बीस प्रतिशत मनोरोगी मध्ये  गम्भीर पाँच प्रतिशतलाई राज्यले नै हेर्नुपर्छ

बीस प्रतिशत मनोरोगी मध्ये  गम्भीर पाँच प्रतिशतलाई राज्यले नै हेर्नुपर्छ

लोकसंवाद संवाददाता  |  अन्तर्मन्थन  |  फाल्गुन २, २०७५

 

डा. सुदर्शन नरसिंह प्रधान 

प्रमुख, मनोरोग विभाग, काठमाडौं मेडिकल कलेज

डा. सुदर्शन नरसिंह प्रधान मनोरोग विशेषज्ञ हुनुहुन्छ । काठमाडाैँ मेडिकल कलेजको  मनोरोग विभागका प्रमुख प्रधान फागुन २३ र २४ गते हुने मनोरोग चिकित्सक संघको चुनावमा अध्यक्षका प्रत्यासी पनि रहनुभएको छ । तिनै प्रधानसँग मनोरोगको वर्तमान अवस्थामा केन्द्रित रहेर लोकसंवाद डटकमले अन्तर्मन्थन गरेको थियो । प्रस्तत छ अन्तर्मन्थनको मूलअंश 

मनोरोग भनेको के हो ?

मनोरोग भनेको एक खालको रोग हो । मान्छेहरुलाई के लाग्छ भने मानसिक रोग भन्नेबित्तिकै पागल भएको भन्ने लाग्छ । तर, त्यसो होइन । आँखाको रोगभन्दा आँखा देखाउन सकिन्छ, मुटु रोगभन्दा मुटु देखाउन सकिन्छ । तर, मनको रोगभन्दा कहाँ देखाउने ? वास्तवमा मन भनेको दिमागमा हो । तर, मान्छेले देखाउँदा छातीमा देखाउँछ । मन भनेको दिमागको अन्तरंग कुरा हो । दिमागको उपजको कुरा हो । हामी राम्रो कुरा सुन्यौ भने खुसी हुन्छौं, नराम्रो सुन्यौं भने दुःखी र आश्चर्यको कुरा सुन्यौं भने आश्चर्यचकित हुन्छौं । फरक–फरक कुरामा फरक अनुभूति हुन्छ । हामी दिनभरि विभिन्न कुरा सुन्छौं, जसले मन परिवर्तन भइरहेको हुन्छ । राम्रो, नराम्रो, विश्वास, आश्चर्य सबै किसिमका कुराहरू सुन्नुपर्ने हुन्छ मान्छेले । बाहिरी वातावरणले केही कुरा सुन्दा हुने क्षणिक परिवर्तन सामान्य कुरा हो । दुःख, चिन्ता आदिको कुरा सुन्दा त्यसले लामो समय सताउँछ भने त्यो मनोरोगको समस्या हो ।

मनोरोग खास रोग नै हो कि होइन ?

खासमा कुनै रोगभन्दा जस्तो फोक्सोको टिबी हुँदा अथवा कतै कुनै भागमा घाउ बनेको छ भने देखिन्छ । तर, मनोरोगमा प्रत्यक्ष त्यस्तो केही हुँदैन । हाम्रो न्युरो ट्रान्समिटरमा हुने रसायनिक तत्वमा गडबडी भइराखेको अवस्थामा मनोरोग हुन्छ । 

मनोरोग भयो भनेर सामान्य मान्छेले पत्ता लगाउने विधि के हो ?

सामान्यतया रोग पत्ता लगाउने विधि भनेको रगत जाँच, एक्स रे, सिटी स्क्यान आदि हो । तर, मनोरोग लागेको पत्ता लगाउने भनेको अवलोकन नै हो । मान्छेले कसरी बोल्छ, हिँड्छ र प्रस्तुत हुन्छ भन्ने कुराले थाहा हुने हो । कडा खालको मनोरोग लागेमा त बाटोमा आफ्नै सुरले हिँडेको हामीले देख्छौं । उसको नियमित व्यवहारमा आएको गडबडी हेरेर नै मनोरोग मापन गरिन्छ । इन्जाइटी डिसअर्डर भएमा अर्थात् चिन्ता लिनु नपर्ने कुरामा पनि चिन्ता लिने अवस्था पनि मनोरोगको लक्षण हो । 

सबैभन्दा महत्वपूर्ण कुरा के बुझ्नु र बुझाउनुपर्‍यो भने उपचार गर्दा मानसिक रोग ठीक हुन्छ । तर, त्यसलाई उपचारका साथै माया, ममता पनि जरुरी छ । उसलाई हेप्ने, गलत व्यवहार गर्ने, कुनै जिम्मेवारी नदिने गर्नाले एक पटक ठीक भइसकेको मानसिक रोग बल्झिने गरेको धेरै उदाहरण छन् । मानसिक रोगीलाई सामाजिक पारिवारिक सहयोग भएन भने बल्झने सम्भावना धेरै नै हुन्छ ।


निराशाको चरम विन्दुचाहिँ मनोरोग हो कि होइन ?

