टर्कीद्वारा सिरियामा कुर्दिस बलविरुद्ध भीषण स्थल आक्रमण

टर्कीद्वारा सिरियामा कुर्दिस बलविरुद्ध भीषण स्थल आक्रमण

लोकसंवाद संवाददाता  |  विदेश  |  आश्विन २३, २०७६

उत्तरपूर्वी सिरियामा कुर्दिस लडाकुको नियन्त्रणमा रहेको इलाकामा टर्कीका सुरक्षाबलले भीषण स्थल आक्रमण गरेका छन् । टर्कीले उत्तरी सिरियामा हवाई हमला गरेको केही घण्टापछि स्थल आक्रमण सुरु गरेको छ ।

टर्कीका राष्ट्रपति रेसप तायिप एर्डोगानले यस सैन्य कारबाहीको उद्देश्य त्यहाँबाट कुर्द लडाकुहरूलाई हटाएर सिरियाली शरणार्थीका लागि सुरक्षित क्षेत्र निर्माण गर्नु रहेको बताउनु भएको छ । राष्ट्रपति ट्रम्पले उत्तरी सिरियाबाट आफ्नो फौज फिर्ता गरेको केही दिनमै टर्कीले कुर्द क्षेत्रमा हमला गरेको छ । अमेरिकाको उक्त कदमले टर्कीलाई आक्रमण गर्न बाटो खुलेको बताइएको छ ।

राष्ट्रपति रेसेप तायिप एर्डोगानले बुधवार ट्विटरमा आक्रमण सुरु गर्ने घोषणा गरेको लगत्तै कुर्द स्थानहरू लक्षित गर्दैै हवाई र त्यसपछि स्थल आक्रमण भएको थियो । यस आक्रमणका कारण हजारौँ सर्वसाधारण आफ्नो घर छाडेर भाग्न बाध्य भएका छन् । बुधवार टर्कीको सेनाले सीमा क्षेत्रमा रहेका कैयौँ सिरियाली नगरहरूमा हवाई हमला तथा गोलाबारी गरेका थिए ।

बुधवार अबेर टर्कीको फौजले तल अब्याद नगरमा स्थल आक्रमण गरेको छ । सो नगर कुर्द समूह वाईपीजीको नियन्त्रणमा थियो ।