बुर्किनाफासोको मस्जिदमा आक्रमण, १५ जनाको मृत्यु

बुर्किनाफासोको मस्जिदमा आक्रमण, १५ जनाको मृत्यु

लोकसंवाद संवाददाता  |  विदेश  |  आश्विन २६, २०७६

अफ्रिकी मुलुक बुर्किनाफासोको उत्तरी भेगमा रहेको एउटा मस्जिदमा अज्ञात बन्दुकधारीले शुक्रबार गरेको आक्रमणमा परेर कम्तीमा १५ जनाको मृत्यु भएको छ । स्थानीय प्रहरीले उक्त आक्रमणका कारण अरू पाँच जना घाइते भएका छन् ।

बुर्किनाफासोको राजधानीबाट करिव २६९ किलोमिटर उत्तरमा रहेको गोरोमगोरोम गाउँमा उक्त घटना भएको हो । बुर्किनाफासो सरकारले भने उक्त घटनाका बारेमा कुनै टिप्पणी गरेको छैन । सन् २०१५ यता बुर्किनाफासोमा लगातार आतंकवादी आक्रमण भइरहेका छन् । यस क्रममा ५०० भन्दा बढी मानिसको मृत्यु हुनुका साथै दुई लाख ८० हजारभन्दा बढी मानिस विस्थापित भएका छन् ।

पछिल्ला केही दिनदेखि देशका विभिन्न भागमा शृंखलाबद्ध आतंकवादी आक्रमणहरू भइरहेका छन् । मानिसहरू सुरक्षित स्थलको खोजी गर्दै विस्थापित हुने क्रम बढेको छ । सरकारले आतंकवादी आक्रमण भएका र असुरक्षित ठानिएका विभिन्न क्षेत्रमा आपतकालीन स्थितिको घोषणा गरेको र कर्फ्यू लगाएको छ ।