदीलाई स्थानान्तरण गरिएको छ ।

कार्यालयका प्रमुख कमलप्रसाद काफ्लेका अनुसार कार्यालयमा रहेका विभिन्न मुद्दामा कैद सजाय भोगिरहेका ५० जनालाई स्थानान्तरण गरी हेटौँडाको भीमफेदीमा पठाइएको छ।

कारागार व्यवस्थापन विभागसँगको सहकार्यमा कारागार कार्यालयबाट स्थानान्तरण गरी भीमफेदीमा पठाइएको हो । स्थानान्तरण गरिएकामा लागुऔषध मुद्दाका २४, जबरजस्ती करणीका ११, सवारी ज्यान मुद्दाका छ, ज्यान मार्ने उद्योगका दुई, चोरी मुद्दाका तीन, बहुविवाहका एक, हाहतियार मुद्दाका एक, कर्तव्य ज्यान मुद्दाका एक र जीउ मास्ने बेच्ने मुद्दाका एक जना रहेका छन् ।

 दुई सय ५५ पुरुष र २५ महिला कैदीबन्दीको क्षमता रहेको भरतपुर कारागारमा स्थानान्तरणपछि ७६२ कैदीबन्दी रहेका छन् । तीमध्ये ६८ महिला र ६९१ पुरुष कैदीबन्दी हुन् । कारागारमा आमासँगै तीन नाबालक समेत रहेका छन् ।