लेखक पाठक भएपछि आफ्ना कमजोरीहरू प्रशस्त भेट्छः रमेश सायन
आश्विन २६, २०७६

रमेश सायन नेपाली साहित्यको खासगरी गद्यकविता लेखनमा सुपरिचित र प्रिय स्रष्टा हुनुहुन्छ । उहाँको 'भागेर भूगोलभरि' कविताकृति प्रकाशित छ । वाचनकलाले स्रोतालाई मुग्ध बनाउने क्षमता भएका सायन पछिल्लो समय 'छुटेका अनुहार' निबन्धकृति लिएर आउनुभएको छ । यही निबन्धकृतिले दुई लाख रुपैयाँ राशिको यस वर्षको प्रतिष्ठित पद्मश्री पुरस्कार प्राप्त गरेको छ । 

उक्त पुस्तक, सायनको साहित्यकारिता र पुरस्कारबारे लोकसंवादका लागि घनेन्द्र ओझाले सायनसँग गरेको कुराकानी प्रस्तुत छ ।

पद्मश्री पुरस्कार जस्तो प्रतिष्ठित पुरस्कार पाउनुभएको छ, बधाई छ ।

धन्यवाद !

'छुटेका अनुहार'ले नै यो पुरस्कार पाउने आधार के जस्तो लाग्छ लेखकका रूपमा भन्दा ?

आमलेखकले जस्तै मैले पनि आफ्नो चेतना, क्षमता र कलाको भरपूर प्रयोग गरेको छु मेरो लेखनमा । जुन मसँग क्षमता थियो, त्यो क्षमताको प्रयोग मैले गरेको छु । यो किताबभित्र मैले मेरो जीवनमा प्रत्यक्ष अथवा अप्रत्यक्ष रूपमा असर पार्ने ससाना घटना तथा पात्रहरूलाई लिएर यो किताब तयार भएको छ, जो समाजसँग प्रत्यक्ष रूपमा जोडिएका छन् । 

म आफैँ पनि किसान मजदुर भएको नाताले यो किताबभित्र सीमान्तकृत वर्गको आवाज उठेको छ र यो समाजसँग जोडिएको छ । यो प्रश्न एउटा लेखकलाई सोध्नु भन्दा पनि पुरस्कार वितरण गर्ने संस्था छ, उहाँहरूको आफ्नो नियम होला, उहाँहरूलाई सोधेको भए असाध्यै सुन्दर उत्तर पाउनुहुन्थ्यो होला । एउटा लेखकलाई के कारणले गर्दा तपाईंले पुरस्कार पाउनुभयो भनेर सोध्दाखेरि त्यसको उत्तर त आउला तर लेखक आफैँले यस्ता उत्तरहरू दिइनु मलाई लाग्छ ठीक हुन्न । 

नेपाली निबन्ध लेखनमा लेखक कम हुनुको कारण के होला ?

मलाई त नेपाली निबन्ध लेखनमा लेखक कम छन् जस्तो लाग्दैन । जति छन्, असाध्यै सुन्दर छन् । हामी संख्याको पछि लाग्यौँ भने त्यो कम देखिएला अरू विधाहरूभन्दा तर मलाई कम जस्तो लाग्दैन । 

निबन्ध लेखन लेखकका कुन्ठा, असन्तुष्टिको अभिव्यक्ति मात्र  हो कि यसभन्दा फरक केही हो ?

मलाई त तपाईंले सोध्नुभएको प्रश्न जस्ता नेपाली निबन्ध छन् जस्तो लाग्दैन । म नेपाली निबन्धमा असाध्यै धेरै सौन्दर्य, कला, विचार पाउँछु । तपाईंले यो प्रश्न के आधारमा सोध्नुभयो, म भन्न सक्दिनँ तर मैले पढेका आमनिबन्धहरू उच्चस्तरीय, उच्चबौद्धिक, कला भएका र वैचारिक निबन्धहरू छन् । तपाईंले कस्ता निबन्धहरू पढिरहनुभएको छ, मलाई थाहा भएन तर मैले पढेको आधारमा तपाईंले सोध्नुभएको प्रश्नको उत्तर मसँग छैन । 

छुटेको अनुहारमा छुटेको कुरा अरू केही पनि छ जस्तो लाग्दैन ? यदि छ भने केके छुटेका होलान् ?

