‘सीप्लोमेसी’ले दिन खोजेको खतरनाक सन्देश

‘सीप्लोमेसी’ले दिन खोजेको खतरनाक सन्देश

घनेन्द्र ओझा  |  दृष्टिकोण  |  आश्विन २९, २०७६

विश्वमा आर्थिक–राजनीतिक–सामरिक हरेक हिसाबले महाशक्ति राष्ट्र बन्ने ध्याउन्नमा रहेको नेपालको उत्तरी छिमेकी मुलुक चीनका राष्ट्र प्रमुख सी चिनफिङले भर्खरै नेपालको राजकीय भ्रमण सम्पन्न गरेर फर्कनुभएको छ । सी फर्किएसँगै सीले नेपालको माटोमा उभिएर गर्नुभएका कुराहरूबारे बहस र विश्लेषण हुन थालेका छन् । उसै त चीन ‘साइलेन्ट डिप्लोमेसी’को मान्यताबाट अघि बढिरहेको बुझिएकै हो, विश्व जगतले पनि नेपालमा चीनका राष्ट्र प्रमुखको बोली र व्यवहार कुन रूपको हुन्छ भनेर चासो दिइरहेकै थियो ।

चीनका राष्ट्र प्रमुखको नेपाल भ्रमण २३ वर्षपछि भएको हो । नेपाल र नेपालीको मात्र नभएर यसमा अमेरिका, युरोप, भारतलगायतका मध्यपूर्वी र अफ्रिकी मुलुकसम्मको चासो नहुने कुरै भएन । एकातिर भारत–पाकिस्तानबीचको टकराव, अमेरिकाले भारतको नजरबाट दक्षिण एसियाका अन्य देशलाई हेर्ने बताइसकेको अवस्था, चीन र भारतबीच नै अघोषित ‘शक्ति संघर्ष’, अमेरिकासँग बिग्रँदो चीनको व्यापारिक–कूटनीतिक सम्बन्धलगायतका कुराहरूका कारण पनि चीनका राष्ट्रपतिको यस पटकको नेपाल भ्रमण सबैको चासो बन्नु स्वाभाविक थियो ।

रमाइलो त के भयो भने, सी चिनफिङले नेपाल छिर्नुअघि अर्को छिमेकी मुलुक, जो दक्षिण एसियामा मात्र नभएर समग्र एसियामै शक्तिशाली बन्न जोड गरिरहेको छ, भारतको ‘मन राखेर’ मात्र नेपाल प्रवेश गर्नुभयो । केही समयका लागि भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको ‘भव्य आतिथ्य’ स्वीकार गरेर मोदीको पिठ्युँमा ‘सीप्लोमेसी’को धाप मारेर सी नेपालका प्रधानमन्त्री, सत्तारुढ नेता तथा प्रमुख प्रतिपक्षका ‘शिरमा आशीर्वाद’ दिन आइपुग्नुभयो ।

सी भारतमा रहँदा उति ठूलो होहल्ला नभए पनि नेपालमा आएपछि भने विश्वभरका मिडिया र विश्लेषक अनि कूटनीतिज्ञहरूको ध्यान खिचियो । यसको कारण के थियो भने, नेपाल चीन र भारत दुई शक्ति राष्ट्रहरूको बीचमा रहनु, पाकिस्तान, भारत र तिब्बत (जो चीनबाट स्वतन्त्र रहन प्रयत्नरत छ)का नागरिकहरूको नेपालमा प्रशस्त उपस्थिति हुनु, नेपालकै माटोबाट पाकिस्तान, भारत र अमेरिकासम्मलाई चीनले ‘चुनौती र ढाडस’ दिन सक्ने अवस्था हुनु पनि हो । अझ कतिपयको अनुमान छ कि नेपालमा पाकिस्तानी आतंकवादीहरू लुकिरहेका छन् । तिब्बती शरणार्थीहरू त खुला रूपमै बसिरहेकै छन्, जो स्वतन्त्र तिब्बतको माग गर्दै आएका छन् । भारतीयहरूको पनि नेपालमा कमी छैन, चाहे जुनसुकै उद्देश्यले यहाँ रहेका हुन् ।

