गाईपालनबाट मासिक पैतिस हजार

गाईपालनबाट मासिक पैतिस हजार

लोकसंवाद संवाददाता  |  कारोबार  |  फाल्गुन २, २०७५

पाल्पा । सात वर्षअगाडि निकै कष्टसँग जीवन गुजारा चलाउन बाध्य रामपुर नगरपालिका–६ बस्ने विष्णुदेवी गैरेलाई अहिले गाईपालन व्यवसाय अर्थोपार्जनको माध्यम बनेको छ । 

व्यवसायका लागि आफन्त, साथीभाइले ऋण नपत्याएपछि उहाँले लालपुर्जा बैंकमा धितो राखेर सात वर्षअघि ८० हजार रूपैयाँमा गाईपालन सुरु गर्नुभएको हो । त्यतिबेला उहाँले ‘होलस्टिन’ र ‘जर्सी’ जातका गाई किनेर व्यवासय सुरु गर्नुभएको थियो ।  

अहिले उहाँको फार्ममा ६–६ माउ गाई र कोरली बाच्छी छन् । ‘चार गाई ब्याउने छन् । अहिले दुई दुहुना गाईबाट ३० देखि ३५ लिटरसम्म दुध उत्पादन भइरहेको छ,’ गैरेले भन्नुभयो । दुध बिक्रीबाट खर्च कटाएर मासिक ३५ हजार रूपैयाँ आम्दानी हुने उहाँले बताउनुभयो । 

दुध बिक्रीका लागि बजार सहज भएकाले पनि व्यवसायमा हौसला झन बढ्दै गएको उहाँले बताउनुभयो । उहाँका अनुसार प्रतिलिटर ५५ रूपैयाँमा दुध बिक्री भइरहेको छ । ‘आयस्रोत नहुँदा पहिला निकै दुःख थियो । गाईपालन व्यवसाय चलाएपछि अहिले दिनहुँ हातमा दाम परिरहेको छ,’ उहाँले भन्नुभयो । गैरे जिल्लामै नमुना गाईफार्म सञ्चालन गर्ने एक अगुवा महिला कृषक हुनुहुन्छ । 

उहाँले गाईपालन व्यवसायमा अहिलेसम्म १५ लाख रूपैयाँ लगानी गरिसक्नुभएको छ ।  यसै व्यवसायबाट पाँच जनाको परिवारको घर व्यवहार चलाउन र दुई छोरालाई उच्च शिक्षा पढाउन सजिलो भएको उहाँले बताउनुभयो । गोठको क्षेत्रफल बढाएर ५०/६० वटा सम्म गाई पाल्ने लक्ष्य रहेको उहाँले उल्लेख गर्नुभयो । मेहनत गरे सफलता निश्चित पाइने उहाँको भनाइ रहेको खबर राससमा छ ।