होइन, त्यस्तो चरम विन्दु भन्ने हुँदैन । तपाईँले डिप्रेसनको कुरा गरिरहनुभएको छ । डिप्रेसन भएको बिरामीको मनमा धेरै कुरा खेल्ने गर्छ, नयाँ खालका विचार आउने, मर्नेे आदि हुन्छ । ‘म खत्तम भएँ, केही गर्न सक्दिनँ’ भन्ने बिरामीले सोचिरहेको हुन्छ । यसमा व्यवहारिकरूपमा उसले आत्महत्याको प्रयास गर्ने पनि हुन्छ । 

त्यसो भए यो निराशाको पार्ट हो, हैन त ?

यो डिप्रेसनकै एउटा पार्ट हो । डिप्रेसन भएको बिरामी कोठामा एक्लै बस्ने, अरुसँग नबोल्ने, जुनरूपमा खुसी हुनुपर्ने हो त्यो नहुने, झोक्राएर बस्ने गर्छ । सामान्य अवस्था भन्दा बिरामीको व्यवहार फरक देखिन्छ । त्यसकारण यसलाई एबनर्मल भनिन्छ । एन्जाएटी डिसअर्डर भएको बिरामी विना कारण डराउने हुन्छ । कोही मर्‍यो, बिरामी भयो भन्ने सुन्यो भने मलाई पनि त्यस्तो हुने हो कि भनेर डराउने, के भयो, कसो भयो भन्ने डर हुन्छ । बिरामी त्योदेखि डराएर र आत्तिएर म पनि मर्न लागे सोच्छ । 

तपाईँको अनुभवमा मनोरोग बढ्नुको कारण के हो ? 

जन्मिँदाखेरि आउने (बाायोलजिकल कज), जेनेटिक कज आदि कारणले यो रोग हुनसक्छ । मानिस जन्मेको हुर्केको वातावरणले पनि यो रोग निम्त्याउन सक्छ । बच्चा बेलामा आमाबुबा बितेको, अभावमा जिन्दगी बिताउनुपरेको, कसैले गाली गरेको वा पिटेको थियो भने स्मरणशक्ति राम्रो हुँदाहुँदै पनि ऊ कुण्ठा र हिनताबोधमा बसिरहेको पनि हुनसक्छ । 

अर्को भनेको सामाजिक कारण हो । समाजले उसलाई कस्तो व्यवहार गर्छ, समाजमा कत्तिको घुलमिल हुन्छ आदि । तर, यसमा कुनै एउटा मात्र कारण नहुन सक्छ । सांस्कृतिक व्यवहारले पनि केही फरक पार्न सक्छ । नेवार, राई आदिको बच्चै बेलादेखि नै रक्सी खाने कुरालाई सामान्यरूपमा लिन्छन् अनि त्यसमै निर्भर रहने गर्छन् । शिवरात्रिमा गाँजा खाने, होलीमा भाङ खाने भन्ने सांस्कृतिक आदि कारणले पनि कहिलेकाहीँ मनोरोग निम्त्याउन सक्छ । 

सामान्य मनोरोग भएको मान्छेलाई उसको पेशा वा अन्य क्षेत्रमा हिन भावले हेर्दा बढ्नमा कत्तिको मलजल गर्छ ? 

यसमा कुनै एउटा मात्र तत्व कारक नहुन सक्छ । निरन्तर पिर, चिन्ता, हेपाई आदि थुप्रै कुरा भएमा हुन सक्छ । कुनै एक पटक ढुंगाले हानेर नफुटेको भाँडो हानिरह्यो भने फुट्छ नि, त्यस्तै हो यो । परिवारका सदस्यलाई जघन्य रोगको उपचार गर्न नसक्ने अवस्था भएमा वा चरम आर्थिक अभाव आदिले पनि यसलाई धेरै मलजल गर्न मद्दत गर्छ । 
 

