नेपाली भाषा, साहित्य, कला र संस्कृतिको अन्तर्राष्ट्रिय विस्तार र प्रचार हुनेछ : प्राज्ञ प्रा.डा. पौडेल
आश्विन २७, २०७६

नेपाली भाषा, साहित्य र संस्कृतिको विकास, विस्तार र संवर्द्धनका लागि स्थापित नेपाल प्रज्ञाप्रतिष्ठानले भोलि असोज २८ गतेदेखि कार्तिक ३ गतेसम्म ‘दोस्रो चीन र दक्षिण एसिया साहित्य सम्मेलन, २०७६’ आयोजना गर्दै छ । उक्त कार्यक्रमका लागि विदेशी पाहुनाहरू आइसकेका छन् । कार्यक्रम कसरी गरिँदै छ ? सम्मेलनमा केके गरिनेछ ? के कस्तो उपलब्धिको अपेक्षा गरिएको छ ? लगायतका विषयमा प्रतिष्ठानका काव्य विभाग प्रमुख प्रा.डा. हेमनाथ पाैडेलसँग लाेकसंवाद डटकमका लागि घनेन्द्र ओझाले गरेको कुराकानी प्रस्तुत छ ।

असोज २८ गतेदेखि पाँच दिने ‘दोस्रो चीन र दक्षिण एसिया साहित्य सम्मेलन, २०७६’ आयोजना गर्दै हुनुहुन्छ, के कसरी हुँदै छ उक्त कार्यक्रम ?

दक्षिण एसियाली देशहरू र चीन सम्मिलित संस्था छ– चीन र दक्षिण एसिया साहित्यिक मंच । यसले पहिलो सम्मेलन चीनमा गरेको थियो । अहिले दोस्रो सम्मेलन हामीले नेपालमा आयोजना गरेका छौँ ।

कार्यक्रममा यी देशहरूका प्राज्ञिक निकाय र संस्थाका प्रतिनिधिहरू उपस्थित हुनेछन् । कार्यक्रममा १६ वटा विभिन्न देशका विद्वानहरूका विविध विषयका कार्यपत्र प्रस्तुत हुनेछन् । विशेषगरी मंचमा आवद्ध देशका भाषा, साहित्य, संस्कृति र कलाको आदान प्रदानका लागि मंच स्थापना गरिएको हुँदा यिनै विषयमा कार्यपत्र प्रस्तुति र छलफल प्रमुख रूपमा हुनेछ ।

यस पटकको सम्मेलनको शीर्षक ‘अन्तरहिमाली सांस्कृतिक–साहित्यिक सम्बन्ध’ रहेको छ । र, सांस्कृतिक, साहित्यिक र केही मात्रामा पर्यटकीय विषयहरूमा पनि छलफल हुनेछ ।

असोज ३० गते चन्द्रागिरिमा पर्यटन बोर्डका तर्फबाट सांस्कृतिक पर्यटनबारे गोष्ठी र अन्तत्र्रिmया पनि हुनेछ ।  कार्तिक १ र २ गते विदेशी पाहुनाहरूलाई महत्त्वपूर्ण पर्यटकीय क्षेत्रमा भ्रमण गराइनेछ, जसले गर्दा नेपाली पर्यटनको प्रचारमा सहयोग होस् सँगसँगै सांस्कृतिक विविधता र भौगोलिक सुन्दरता पनि विदेशी पाहुनाले महसुस गर्न सकून् ।

यो सम्मेलनबाट प्रज्ञाप्रतिष्ठानले के कस्तो उपलब्धिको अपेक्षा गरेको छ ?

यसअघि प्रज्ञाप्रतिष्ठानको विदेशी वा अन्तर्राष्ट्रिय प्राज्ञिक संस्था र निकायसँग खासै सम्बन्ध र सम्पर्क थिएन । पछिल्लो समय भने यसमा विस्तार भएको छ । प्रतिष्ठानको नेतृत्व गर्नुभएका कुलपतिज्यू गंगाप्रसाद उप्रेतीको अन्तर्राष्ट्रिय सम्बन्ध र नेपाली भाषा, साहित्य, कला र संस्कृतिलाई अब अन्तर्राष्ट्रियकरण गर्नु जरुरी छ भन्ने बुझाइका कारण आज प्रतिष्ठान विदेशी प्राज्ञिक संस्था र निकायसँग मिलेर सहकार्य गरेर नेपाली भाषा, साहित्य, कला र संस्कृतिको अन्तर्राष्ट्रिय विस्तार र प्रचार गर्न थालेको छ भने अन्य देशका भाषा, साहित्य, कला र संस्कृतिको अध्ययन र विश्लेषण गर्न पनि सुरु गरेको छ । सम्मेलनको महत्त्वपूर्ण उपलब्धि त यही हो ।

थप के भने यी देशका साहित्यिक, सांस्कृतिक आदान प्रदानसँगै यी देशका साहित्यको अनुवाद पनि एकअर्काका भाषामा हुनेछन् । अहिले एक सय बढी नेपाली कविका कविता मंचमा आवद्ध देशका प्रमुख भाषामा अनुदित हुँदै छन्– भ्वाइस अफ नेपाल नाममा । ती देशका साहित्य पनि हाम्रो भाषामा अनुवाद गर्नेछौँ ।

पछिल्लो समय प्रतिष्ठानको आफ्नै पहलमा अन्तर्राष्ट्रिय संस्था र निकायसँग सहकार्य, अन्तर्राष्ट्रिय स्तरमा क्रियाशील नेपाली भाषा, साहित्यसँग सम्बन्धित संघसंस्थासँग सहकार्य हुँदै आएको छ । यसले अन्ततः नेपाली भाषा, साहित्यकै प्रवर्द्धन गर्ने हो । नेपाली भाषा, साहित्यलाई नै विस्तारित बनाउने हो ।

मूल कुरा कुनै पनि देशको समृद्धि त्यहाँको भाषा–साहित्य–कला–संस्कृतिसँग जोडिएको हुन्छ । र, प्रज्ञाप्रतिष्ठानले यस क्षेत्रमा विशेष काम गर्ने योजनाअनुसार यो कार्यक्रम आयोजना गरिएको हो ।

नेपाली भाषा, साहित्यको स्तरीकरण र व्यापकीकरणमा प्रतिष्ठान उदासीन छ भन्ने गरिन्छ नि !

