प्रधानमन्त्रीद्वारा नेपाल पानी जहाज कार्यालय उद्घाटन

प्रधानमन्त्रीद्वारा नेपाल पानी जहाज कार्यालय उद्घाटन

लोकसंवाद संवाददाता  |  समाचार  |  फाल्गुन २, २०७५

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल पानीजहाज कार्यालयको बिहीबार उद्घाटन गर्नुभएको छ । 

राजधानीको एकान्तकुनामा पानीजहाज कार्यालय स्थापना गर्दै प्रधानमन्त्री ओलीले नेपाल अब पानीजहाजको युगमा प्रवेश गरेको बताउनुभयो । उहाँले केही कर्मचारीलाई जागिर खुवाउनमात्रै नेपाल पानीजहाज कार्यालय नखोलिएको स्पष्ट पार्नुभयो । ‘नेपाल अब पानीजहाज युगमा प्रवेश गरेको छ । हामीसँग बन्दरगाह थियो । अब आफ्नै पानीजहाज भएपछि आफूलाई चाहिने सामान सिधै ल्याइन्छ, सिधै पठाइन्छ । भूपरिवेष्टित भनेर किन खुम्चने ? नेपालका जलमार्गमा पानीजहाज चलाइन्छ,’ उहाँले भन्नुभयो । नदीहरूलाई जलमार्गका रुपमा प्रयोग गरिने उहाँले बताउनुभयो । 

कार्यक्रममा बोल्दै भौतिक योजना तथा पूर्वाधार मन्त्री रघुवीर महासेठले प्रधानमन्त्रीको निर्देशनमा कार्यालय स्थापना गरिएको र  छिट्टै राष्ट्रिय झण्डा राखेर पानी जहाज कुदाउने बताउनुभयो । सडक र हवाईभन्दा जलमार्गबाट सामान ढुवानी गर्न वातावरणीय दृष्टिले उपयुक्त हुने भन्नुहुँदै उहाँले नेपालजस्तो भुपरिवेष्टित राष्ट्रका लागि यो गौरवको कुरा भएको बताउनुभयो । 

प्रधानमन्त्री ओलीले गत फागुनमा भारत भ्रमणबाट फर्किएलगत्तै यातायात र उद्योग मन्त्रालयका अधिकारीसँग पानीजहाज सञ्चालनबारे छलफल गर्नुभएको थियो । सो छलफलमा उहाँले  पानीजहाज सञ्चालनसम्बन्धी विस्तृत योजना बनाउन निर्देशन दिनुभएको थियो । 

महत्वाकांक्षी मानिएको पानी जहाज चलाउने योजनालाई सफल बनाउन सरकारले छिमेकी मुलुक भारतसँग गत साउनमा पहिलोपटक छलफल गरिएको थियो । 

पानी जहाज कार्यालयमा १६ कर्मचारी रहने

सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चारप्रविधि मन्त्री गोकुलप्रसाद बास्कोटाका अनुसार कार्यालयमा उपसचिवको नेतृत्वमा १६ कर्मचारीको दरबन्दी निर्धारण गरिएको छ । मन्त्रिपरिषदको गत पुस २९ गतेको बैठकले कार्यालयका लागि  बरिष्ठ डिभिजनल इञ्जिनियर, शाखा अधिकृत, कानुन अधिकृत, लेखा अधिकृत,  मेकानिकल, राजमार्ग र सिँचाइतर्फका इञ्जिनियरको एक/एक र सहायक तथा कार्यालय सहयोगीको ८ दरबन्दी  स्वीकृत गरेको थियो ।