प्रवासको दशैँ

प्रवासको दशैँ

गणेश घिमिरे  |  साहित्य  |  आश्विन १८, २०७६

जिन्दगीजत्तिकै कुनै प्रिय वस्तु पनि
कहिलेकाहीँ सबैभन्दा अप्रिय हुनेरहेछ 
जस्तो प्रवासको दशैँ ।

यहाँ गज्जब छु भन्ने हामी
प्रायस् जिन्दगी अन्योलमा बाँच्छौँ
खुला जेलमा बन्दी भएको एउटा विद्यार्थी
या, पैसाको लगाम लागेको कुनै धनाढ्य 
ज्यानलाई अलार्मको जिम्मा लगाएर बाँचेको
सुपरमार्केटको कर्मचारी
अथवा, डाँडाको जून भएको उत्तरार्द्ध जिन्दगी 
अनिँदोलाई ओछ्यानमै अल्झाएर
झिसमिसै भविष्य खोज्न निस्कन्छन्
र, दैनिक बेवारिस सपनाहरू बोकेर फर्कन्छन् ।

लाग्छ, प्रवासमा हामी नक्कल गरिरहेका छौँ ।

घरको एक कुनामा
सजिएर गजधुम्म बसेको नक्कली भगवान्
चिहानमाथि मुस्कुराइरहने सुगन्धहीन
प्लास्टिक फूल
युट्युबमा बजिरहने मालश्री धून
लाग्छ, त्यो पनि नक्कली हो
बरु दशैँ गाउँ पसेको खबर गर्ने
एउटा शास्त्रीय धून
ढिकीको आवाज
छिमेकी काकी, भाउजू र दिदीहरूका रहर
ती नक्कली हुँदैनथे ।  

सक्कली भगवान् त बा र आमा हुन्
तर यस पटक पनि फेरी लगाउने जोगीलाई
सिदामा थमाएको केही द्रव्यझैँ
बाआमाका नाममा थोरै डलर हुन्डी गरेर
सन्तान हुनुको कर्तव्य पूरा गर्दै
दशैँमा घर जाने कसम तोडियो ।

प्रवासमा
दैनिक घाम झुल्किन्छ
र, साँझ भित्र्याउन क्षितिजमा बिलाउँछ
उस्तै लाग्ने हावा, पानी र माटो
फरक सभ्यता बोकेर उभिएका छन्
दशैँ मेला भर्ने घुइँचोको रमिता
ड्रोनबाट देखिँदैन
नयाँ नोटको अनुहार हेर्न
राष्ट्र बैंकमा घन्टौँ लाइन बस्नुपर्दैन
न त कमेरोका लागि पत्थरको छातीमा
छिनो चलाउनु नै पर्छ
श्रीमतीको माइत जाने चटारो झेल्नुपर्दैन
र, मावलीले बाटोमा
आँखा ओछ्याएर बसेका भेटिँदैनन् ।

यी सबै जीवित पलहरूलाई नोस्टाल्जियाको
कुनै अँध्यारो कोठामा थोपरेर
एउटा अर्धमुर्छित मस्तिष्क 
जूनसँग प्रकाश भएर पनि आफ्नो नभएजस्तो
दशैँ आएर पनि प्रवासमा खासै अर्थ देख्दैन ।

गन्तव्य खोज्न परदेशिएकाहरू
गन्तव्य टाढिएपछि
बाटोभन्दा यात्रा लामो देखेर
घर फर्कने तालिका बिगार्दारहेछन् ।

अचेल युद्धमा फसेको बन्दुकको कठोर मन जस्तै
समय सुनामी भएर हिँड्छ
जब चाडबाड बोकेर मौसम भुइँ ओर्लिन्छन्
नआउनुपर्ने बेला दशैँ याद बनेर आउँछ ।

खुसी मरेको प्रमाणपत्रसहित
आउन त
हरेक वर्ष
प्रवासमा पनि दशैँ आउँछ ।