पारसको राजीनामा ! ‘पावर’का लागि बार्गेनिङ कि चतुरबहादुरले हटाउनु पूर्वको चतुर्‍याईँ !!

पारसको राजीनामा ! ‘पावर’का लागि बार्गेनिङ कि चतुरबहादुरले हटाउनु पूर्वको चतुर्‍याईँ !!

लोकसंवाद संवाददाता  |  खेलकुद  |  आश्विन २९, २०७६

काठमाडौँ । झन्डै चार वर्ष लामो प्रतिबन्धपछि नेपाल क्रिकेट संघ (क्यान) २०७६ साल असोज २६ गते मंगलबारबाट औपचारिक रूपमा फुकुवा भयो । चार वर्षे अवरोधमा नेपाली क्रिकेटमा एक मात्र चर्चित र क्रिकेटमा अन्तर्राष्ट्रिय सफलताका हिमायतीका रूपमा परिचित थिए पारस खड्का । क्यानको अन्तरिक किचोला र आर्थिक अनियमितताको सिकार भएर थिलथिलो भई प्रतिबन्ध हुँदा पनि पारस भने सधैँ चर्चामा रहे । नेपाली क्रिकेट समर्थकले उनको कप्तानीमा तीन वर्ष लामो प्रतिबन्धमा पनि सफलताको स्वाद निरन्तर चाखेन्न मात्र होइन नेपाललाई कुनै न न कुनै उपाधीको निकट संधै पुर्‍याए  । पछिल्लो समय एकदिवसीय विश्वकपको ग्लोबल छनोटलाई बिर्सने हो भने नेपाली क्रिकेटमा उनको सफलता अनुकरणीय नै मानिन्छ ।

पारसको कप्तानी र नेपालको फड्को

विनोद दासले नेपाली क्रिकेटलाई वामे सार्दै अघि लगे र उभिने अवस्थामा पुर्‍याएर चोटका कारण सन्न्यास लिए । विनोदपछि नेपाली क्रिकेटमा एकछत्र कप्तानको जिम्मेवारी सम्हालिरहेका पारसले आफ्नो कप्तानीमा नेपाललाई एकदिवसीय मान्यताप्राप्त देशको स्थानमा पुर्‍याए, जुन नेपाली क्रिकेटका लागि ऐतिहासिक कोसेढुंगाका रूपमा रहिरहनेछ । साथै उनको व्यक्तिगत प्रदर्शनमा नेपालले धेरेजसो प्रतियोगितामा जीत हासिल गर्नसमेत सफल भएको छ । 

पारस नचलेका धेरै इनिङमा नेपाल पराजित भएको छ । पारस दश वर्षयता नेपाली राष्ट्रिय टोलीमा निर्विकल्प कप्तानका रूपमा रहे । उनले विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘मैले क्रिकेटको कप्तान पदबाट राजीनामा दिने निर्णय लिएको छु, नयाँ तरिकाले क्रिकेटलाई अगाडि बढाउन बाटो खुलोस् भन्ने मेरो चाहना हो ।’

पारसले सन् २००९ को एसीसी टी–२० कपका लागि राष्ट्रिय टिमको कप्तानको जिम्मेवारी पाएका थिए । उनले तात्कालिक कप्तान विनोद दासको स्थानमा कप्तानी गर्ने अवसर पाएका थिए । त्यसयता उनले निरन्तर नेपालको कप्तानी गर्दै आएका छन् । २२ वर्षको युवा उमेरमा नै कप्तानीको जिम्मेवारी पाएका पारसले आफूलाई सबैखाले भूमिकामा प्रमाणित गरेका छन् । उत्कृष्ट ब्याट्सम्यान रहेका पारस पार्टटाइम बलरसमेत हुन् । साथै फिल्डिङमा समेत आफ्नो चुस्त अनुभव देखाउने गरेका छन् उनले ।

