ओलम्पिक दोस्रो चरणको छनोट : नेपाल र भारत एउटै समूहमा

ओलम्पिक दोस्रो चरणको छनोट : नेपाल र भारत एउटै समूहमा
नेपाली महिला फुटबल टिम ।

लोकसंवाद संवाददाता  |  खेलकुद  |  फाल्गुन २, २०७५

काठमाडौं । सन् २०२० मा जापानमा आयोजना हुने टोकियो ओलम्पिकअन्तर्गत महिला फुटबलको एसिया दोस्रो चरणको छनोटका लागि खेलतालिका सार्वजनिक भएको छ । 

एसियाली फुटबल महासंघ (एएफसी)ले बुधबार सार्वजनिक गरेको खेलतालिका अनुसार समूह ‘ए’ मा नेपाल, भारत र म्यानमार र इन्डानेसिया परेका छन् । समूहको सबै खेल आगामी अप्रिल १ देखि ९ सम्म म्यानमारमा हुनेछन् । 

पहिलो चरणमा पनि यी तीन वटै राष्ट्रसहित बंगलादेश एउटै समूह परेका थिए । जसबाट म्यानमार र भारत स्वतः छनोट हुँदा तेस्रो स्थानमा रहेको नेपाल उत्कृष्ट तेस्रो टोली बन्दै दोस्रो चरण पुगेको थियो । 

यस्तै, समूह ‘बी’ मा हङकङ, जोर्डन, भियतनाम र उज्बेकिस्तान छन् भने समूह ‘सी’ मा चाइनिज ताइपेइ, इरान, फिलिपिन्स र प्यालेस्टाइन छन् । दोस्रो चरणबाट तीन वटा समूहको शीर्ष स्थानमा रहने टोलीहरू तेस्रो चरणमा प्रवेश गर्नेछन् । 

यसअघि नै ‘बाई’ पाएर अस्टेलिया, उत्तर कोरिया, दक्षिण कोरिया, चीन र आयोजक थाइल्याण्ड तेस्रो चरणको छनोटमा स्थान बनाइसकेका छन् । यी पाँच र दोस्रो चरण पार गर्ने तीनसहित कूल आठ टोलीबीच तेस्रो चरणको छनोट खेल हुनेछ । जसमा चार/चार राष्ट्रको दुई समूह हुनेछ । 

दुवै समूहको शीर्ष दुई स्थानमा रहने टोलीहरू अन्तिम चरणको छनोटका लागि छानिनेछन् । त्यसबाट प्लेअफ खेलाउँदै दुई टोली ओलम्पिकका लागि छनोट हुनेछ । आयोजकका रूपमा जापान भने यसअघि नै छनोट भइसकेको छ । 

म्यानमारमा भएको भएको पहिलो चरणमा समूह ‘सी’ अन्तर्गतका सबै तीन खेलमा बराबरी खेलेको नेपाल तीन अंकका साथ तेस्रो भएको थियो । नेपालले बंगलादेश,  म्यानमार र भारतसँग बराबरी खेलेको थियो । पहिलो चरणमा सहभागी १८ टोलीलाई चार समूहमा विभाजन गरेर प्रतिस्पर्धा गराइएको खबर राससमा छ ।