नेपाल र नेपालीसँगको भावनात्मक सम्बन्ध नहराओस् भन्नका लागि दोहोरो नागरिकता आवश्यक छ : उपाध्यक्ष उम्मेदवार हिक्मत थापा

नेपाल र नेपालीसँगको भावनात्मक सम्बन्ध नहराओस् भन्नका लागि दोहोरो नागरिकता आवश्यक छ : उपाध्यक्ष उम्मेदवार हिक्मत थापा

घनेन्द्र ओझा  |  अन्तर्मन्थन  |  आश्विन २८, २०७६

कैलालीको टीकापुरका हिक्मत थापा डेढ दशकदेखि अफ्रिकाको नाइजेरियामा बस्दै आउनुभएको छ । समाज सेवा र साहित्यमा विशेष रुचि राख्ने थापा अफ्रिकामा रहेका नेपालीहरूलाई अप्ठ्यारो, गाह्रो साह्रो पर्दा उद्धार र सहयोगका निम्ति समन्वय गर्ने व्यक्तिका रूपमा पनि चिनिनुहुन्छ ।

दुई कार्यकाल एनआरएनएको कोषाध्यक्षको जिम्मेवारी सफलतापूर्वक पूरा गर्नुभएका थापा यस पटक आज असोज २८ देखि सुरु हुने सम्मेलनमा उपाध्यक्ष पदमा उम्मेदवारी दिँदै हुनुहुन्छ । यसै सन्दर्भमा हिक्मत थापासँग लाेकसंवाद डटकमका लागि घनेन्द्र ओझाले गरेको कुराकानी प्रस्तुत छ ।

एनआरएनएमा तपाईंको उपाध्यक्षमा उम्मेदवारी किन ?

एनआरएनएको कार्यसमितिमा दुई कार्यकाल कोषाध्यक्षका रूपमा रहेर काम गर्दा मैले अनुभव गरेँ कि कुनै पनि संस्थालाई आर्थिक रूपमा सबल बनाउनु पहिलो शर्त हुनेरहेछ । यही भएर मेरो प्राथमिकता कसरी आर्थिक रूपमा संस्थालाई बलियो बनाउने भन्ने रहँदै आएको छ ।

मेरो कोषाध्यक्षको पहिलो कार्यकाल नेपालमा विनाशकारी भूकम्प आएको समय भयो । म रहेको क्षेत्र अफ्रिका र अन्य मुलुकबाट नेपालमा राहतका लागि प्रयास गर्दागर्दै मेरो पहिलो कार्यकाल सकियो । 
दोस्रो कार्यकालमा केही प्रयासहरू भए आर्थिक सुदृढीकरणका लागि । र, अब मैले उपाध्यक्षका रूपमा जिम्मेवारी पाएमा पनि पहिलो प्राथमिकता यही हुनेछ । हामीले अझै धेरै कार्यहरू गर्न बाँकी छ र ती काम गर्न पक्कै आर्थिक स्रोत चाहिन्छ नै ।

अर्को कुरा नेपालमा एनआरएन तथा अन्यले गरेको लगानीको सुरक्षा महसुस हुन सकेको छैन । यहाँका ऐन, कानुनलगायतका अन्य केही अवरोधहरूले लगानीमा समस्या गराइरहेका महसुस भएको छ । त्यसलाई सहज बनाउन पहल गर्नु जरुरी छ । 

गैरआवासीय नेपालीहरूका समस्या प्रशस्त छन् । ती समस्याको समाधानका लागि एनआरएनएको सक्रिय पहल जरुरी छ । यतातिर मेरो ध्यान केन्द्रित हुनेछ ।

यस्ता कार्य गर्न त कार्यकारी पदमै (अध्यक्ष नै) उठ्नुपर्छ नि !

काम गर्न जुन पदमा उठे पनि सकिन्छ । मूल कुरा काम गर्ने उत्साह र सक्रियता हो । उपाध्यक्षलाई पनि महत्त्वपूर्ण जिम्मेवारी दिइन्छ एनआरएनमा । हामी सामूहिक सल्लाहबाट मात्र निर्णय गर्ने गर्छौं, यसर्थ राम्रा योजनाहरूलाई कार्यान्वयन गर्न सकिन्छ भन्ने लाग्छ ।

तपाईंले दुई कार्यकाल कोषाध्यक्ष भएर के उल्लेख्य काम गर्नुभयो ?

मैले पहिले पनि भनेँ कि म कोषाध्यक्ष भएको पहिलो कार्यकाल नेपालमा विनाशकारी भूकम्प गएकाले त्यसका लागि राहत जुटाउँदैमा बित्यो । त्यो काम पनि महत्त्वपूर्ण थियो । गरियो ।

यही क्रममा गोरखाको लाप्राकमा ६०० घरहरू निर्माण गरिएको छ एनआरएनकै पहलमा । हामी नेपालमा आएर बस्ने, कार्य गर्ने सचिवालय थिएन । मेरै कार्यकालमा काठमाडौंमा एनआरएनए भवन बनाइयो । अहिले हामीलाई हाम्रो सचिवालय त बनेको छ नै, यसबाट मासिक डेढ लाख रूपैयाँ बढी भाडा उठ्छ, जुन आम्दानी नै हो ।

अर्को कुरा मेरै कार्यकालमा शंखमूल पार्क बनेको छ भने संस्थाको आर्थिक प्रणालीलाई व्यवस्थित गर्ने काम भइरहेको छ ।

तपाईं अफ्रिकाबाट प्रतिनिधित्व गर्नुहुन्छ, अफ्रिकामा नेपालीको अवस्था के कस्तो छ ?

