अलबिदा ‘अपर्चुनिटी रोभर’ !

अलबिदा ‘अपर्चुनिटी रोभर’ !

लोकसंवाद संवाददाता  |  ज्ञानविज्ञान  |  फाल्गुन २, २०७५

झण्डै १५ वर्षको सानदार सक्रिय जीवन बाँचेर अन्ततः ‘अपर्चुनिटी रोभर’ मंगल ग्रहको भूमिमा सधैँका लागि विश्रामावस्थामा लिन हुन पुगेको छ । 

नासाले आधिकारिक विज्ञप्ति दिँदै ६ चक्के यस ‘रोभर मिसन’को अन्त भएको जनाएको छ । नासाका अनुसार आँधीको चपेटामा परेर ‘रोभर’को अन्त भएको हो । 
गत जुन महिनामा मंगल ग्रहमा आएको आँधीले ‘रोभरको’ विद्युत सप्लाई बाधित भएको थियो । 

‘हाम्रो प्यारो ‘अपर्चुनिटी’ शान्त भएको छ,’ नासाका एसोसिएट एडमिनिस्ट्रेटर जुरवुचेनले फरवरी १३ बुधबारका दिन घोषणा गरे । आँधीमा उडेको धुलोले ‘अपर्चुनिटी’का सोलार प्यानललाई पूरै ढाकी दिएकाले विद्युत सप्लाई रोकिन गयो । यो नै ‘रोभर’को अन्तको कारण बन्यो । नासाले मर्मतका अनेकौं उपाय गर्‍यो, अन्ततः केही सीप नलागेर यस मिसनको अन्त भएको घोषणा गर्यो । 

‘अपर्चुनिटी रोभर’ सन् २००४ को २५ जनवरीका दिन मंगल ग्रहमा ओर्लिएको थियो । 

पृथ्वीबाट ७ जुलाई २००३ मा प्रक्षेपित भएको यो ‘रोभर’ ६ महिना १८ दिनमा मंगल सतह छुन सफल भएको थियो । ‘रोभर’ले आफ्नो जीवनकालमा मंगलको ४५.१६ किमि भूमि छिचोल्यो ।