यी सबै विषय किन उठाइयो भने, चीन दक्षिण एसियासँग निकट सरोकार राख्ने मुलुक हो, जो विश्व महाशक्ति राष्ट्रको बाटोमा बढेको छ । उता, अमेरिकालाई आफ्नो दबदबा विश्वमा कायम राख्ने चुनौती छँदै छ भने भारतलाई पनि विश्वमा शक्ति राष्ट्रको पहिचान प्राप्त गर्नुपर्ने महत्त्वाकांक्षा जीवितै छ । सँगै भारतबाटै टुक्रिएको पाकिस्तानलाई भारतसँग खेल्दै आएको पौँठेजोरीमा माथि पर्नु छ, जसका लागि चीनको सद्भाव र सहयोग अपरिहार्य छ ।

यी यस्ता कारणहरूको विश्लेषण गर्ने हो भने सी चिनफिङको नेपाल भ्रमणका अनेक पाटा र आयाम खुल्न सक्छन् । धेरैजसोले सीको भ्रमणलाई ‘ऐतिहासिक उपलब्धि’ मात्र भनेर आत्मरतिमा रमाएका छन् । सीको भ्रमणका बेला नेपाल–चीनबीच भएका सहमति र सम्झौतालाई ठूलै प्राप्तिका रूपमा मात्र हेरिरहेका र बुझिरहेका छन् । कुरो यसो मात्र होइन ।

चीन अहिले दशकौँअघिको चीन होइन । अहिलेको चीन ‘मित्रराष्ट्र’भन्दा बढी ‘व्यापारी राष्ट्र’ हो । संस्कृतमा एउटा श्लोक छ– ‘आद्यौ नम्र, पुनर्बक्र, कार्यकाले च निष्ठुरः ... ।’ अर्थात् सुरुमा नरम, विस्तारै कडा हुँदै काम गर्ने समयमा कडा वा निष्ठुर । व्यापारीका सन्दर्भमा प्रयुक्त श्लोक हो यो । यसअनुसार व्यापारी सुरुमा ग्राहकप्रति नरम हुन्छ, सम्मान, सत्कार गरेझैँ गर्छ, विस्तारै सामान र मूल्यको ‘डिल’का क्रममा व्यापारी बाङ्गिँदै जान्छ, कडा हुनतिर लाग्छ र अन्त्यमा पैसा लिने बेलामा निकै निष्ठुर भएर सक्दो ठटाउँछ पैसा ।

हो, चीनको सन्दर्भमा पनि अहिले यस्तै हो कि ऊ अहिले आर्थिक–सामरिक–राजनीतिक–कूटनीतिक हरेक पक्षबाट विश्वमा शासन गर्न चाहन्छ । यसका लागि उसले आर्थिक रूपमा आत्मनिर्भर हुँदै ‘दाता’ बन्नु छ । दाता बनेपछि दान लिने, ऋण लिनेलाई ऋणमा डुबाएर र सहयोग गरेर नतमस्तक बनाएर ‘कमैया’ हविगतमा पुर्‍याउन सकिन्छ अनि उनीहरूमाथि अघोषित शासन जमाउन सकिन्छ ।

यसको उदाहरण अफ्रिकी र श्रीलंकालगायत केही अन्य देशमा चीनले भौतिक पूर्वाधारमा गरिदिएको ऋण लगानी र त्यो तिर्न ती देशलाई परेको संकट अनि त्यसका लागि चीनसँग उनीहरूले पटक पटक शिर झुकाउनुपरेको अवस्थालाई लिन सकिन्छ ।

अहिले केही नेपाली नेता तथा ‘विज्ञ’जनहरू सीको भ्रमण र यस क्रममा चीनसँग भएका सम्झौता र सहमतिप्रति बढी आशावादी भएका र फुर्किएका कारण चीनले नेपालको भौतिक पूर्वाधार विकासमा गर्ने भनेको ऋण सहयोगबाट हो । यसबाट हामी नेपालीले फुर्किनु वा हौसिनुअघि चीनले विगतमा यसरी ऋण सहयोग गरेका मुलुकको हविगतको पनि अध्ययन र विश्लेषण जरुरी थियो र छ ।

यो विषय सम्झँदा तत्कालीन चिनियाँ प्रधानमन्त्री चाउ एन लाई र नेपाली नेता बीपी कोइरालाको संवाद याद गर्नुपर्छ । चाउ एन लाईले बीपीको चीन भ्रमणका बेला हातहतियारहरू देखाउन लगेछन् । बीपीलाई जङ चलेछ र भन्नुभएछ– ‘चाउ, यी हतियार त नेहरू (भारतीय प्रधानमन्त्री जावहरालाल नेहरू)लाई पो देखाउनुपर्ने त, मलाई देखाएर के फाइदा ?’

