हराउँदै गएकाे दशैँको मौलिकपन
आश्विन १७, २०७६

मेरो जन्म नै झापा जिल्लाको पनि दुर्गम जस्तै ठाउँ बाहुनडाँगीमा भयो । काँकडभिट्टाबाट पनि १८ किलोमिटरको दूरीमा छ यो गाउँ । हात्ती आतंक अर्को दुखद् समस्या हो यहाँको । मेरो गाउँमा आजभन्दा झण्डै छ दशकअघिको अवस्था कस्तो थियो होला ? सामान्य अनुमान सहजै लगाउन सकिन्छ । यद्यपि, मेरो परिवार आर्थिक रूपले सम्पन्न नै हो । प्रशस्त जग्गा जमिनका कारण खान लगाउनको खासै दुःख थिएन ।

मलाई म ५–६ वर्षको हुँदादेखिको सम्झना राम्रो छ । अझ दशैँ र तिहारको सम्झना गर्दा त निकै रमाइलो लाग्छ आज पनि ।

दशैँ आउने बेलामा स्कुल बिदा हुने त नेपालका सबै ठाउँमा हो । हाम्रो पनि दशैँ तिहार छुट्टी हुन्थ्यो । एकातिर छुट्टीपछिको फुक्काफाल अवस्था, अर्कातिर दशैँ तिहारको रमाइलोको रोमाञ्चक उत्साह, त्यसै प्रफुल्लित र उमंगित हुन्थ्यौँ ।

दशैँ आयो भन्नेवित्तिकै अब नयाँ लुगा लगाउन पाइने भयो भन्ने कुरा पहिलो उत्साहको विन्दु हुने गर्थ्यो । यसपछि क्रमशः मीठो खान पाउने, मामाघर जान पाउने, पिङ खेल्न पाइने आदि उत्साहका थप कारण बन्थे ।

घरमा एउटा ठूलो र लामो हतियार थियो, त्यसलाई कत्ती (कट्टी पनि) भन्थे । तरबार जस्तो हुन्थ्यो । त्यसको पूजा गरिन्थ्यो, नवदुर्गा पूजाकै क्रममा । पछि सप्तमी र अष्टमीमा त्यही कत्तीले खसी/बोका मार हानिन्थ्यो । हामी केटाकेटी मार हानेको हेर्न डराउँथ्यौँ, केटाकेटीले मार हानेको हेर्नुहुँदैन भन्ने गरिन्थ्यो पनि । सायद डराउँछन् भनेरै हो ।

हम्रो घरमा अष्टमीमा मात्र काटिन्थ्यो खसी तर मामाघरमा सप्तमीमै काट्ने चलन थियो । मामाघर नजिकै भएकाले त्यता गइन्थ्यो । खसी काटेर बनाउन (खुइल्याउन, भुँडी धुन, टाउको खुर्किन आदि) मलाई मन नलाग्ने तर खसीको कान पोलेर आन खुब मजा लाग्ने ।

दशैँको मासुको सन्दर्भमा एउटा अनौठो सम्झना छ । दशैँमा सप्तमी/अष्टमीमा काटेको खसीको मासु बोसोमा भुटेर राखिन्थ्यो । धेरै दिनसम्म रहने हुँदा र फ्रिजको चलन नभएकाले मासु अलिअलि गह्नाएको हुन्थ्यो । मलाईचाहिँ त्यही हल्का गह्नाएको मासु खुब मनपथ्र्यो । तर, खसीको बोसो निकालेर दलिनमा झुण्ड्याइन्थ्यो, त्योचाहिँ घीन लाग्थ्यो ।

दशैँको अर्को उत्साह पिङ पनि हो । हामीकहाँ लिङ्गे पिङ हाल्ने चलन थियो । मलाई पिङ खेल्दा रिङटा लाग्ने । आफू नखेले पनि अरू साथी भाइ र अग्रजले खेलेको हेर्न मज्जा हुन्थ्यो । कसले धेरै मच्चाउँछन् भनेर हेरिन्थ्यो र रमाइन्थ्यो । मेरी आमाले अरूबेला नखेले पनि टीकाको दिन भुइँ छाड्नुपर्छ भनेर पिङ खेल्नुहुन्थ्यो ।

त्यसबेलाको रमाइलो कुरा टीकाको साइतमा भरुवा बन्दुक पड्काउने चलन थियो । पछिपछि यो चलन हराउँदै गयो । बन्दुक पड्केको आवाज सुनेपछि अब टीकाको साइत भएछ भन्ने जानकारी हुन्थ्यो ।

