पाँच देशीय टी-ट्वान्टी : नेपाल र ओमान खेल्दै

पाँच देशीय टी-ट्वान्टी : नेपाल र ओमान खेल्दै

लोकसंवाद संवाददाता  |  खेलकुद  |  आश्विन २३, २०७६

ओमानमा जारी पाँच देशीय टी–ट्वान्टी सिरिजअन्तर्गतको अन्तिम खेलमा नेपालले बिहीवार ओमानसँग प्रतिस्पर्धा गर्दै छ । ओमानको अल अम्रेट क्रिकेट मैदानमा नेपालले विजय हासिल गर्ने उद्देश्यका साथ आयोजक ओमानको सामना गर्दै छ ।

खेल दिउँसो सवा ३ बजे सुरु हुनेछ । यसअघि तीन खेलमा नेपालले दुईमा जीत तथा एकमा हार व्योहोरेको छ । नेपालले पहिलो खेलमा हङकङलाई चार विकेटले पराजित गरेको थियो भने नेदरल्याण्ड्सलाई पनि समान चार विकेटले नै पराजित गरेको थियो । त्यस्तै, नेपाल आयरल्याण्डसँग १३ रनको झिनो अन्तरले पराजित भएको थियो ।

तालिकाको शीर्ष स्थानमा रहेको आयोजक ओमान भने नेपालमाथि जीत हात पार्दै सिरिज उपाधि कब्जा गर्ने दाउमा छ । यसअघि तीन खेल खेलेको ओमानले तीनै खेलमा जीत हासिल गरेको छ । ओमानले आयरल्याण्ड, हङकङ र नेदरल्याण्ड्सलाई पराजित गरेको थियो । प्रतियोगितामा छ अङ्क जोडेको ओमान अङ्क तालिकाको शीर्ष स्थानमा छ भने चार अङ्क जोडेको नेपाल तेस्रो स्थानमा छ ।

त्यस्तै, चार खेलमा तीन खेल जितेर छ अङ्क नै बटुुलेको आयरल्याण्ड रनरेटका आधारमा दोस्रो स्थानमा छ भने तीन खेलमा तीनवटै खेल हारेको नेदरल्याण्ड्स चौथो तथा हङकङ पाँचौँ स्थानमा छ । नेदरल्याण्ड्स र हङकङ अङ्कविहीन छन् ।

उक्त सिरिजअन्तर्गतको आजै हुने अर्को खेलमा हङकङ र नेदरल्याण्ड्स भिड्दै छन् । प्रतियोगितामा नेपालसहित ओमान, हङकङ, नेदरल्यान्डस् र आयरल्यान्ड सहभागी छन् ।