बूढो हुन मन छैन, नभई नि धर छैन

बूढो हुन मन छैन, नभई नि धर छैन

निर्जला कक्षपति  |  दृष्टिकोण  |  आश्विन २४, २०७६

साँच्ची मानिसलाई बुढो हुन पटक्कै मन हुँदैन । मन नहुँदा नहुँदै पनि उमेर ढल्किँदै गएपछि  मानिस बुढो भएरै जान्छ । आज गयो आफ्नै दिन, भोलि गयो आफ्नै दिन तर मानिसले बिर्सन्छ कि उमेर ढल्कँदै गएपछि आफ्नो मिति पुग्दै जाने गर्छ । बुढो भएपछि मानिसको शक्ति क्रमश: घट्दै जान्छ, आफ्नो शरीर र खानपानमा ध्यान नदिए मानिसको शरीरमा रोग लाग्न सक्छ । मुख्यत: आफूसँग शक्ति नभएपछि अरूले हेप्लान् कि भन्ने डरले मानिसलाई बुढो हुन मन लाग्दैन । 

हामीले चाहेर पनि वा नचाहेर पनि हामी एक दिन अवश्य बुढो हुनै पर्छ । त्यसैले बुढो हुनु पनि भाग्यकै कुरा हो । बुढो भन्यो कि हाम्रो दिमागमा कपाल सेतै फुलेको, केटा मान्छेको दाह्री जुँगा फुलेको, लठ्ठीको सहायताले हिँडडुल गरेको, बोली लरबर गरेको दृश्य आँखा अगाडि आउने गर्छ । हुन पनि बुढो भएपछि धेरैको एउटै समस्या हुन्छ, हड्डी खिइने हुँदा हिँड्न नसक्ने, आँखा नदेख्ने, दाँत झर्ने हुनाले खान समस्या हुने, कानले राम्रो नसुन्नेलगायतका समस्या देखापर्छन् । शरीरमा धेरै प्रकारका समस्या हुने भएकाले नै मानिसलाई बुढो हुनु नपरे पनि हुनेजस्तो लाग्छ र कतिले कहिल्यै बुढो भइन्न कि जस्तो पनि गर्छन् । तर, मानिसको जुनी लिएपछि जीवनको हरेक 'स्टेज'लाई स्वीर्कानु र त्यसलाई मनोरन्जन गर्न सक्नुपर्छ । त्यसैले बुढ्यौलीपन त्यस्तो अवसर हो, जुन अल्पायुमै मृत्यु हुनेले उपभोग गर्न नै पाउँदैन । लामो आयुसम्म बाँच्नेले नै बुढ्यौलीको अनुभव गर्न पाउँछ । 

बुढाबुढी हुनु भनेको अनुभवले खारिनु पनि हो । त्यसैले अरूले बुढो भन्लान् भनेर आफ्नो उमेर लुकाउनु अथवा ढाँट्नु भनेको आफूले आफूलाई छल्नु मात्र हो । आफू युवा अवस्थामा  रहँदा बुढा या बुढी भएपछि म कस्तो देखिऊँला भन्ने कौतूहल लाग्नु स्वाभाविक हो । केही व्यक्तिले यही कौतूहल मेटाउन एप्सको माध्यमबाट आफ्नो बुढ्यौलीपनको आकृति कोरिएको फोटो फेसबुकमा सार्वजनिक गर्ने गर्का छन् । यस्ले बाहिरी आवरणलाई छर्लंग देखाइदिए पनि मानिसका शरीरभित्रका अंगहरू कति कमजोर हुँदै जान्छन् भन्ने कुरा भने देख्न सकिँदैन । जे होस्, बुढ्यौली उमेरमा शरीरका हरेक अंगहरू कमजोर हुँदै गएका हुन्छन्, उमेरमा जस्तो खान लाउन र हिँडडुल गर्न सकिँदैन । त्यसैले त हाम्रो जस्तो देशमा बुढेसकालका लागि भनेर जोहो गर्ने र निरन्तर काम नगरे पनि सजिलैसँग आम्दानी हुने स्रोत मानिसले उमेर छँदै गराउन खोज्छन् । 

नेपालको कानुनले ६० वर्षभन्दा माथि उमेर समूहलाई वृद्ध भनी परिभाषित गरेको छ । नेपाली समाजमा भने ३५ वर्ष कट्यो भने 'अब त बुढो पनि हुन लाग्यो' भनेर भन्ने गरिन्छ तर नेपाली राजनीतीमा भने ६० वर्ष कटेका व्यक्तिहरू युवा नेता हुने गर्छन् । मानिस सधैँ युवा नै हुन किन चाहन्छन्  ? समाजशास्त्रीहरू भन्ने गर्छन्, 'वृद्ध हुँदा एक्लो बस्नुपर्ने, घरमा बोल्ने साथी पनि नहुने अनि छोराबुहारीको दुर्व्यवहार पो खेप्नुपर्ने हो कि भन्ने डर नेपाली समाजमा व्याप्त छ । यही डर नै बुढो हुन मन नलाग्ने प्रमुख कारण हो र बाँचुन्जेल सधैंभरी आफ्नो खुटा चलिरहोस् भन्ने चाहना प्राय: सबैमा हुन्छ ।'