त्यसो होइन । विगतमा अघि पनि मैले भने कि प्रतिष्ठानको नेतृत्व वगर्नेहरूको अन्तर्राष्ट्रिय सम्बन्ध बलियो थिएन । त्यही भएर जेजति हुनुपर्थ्यो काम, त्यो हुन नसकेको होला । तर, पछिल्लो समय प्रतिष्ठानको आफ्नै पहलमा अन्तर्राष्ट्रिय संस्था र निकायसँग सहकार्य, अन्तर्राष्ट्रिय स्तरमा क्रियाशील नेपाली भाषा, साहित्यसँग सम्बन्धित संघसंस्थासँग सहकार्य हुँदै आएको छ । यसले अन्ततः नेपाली भाषा, साहित्यकै प्रवर्द्धन गर्ने हो । नेपाली भाषा, साहित्यलाई नै विस्तारित बनाउने हो ।

नेपाल अब मेची–महाकालीको सीमाभित्र मात्र रहेन । विश्वका सबैजसो भूगोलमा नेपालीहरू पुगिसकेका छन् र जहाँजहाँ नेपाली छन्, त्यहाँ आफूसँगै नेपाली भाषा, साहित्य, कला र संस्कृति पनि लगेका छन् । यसर्थ ती सबै नेपाली दाजुभाइ, दिदीबहिनीहरूलाई ससम्मान नेपाली भाषा, साहित्यको विकासमा उत्प्रेरित गर्ने दायित्व पनि हाम्रो हो । त्यो गर्दै छौँ, गर्छौं ।

प्रवासमा रहेर नेपाली भाषा, साहित्यमा विशेष योगदान गर्ने व्यक्तिहरूलाई प्रोत्साहनका लागि हामीले अन्तरदेशीय साहित्य पुरस्कार भनेर एक लाख रुपैयाँ राशिको पुरस्कार पनि स्थापना गरेका छौँ भने दुई लाख रुपैयाँ राशिको नेपाल प्रज्ञालङ्कार नेपाली भाषा, साहित्यमा योगदान गर्ने विदेशीका लागि भनेर स्थापना गरेका छौँ ।

अर्को नेपाली भाषा, साहित्य र संस्कृतिमा एउटा महत्त्वपूर्ण कार्य प्रतिष्ठानले गर्दै छ । सातवटै प्रदेशको भाषा, साहित्य र संस्कृतिको प्रोफाइल तयार पार्दै छ । यसलाई हामीले राष्ट्रिय गौरवको योजना मानेका छौँ ।

यसमा हरेक प्रदेशमा विज्ञहरू पठाएर वैज्ञानिक तवरले अनुसन्धान गरेर ल्याइएका तथ्य–तथ्यांकसहितका विवरण राखिनेछ । अझ महत्त्वपूर्ण कुरा त यो प्रोफाइल तयारीका क्रममा देशभर भाषा सर्भेक्षण गरिनेछ, जुन आजसम्म भएको छैन । यसले नेपालमा के कति र कस्ता भाषा बोलिन्छन् भन्ने विस्तृतमा जानकारी दिनेछ । ‘नेपाल दर्पण’ नामक उक्त पुस्तक अंग्रेजी र अन्य भाषामा पनि अनुवाद गरिनेछ । यसले नेपालबारे बुझ्न चाहने हरेक स्वदेशी र विदेशीलाई फाइदा पुग्ने त छ नै, नेपालको समग्र पक्षको अभिलेखीकरण पनि हुनेछ ।

यही प्रतिष्ठानको कम्पाउण्डमा सबै नेपाली साहित्यकारका कृति र अडियो, भिडियो विवरण, वृत्तचित्रहरूसहितको अभिलेखालय पनि बनाउँदै छौँ । यसले पनि नेपाली भाषा, साहित्यको स्तरीकरण र व्यापकीकरणमा पक्कै सहयोग पुग्नेछ ।

तपाईं काव्य विभाग प्रमुख हुनुहुन्छ । काव्य भनेको कविता मात्र होइन होला । कविताबाहेक काव्यका अन्य विधामा अत्यन्त कम काम मात्र गरेको छ प्रतिष्ठानले । अन्य विधामाथि प्रतिष्ठान किन सङ्कीर्ण बनेको होला ?

त्यस्तो भएको छैन । गीतबारे नाट्य–संगीत प्रज्ञाप्रतिष्ठानले गर्छ । काव्यका अन्य विधा गजल, मुक्तक, हाइकुबारे हामीले गर्दै छौँ, गरिरहेकै छौँ । केही सामग्री चाँडै प्रकाशन हुँदै पनि छन् गजल, मुक्तक, हाइकुका ।

अनाममण्डलीलगायतका संस्थासँग मिलेर प्रतिष्ठानले गजलगोष्ठी र अन्तक्र्रिया पनि गर्दै आएको छ । फेरि पनि केही कामहरू गर्ने योजना छ ।

काव्य विभागबाट अहिले नौवटा अनुसन्धान हुँदै छन् भने सातवटै प्रदेशका कविता र कविका बारेमा एउटा कृति पनि तयार हुँदै छ ।