मायालु डाँडामा प्रेमिल माहोल

मायालु डाँडामा प्रेमिल माहोल

लोकसंवाद संवाददाता  |  समाज  |  फाल्गुन २, २०७५

म्याग्दी । भ्यालेन्टाइन डे अर्थात् प्रणय दिवसका दिन जिल्लाको पर्यटकीयस्थल मायालु डाँडा (लभ्ली हिल)मा प्रेमिल माहोल देखिन थालेको छ । 

सदरमुकाम बेनी बजारदेखि नजिकै बेनी नगरपालिका–२ खबरामा अवस्थित मायालु डाँडामा आज युवायुवतीको भीड लागेको हो । सदरमुकाम बेनीबजारदेखि करिब आधा घण्टाको दूरीमा रहेको उक्त डाँडामा केही दिनयता युवायुवती आउने क्रम उल्लेख्य बढेको स्थानीय चन्द्रबहादुर कार्कीले बताउनुभयो । उहाँका अनुसार पछिल्लो समय छिमेकी जिल्लासँगै विदेशी पर्यटक पनि यहाँ आउने गरेका छन् । 

विगतमा खाजाका विभिन्न परिकार बोकेर आउने युवायुवती भ्यालेन्टाइनडे को माहोल सुरु भएपछि गुलाब र विभिन्न जातका फूलसमेत लिएर एकापसमा साटासाट गरेका दृश्य देखिने गरेको लम्भी हिल हरितपार्क निर्माण समिति अध्यक्ष हरिलाल घिमिरेले जानकारी दिनुभयो । ‘यहाँ आउने युवायुवतीको सङ्ख्या बढेसँगै कृषिउपज र फलफूलको पनि व्यापार बढेको छ,’ उहाँले भन्नुभयो । 

मायालु डाँडामा रेलिङ, गोलघर, खाजाघरलगायतका पूर्वाधार निर्माण गरिएपछि पर्यटकको आकर्षण बढ्दै गएको हो । साविकको ज्यामरुककोट गाविसमा पर्ने खबरा गाउँ नजिकै रहेको ‘खाराको डाँडो’ अहिले मायालु डाँडामय बन्न पुगेको छ । 

मायालु डाँडाको डिलबाट सुन्दर र आकर्षक देखिने बेनीबजारलाई पिठ्युँमा पारेर फोटो खिच्नेहरूको ओइरो नै लाग्ने गरको छ । 

त्यहाँबाट चारैतिरको दृश्य अवलोकन गर्न सकिने र गर्मीयाममा शीतलताको खोजीमा मानिस आउने गरेको स्थानीयवासीले बताए । पहिले केही सीमित मानिस पुग्ने ठाउँ पछिल्लोपटक मायालु डाँडामा परिणत भएपछि समूह–समूह बनाएर दैनिक युवापुस्ताको भिड लाग्ने गरेको छ । अन्य बेलासमेत त्यहाँ मानिसको उपस्थिति देखिन्छ भने बिदा र शनिबारको दिनमा त झनै भीडै लाग्ने गरेको छ । प्रायः कलेज पढ्ने उमेरका युवायुवती मायालु डाँडामा देखिन्छन् । 

प्रवासी म्याग्देलीलाई साझेदार बनाएर नयाँ अवधारणाअनुसार हाँडेभीर–बेनी जोड्ने म्याग्दी नदीको पुल नजिकैबाट पदमार्ग निर्माण थालिएको छ । पदमार्ग निर्माण भएपछि मायालु डाँडामा पुख्ने आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्या तीन गुणाले बढ्ने अपेक्षा गरिएको वडा नं २ का वडाध्यक्ष हीराबहादुर थापाले बताउनुभयो । 