पारसको कप्तानीमा नेपालको सफलता

पारसको नेतृत्वमा नेपालले डिभिजन– ५ देखि एकदिवसीय टिम र टी–२० टिमको मान्यता खेल्न सुरु गरेको थियो । सन् २०१४ मा बंगलादेशमा भएको टी–२० विश्वकपको नेपालको नेतृत्व गरेका पारसले नेपालका लागि एकदिवसीय र टी–२० शतक हान्ने रेकर्ड बनाएका छन् । पारसले सन् २००४ मा इन्टरकन्टिनेन्टल खेलमार्फत् नेपालको राष्ट्रिय टोलीमा डेब्यु गरेका थिए । मलेसियाविरुद्धको खेलमार्फत् डेब्यु गर्दा पारसले पहिलो इनिङमा ४४ रन  र १ विकेट लिएका थिए । नेपालले ९ विकेटले खेल जितेको थियो । त्यसयता उनले नेपालका लागि ६ एकदिवसीय, २७ टी–२० अन्तर्राष्ट्रिय, २ फस्र्ट क्लास, ४० लिस्ट ए र ५० टी–२० खेल खेलेका छन् । 

डिभिजन पाँचबाट उनले नेपाललाई एकदिवसीय विश्वकपसम्म पुर्‍याउँदा जबर्जस्त रूपमा आफूलाई प्रमाणित गरेका छन् । उनको नेतृत्वमा नेपालले पहिलो पटक टी–२० विश्वकप खेल्ने सौभाग्य प्राप्त गरेको थियो । त्यसैले उनको टाइमलाइनमा नेपाली क्रिकेटको सफलताका कथाहरू धेरै छन् ।

किन छाडे कप्तानी ?

पारसले २०७६ असोज २७ गते बुधबार अर्थात क्यान प्रतिबन्ध पुकुवा भएको भोलीपल्टै राजीनामापछि आयोजित पत्रकार सम्मेलनमा पनि आफूले नयाँ संघलाई काम गर्न सजिलो होस् भन्नका लागि कप्तानको जिम्मेवारीबाट बिदा लिन चाहेको बताए । साथै उनले अब कप्तानको रूपमा नफर्कने तथा क्यानको छनोट समितिले टिममा बोलाए खेलाडीको रूपमा भने सक्रिय हुने बताए । तर, पारसले राजीनामा दिने मानसिकता बनाएको हठात् भने होइन । चतुरबहादुर चन्द नेतृत्वको अघिल्लो कार्यसमितिकै पालामा पारससँग सहकार्य मिलिरहेको थिएन । टी–२० विश्वकपमा सहभागी भएर आएपछि खेलाडीहरूले उनकै नेतृत्वमा तलब र भताका लागि आन्दोलनै गरेका थिए । उक्त समयमा समस्या समाधान भए पनि पछि बहुमत कार्यसमितिले पारसलाई कप्तानबाट हटाउने निर्णय रातारात गरेको थियो । यद्यपि, एक दैनिक पत्रिकामा समाचार सार्वजनिक भएपछि समर्थक तथा खेलकर्मीले उक्त निर्णयको चर्को विरोध गरे । बाध्य भएर क्यानले तत्कालीन समयमा निर्णय सार्वजानिक गरेन । 

विगतमा आफुलाई कप्तानबाट हटाउने निर्णय गर्ने अधिकांश पुरानै व्यक्ति कार्यसमितिमा निर्वाचित भएपछि पारस असन्तुष्ट रहँदै आएका थिए, जसका कारण उनले सामाजिक सञ्जालमार्फत् राजीनामाको घोषणा  गरे । क्यानका एक पधाधिकारी भन्छन्, ‘पछिल्लो समय नेपाली क्रिकेटमा पारसको सर्वेसर्वा थियो । उनीसँग निकट हुनेहरू मात्रै टिममा पर्ने र छनोट हुने अबस्था थियो । तर, नयाँ कार्यसमितिले उनको मनोमानीमा स्वाभाविक रूपमा ब्रेक लगाउने थियो । त्यो बुझेर नै उनले ‘पब्लिक सेन्टिमेन्ट’ बटुल्न राजीनामा दिएका हुन् ।’