साइतमा टीका लगाइन्थ्यो । हाम्रो घरमा रातो टीका, निधारको बीचमा लगाउने चलन थियो भने मामाघरमा सेतो टीका लगाइन्थ्यो, त्यो पनि निधारभरी । मलाई सेतो टीका निधारभरी लगाएर हिँड्न लाज लाग्थ्यो । सुरुसुरुमा त्यो टीका पुछ्थेँ तर पछि बुझ्ने भएपछि पुछ्न छाडेँ । मलाई लाग्छ– त्यसबेला मावलीहरू पाँचथरबाट भर्खर तराई झर्नुभएको थियो । रङ निकै मुस्किलले पाइने, अर्कातिर आर्थिक समस्या पनि थियो सायद ।

मेरा बुबा म पाँच वर्षको हुँदा बित्नुभएको । मलाई बुबाले टीका लगाइदिएको सम्झना छैन । बुबाको अनुहार भने मधुरो सम्झन्छु ।

दशैँमा रामलीला हुने गर्थ्यो गाउँमा । खै कताबाट रामलीला देखाउने टोली नै आउँथ्यो र केही दिन रामलीला देखाउँथ्यो अनि जान्थ्यो । खुबै रमाइलो हुन्थ्यो रामलीला हेर्न । अचेल त यो पनि हरायो ।

दशैँको अर्को उत्साह पिङ पनि हो । हामीकहाँ लिङ्गे पिङ हाल्ने चलन थियो । मलाई पिङ खेल्दा रिङटा लाग्ने । आफू नखेले पनि अरू साथी भाइ र अग्रजले खेलेको हेर्न मज्जा हुन्थ्यो । कसले धेरै मच्चाउँछन् भनेर हेरिन्थ्यो र रमाइन्थ्यो । मेरी आमाले अरूबेला नखेले पनि टीकाको दिन भुइँ छाड्नुपर्छ भनेर पिङ खेल्नुहुन्थ्यो ।

मेरी एक जना भान्जी थिइन्, उनी भने पिङ भनेपछि हुरुक्कै हुन्थिन् । यतिसम्म कि लडेर तिघ्राको छाला पिल्सिए पनि उनी मजाले रमाउँदै पिङ खेल्थिन् ।
दशैँ तिहारमा तास जुवा सामान्य मानिन्छ । अझ मेरो त बच्चैदेखि तास खेल्ने लत थियो । ५–६ कक्षामा पढ्दादेखि नै गाउँकै राई जेठ दाइले डाइस र घिर्नीसमेत खेलाउँथे हामी केटाकेटीलाई राखेर । दशैँमा तास र तिहारमा डाइस कति खेलियो, मलाई नै हेक्का छैन ।

यो तास खेल्ने लत डेढ दशकअघिसम्म पनि कायम रह्यो । हुँदाहुँदा तास खेलेकै कारण आईएस्सीको एउटा परीक्षा बिग्रिएको थियो मेरो । पछि लामो जागिरे जीवनमा पनि मेरो तास खेल्ने लत छुटेन । १४ वर्षदेखि भने मैले तास छोएको छैन ।

बच्चामा तासमा यति लत बसेको थियो कि म तास खेल्नकै लागि आमाको पैसा चोर्थें । १० रूपैयाँसम्म आमाको थैलीबाट निकालेको छु । यो कुरा बहिनीले थाहा पाउँथिन् र मलाई ‘आमालाई भन्दिन्छु’ भनेर ‘ब्ल्याकमेल’ गर्थिन् । म उनलाई ‘जितौरी’ दिएर फकाउँथेँ ।

पहिलेको दशैँ र अहिलेको दशैँमा निकै फरक छ भन्ने कुरा त माथि नै भनेका कुराबाटै पनि प्रस्ट हुन्छ । पहिले अरआफन्तकहाँ आशीर्वाद थाप्न जाने, सकेसम्म धेरै आफन्तकहाँ गएर सद्भाव साटासाट गर्ने चलन थियो तर अहिले त्यो निकै हराइसकेको छ । दशैँ तिहार सांस्कृतिक चाडपर्वभन्दा देखाउने अवसरका रूपमा विकसित भएका त होइनन् भन्ने पनि लाग्छ ।

खानपानमै पनि मौलिक कुराहरू कम हुन्छन् अहिले, रेडिमेडतिर गयौँ हामी । रामरमाइलो त अहिले अर्कै किसिमले भइरहेको छ, हिजोको जस्तो गाउँ, टोलभरका साथीभाइ, आफन्त मिलेर पिङ हाल्ने, रमाइलो गर्ने हराउँदै गयो । चतुर्दशीका दिनसम्म हाम्रा बाआमाको हात खाली हुँदैनथ्यो ऊबेला, अहिले द्वादशीतिरदेखि सुनसान हुन्छ, मान्छे आउन छाडे ।