प्रशस्त मात्रामा छुटेका छन् । एउटा लेखकले जतिसुकै आफ्नो क्षमता र चेतनाको प्रयोग गरे पनि एउटा पूर्ण किताब तयार गर्न सक्दैन होला । मेरो किताबमा पनि छुटेका छन् । यो कुरा म स्वीकार्छु । यो किताबको म आफैँ पनि अब पाठक भइसकेँ । कहाँकहाँ गल्ती गरेँ, केके गरेँ भनेर म आफैँले पनि हेर्नुपर्छ । र, आफ्ना गल्ती र कमजोरीहरूलाई मैले स्वीकार्नुपर्छ । म जुन बाटो हिँडिरहेको छु र मेरो सपना जहाँसम्म पुग्नु छ अनि जस्तो कुरा लेख्नका लागि म अभ्यास गरिरहेको छु, त्यो अभ्यास र त्यो ठाउँसम्म पुग्ने एउटा कोसिस र अभ्यास मात्र हो, पूर्णता होइन । 

कुनै पनि लेखकले पूर्ण रूपले आफ्नो किताब तयार गर्न सक्दैन । ऊ आफैँ लेखकबाट पाठक भइसकेपछि आफ्ना गल्ती तथा कम्जोरीहरू प्रशस्त मात्रामा भेट्छ र देख्छ । मैले पनि देखेको छु, मैले पनि भेटेको छु । यो किताब आगामी किताबका लागि सुध्रिने एउटा बलियो माध्यम पनि हो मेरा लागि ।

नेपालमा पुरस्कार सुर्ती बाँडेझैँ बाँडिन्छ भन्ने आलोचना सुनिन्छ, तपाईंलाई त्यसरी नै भाग लगाइएको त होइन यो पुरस्कार ?

तपाईंले यो प्रश्न कसरी तयार गर्नुभयो र कसरी सोधिरहनुभएको छ, म भन्न सक्दिनँ । तपाईं आफैँले यो प्रश्न अन्तर्वार्ताको सुरुमा भन्नुभएको छ कि प्रतिष्ठित पद्मश्री पुरस्कार पाउनुभएकोमा तपाईंलाई बधाई छ भनेर । एउटा प्रतिष्ठित पुरस्कार, जो किसान मजदुर हो, उसले कसरी पाउँछ ? उसको भागमा अथवा उसको अंशमा कसरी पर्छ ? एउटा साधारण मजदुर किसान केटो कसरी त्याति ठूलो प्रतिष्ठित पुरस्कारसम्म पहुँच पुर्‍याउन सक्छ ? तपाईंले के आधारमा भन्नुभयो म भन्न सक्दिनँ। म यो पुरस्कारसँग सरोकारवालाको पहुँचको पनि होइन, न त कुनै सााइनो सम्बन्धकै हुँ । के आधाारमा मेरो कृतिलाई छनोट गरियो, त्यो निर्णायक समितिको कुरा हो ।

अलिक अराजक लेखकको रूपमा रमेश सायनलाई लिइन्छ । आफैँ पनि स्वीकार्नुहुन्छ यो कुरा । के राम्रो लेखक हुन अराजक हुनै पर्छ ?

अराजकता भनेको के हो मैले यो पटक्कै बुझिनँ । मैले आफूलाई अराजक हुँ भनेर कहिल्यै पनि स्वीकारेको छैन, र म अराजक होइन पनि । मैले समाजमा म बाँचेको कारण जानाजान अहिलेसम्म कसैलाई असर पुर्‍याएको जस्तो लाग्दैन । मैले समाजको कुनै पनि व्यक्ति अथवा समूहलाई असर पुर्‍याएको छैन । मेरो जीवनशैली जसरी बाँचिरहेको छु, त्यो बचाइको कारण मान्छे त के मैले कुनै पनि प्राणीलाई जानाजान असर पुर्‍याएको छैन अनि म कसरी अराजक भएँ ? मेरो भाषामा अराजक भनेको समाजमा एकदमै धेरै असर पुर्‍याउनु, दुःख दिनु र मान्छेहरूलाई साह्रै कष्ट दिने मान्छेहरू मेरो भाषामा अराजक मान्छेहरू हुन् । कुनै पनि लेखक त्यस्तो हुन्छ जस्तो मलाई लाग्दैन । म पनि त्यस्तो छैन । म आफूलाई अराजक भनेर कहिल्यै स्वीकार्न सक्दिनँ । तपाईंले जुन आरोप लगाउनुभएको छ, त्यो आरोपचाहिँ म कुनै पनि हालतमा स्वीकार्न सक्दिनँ । 

अराजकतालाई विद्रोह ठान्नेहरूलाई नेपाली साहित्यिक समाजले खासै राम्रो मान्दैन तर यही अराजकतामा रमाउने तपाईं जस्ता स्रष्टाले नेपाली साहित्यमा कस्तो योगदान दिएका छन, दिन सक्छन् ?

