तलेजु भवानीको बाहन सेतो घोडाजात्रा सम्पन्न

तलेजु भवानीको बाहन सेतो घोडाजात्रा सम्पन्न

लोकसंवाद संवाददाता  |  पर्यटन  |  आश्विन २२, २०७६

भक्तपुर ।  प्रत्येक वर्ष दशैँको टीकाको दिन राति मनाइने भक्तपुर तलेजु भवानीको बाहन सेतो घोडाजात्रा मध्यरातिबाट शुरु भएर २०७६ असाेज २२ गते बिहान सम्पन्न भएको छ । 

विजयादशमीको राति तलेजु भवानीमा तलेजुका चार मूल नाइके आचाजु, जोशी र राजोपाध्यायबाट तान्त्रिक विधिअनुरुप कालरात्रि पूजा, टीका साइत पूजा र विसर्जन पूजा सम्पन्न गरेपछि मध्यरातिबाट सेतोघोडा जात्रा शुरु भएको परम्परा रहेको तलेजुका मूल नाइके नरेन्द्रप्रसाद जोशीले बताउनुभयो । 

जात्रा शुरु हुनुअघि सेतो घोडालाई एउटा भेडा बलि चढाएपछि घोडाजात्रा भक्तपुर नगरमा डुलाएको जोशीले बताउनुभयो । दशमीको राति वर्षमा एकदिन चन्द्रमासको गतिअनुसार तलेजु र नवदुर्गा भवानीसहित खड्ग जात्रा (पायो जात्रा) गरेर नगर परिक्रमा गराई जात्रा मनाएको उहाँले जानकारी दिनुभयो । 

मूल नाइके जोशीका अनुसार महिषासुर दानवमाथि विजय हासिल गरेपछि तलेजुले आफ्नो बाहन सेतो घोडामा सिँगारिएर तलेजु भवानी खुशियाली मनाउन नगर परिक्रमा गरेको भन्ने जनविश्वासअनुसार यो जात्रा मनाउने गरिन्छ । 

 राति तलेजुको मूल चोकबाट सेतो घोडालाई बाहिर ल्याइसकेपछि भक्तपुर नगरको तल्लो दरबार क्षेत्रबाट भार्वाचो, वंशगोपाल, भूजिकोखा, नारायणचोकसम्म र माथिल्लो दरबार क्षेत्रबाट दत्तात्रय, तौमढी हुँदै नारायणचोकसम्म घुमाइ जात्रा सम्पन्न गरिएको छ । जात्राको क्रममा राति दरबार क्षेत्रस्थित पशुपतिनाथ मन्दिर अगाडि घोडानाच देखाइ तीनपटक दगुराएर बिहान करीब ३ बजे घोडाजात्रा सम्पन भएको जोशीले बताउनुभयो ।