त्यो बेलाको मेरो दशैँ र जिम्मुवालकहाँ टीका थाप्न जाने परम्परा

त्यो बेलाको मेरो दशैँ र जिम्मुवालकहाँ टीका थाप्न जाने परम्परा

चक्रपाणि नेपाल  |  अन्तर्मन्थन  |  आश्विन १७, २०७६

मेरो बाल्यकालमा दशैँको सुरुवात कुशेऔँसीका दिनबाट हुन्थ्यो । कुशेऔँसी भनेको पितृहरूलाई श्राद्धासुमन अर्पण गर्ने दिन हो । त्यस दिन हामी दशैँमा लिङ्गे पिङमा प्रयोग हुने लठारोलाई आवश्यक पर्ने बाबियो काट्न अक्करको भिरमा जान्थ्यौँ । त्यस दिन काटेको बाबियोबाट बनाएको पिङको लठारोबाट पितृहरूको आशीर्वाद प्राप्त हुने हुँदा पिङ खेल्दा कुनै दुर्घटना हुँदैन भन्ने विश्वास थियो ।

यसरी सुरु भएको दशैँ जब नवरात्र सुरु हुन्थ्यो, ऋण, धन गरेर परिवारका मूली (बुबा) दुई दिन पैदल हिँडेर लत्ता, कपडा, जिरा, मसला तथा नुन, तेल खरिद गर्न धरान झर्थे । धरानबाट दशैँलाई आवश्यक पर्ने सम्पूर्ण सामानहरू बोकेर घरमा पुगेको साँझ हामी भुराहरूका लागि एउटा छुट्टै खुसीको माहोल तयार हुन्थ्यो ।

त्यस्ता खुसीमध्ये सबैभन्दा महत्त्वपूर्ण दशैँमा नयाँ कपडा लगाउने हुन्थ्यो किनकि त्यो जमानामा नयाँ कपडा लगाउनका निम्ति दशैँ कहिले आउला भनेर दिन गन्ती गथ्र्यौं । जसै नयाँ कपडा घरमा आइपुग्थ्यो, त्यसको भोलिपल्ट बिहानै दमाईंकहाँ सिउनका निम्ति पुर्‍याउँथ्यौँ । गाउँभरिका मानिसका नयाँ कपडा सिउन त्यसबेलाका गाउँका दमाईं दिनरात नभनीकन कल चलाउँथे । त्यो पनि आजको जस्तो होइन, हाते कल मात्र हुन्थ्यो ।

कपडा सिउने दमाईंलाई बालीको दमाईं भनिन्थ्यो । त्यो भनेको वर्ष दिनभरि कपडा सिएवापत दमाईंले निश्चित मात्रामा धान, मकै तथा गहुँ लिन्थे । मेरो परिवारको दमाईं कुवाँपानीका ठूले दमाईं थिए । उनलाई खुसी पारेर कपडा सिलाई सबैभन्दा पहिला गाउँमा नयाँ कपडा लगाएर घुमफिर गर्दा मेरो प्रतिष्ठा नै उच्च किसिमको हुन्थ्यो । त्यसका लागि म कुवाँपानीको हाँगेको घरबाट एक माना कोदाको रक्सी लगेर ठूले दमाईंलाई सुटुक्क दिन्थेँ । त्यति गरेपछि उनले मलाई सबैभन्दा पहिला कपडा सिलाइदिन्थे । मेरा दौँतरी साथीहरू भने मैले गरेको चलाखीले गर्दा धेरै आरिस मात्रै गर्थे ।

आजको दशैँमा न त रोटे पिङ नै कहीँ हालेर खेलिन्छ, न मारुनी नाच नाचेर कम्मर नै मर्काइन्छ । आज हाम्रा परम्परागत चाडवाडमा मनाइने राम रमाइलो सबै लोप भइसकेका छन् । प्रविधिको विकासले गर्दा आजको पुस्ता त्यसैमा रमेको छ ।

