तेस्रो आँखाः बेवारिसे ४५ मिनेट

तेस्रो आँखाः बेवारिसे ४५ मिनेट

तथागत मुनि  |  साहित्य  |  आश्विन १७, २०७६

एक

‘हामीलाई एक एक घण्टा प्लेन कुराएर मन्त्रीज्यू तपाईं कता मोज गर्दै हुनुहुन्थ्यो ?’, सडकका राजाले प्रश्न गरे ।

सडकका राजाको त्यस्तो कडा प्रश्न आएपछि मन्त्रीले उत्तर दिन सक्ने कुरै भएन । मन्त्रीजी चुपचाप बसे ।

मन्त्री नबोले पनि मन्त्रीका पक्षधर बोले– ‘मन्त्रीसँग बोल्ने तरिका यही हो ?’ 

‘हो, यही हो । के मन्त्रीलाई प्रश्न गर्न पाइँदैन गणतन्त्रमा ? म जनता हुँ यो देशको । जनता जान्न चाहन्छन्, हामीलाई घण्टौँ कुराएर मन्त्रीज्यू कता मोज गर्दै हुनुहुन्थ्यो ?’ 

‘के मन्त्रीजीले साँच्चै मोज नै गरी बसेर प्लेन कुराउनुभा’को हो ? यसको प्रमाण छ तपाईंसँग ?’ 

‘हो, मोज नै गरेको हो । मैले भनेपछि प्रमाण नै यही हो’, सडकका राजाले दलिल पेस गरे ।

विमानस्थलको यो संवाद बेलुका टिभीमा जस्ताको त्यस्तै सचित्र देखिएपछि अद्र्धदरबारका राजा खुसी भए । मैलेसमेत कुराउन नसकेको प्लेन गणतन्त्रका मन्त्रीले कुराउने ? आफूलाई अद्र्धदरबारको भित्तामा पुर्‍याउने मन्त्रीलाई नै भित्तामा पुर्‍याउने क्षमता राख्ने सडकका राजालाई अद्र्धदरबारका राजाले मनमनै धन्यवाद दिए । ‘क्यावात ! छोटे राजा ! सधैँ यस्तै काम गर्नू । तथास्तु !’, आशीर्वाद पाएका सडकका राजा दंग थिए । 

‘अभिव्यक्ति स्वतन्त्रताको उपभोग क्या त !’, छोटे राजाले मनमनै भने ।


दुई


प्लेन कुराएका विषयमा गणतन्त्रका मन्त्रीले माफी मागे । तर, एक घण्टाका लागि होइन, मात्र १५ मिनेटका लागि । मन्त्रीजीले भने– ‘मैले १५ मिनेट मात्र प्लेन कुराएको हुँ । के मैले १५ मिनेट पनि कुराउन नपाउने ? अनि १५ मिनेट कुराएकोमा म ४५ मिनेट थप बोनस किन लिऊँ ? माओले भनेका छन्– सित्तैमा जनताको सिन्का पनि नलिनू । म ४५÷४५ मिनेट सित्तैमा किन लिऊँ । त्यो पनि जनताको । मलाई मेरै १५ मिनेट भए पुग्छ । थप ४५ मिनेट नलिने पनि मेरो स्वतन्त्रता हो । त्यो ४५ मिनेट उनै सडकका राजा लिऊन्, जो अद्र्धदरबारका राजालाई पूर्ण दरबारमा विराजमान गराउन चाहन्छन् ।’ मन्त्रीले पनि यसरी मज्जाले अभिव्यक्ति स्वतन्त्रताको उपभोग गरे । 

तीन 


मन्त्रीको दाबी १५ मिनेटमा मात्र परेपछि त्यो ४५ मिनेट कता हाल्ने ? मन्त्री नलिने, राजा दिएरै छाड्ने । कुरो मिलेन । अलपत्र भयो । तर, सडकका राजा किन चुप लाग्थे ! अब सार्वजनिक रूपमा पत्रकार सम्मेलन गरेरै भए पनि मन्त्रीलाई ४५ मिनेट बोनस दिएरै छाड्ने प्रयासमा सडकराजा लागे । 

यो ४५ को हिसाब एउटा राजाले मात्र एक पक्षीय रूपमा मिलाएर कहाँ हुन्छ ? दुई पक्षीय बसेर मिलान हुनुपर्छ भन्ने नयाँ दर्शनको विकास भयो । अब मिनेटको हिसाबकिताब मिलान गर्न दार्शनिक लडाकुहरू खटिए । दार्शनिक लडाकुहरूले ४५ मिनेट मिलाउन त सकेनन् बरु सडकका राजालाई सम्मेलन गर्नचाहिँ रोके । रोके मात्र हो र ! झण्डैझण्डै ठोके पनि । बहादुर पुलिसले राजालाई हिरासततिर कोचेर ज्यान नजोगाइदिएको भए के हुन्थ्यो के ? स्वतन्त्रताको उपभोग प्रहरीले पनि मज्जाले ग¥यो । प्रहरीको काम नै कोच्ने त हो, गरोस् के ?

चार 


‘सडकका राजालाई प्रवेश निषेध ।’

एक जिल्लाको शक्तिशाली संगठनबाट यस्तो व्यहोराको प्रेमपत्र जारी भयो । ओहो ! प्रवेश निषेध ! त्यो पनि सडकका राजालाई । कतिलाई चाहिँ सुन्दा अचम्मको थियो प्रेमपत्र । पत्रमा राजा जिल्ला आएमा ‘प्रेमले ठोक्ने’ आशय थियो । सडकका राजालाई सडकमा सभा गर्न रोक्ने, जबर्जस्ती गर्न खोजे प्रेमले ठोक्ने अघोषित नीतिको घोषित रूप थियोप्रेमपत्र । ठोक नीतिलाई पूर्ण रूपमा कार्यान्वयन गर्ने अर्को नीति बन्यो । तर, राजा त्यो जिल्लातर्फ नगएकाले प्रवेश निषेध नामको महान् नीति कार्यान्वयन हुन पाएन । 

पाँच

सडकका नै किन नहुन्, राजा न परे । ४५ मिनेट भिडाएरै छोड्ने उनको सपनाले उनलाई चयनले सुत्न दिएन । अठोट कसे । एक जिल्लाबाट प्रेम निषेधपत्र जारी भो त के भो ? जिल्ला त ७७ छन् नि ! उनी निषेधित जिल्ला छाडेर अर्को जिल्ला हान्निए । तर, त्यहाँ पनि प्रेमपूर्वक ठोक्ने स्वतन्त्रता जागृत भयो । एकैछिनमा रामधुलाई ! सडक रणमैदान । अर्को घण्टामा हस्पिटलको बेड । तर, मन्त्रीजी र राजाबीचको ४५ मिनेट भने अझै बेवारिसे नै छ ।