अराजकता बराबर विद्रोह हुन्छ भनेर कसले भन्यो ? अराजकता र विद्रोह एकदमै फरक कुराहरू हुन् । अराजकता भनेको मैले अघि नै भने नि समाजलाई दुःख दिनु, मानिसहरूलाई कष्ट दिनु र समाजमा एकदमै धेरै खराब असर पार्नुलाई म अराजकता भन्छु । विद्रोह भनेको निकै फरक कुरा हो । परिवर्तनका लागि वैचारिक हिसाबले अथवा स्पष्ट ढंगले आफ्ना कुराहरू राख्नु, मतभेद राख्नु विद्रोह हुन सक्छ । विद्रोहले सकरात्मक असर पार्न सक्छ । तर, अराजकताले सकरात्मक असर पार्न सक्दैन । मलाई लाग्छफ तपाईंले मलाई विद्रोही भन्न खोज्नुभएको होला । म आफू विद्रोहीचाहिँ हुन सक्छु किनभने, समाजमा कतिपय कुराहरू मलाई चित्त बुझ्दैन, वैचारिक हिसाबले कतिपय कुराहरू मलाई मनपर्दैन । ती कुराहरूमाथि म स्पष्टसँग आफ्ना धारणहरू, विचारहरू राख्न सक्छु । तर, अराजकता र विद्रोह धेरै फरक कुराहरू हुन् । मेरो विद्रोह हो, अराजकता होइन  ।

कविता लेखनबाट एक्कासि निबन्धमा आउनुभयो, के कवितामा प्रतिस्पर्धा गाह्रो भएको हो ?

मैले कविता कहिले पनि छाडेको छैन र प्रतिस्पर्धाका लागि म कहिल्यै पनि लेख्दिनँ र लेखेको पनि होइन । लेख्दाखेरि म शारीरिक र आत्मिक हिसाबले सन्तुष्टि पाउँछु, त्यस कारणले गर्दा मैले लेख्ने गरेको छु । प्रतिस्पर्धाका लागि मेरो लेखन होइन । जहाँसम्म तपाईंले कविता छाड्नुभयो भन्ने आशयको प्रश्न गर्नु भएको छ । मैले कविता कहिले पनि छाडेको छैन । काव्यात्मकता भएन भने कुनै पनि कुरा सुन्दर हुँदैन, चाहे त्यो निबन्ध होस् वा कथा, कविता, हाइकु होस वा मुक्तक या गजल होस्, कुनै पनि कुरामा काव्यात्मकता चाहिन्छ । कविता हामीले शब्दमा लिन थाल्यौँ । शब्दको आकारमा लिन थाल्यौँ । कविता भनेको, काव्य भनेको शब्द मात्र होइन, यो महसुस गरिने कुरा हो । पढ्दै नपढेको मानिसले पनि कविता महसुस गर्न सक्छ, वाच्न सक्छ । त्यस कारणले हरेक कुरामा, हरेक चिजमा चाहिने काव्यात्मकता हो । उच्चतम सौन्दर्य चेतनाचाहिँ काव्यात्मकता हो । त्यसकारणले गर्दा म जहिले पनि काव्यसँग छु र काव्यसँग नजिक रहन्छु । म त्यहाँबाट भागेर निबन्ध लेखेको होइन । आफ्ना कुराहरू कसरी भन्दाखेरि अलिक सुन्दर ढंगले भन्न सक्छु, म त्यही माध्यमको प्रयोग गर्छु । आफ्ना कुराहरू स्पष्ट रूपमा पाठक अथवा अरू कसैलाई भन्नुपर्दाखेरि कुन माध्यम प्रयोग गर्ने भन्ने कुरा त्यो मेरो स्वतन्त्रताको कुरा हो ।

आगामी कृति के आउँदै छ तपाईंको ?

मैले अहिले केही लेखिरहेको छु तर स्पष्ट हिसाबले किताबै तयार होला नहोला, त्यो पछिको कुरा हो, लेख्नचाहिँ लेखिरहेको छु ।