नेपालको मुस्लिम समुदायका महिलाहरूले वाचन गर्ने लोककथा

नेपालको मुस्लिम समुदायका महिलाहरूले वाचन गर्ने लोककथा

इद्रिस सायल  |  दृष्टिकोण  |  आश्विन ३०, २०७६

दुनियाँको सृष्टिसँगै मुस्लिमहरूको उत्पत्ति भएको उल्लेख इस्लामिक धर्मग्रन्थहरूमा पाइन्छ तैपनि मनुष्य चेतनशील भइसकेपछि पैगम्बर आदममार्फत् इस्लाम धर्मको स्थापना भएर मुस्लिमहरूको उत्पत्ति भएको तर्कचाहिँ बढी विश्वसनीय देखिन्छ । पैगम्बर आदमलाई इस्लाम धर्मको प्रथम पैगम्बर र पैगम्बर मोहम्मदलाई अन्तिम पैगम्बर मानिन्छ । त्यसैगरी पैगम्बर आदमदेखि पैगम्बर मोहम्मदसम्म कम्तीमा एक लाख २४ हजार वा बढीमा दुई लाख २४ हजार पैगम्बरले अल्लाहको सन्देश लिएर यस दुनियाँमा आएका पाइन्छ । तीमध्ये सबभन्दा महत्त्वपूर्ण स्थानचाहिँ पैगम्बर मोहम्मदकै रहेको पाइन्छ ।

उनको भूमिका इस्लाम धर्मको सन्देशदूत (पैगम्बर)को रूपमा मात्र नरहेर एउटा परोपकारी र क्रान्तिकारी व्यक्तित्वको रूपमा पनि रहेको पाइन्छ । अरू धर्मका संस्थापक जस्तो सामन्त र राजाको प्रवृत्ति उनमा पटक्कै थिएन । उनी क्रान्तिकारी व्यक्तित्व भएकाले नै उनको निर्देशनमा उनका नातिहरू हसन र हुसेन, छोरी फात्मा र ज्वाइँ अलीलगायत सपरिवारले करबलाका तानाशाह यजिदसँग लड्दालड्दै शहीद हुनुपरेको थियो भन्ने उल्लेख पाइन्छ ।

पैगम्बर मोहम्मदमा क्रान्तिकारी र परोपकारी प्रवृत्ति हावी हुनुमा उनको पारिवारिक पृष्ठभूमिलाई कारण मानिन्छ । उनको जन्म अरबको एउटा गरिब परिवारमा भएको थियो र गरिबीका कारण शिक्षाबाट वञ्चित हुनपुगेका पैगम्बर मोहम्मदले एकाग्र ध्यानद्वारा आफूलाई शिक्षित र दीक्षित पार्न सकेका पाइन्छ । सोही क्रममा अल्लाहबाट पैगम्बर (सन्देशदूत)को उपाधि पाएका पैगम्बर मोहम्मदलाई ४० वर्षको उमेरमा इस्लामिक धर्मग्रन्थ कुरआन प्राप्त भएको थियो, जुन अरबी भाषामा थियो भन्ने पनि भेटिन्छ ।

पैगम्बर मोहम्मदका जनप्रेमी कार्यबाट एकदमै चिढिएका शोषक शासक र सामन्तहरूले उनीविरुद्ध चरम षड्यन्त्र गर्न थालेका थिए । यसरी आफ्नो ज्यानै खतरामा पर्न थालेपछि पैगम्बर मोहम्मदले ५३ वर्षको उमेरमा आफ्नो जन्मभूमि अरबको मक्का शहर छोडी मदिना शहरतिर प्रस्थान गरेका थिए भन्ने उल्लेख छ । उक्त घटनालाई हिजरत (त्याग) भनिन्छ र सोही दिनदेखि एउटा अरबी सम्वत्को सुरुवात गरिएको हो, जसलाई हिज्री सना (हिज्री सम्वत्) भनिन्छ । अहिले हिज्री सम्वत् १४३८ चलिरहेको छ ।

पैगम्बर मोहम्मदको जन्म हिज्रीपूर्व ५३ तिर अर्थात् आजभन्दा १४९० वर्ष पहिले भएको हो । आफ्नो एकाग्र ध्यानकर्मद्वारा शिक्षित, दीक्षित र पैगम्बर भएको पैगम्बर मोहम्मदकै समयमा अरबमा एउटा उखान प्रचलनमा आएको पाइन्छ– ‘ज्ञान आर्जन गर्न चीनजति टाढा जानुपरे पनि जाऊ ।’

यसै उखानबाट पैगम्बर मोहम्मदकै पालादेखि अरबका मुस्लिम धर्म गुरुहरू औपचारिक रूपमा ध्यान कर्म गर्न र धर्म विस्तार गर्न चीनसम्म जाने गरेको पनि ज्ञात हुन्छ । अरबका ती मुस्लिम धर्म गुरुहरू धर्म विस्तारका लागि चीनतिर जाने क्रममा दक्षिण एसियाका भारत र नेपाल जस्ता देशहरूको बाटो प्रयोग गरेका पाइन्छ । सोही क्रममा नै नेपालमा मुस्लिमहरूको पहिलोचोटि प्रवेश भएको पाइन्छ । यद्यपि, यसपूर्व नै. नुहकै समयमा उनका सन्ततिहरूले दक्षिण एसियालाई आवाद गरेको तर्क पनि भेटिन्छ ।

