जुवा तासमा रुचि भएन, पिङ खेल्न भने ज्यादै मनपर्थ्यो
आश्विन १७, २०७६

चितवनको मध्यम कृषक परिवारमा जन्मिएको हुँ म । नेपालका अन्य भेगमा जस्तै तराईमा पनि हाम्रा महत्तवपूर्ण चाडपर्वहरू हर्षोल्लासपूर्वक नै मनाइन्छ । कृषकको दशैँ भने केही भिन्न हुन्छ, त्यो पनि तराईका कृषकको । किनभने यही बेला धान काट्ने समय हुन्छ । पानी कम चाहिने र पाखातिर हुने एक प्रकारको धान दशैँकै बेला काट्ने समय हुन्छ ।

दशैँमा लामो स्कुल बिदा त हुन्थ्यो तर दशैँ बिदाको रमाइलो गर्ने समय धान काट्न र ओसार्नमा नै बित्ने गर्थ्यो । यस्तो हुँदा रमाइलो कम र धान काट्नेको चटारो बढी पनि हुन्थ्यो ।

म शारीरिक श्रम गर्नमा अलिक पछि सर्ने स्वभावको छु । बाआमा र परिवारकै अपेक्षा सबै सदस्यले मिलेर घर, खेतका काम गरिदिए हुन्थ्यो भन्ने तर मलाई भने यस्तो काम गर्न मन नलाग्ने ।

दशैँ लाग्यो भनेपछि आमाहरू घरमा रङ लगाउन कमेरो र गेरु (रातो माटो) खोज्न जाने र ल्याएर घर त्यही सेतो, रातो माटोले पोत्ने गर्नुहुन्थ्यो । घरको चमक नै अर्कै हुन्थ्यो दशैँको बेलामा । दशैँमा नयाँ लुगा लगाउन पाइने भन्ने धेरैको आश हुने गरेको देखेको, सुनेको छु तर हाम्रोमा दशैँमा नयाँ लुगाको आश हुँदैनथ्यो । सायद अरू बेला पनि लुगाहरू किनिरहिएको भएर होला ।

दशैँ, तिहार जस्ता चाडपर्व हाम्रा सांस्कृतिक सम्पदा पनि हुन् । यिनको संरक्षण र सम्वद्र्धन गर्नु हाम्रो दायित्व हो, कर्तव्य हो । हामीले यस्ता हाम्रा मौलिक संस्कृति र चाडपर्वलाई भड्किलो हुन नदिई, सबै नेपालीले धान्न सक्नेगरी, स्वाभाविक भाइचारा र बन्धुत्वलाई महत्त्व दिँदै मनाउनुपर्छ जस्तो लाग्छ ।

दशैँमा अरूकहाँ जस्तै हामीकहाँ पनि खसी मार हान्ने चलन थियो र अझै छ । कुखुरा र अन्य मासु घरमा नचल्ने भएकाले खसी नै काट्ने गरिन्थ्यो ऊबेला पनि । दशैँमा खसी काटेर मस्तीसँग मासुका परिकार खाने भन्ने खुसीचाहिँ हुन्थ्यो ।

हाम्रो परिवार कास्कीबाट चितवन झरेको हो । कास्कीतिरका क्षेत्री बाहुनले दशैँको टीकाको दिन मात्र टीका लगाउने चलन थियो । अहिले पनि पश्चिमतिर कतिपय ठाउँमा यो चलन कायम छ । एक दिन मात्र दशैँको टीका लगाइने हुँदा आफन्तजनहरू पेखरातिर बिहान टीका लगाएर राती १२–१ बजेसम्म पनि हामीकहाँ टीका लगाउन आइरहनुहुन्थ्यो । त्यसबेला यातायातको सहज व्यवस्था थिएन । निकै मुस्किलले आफन्तहरू आउनुहुन्थ्यो ।

अहिले सम्झँदा ऊबेलाको जस्तो सामाजिक, पारिवारिक र सांस्कृतिक सद्भाव र सम्मान अहिले नभएको पो हो कि भन्ने पनि लाग्छ । त्यसरी धाएर आफूभन्दा अग्रज वा मान्यजनकहाँ दुःख कष्ट नभनी आशीर्वाद थाप्न जाने चलनमा अहिले कमी आएको हो कि भन्ने पनि लाग्छ । यसमा कतिपय अप्ठ्यारा र मान्छेका व्यावसायिक जीवनका बाध्यता पनि होलान् तर सामाजिक, पारिवारिक सद्भावमा भने कमी नआए हुन्थ्यो भन्ने लाग्छ ।