दशैँको सबैभन्दा रमाइलो पक्ष भनेको पिङ खेल्ने नै थियो त्यो बेला । मेरो गाउँमा एउटा जिमिगाउँको चौतारामा रोटे र लिङ्गे पिङ हाल्ने गरिन्थ्यो । अर्को जागिर गाउँको कोट घडेरीमा र तेस्रो कुँडुले गाउँको दमाईं चौताराको चौरमा हालिन्थ्यो । हामी भुराहरूलाई दमाईं चौतारको पिङ नजिक भएको हुँदा त्यहाँ नै हाम्रो दशैँका रातहरू व्यतीत हुन्थे ।
ठूला वर पीपलको घुमाउने चौतारोको नजिकमा रहेको पिङ खेल्न र खेलाउनका लागि गाउँका बालबालिका, युवायुवती मात्र होइन, बुढापाकाहरू पनि घरैबाट राडी, गुन्द्री र हुक्का, चिलिमसमेत लिएर चौतारामा बस्थे ।

नलीवाला गुडगुडे हुक्कामा तमाखु तान्दै युवाहरूलाई पिङ खेल्ने र खेलाउने व्यवस्था मिलाउँथे । त्यहाँ पिङ खेल्ने सँगसँगै रमाइलो नाचगान हुन्थ्यो । एकातिर नेवारहरू, अर्कोतिर मगर र राईहरूको बसोवास भएको हुँदा उनीहरूले आआफ्नै पुर्खादेखि चलिआएको नाच नाचेर रातभर रमाइलो गर्थे । त्यसमा मारुनी नाच सबैभन्दा आकर्षक र रमाइलो हुन्थ्यो । मारुनी नाचको आकर्षण सोर्‍याङे साइँलोले बजाएको मादलको तालमा त्यहाँ उपस्थित सबै कम्मर नमर्काउने कोही हुँदैन थिए ।

यसरी दशैँको फूलपातीको रातीदेखि पूर्णिमाको रातीसम्म सबै रात हाम्रो पिङ डाँडामा नै बित्थ्यो । कहिलेकाहीँ त एक अर्को गाउँका युवाहरूको आपसी मनमुटावका कारणले रोटे पिङ उखेलेर उनीहरू आफ्नो गाउँमा लगेर हाल्थे पनि । पछि स्थानीय भद्रभलाद्मीहरूले यस्ता विषयलाई आपसमा मेलमिलाप गराउँथे ।

यो त भयो पिङको रमाइलो पक्ष । दशैँको टीकाको दिन आफ्ना घरमा टीका जमरा लगाउने काम सकिएपछि दिनको १२–१ बजेतिर स्थानीय जिम्मुवालकहाँ टीका थाप्न जाने परम्परा थियो । त्यो भनेको हामी किपट क्षेत्रमा बसोवास गर्ने र त्यो किपट जग्गाको मालिक भनेको स्थानीय जिम्मुवाल हुन्थे । त्यसले गर्दा आफ्नो जग्गाको मालिकलाई दशैँमा श्रद्धा र सम्मान व्यक्त गर्नका लागि चार माने ठेकीमा एक ठेकी दही, एक काँगियो केरा, अष्टमीका दिन बलि दिएको बोकाको एउटा साँप्रो र केही अक्षता जमारा लिएर जानुपर्दथ्याे । जिम्मुवालले आफूलाई सम्मान गर्न आएकोमा खुसी भएर हामीलाई टीका जमरा लगाइदिएर दही–चिउरा–केराले स्वागत गर्थे । जिम्मुवालकहाँ टीकाटाला सकेर उनको घर नजिकै हालेको पिङ खेल्दा आफ्नो गाउँको पिङ खेल्दा आउने आनन्दभन्दा त्यहाँ बेग्दै आनन्द भएको अनुभूति हुन्थ्यो ।

तर, यही जुनीमा आजको दशैँ–तिहार जस्ता चाडवाडमा देखिने रौनकले म जस्ता पुराना पुस्ताको नागरिकलाई भने खासै असर परेजस्तो अनुभव हुँदैन । आजको दशैँमा न त रोटे पिङ नै कहीँ हालेर खेलिन्छ, न मारुनी नाच नाचेर कम्मर नै मर्काइन्छ । आज हाम्रा परम्परागत चाडवाडमा मनाइने राम रमाइलो सबै लोप भइसकेका छन् । प्रविधिको विकासले गर्दा आजको पुस्ता त्यसैमा रमेको छ ।