चीन, भारत, अमेरिका, जापान वा कुनै पनि मुलुकबाट ऋण लिनुहुँदैन भन्ने होइन । ऋण वा अनुदान नलिई नेपाल जस्ता मुलुकको समृद्धि र विकास आन्तरिक स्रोतबाट संभव नहोला पनि । तर, यति कुरामा स्पष्ट हुन जरुरी छ कि हामीले लिने ऋणको उपादेयता के ? कुनकुन क्षेत्रको प्राथमिकतामा उक्त ऋण खर्च हुनेछ र त्यसको उपलब्धि के हुनेछ ? अनि जुन क्षेत्रमा उक्त ऋण लगानी गरियो, त्यस क्षेत्रको लगानीबाट उक्त ऋण तिर्न संभव छ कि छैन ? जस्ता विषयमा निकै गहन मन्थन हुनपर्नेमा त्यो भने भएको पाइँदैन । यदि उक्त ऋणका कारण हामी पनि चीनका सामु ‘कमैया’को हविगतमा पुगेमा नेपाल र नेपालीको भविष्य के हुन्छ ? यतातिर पनि सोच्नु जरुरी छ, ऋण लिनुअघि ।

बरु विगतमा दक्षिण कोरियाले विभिन्न देशबाट सहयोग लिँदा प्रविधि र सीप सिकाइदिन गरेको अनुरोध सम्झनु उपयुक्त हुनेछ यहाँ । त्यसो त चीनको यति छोटो अवधिमै विकासको फड्को मार्नुको रहस्य पनि कुनै अमुक मुलुकको आर्थिक सहयोग, ऋण वा दान मात्र होइन, उनीहरू आफ्नै श्रम, सीपको विकास र मिहिनेत अनि जिम्मेवारीबोध नै हो । यी वास्तविकताबारे बुझ्न सके नेपाल र नेपालीलाई कुनै अमुक राष्ट्र वा दाताको मुख ताक्नु जरुरी छैन ।

अन्तर्मुखी र पर्दा पछाडि वा ‘लो प्रोफाइल’मा रहने सी चिनियाँ कम्युनिस्ट पार्टीको नेतृत्वमा आएको केही समयमै चीनका राष्ट्रपति बन्नुभयो । उहाँले राष्ट्रपति बन्नेवित्तिकैदेखि ‘भ्रष्टाचारमुक्त चीन’को अवधारणा ल्याएर चीनमा जिम्मेवार सरकारी सेवक र नागरिकको अपेक्षा गर्नुभयो । उता, आर्थिक समृद्धिका लागि विश्व बजारमा प्रतिस्पर्धी हुने खालका रणनीतिहरू अख्तियार गर्नुभयो, यद्यपि, पछिल्लो समय अमेरिकासँगको व्यापारिक सम्बन्ध त्यति राम्रो छैन । तर, अन्य मुलुकसँगको व्यापारलाई बढावा दिने नीति कायम छ । साँच्चै भन्ने हो भने माओत्से तुङपछि अमेरिकासँग सुधार भएको सम्बन्धमा सीकै समयमा विचलन आएको छ । अमेरिकासँगको सम्बन्ध सुधार गरेर सुदृढ गर्नु सीको ‘कूटनीतिक चुनौती’ त हो नै, यसो नभएमा यी दुईबीचको व्यापारयुद्धको नतिजा राम्रो नहुने विश्लेषकहरू बताउँछन् ।

चीन आफैँ अहिले गिर्दो आर्थिक वृद्धिदरको मार खेपिरहेको अवस्था छ । यो सीको कार्यकालको थप जटिल चुनौती हो । तथापि, यसबीचमा चीनले आर्थिक, सामरिक हिसाबले जेजति प्रगति गरेको छ, त्यसबाट नेपाल जस्ता मुलुकले सिक्नुपर्ने खाँचो भने छ । आर्थिक ऋण लिएर भन्दा सीप र प्रविधि लिएर हामीले आफैँ केही गर्न सक्यौँ भनेचाहिँ त्यो दिगो, कम जोखिमपूर्ण र गौरवमय हुन सक्ला ।