असन्तुष्टि उत्तिकै 

पारससँग सन्तुष्ट हुनेहरूको जमात जति छन्, आन्तरिक रूपमा त्यसभन्दा धेरै उनका विरोधीहरू छन् । पछिल्लो तीन वर्ष निरन्तर छनोटकर्ताको भूमिका निभाउँदा उनले कहिल्यै पनि प्रदर्शनलाई आधार नमानेको भन्नेहरूको संख्या कम छैन । एक खेलाडी भन्छन्, ‘मैले दुई पटक राष्ट्रिय क्रिकेट प्रतियोगितामा उत्कृष्ट ब्याट्सम्यानको उपाधि जितेँ तर राष्ट्रिय टिममा स्थान बनाउन सकिनँ । त्यसको कारण पारससँगको सम्बन्ध नै हो ।’ 

उनले पारसको चाकडी गर्नेहरू सधैँ नजिक हुने र नगर्नेहरू सधैँ वायस हुनुपर्ने अबस्था अझै रहेको बताए । उनले भने, ‘अहिले नेपाली क्रिकेटले जस्तो सफलता हात पारेको छ, त्यो निकै राम्रो हो तर यो भन्दा थप गर्न सक्थ्यो– यदि निष्पक्ष छनोट भएको भए ।’

अबको विकल्प

स्वाभाविक रूपमा कप्तानमा पारसको दख्खल र अनुभव दक्षिण एसियामै उत्कृष्टमध्येमा पर्ने गर्छ । उनले खेलपछि मिडियालाई दिने कूटनीतिक जवाफ र ‘एड्रेस’ गर्ने शैली शालीन छ । जस्तोसुकै समस्यालाई सहज रूपमा ‘फेस’ गर्ने भएकाले कप्तानका रूपमा उनले कहिल्यै पनि असहज महसुस गर्नुपरेन । जित्दा मात्रै होइन, हार्दा पनि उनी उत्तिकै सहज रूपमा रहन्थे । त्यसैले उनलाई नेपाली फ्यानहरूले ‘कुल क्याप्टेन’को उपमा नै दिए । तर, भारतमा पनि महेन्द्रसिंह धोनीलाई निर्विकल्प कप्तानका रूपमा लिने गरिन्थ्यो तर उनको राजीनामालाई बीसीसीआईले सहज रूपमा स्वीकार्‍यो र विराटलाई जिम्मेवारी दियो । विराटले आफ्नो कप्तानी भूमिकामा प्रश्न उठ्न दिएका छैनन् । त्यसैले अहिले पनि नेपालमा पारस खड्काले छाडेपछि कप्तानविहीन हुनुपर्ने अवस्था नभएको क्यान पदाधिकारी बताउँछन् । एक पधाधिकारीले भने, ‘कप्तानको जिम्मेवारी पाएपछि मात्रै थाहा हुन्छ । उसले कसरी टिमलाई अघि बढाउँछ भनेर विनोद दासले छोडेपछि पनि त्यस्तै महसुस भएको थियो । त्यसैले पारस पछि पनि नेपाली क्रिकेट सम्हाल्ने युवा खेलाडीको कमी छैन ।’

पारसले राजीनामा दिए पनि क्यानले औपचारिक रूपमा कुनै जवाफ दिएको छैन । त्यसो त पारसले आधिकारिक निकाय क्यानमा राजीनामा नबुझाई पहिला सामाजिक सञ्जालमार्फत् राजीनामा घोषणा गरे । त्यसैले क्यानले औपचारिक रूपमा केही भनेको छैन । उनको लोकप्रियताका कारण क्यानले तत्काल राजीनामा अस्वीकृत गर्ने संभावना भने बाँकी छ । त्यसो भएमा भने पारसको बार्गेनिङ ‘पावर’ बढ्ने निश्चित  छ ।