दशैँमा नवरात्रि सुरु भएपछि अर्कै मजा हुने । दुर्गा पूजा हुने गाउँघरमा । भजन हुने ।

दशैँ भन्नेवित्तिकै मासुलगायतका मीठामीठा परिकार खाने, नयाँ लुगा लगाउने, पिङ खेल्ने, आफन्तकहाँ घुम्न र भेटघाट गर्न जाने भन्ने हुन्छ । अझ रमाइलो त दशैँमा पैसा (दक्षिणा) कमाइन्छ भन्ने हुन्छ केटाकेटीमा । छोराहरूलाई मामाघरमा मात्र दक्षिणा आउँछ, छोरीचेलीलाई घर र मामाघर सबैतिरबाट दक्षिणा आउने । हामीभन्दा हाम्रा दिदीबहिनी बढी खुसी हुने दक्षिणाका मामलामा भने । तर पनि हामीले पनि मामाघरमा भने दक्षिणा पाउँथ्यौँ ।

मलाई जुवा तासमा कहिल्यै रुचि भएन । खेल्न जान्दिनँ पनि । तर, पिङ खेल्न भने ज्यादै मनपर्ने । कसले धेरै मच्चाउन सक्छ भनेर हाम्रो प्रतिस्पर्धा नै चल्थ्यो पिङमा ।

माथि उल्लेख गरिएको दशैँ म १९ वर्षको हुँदासम्मको हो । १९ वर्षको उमेरमा म पढ्नका लागि तत्कालीन सोभियत संघ गएँ । त्यहाँको पढाइका कारण र म त्यहाँ गएको केही समयपछिको सोभियत संघ विघटनको असरका कारण पनि ५–६ वटा दशैँमा म घर आउन सकिनँ । तर, त्यसपछिका हरेकजसो दशैँमा म नेपाल आफ्नै घरमा हुने गरेको छु ।

पढाइ सकेपछि म व्यापारतिर लागेँ । व्यापारकै सिलसिलामा विश्वका अनेक भूभागमा भए पनि दशैँका बेला भने म सधैँजसो नेपाल आइपुग्छु । पछिल्लो डेढ दशकयता हामीले एनआरएन सुरु गरेपछि पनि दशैँ र तिहारको सन्दर्भ पारेर नेपालमै सम्मेलन गर्ने योजना बनाएर काम गर्दै छौँ । यो पनि हामी विदेशमा रहेका नेपालीको भेट दशैँका बेला वर्षमा एक पटक भए पनि आफ्नै देशमा आफ्ना परिवार र आफन्तका साथ होस् भन्ने उद्देश्य पनि हो ।

पद्मश्री पुरस्कार, जसको अध्यक्ष म आफैँ छु, यसको वितरण पनि दशैँको कोजाग्रत पूर्णिमाकै दिन राखिएको छ । यसको आसय पनि दशैँका बेलामा म घरपरिवार र आफन्तसँगै रहन पाऊँ भन्ने हो ।

समग्रमा, दशैँ, तिहार जस्ता चाडपर्व हाम्रा सांस्कृतिक सम्पदा पनि हुन् । यिनको संरक्षण र सम्वर्द्धन गर्नु हाम्रो दायित्व हो, कर्तव्य हो । हामीले यस्ता हाम्रा मौलिक संस्कृति र चाडपर्वलाई भड्किलो हुन नदिई, सबै नेपालीले धान्न सक्नेगरी, स्वाभाविक भाइचारा र बन्धुत्वलाई महत्त्व दिँदै मनाउनुपर्छ जस्तो लाग्छ ।

(प्रसिद्ध व्यवसायी तथा साहित्यकार लामिछानेसँगको कुराकानीमा आधारित)


एनआरएनका पूर्वअध्यक्ष लामिछाने प्रसिद्ध व्यवसायी तथा साहित्यकार हुनुहुन्छ ।