अफ्रिकामा पाँच हजारजति नेपाली छन् । अफ्रिकाका ५४ वटा देशमध्ये धेरैजसो मुलुकमा रहेका नेपाली दक्ष, विज्ञ वा प्राविधिकहरू रहेकाले त्यहाँका नेपालीको अवस्था खासै नराम्रो छैन । तर, कतिपय कानुनी र व्यावहारिक उल्झन अनि समस्यामा नेपाली परिरहेका छन् । 

५४ देशमध्ये जम्मा दुई देशमा मात्र नेपाल सरकारको उपस्थिति छ, इजिप्ट र दक्षिण अफ्रिकामा । इजिप्ट मध्यपूर्वमा बढी केन्द्रित हुनाले दक्षिण अफ्रिका नै हाम्रो सरकारको उपस्थिति भएको एक मात्र मुलुक भन्दा पनि हुन्छ अफ्रिकामा ।

विशेष गरी खाडी मुलुक र मलेसियामा रहनुभएका नेपालीहरूलाई कानुनी र व्यावहारिक समस्या बढी देखिन्छ । पासपोर्ट, भिसा नवीकरण, घाइते र मृत्यु भएकाका स्वदेश फिर्ता, क्षतिपूर्तिलगायतका सवाल छन् । त्यसलाई सहज बनाउनेतिर एनआरएनएको ध्यान जानु आवश्यक छ । 

अफ्रिकाका नेपालीलाई समस्या आइपर्दा सरकार वा राज्यका तर्फबाट अभिभावकत्व लिन सक्ने अवस्था देखिँदैन । यस्तो आवस्थामा हामी अर्थात् एनआरएनएले यस्तो जिम्मेवारी लिएर काम गर्दै आएका छौँ । 

अफ्रिकामा थोरै नेपाली छौँ तर नेपालको उपस्थितिलाई वृहत बनाउँदै छौँ । ५४ मध्ये अहिले १७ देशमा एनआरएनए स्थापना गरेका छौँ । यसमा मेरै पहलकदमी रहेको छ ।

तपाईं आफैँ राम्रो स्रष्टा पनि हुनुहुन्छ । एनआरएनएले नेपाली भाषा, साहित्यको विकास र विस्तारका लागि के कस्तो पहल गर्दै छ ?

एनआरएनएले नेपाली भाषा साहित्य उपसमिति बनाएर नेपाली भाषा र साहित्यको विकास र विस्तारका लागि कार्य गर्दै आएको छ । हाम्रो नपाली भाषामा लेखिएका विभिन्न रचना, कृतिहरूलाई अंग्रेजी, रसियनलगायतका भाषामा अनुवाद गर्ने काम भइरहेको छ । यसले नेपाली साहित्यको पहुँच अन्तर्राष्ट्रियस्तरसम्म हुनेछ ।

यसरी नै विभिन्न मुलुकहरूमा नेपाली भाषा, साहित्य सम्मेलन भइरहेका छन् एनआरएनको पहलमा । नेपाल प्रज्ञाप्रतिष्ठानलगायतका निकाय र संघसंस्थासँग मिलेर पनि साहित्यिक कार्यक्रम गर्दै आएका छौँ ।
विभिन्न स्रष्टाका कृति प्रकाशनमा सहयोग पनि गर्दै आएको छ एनआरएनएले ।

एनआरएनएका चुनौतीहरूलाई कसरी हेर्नुभएको छ ?

विशेष गरी खाडी मुलुक र मलेसियामा रहनुभएका नेपालीहरूलाई कानुनी र व्यावहारिक समस्या बढी देखिन्छ । पासपोर्ट, भिसा नवीकरण, घाइते र मृत्यु भएकाका स्वदेश फिर्ता, क्षतिपूर्तिलगायतका सवाल छन् । त्यसलाई सहज बनाउनेतिर एनआरएनएको ध्यान जानु आवश्यक छ । 

विकसित भनिएका देशहरूमा रहेका नेपालीका समस्या पनि उस्तै छन् । मूल कुरा त देशबाहिर बसेर कमाउने नेपालीहरूले आफूले कमाएको स्वदेशमा लगानी गर्ने अवस्था सिर्जना हुनुपर्छ । यसका लागि एनआरएनएहरूलाई नागरिकता जरुरी छ । अहिले नागरिकता विधेयक राज्य व्यवस्था समितिमा अड्किएर बसेको छ । त्यसलाई पास गर्नुपर्नेछ । 

एनआरएनएहरूलाई दोहोरो नागरिकताको व्यवस्था भएमा उनीहरूले कमाएको पैसा नेपालमै लगानी त हुन्छ नै, लामो समय विदेशमा बसेका नेपालीका बच्चाहरूको नेपालसँग र आफन्तसँगको सम्बन्ध टुट्ने डर पनि हुँदैन । नयाँ पुस्ताको नेपाल र नेपालीसँगको भावनात्मक सम्बन्ध नहराओस् भन्नका लागि पनि दोहोरो नागरिकताको प्रावधान हुनु आवश्यक छ । यसका लागि हामीले दबाब दिन र सक्रिय पहल गर्नु अहिले जरुरी छ ।