म्याग्दी भ्रमण वर्ष २०७५ को अवसर पारेर सरकारी निकाय, निजी क्षेत्र र प्रवासी म्याग्देलीको संयुक्त साझेदारीमा पर्यटन पूर्वाधार योजनाअन्तर्गत पदमार्ग निर्माण गर्न लागिएको म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष उत्तमकुमार कर्माचार्यले जानकारी दिनुभयोे । ५७ लाख, आठ हजार, २६० रूपैयाँको लागत अनुमान गरिएको पदमार्ग निर्माणमा बेनी नगरपालिका, मोना र उद्योग वाणिज्य संघले क्रमशः ५०, ४० र १० प्रतिशत लगानी गर्ने गरी यसअघि नै समझदारीपत्रमा हस्ताक्षरसमेत गरिसकिएको छ । 

बेनीदेखि आधा घन्टाको दूरीमा रहेको मायालु डाँडाबाट बेनीबजार, गलेश्वर, पौलस्त्य आश्रम, पुलाचौर, भकिम्लीको स्वर्गाश्रम, पर्वत बेनी र मल्लाजलगायत क्षेत्र देख्न सकिन्छ । 

यसैगरी म्याग्दी जिल्लाको अधिकांश भू–भागका साथै उत्तरी पर्वतको जलजला गाउँपालिकासहित संसारको सातौँ अग्लो चुचुरो धौलागिरि, अन्नपूर्ण हिमाल तथा सूर्योदय र सूर्यास्तका साथै बेनी बजार आसपासका क्षेत्रबाट बग्ने म्याग्दी र कालीगण्डकी नदीको बहावलगायत आकर्षक दृष्य अवलोकन गर्न सकिन्छ । 

केही वर्षयता दैनिकजसो समूह बनाएर घुम्न जाने मायालु डाँडालाई आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा पर्नेगरी पर्यटकीय गन्तव्य बनाउनुपर्ने जिल्लाका पर्यटन व्यवसायीले माग गरेका छन् । त्यहाँ पुग्नका लागि पदमार्ग, रेष्टुराँ, भ्यूटावर, स्वीमिङ पुललगायत बालबालिकादेखि वृद्धवृद्धासम्मलाई रमाउनेस्थलका रुपमा स्थापित गर्नसके पर्यटन व्यवसायसमेत फस्टाउने बताइन्छ । 

मायालु डाँडामा आव २०७३÷७४ मा पर्यटन कार्यालय पोखरा, बेनी नगरपालिकाको आर्थिक सहयोग र स्थानीयवासीको श्रमदानमा भौतिक पूर्वाधारको विस्तार गरिएको लभ्लीहिल पर्यटन पूर्वाधार विकास उपभोक्ता समितिले जनाएको छ । 

साँघुरो बेनी बजारमा युवायुवती र वृद्धवृद्धाका लागि रमाउने र आराम गर्ने ठाउँको अभाव खड्किरहेको अवस्थामा मायालु डाँडामा भौतिक पूर्वाधार निर्माणसँगै उचित वातावरणको व्यवस्था गर्न सक्ने हो भने यहाँ आन्तरिक तथा बाह्य पर्यटकको आगमनमा वृद्धि हुने स्थानीयवासी बताउँछन् । 

कृषि गाउँको रुपमा परिचित खबरा र प्राकृतिक दृश्यावलोकनका लागि अति उपयुक्त स्थान मायालु डाँडामा ‘भ्यालेन्टाइन डे’ का अवसरमा मात्रै होइन सधैँभरि पर्यटकलाई आकर्षित गर्ने उद्देश्यले यहाँ हरित पार्क निर्माण गर्न लागिएको समितिका अध्यक्ष ध्रुवराज कार्कीको भनाइ थियो । 

हरितपार्क निर्माणसँगै विभिन्न सभा र सम्मलेलनका लागि उपयुक्त हुने सभाहलसमेत बनाउने योजनाबमोजिम नगरपालिकासँग समन्वय भइरहेको र सहयोगी अन्य संस्थाको पनि खोजी भइरहेको उहाँले जानकारी दिनुभएको खबर राससमा ध्रुवसागर शर्माले लेख्नुभएको छ ।