चीनका राष्ट्र प्रमुखलाई नेपाल भ्रमण गराउनु नेपाल सरकारको ठूलै कूटनीतिक सफलता भने अवश्य हो, तर ‘कूटनीतिक सफलता’ मात्र । कूटनीतिक रूपमा सफल हुनु भनेको सम्पूर्ण पक्षबाट सफल हुनु हो भन्ने बुझ्नुहुँदैन । सीको भ्रमणबाट नेपाललाई के कस्तो आर्थिक, राजनीतिक, कूटनीतिक ‘फाइदा’ भयो ? के कस्ता दूरगामी नकारात्मक असर हुन सक्छन् यसबाट अथवा केही पनि उल्लेख्य नराम्रो असर हुँदैन ? यस्ता कुराको लेखाजोखाविना हामी सीको भ्रमणप्रति बढी हौसिनु, फुर्किनु वा बुल्किनुको कुनै अर्थ हुन्न ।

अर्कातिर चीनका महामहिम राष्ट्रपतिको नेपाल भ्रमणको अन्तर्य फरक बुझिन्छ अहिले । उहाँले नेपालको माटो टेकेर हङकङ र तिब्बतबारे जे बोल्नुभयो, त्यो निकै ठूलो ‘इस्यु’ हो– कूटनीतिक मस्तिष्कले सोच्दा । उहाँले हङकङ र तिब्बतमा चलिरहेको विद्रोह र असन्तुष्टिप्रति लक्षित गर्दै भन्नुभयो– ‘चीनको कुनै पनि हिस्सालाई टुक्र्याउने कोसिस गर्ने जो कोहीलाई पनि धुलोपिठो बनाइनेछ । त्यस्तो प्रयास गर्न उक्साउने कुनै पनि बाह्य शक्तिको दिवा सपनालाई चिनियाँ जनताले चकनाचुर पार्नेछन् ।’ तिब्बत, ताइवान र सिनज्यानलाई समेत लक्षित गर्दै महामहिम सीले उक्त कुरा बताउनुभएको थियो ।

यो विषय सम्झँदा तत्कालीन चिनियाँ प्रधानमन्त्री चाउ एन लाई र नेपाली नेता बीपी कोइरालाको संवाद याद गर्नुपर्छ । चाउ एन लाईले बीपीको चीन भ्रमणका बेला हातहतियारहरू देखाउन लगेछन् । बीपीलाई जङ चलेछ र भन्नुभएछ– ‘चाउ, यी हतियार त नेहरू (भारतीय प्रधानमन्त्री जावहरालाल नेहरू)लाई पो देखाउनुपर्ने त, मलाई देखाएर के फाइदा ?’

वास्तवमा सीले नेपालको धर्ती ‘दुरूपयोग’ गरेर तिब्बत, ताइवान, सिनज्यान र हङकङका विषयमा संकेत गर्दै जुन माथि उल्लेख गरिएको कुरा बोल्नुभयो, त्यो वास्तवमा भारतको माटोमा टेकेर आउनुभएका उहाँले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका अगाडि भारतकै माटोमा बोल्नुपर्ने थियो । तर, नेपाली माटोलाई टेकेर उहाँले यस्तो ‘अपवित्र’ (अपवित्र किनभने नेपाल आफैँ एक चीनको पक्षमा रहिरहेकै अवस्था कायम छ, यस्तो अवस्थामा नेपाललाई कूटनीतिक धम्की जरुरी थिएन र छैन) वाक्य बोल्नुहुने थिएन । हो, नेपालमा निकट छिमेकीका हैसियतले केही तिब्बती अवश्य शरण लिएर बसेका छन् तर भारतले त स्वतन्त्र तिब्बतका नेताहरूलाई नै संरक्षण गरिरहेको अवस्था छ ।

वास्तवमा सीको यस्तो अभिव्यक्तिले नेपालसँगको भारत, तिब्बत, ताइवानसँगको सम्बन्धमा पनि खलल् पुग्न सक्छ । यसतर्फ नेपाल सरकार सचेत हुन अझै आवश्यक छ ।