पाकिस्तानका प्रधानमन्त्री इमरान खान आइतबार इरानतर्फ प्रस्थान गर्नुभएको छ । अरब खाडी क्षेत्रमा तनाव बढिरहेका बेला उहाँ त्यसतर्फ प्रस्थान गर्नुभएको अधिकारीहरूले जानकारी दिएका छन् ।
अमेरिका र साउदी अरबको आग्रहमा खाडी क्षेत्रको तनाव समाधानका लागि पहल गर्न उहाँ त्यसतर्फ प्रस्थान गर्नुभएको हो । त्यस क्षेत्रको शान्ति र सुरक्षा प्रवर्द्धनका लागि सहयोग गर्न उहाँको भ्रमण भएको प्रधानमन्त्री खानको कार्यालयले जानकारी दिएको छ । कार्यालयका अनुसार प्रधानमन्त्री खानले इरानका सर्वोच्च नेता आयातोल्लाह अलि खामेनी र राष्ट्रपति हसन रौहानीलाई भेट्नुहुनेछ । यही वर्ष उहाँ इरान दोस्रो पटक जानु भएको हो ।
पाकिस्तानी विदेश मन्त्रालयका प्रवक्ताले प्रधानमन्त्री खान साउदी अरब जाने संभावना रहेको गत हप्ता बताएका थिए । छोटो पत्रकार सम्मेलनमा उनले प्रधानमन्त्री खान अरब जाने संकेत गरे पनि थप कुनै विवरण भने दिएका थिएनन् । त्यसअघि गत महिना प्रधानमन्त्री खानले पनि खाडी क्षेत्रको तनाव न्यूनीकरणका लागि मध्यस्थता गरिदिन साउदी अरेबिया र अमेरिकाले आफूलाई आग्रह गरेको बताउनुभएको थियो ।
गत जुलाईमा बेलायतको सहयोगमा जिब्राल्टरमा ट्यांकर नियन्त्रणमा लिएयता अमेरिका–इरान कूटनीतिक तनावको केन्द्रमा छ । युरोपेली प्रतिबन्धको उल्लंघन गर्दै सिरिया पुर्याउन लागिएको आशंकामा ट्यांकलाई नियन्त्रणमा लिइएको थियो । तर, इरानले सिरिया नपठाउने विश्वास दिलाएपछि ट्यांकरलाई छाडिएको थियो । गत अगस्टमा अमेरिकाले ट्यांकरलाई नियन्त्रणमा राखिराख्न आग्रह गरे पनि जिब्राल्टरको अदालतले अस्वीकार गरेको थियो ।
जहाज नियन्त्रणमा लिन बेलायती जलसेनाले सघाएपछि बेलायत र इरानको समेत सम्बन्ध बिग्रेको थियो, जसको प्रतिक्रिया स्वरूप इरानले पनि बेलायती झण्डा अंकित एक ट्यांकर नियन्त्रणमा लिएको थियो ।