‘क्विन्स इभेन्ट्स म्यानेजमेन्ट प्रालि’को आयोजनामा हुने वुमन्स च्याम्पियन्स लिग (डब्लूसीएल) टि–ट्वान्टी क्रिकेट प्रतियोगिताको ट्रफी मंगलवार सार्वजनिक गरिएको छ । असोज २९ देखि कात्तिक ७ गतेसम्म सञ्चालन हुने उक्त प्रतियोगिताको विजेताले पाउने ट्रफी काठमाडौंमा आयोजित कार्यक्रममा सार्वजनिक गरिएको हो ।
प्रतियोगितामा विभिन्न पाँच शहरका पाँच टोली सहभागी हुनेछन् । ललितपुर फाल्कोन्स, पोखरा पल्टन, क्याट क्विन्स काठमाडौं, चितवन राइनोज र विराटनगर टाइन्ट्सले प्रतियोगिता खेल्नेछन् । राउण्ड रोबिनको आधारमा हुने उक्त प्रतियोगितामा सहभागी सबै टोलीले एकअर्कासँग खेल्नेछन् ।
शीर्ष स्थानमा पुग्ने टोली स्वतः फाइनल प्रवेश गर्नेछ भने दोस्रो र तेस्रो स्थानको टोलीले फाइनल प्रवेशका लागि क्वालिफायर खेल्नुपर्नेछ । यस्तै, अन्तिम स्थानमा रहने दुई टोली समूह चरणबाटै बाहिरिनेछन् । प्रतियोगिताको विजेताले सात लाख तथा उपविजेताले तीन लाख रुपैयाँ पुरस्कार प्राप्त गर्ने आयोजक संस्थाका प्रबन्धक छुम्बी लामाले जानकारी दिनुभयो ।
सर्वोत्कृष्ट खेलाडीले टीभीएसको एक थान स्कुटरसहित ५० हजार तथा उत्कृष्ट बलर र उत्कृष्ट ब्याट्स वुमनले जनही २५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । बुधबार उद्घाटन खेलमा क्याट क्विन्स काठमाडौं र चितवन राइनोजबीच कीर्तिपुरस्थित त्रिवि खेल मैदानमा हुनेछ ।