दुरा समुदायले दशैंको अष्टमीका दिन ख्यामा राख्ने प्रचलन

दुरा समुदायले दशैंको अष्टमीका दिन  ख्यामा राख्ने प्रचलन

लोकबहादुर दुरा  |  दृष्टिकोण  |  आश्विन १८, २०७६

दुरा समुदायमा बडा दशैं पनि मनाउने गरेको पाइन्छ । यो समुदायले दशैंमा गर्ने मुख्य कार्य आफ्नो मरेका पितृहरुलाई पूजा गर्नु हो । दशैंको अष्टमीको साँझमा तमाम पित्रलाई स्मरण गरिन्छ । दुरा समुदायमा कसै कसैले सप्तमीको दिनमा पनि ख्यामा राख्ने चलन छ । दिवंगत परिवारलाई सम्झने पूजालाई ख्यामा भनिन्छ । ख्यामाको अर्थ खोज्दा र यसको विश्लेषण गर्दा यस्तो देखिन्छः ख्या=मृतक पुरुष, मा= मृतक स्त्री । यसले दिवंगत परिवारजन र अग्रजको स्मरण गर्ने कुरालाई संकेत गरेको देखिन्छ । ख्यामा राख्ने वा पूजा गर्ने घरमुलीले एक छाक खान छोड्दछ । पूजा बेलुकी गरिन्छ अगेनाको नजिक फैंसा भन्ने ठाउँ हुन्छ, जुन स्थान अगेनाको सतह भन्दा केही अग्लो हुन्छ त्यही ठाउँ मात्रै सधैं ख्यामा पूजा गरिन्छ । अघि पछि पनि ख्यामा पूजा गर्ने ठाउँ अथवा फैसमा बेलुकाको खाना पछि सफा सुघर गरेर प्रत्येक दिन पितृको लागि भनेर पानी राख्ने चलन छ, जुन ठाउँ सफा राख्ने गर्दछ  । पितृ खुसी भई भलो गर्छन् भन्ने मान्यता छ ।

ख्यामाको पूजा विधि अघि बढाउँदा परिवारका दिवंगत सदस्यले जीवनकालमा मन पराएका परिकार फैंसामा राख्ने गरिन्छ । जस्तैः रोटी (ढाप्रै) घुमाउने चाम्लो फलफूल, माछा (भएसम्म असला नभए अन्य माछा) मासु, तरकारी, जाँड, रक्सी, चामल, आदि राखिन्छ । साथै उँखु र अदुवा जरासहितको रुख दुबो, फूल, एक अम्खोरा पानी, नगद आदि पनि राखिन्छ ।

ख्यामाको पूजा विधि अघि बढाउँदा परिवारका दिवंगत सदस्यले जीवनकालमा मन पराएका परिकार फैंसामा राख्ने गरिन्छ । जस्तैः रोटी (ढाप्रै) घुमाउने चाम्लो फलफूल, माछा (भएसम्म असला नभए अन्य माछा) मासु, तरकारी, जाँड, रक्सी, चामल, आदि राखिन्छ । साथै उँखु र अदुवा जरासहितको रुख दुबो, फूल, एक अम्खोरा पानी, नगद आदि पनि राखिन्छ ।

यी सामाग्री राख्नुभन्दा अघि फैंसामा लिपपोत गरेर त्यसमा केराको पात राखिन्छ । त्यसमाथि उल्लेखित सबै चिजबिजहरु केराकै टपरी दुनामा राख्ने गरिन्छ । बत्ती, धुप बाल्ने हाल्ने, आफ्नो पितृलाई आफूले चढाएको परिकार सान अक्रोध गर्ने, पितृले आफूलाई सुखदिन र प्रगतिको लागि आर्शिवाद दिनु भनि अनुरोध गर्ने गर्दछ । त्यस पछाडि फैसामा राखिएका पूजा सामाग्रीलाई केराको पातले राम्ररी छोप्नु पर्दछ । ख्यामा पूजामा केराको पात मात्र प्रयोग गर्नु पर्दछ । पितृलाई अनि पुनः बिदाइ गर्दै धुप बालेर पूजा सएिको जानकारी गराउँछ ।

भोलिपल्ट अर्थात् नवमीको दिन ख्यामा राख्ने व्यक्तिले नुहाई धुवाई गरी आफूले गरेको पूजामा कुनै गल्ती तथा अभाव भएको भए पितृसँग माफ माग्दै पूजा समापन गरिन्छ ।

फैंसामा राखिएका ख्यामा सामाग्री उठाउन विवाहित दिदीबहिनी वा छोरी आउनु पर्दछ । अन्यले उठाउन हुँदैन । ख्यामा राख्ने परिवारजनले त्यहाँ राखिएका परिकार खान हुँदैन । ख्यामा उठाइसकेपछि राखिएका फूलहरु र  घरमाथि छानोमा फाल्नु पर्दछ । भुँइमा फाल्नु हुँदैन भन्ने मान्यता छ ।