सबैभन्दा महत्वपूर्ण कुरा के बुझ्नु र बुझाउनुपर्‍यो भने उपचार गर्दा मानसिक रोग ठीक हुन्छ । तर, त्यसलाई उपचारका साथै माया, ममता पनि जरुरी छ । उसलाई हेप्ने, गलत व्यवहार गर्ने, कुनै जिम्मेवारी नदिने गर्नाले एक पटक ठीक भइसकेको मानसिक रोग बल्झिने गरेको धेरै उदाहरण छन् । मानसिक रोगीलाई सामाजिक पारिवारिक सहयोग भएन भने बल्झने सम्भावना धेरै नै हुन्छ ।

अनुसन्धानले विश्व र नेपालमा यसको दर कति रहेको देखाउँछ ? 

हामीकहाँ खास अनुसन्धान भएको छैन । नेपालमा अनुमानित ३० प्रतिशत मनोरोगी रहेको भनिए पनि त्यति छ जस्तो मलाई लाग्दैन । तर, करिब २० प्रतिशत मनोरोगी छन् । 

मनोरोग कति प्रकारको हुन्छ ? 

हालसम्मको अनुसन्धानले दुई सय पचास भन्दामाथि करिब तीन सय प्रकारका मनोरोग रहेको देखाउँछ । 

हामीसंँग मनोरोगीहरूको उपचार गर्ने जनशक्ति कति छ ? 
यो हिसावले भन्ने हो भने खासै छैन भन्दा पनि हुन्छ । अहिलेको हिसाबमा नेपालमा १७०/१८० जना जति चिकित्सकहरू होलान् । हरेक वर्ष १५/२० जना निस्किरहेका छन् । त्यसलाई राम्रै मान्नुपर्छ । पाँच वर्षमा दोब्बर हुने अनुमान गरिएको छ ।  

त्यो जनशक्ति काठमाडौंमा मात्र हो कि बाहिर पनि छ ? 

काठमाडौंमा ८०/९० जना कार्यरत होलान् । बाँकीचाहिँ काठमाडौंबाहिर छन् । विदेश जाने झनै छन् । अस्ट्रेलियाले त धेरै नै लिइराखेको छ । त्यहाँ त जाँच पनि पर्दैन । १५/२० जना निस्किएकोमा सरदर २/३ जना बाहिर गइरहेका हुन्छन्, कोसिस गरिराखेका हुन्छन् । कहिले एकै लटमा धेरै बाहिर गइदिन्छन् । 

मनोरोगीलाई ठ्याक्कै टिप्सको रूपमा भन्नुपर्दा चाहिने के–के हो ?

मनोरोगीलाई चाहिने भनेको माया ममता नै हो । रोगीलाई हेप्ने र छि छि गर्ने होइन । किनकि अहिले हातखुट्टा नभएका मानिसले त काम गरेर खाइरहेका छन् भने उनीहरूले गर्नै नसक्ने त होइन नि । उसलाई माया गर्ने, सहयोग गर्ने, सीप विकास गराउने पहिलो काम गनुपर्छ । अहिले सरकारले मानसिकरूपमा विक्षिप्त भएकालाई अपांगताको सूचीमा राखेर मासिक तीन हजार रूपैयाँ भत्ता दिने गरेको छ । तर, उसले औषधि खायो खाएन मतलव छैन । त्योभन्दा पनि उनीहरूलाई एक ठाउँमा राखेर खाना, आवास तथा औषधिमुलो गर्ने व्यवस्था गर्नुपर्‍यो भन्ने हो । 

राज्यले अहिले जे व्यवहार गरिराखेको छ त्यो गलत छ त्यसो भए ? 

उनीहरूलाई सुधार गृहमा राखेर सीपसम्बन्धी तालिम दिने, अनि सामाजिक बनाउने काम राज्यले गर्नुपर्छ । कतिपयलाई हातखुट्टा बाँधेर, सिक्रीले तथा दाम्लोले बाँधेर राखिएको हामीले सुनेकै छौं । अब उनीहरूसँग अरु उपाय नै हुँदैन । उपचार गर्न पैसा छैन, स्वास्थ्य संस्था टाढा छ र एकजनालाई हेरेर अरु काम नगरी बस्न सक्ने अवस्था पनि छैन भने के गर्ने त ? रोगीले पिट्ने, कुट्ने, चिच्याउने गर्छ भने परिवारलाई त बाँधेर राख्नु नै सबैभन्दा सजिलो उपाय भयो । उसको लागि त त्यो नै समाधान भयो । तर, यो सही तरिका त होइन नि । त्यस्ता मान्छेलाई सुधार गृहमा राखेर उपचार गर्न सक्यो भने उपयुक्त हुन्छ । अन्यथा घरको मान्छे त उसको पछिपछि मात्रै लाग्नुपर्‍यो, अहिलेको अवस्थामा त्यो गाह्रो छ । अहिले गाउँघरमा सक्षम मान्छे धेरै वैदेशिक रोजगारमा हुन्छन् । घरमा बूढाबूढी, केटाकेटी मात्र हुन्छन् भने रोगीको हेरचाह कसले गर्ने ? त्यस अवस्थामा सुधार गृहमा राखेर रोगीको उपचार गर्दा धेरै सजिलो र फरक पर्ने हुन्छ । 