वृद्धवृद्धाका लागि दिनहुँ गएर रमाइलो गर्ने कुनै क्लव छैन, संघसंस्था छैन । साथी भेट्न ठाउँ छैन । मनका कुरा गर्ने मान्छे हुँदैनन् । आफ्नै उमेरका मन मिल्ने साथी भेटियो भने वृद्धवृद्धाले आफ्ना कुरा साथीसँग त पोख्न पाउँछन् । हिजोआज भने कतिले यस्तो रमाइलो गर्ने उपायको थालनी आफैँले पनि गर्न थालेका छन् । कोही वृद्धवृद्धाहरू हिजोआज हरेक शनिवार भेट गर्छन्, तास खेल्छन् र रमाइलो गर्छन् । यसरी भेट्ने र रमाइलो गर्ने भन्ने कुरा पनि पुरुषलाई संभव हुँदोरहेछ, महिलाहरूका लागि त त्यो पनि संभव छैन । 

नेपालको संविधानको धारा ४१ मा ज्येष्ठ नागरिकलाई राज्यबाट विशेष संरक्षण तथा सामाजिक हक हुनेछ  भन्ने उल्लेख छ । संविधानमा यी कुरा उल्लेख भए पनि ज्येष्ठ नागरिकहरू सुरक्षित छैनन् । विकसित देशमा वृद्धवृद्धाको जिम्मा राज्यले लिने गर्छ । छोरा वा छोरी भएनन् अर्थात् छोराबुहारीले हेरेनन् भन्ने तनाव वृद्धवृद्धाले लिनुपर्दैन । वृद्धवृद्धाका लागि राज्यले हरेक क्षेत्रमा छुट्टै व्यवस्था गरेको हुन्छ । हामीकहाँ भने राज्यले केही ठाउँमा सहुलियतको व्यवस्था गरे पनि कार्यान्वयन भएको पाइँदैन । बस चढ्दासमेत वृद्धवृद्धाले सहचालकसँग कराउनुपर्छ । वृद्धवृद्धा भनेर सहयोग गर्ने त कहाँ हो कहाँ, उल्टो दुर्व्यवहार खेप्नुपर्ने हुन्छ ।

हिजोआज खानपान र जीवनशैलीका कारण मानिसको ४० वर्षदेखि नै कपाल तिलचामल हुन सुरु गर्छ । तनावका कारण अनुहारमा चाउरीका धर्काहरू पनि कोरिन थाल्छन् । आफूलाई सधैँ तन्नेरी देखाउन सौन्दर्यका अनेकौँ प्रशाधनहरू  उपभोग नहुने होइनन् । ७० वर्षकी बुढी आमाले पनि सेतो कपाल रंग्याएर कालो बनाउने गरेको र अनुहारका चाउरीपनालाई हटाउन अनेकौँ प्रशाधनहरू प्रयोग गर्ने गरेको हामीले देख्ने गरेका छौँ । तन्नेरी हुन गरेको यो प्रयासलाई हेर्दा पनि मानिसलाई बुढो हुने मन हुँदैन भन्ने प्रष्ट हुन्छ । 

हास्य कलाकार हरिवंश आचार्यले यसै गाउनुभएको होला त- 'बुढो हुन मन छैन लौ न के गर्नु, न उमेरलाई व्याक गर्नु, न त प्याक गर्नु !'

हामीकहाँ बुढो भएपछि कसरी दिन बिताउने भन्ने निकै ठूलो समस्या छ । वृद्धवृद्धाका लागि दिनहुँ गएर रमाइलो गर्ने कुनै क्लव छैन, संघसंस्था छैन । साथी भेट्न ठाउँ छैन । मनका कुरा गर्ने मान्छे हुँदैनन् । आफ्नै उमेरका मन मिल्ने साथी भेटियो भने वृद्धवृद्धाले आफ्ना कुरा साथीसँग त पोख्न पाउँछन् । हिजोआज भने कतिले यस्तो रमाइलो गर्ने उपायको थालनी आफैँले पनि गर्न थालेका छन् । कोही वृद्धवृद्धाहरू हिजोआज हरेक शनिवार भेट गर्छन्, तास खेल्छन् र रमाइलो गर्छन् । यसरी भेट्ने र रमाइलो गर्ने भन्ने कुरा पनि पुरुषलाई संभव हुँदोरहेछ, महिलाहरूका लागि त त्यो पनि संभव छैन । 

साँझको ४ बजेपछि हामी वसन्तपुर हनुमान ढोका पुग्यौँ भने त्यहाँ  उमेरले ६० कटेकाहरू हरेक दिन भेट्ने गर्छन् र आआफ्ना घरका कुरा र ससस्या एकले अर्कालाई सुनाउँदारहेछन् । केही समय पहिले वसन्तपुर घुम्न गएको बेला ती वृद्धवृद्धासँग निकै नै गफिने मौका पाएकी थिएँ । प्राय: सबैको एउटै समस्या- शारीरिक रूपमा कमजोरी, छोराबुहारीले गर्ने गरेको व्यवहार, खानपिन र आफूलाई लागेका रोग । यिनैका बारे गफिने रहेछन् ।

उनीहरूका सबै कुरा सुनेपछि मलाई पनि गाउन मन लाग्यो- 'बुढो हुन मन छैन लौ न के गर्नु, न उमेरलाई व्याक गर्नु, न त प्याक गर्नु !'