२५ सय डलरको पुरस्कार प्रा.डा. खगेन्द्रप्रसाद लुइँटेललाई

२५ सय डलरको पुरस्कार प्रा.डा. खगेन्द्रप्रसाद लुइँटेललाई

लोकसंवाद संवाददाता  |  साहित्य  |  आश्विन २८, २०७६

अनेसास राम लामा अविनाशी विशिष्ट प्रतिभा पुरस्कार यस वर्ष त्रिभुवन विश्वविद्यालयका प्रा.डा. खगेन्द्रप्रसाद लुइँटेललाई प्रदान गरिने भएको छ ।

पुरस्कार छनोटका लागि बोर्ड अफ ट्रस्टिज कार्यसमितिको बैठकले पुरस्कार समितिको सिफारिसमा तीन सदस्यीय समिति गठन गरेको थियो । सो समितिले उक्त पुरस्कारका लागि गत अक्टोबर ९ मा प्रा.डा. लुइँटेलको नाम सिफारिस गरेको हो ।

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले नेपाली भाषा साहित्यको विकास र अन्तर्राष्ट्रियकरणका साथै अनेसासको बृहत्तर विकासमा विशिष्ट योगदान गरेका व्यक्तिहरूमध्ये एक जनालाई हरेक दुई वर्षमा उक्त पुरस्कार प्रदान गर्दै आएको छ ।

नेपाली भाषा साहित्यको विकासमा अनवरत रूपमा लागेर आप्रवासमा नेपाली भाषा साहित्यको विस्तार, संवद्र्धन र संरक्षणमा दिएको योगदान र नेपाली भाषाको अन्तर्राष्ट्रियकरण र मानकीकरणमा गरेको भूमिकाका आधारमा छनोट गरिएको समितिले जनाएको छ ।

अमेरिकाको क्यालिफोर्निया निवासी राम लामा अविनासीले प्रायोजन गरेको सो पुरस्कारको राशि हाल २५ सय अमेरिकी डलर रहेको छ ।

यसअघि सन् २०१७ मा यो पुरस्कार अनेसासका संस्थापक अध्यक्ष होमनाथ सुवेदीलाई प्रदान गरिएको थियो । त्यसबेला सो पुरस्कारको राशि २ हजार अमेरिकी डलर थियो ।

आगामी नोभेम्बर १० तारिकमा अमेरिकाको वासिङ्टन डिसीमा अनेसास सर्वोत्कृष्ट पुस्तक पुरस्कार वितरण समारोहका अवसरमा प्रा.डा. लुइँटेललाई यो पुरस्कार प्रदान गरिनेछ । यो अनेसासबाट प्रदान गरिने हालसम्मको सबैभन्दा ठूलो राशिको पुरस्कार हो ।