सारमा भन्नुपर्दा टाउको दुखेर सिटामोल वा अन्य केही भएर पेनकिलर खाएजस्तो मनोरोगको उपचार गर्न सजिलो छैन भन्न खोज्नुभएको हो ? 

सबैभन्दा महत्वपूर्ण कुरा के बुझ्नु र बुझाउनुपर्‍यो भने उपचार गर्दा मानसिक रोग ठीक हुन्छ । तर, त्यसलाई उपचारका साथै माया, ममता पनि जरुरी छ । उसलाई हेप्ने, गलत व्यवहार गर्ने, कुनै जिम्मेवारी नदिने गर्नाले एक पटक ठीक भइसकेको मानसिक रोग बल्झिने गरेको धेरै उदाहरण छन् । मानसिक रोगीलाई सामाजिक पारिवारिक सहयोग भएन भने बल्झने सम्भावना धेरै नै हुन्छ । 

कडा मानसिक रोग लागे पनि आफैं ठीक भएको पनि देखिन्छ नि ?

वातावरणका कारण त्यसो भएको हुनसक्छ । हाकिम, श्रीमान–श्रीमतीसँग, सासूससुरासँग खटपट सहन गर्न नसकेर मानसिक रोग लाग्न सक्छ । तर, त्यो सधैँ भइरहने घटना त होइन । व्यवहारिकरूपमा ठीक भएपछि त्यस्ता घटनामा बिना औषधि पनि ठीक हुनसक्छ । तर, अति नै भयो, निद्रा पर्न छोड्यो भने औषधि पनि खानुपर्ने हुन्छ । मानसिक रोगको पनि वर्गिकरण गरिएको छ– नरम खालकाे मानसिक राेग, मझाैला खालकाे मानिसक राेग र कडा खालकाे मानिसक राेग  । सामान्य हो भने औषधि खाइहाल्नुपर्ने हुँदैन । समस्या केबाट उत्पन्न भएको हो त्यसको निदान खोज्नतिर लाग्यो भने ठीक हुन्छ । 

सबै मान्छे मनोरोगी हुन्छन् मात्रा मात्र धेरथोर भन्यो भने सही हुन्छ कि गलत ?

सबै जना मनोरोगी हुन्छ भनेर त्यसरी भन्न मिल्दैन । तपाईँ आफ्नो घर व्यवहार, सामाजिक तथा आर्थिक उपार्जनका सबै काम ठीक ढंगले गरिरहनुभएको छ भने तपाईँलाई कसरी रोगी भन्ने ? यी सबै कुरा गर्न सकेन भने मात्र आउने हो । 

मानिसले नियमित काममा अस्वभाविक व्यवहार देखाउन थालेपछि मानसिक रोग लागेको भन्न सकिन्छ ? 

हामीले विचार गर्ने भनेको बिरामीको हाउभाउ तथा व्यवहार र उसले गर्ने कुराहरू हो । यसका अलावा उसको निर्णय क्षमतामा कमी आउँदै छ कि छैन, उसको तिक्ष्णता कस्तो छ, उसको स्मरणशक्ति कस्तो छ, यी  कुराबाट मनोरोग लागेको हो कि होइन भन्नेृ थाहा पाउन सकिन्छ । 

समाजले अथवा साथीभाइले मनोरोगी पहिचान गरी चिकित्सककहाँ ल्याउँदा खर्चका हिसाबले यसको उपचार कति सहज छ ? 

मैले एउटा अनुसन्धान पनि गरेको थिएँ । मनोरोगका रोगीलाई चिकित्सककोमा ल्याउनुभन्दा पहिले धामी झाँक्रीकोमा लिएर जाने गरेको पाएँ । उसको पहिलो उपचार धामी झाँक्रीकोमा र त्यहाँ पनि पैसा बढी खर्च गर्ने गरेको पाएको छु । मैले जर्नलमा पनि प्रकाशित गरिसकेको विषय हो यो । हामीकहाँ लामो समयसम्म औषधि खानुपरेको अवस्थामा पनि त्यो खासै महँगो भने छैन ।

भनेपछि खासै महँगो वा गाह्रो हुने अवस्था छैन ? 

उसले काम गर्न नसक्ने अवस्था भएकोले गाह्रोे भएको हो । युवा अवस्थामा नै यो रोग लाग्दा झन् गाह्रो हुन्छ, किनकि यो समयमा काम गर्नुपर्ने, क्षमता विकास गर्नुपर्ने हुन्छ । यदि सीप, क्षमता विकास भइसकेको अवस्था छ भने सजिलो नै हुन्छ । किनकि उसले जानेको कुरा त गर्न सक्ने भयो नि । 

आत्मबल बढाउने काम राज्यले गरिदिनुपर्‍यो भन्न खोज्नुभएको हो ? 

हो, राज्यले मनरोगीका लागि सुधार गृहदेखि सीप विकासका तालिम दिएर गरी खान सक्ने गरी आत्मबल बढाउने खालका कार्यक्रमको व्यवस्था गरिदिनुपर्छ । 

राज्यले मनोरोगीलाई के गरेको छ अहिले ?

सरकारले मनोरोगीलाई मासिक तीन हजार रूपैयाँ भत्ता दिनेबाहेक केही पनि गरेको छैन । जनसंख्याको करिव २० प्रतिशत मनोरोगीमा यसरी राज्यले नै हेर्नुपर्ने भनेको ५ प्रतिशतलाई  मात्रै हो । तर, यति ठूलो हिस्सालाई राज्यले हेरेको छैन । यिनलाई कसले हेर्ने ? घरमा हेर्न नसक्ने बोझ भएका कारण कतिपय मानसिक रोगी बाटोमै जीवन व्यतित गरिरहेका छन् । मैले वृद्धाश्रममा गएर हेर्दा तथा अनुसन्धान गर्दा के पाएँ भने त्यहाँ त ९० प्रतिशतलाई डिप्रेसन छ । २४० जना रहेको पशुपतिको वृद्धाश्रममा गएर हेर्दा ९० प्रतिशतलाई डिप्रेसन भएको पाइयो । त्यहाँ एकजना मनोचिकित्सक, एकजना हाडजोर्नी तथा एकजना मुटुरोगको चिकित्सकको आवश्यकता रहेको देखिन्छ । बुढेसकालमा उपचार चाहिन्छ । तर, औषधि उपचारको प्रबन्ध नै छैन । मनोचिकित्सकको दरबन्दी नै छैन, अब कसले गएर हेर्ने ? यो समस्या छ । मैले आफैंले अनुसन्धान गरेको त होइन । तर, एउटा अध्ययनले यो समस्या जेलमा पनि टड्कारोरूपमा रहेको बुझिन्छ । त्यहाँ भित्र पनि एउटाले अर्कोलाई तँ यस्तो उस्तो भनेर मारपिटका घटना हुन्छन् । त्योभन्दा पनि उसले अपराध किन गर्‍यो त भन्ने कसैले ध्यान दिएकै छैन । अपराध गरेका कारण थुनेर राखेर मात्र त भएन नि । 

मनोरोग विशेषज्ञहरूले संगठितरूपमा राज्यलाई वा स्वास्थ्य मन्त्रालयलाई अनुरोध, दबाब नदिएका कारण यसो भएको हो कि ? 

यहाँ त लबिङभन्दा पनि राजनीतिक पहुँच हुनुपर्ने रहेछ । संगठनबाट पनि नगरेको होइन । तर, केही भइरहेको छैन । सरकारले मानसिक रोगको लागि स्वास्थ्य भित्रको जम्मा ०.५ प्रतिशत बजेट छुट्टयाएको छ, त्यो पनि सरकारी अस्पताललाई । देशभरिमा एउटा मात्र सरकारी मानसिक अस्पताल छ भनेपछि स्थिति आफैं बुझ्नुस्, त्यो पनि जम्मा ४० बेडको । त्यसमा पनि बेड हुँदैन । त्यस्तो अस्पताल त सातै प्रदेशमा व्यवस्था गर्नुपर्‍यो । अनि यहाँको चिकित्सकले पनि काम पाउँछ । काम नै नभए पछि ऊ विदेश जान बाध्य छ ।