समग्रमा अरबका मुस्लिमहरू ध्यान कर्म र धर्म विस्तारका लागि, अरबका मुस्लिम शासकहरू राज्यविस्तारका लागि तथा अरबका मुस्लिम व्यापारीहरू दक्षिण एसियातिर आउँदा नै नेपालमा मुस्लिमहरूको प्रवेश र चहलपहल सुरु भएको पाइन्छ । यो क्रम सन् १८५७ सम्म पनि जारी रहेको पाइन्छ । किनकि सन् १८५७ तिर नै भारतीय गदर (विद्रोही) असफल भएपछि लखनऊका अन्तिम नवाव वाजिद अली शाहकी रानी बेगम हजरत महलचाहिँ मुस्लिमहरूको एउटा समूहका साथ नेपालमा प्रवेश गरेकी पाइन्छ ।

यसरी विभिन्न कालखण्डमा नेपालमा प्रवेश गरेका मुस्लिमहरूको बसोवास सम्पूर्ण तराई, काठमाडौं उपत्यका तथा दर्जनौँ पहाडी जिल्लामा समेत रहेको पाइन्छ । यिनै मुस्लिमहरूको मातृभाषा उर्दू हो । यो भाषाको उत्पत्ति सन् १००१ देखि १२०६ का बीचमा भारतका मुस्लिम बादशाहहरूको दरबारमा अवधीलगायतका अन्य स्थानीय भाषाहरूको पनि चहलपहल थियो भन्ने पाइन्छ । अवधीलगायतका तिनै स्थानीय भाषाहरूले फारसी भाषासँग प्रभाव ग्रहण गर्न थालेपछि एउटा नयाँ भाषाको जन्म हुने क्रम सुरु भयो । यो क्रम सन् १००१ देखि सुरु भएर १२०६ सम्म चलिरहेको देखिन्छ । त्यो नयाँ भाषा सर्वप्रथम मुगल शासनका बर्दीधारीहरूले प्रयोग गरेका कारण त्यसलाई बर्दी भाषा र उर्दी भाषा भन्दै उर्दू भाषा नाम दिएको पाइन्छ ।

यो त्यही उर्दू भाषा हो र यसमा स्थानीय शब्दका साथै फारसी, अरबी र तुर्की जस्ता अरेबियाली भाषाका शब्दहरूको बाहुल्य रहेको पाइन्छ । यो उर्दू भाषामा साहित्यिक लेखनको सुरुवात उर्दू भाषाको उत्पत्तिसँगै भएको पाइन्छ । किनकि उर्दूका प्रथम सायर (कवि) माशुद बिन सुलेमान (सन् १०४५) लाई मानिएको छ । नेपालमा उर्दू भाषाको प्रचलन उर्दूको उत्पत्तिसँगै भए पनि यहाँ उर्दूको साहित्यिक लेखन धेरै पछि मात्र सुरु भएको पाइन्छ ।

सन् १८५७  अर्थात् वि.सं. १९१४ पछि नेपालगञ्ज शहरको आवादीसँग यहाँका उलमा (धर्म गुरु)हरू, व्यापारीहरू तथा नवाव वाजिद अली शाहकी रानी बेगम हजरत महलसँग आएका उर्दू सायर (कवि)हरूको संयुक्त प्रयासमा उर्दूको साहित्यिक लेखन गजल विधाबाट सुरु भएको पाइन्छ । यसरी नेपालगञ्जबाट उर्दू साहित्यिक लेखन सुरु भएकाले तथा अन्य जिल्लाभन्दा यहाँ थुप्रै उर्दू साहित्यकारहरू लेखनमा सक्रिय रहेकाले नै नेपालगञ्जलाई उर्दू साहित्यको गढ मानिन्छ ।

त्यसैरी नेपालको उर्दू भाषामा लोकसाहित्य पनि उत्तिकै प्रचलनमा रहेको पाइन्छ । उर्दूमा यस्तो लोकसाहित्य पनि उपलब्ध छ, जसमा महिलाहरूको अस्तित्वलाई बडो महत्त्वका साथ स्वीकारिएको पाइन्छ । लोकगीत (गाना) उर्दू लोकसाहित्यको एक महत्त्वपूर्ण विधा हो, जसमा पूर्ण रूपमा महिला अस्तित्वलाइ्र्र स्वीकारिएको पाइन्छ । किनकि अधिकांश उर्दू लोकगीतहरू महिलाहरूले नै गाएका पाइन्छ । यति मात्र होइन, उर्दू लोककथाले पनि महिला अस्तित्वलाई स्वीकारेको पाइन्छ । किनकि उर्दू लोकसाहित्यमा यस्ता लोककथा पनि छन्, जो महिलाहरूद्वारा वाचन गर्ने गरिन्छ । यति मात्र होइन, ती कथाहरू सुन्न भाकल गर्ने र आयोजना गर्ने काम पनि महिलाहरूले नै गरेका पाइन्छ । ती कथाहरूमा सैयदा बिबिकी कहानी र दस बिबिकी कहानी हुन् ।

महिला अस्तित्वलाई स्वीकार्ने ती लोककथाहरू पैगम्बर मोहम्मदको विचारबाट पूर्ण रूपमा प्रभावित भएका पाइन्छ । उनले १४ सय वर्ष पहिले नै महिलाको अस्तित्वलाई पूर्ण रूपमा स्वीकार्दै महिला अधिकारको वकालत गरेका पाइन्छ । महिलाहरूलाई अधिकार सम्पन्न बनाउनकै लागि उनले विधवा महिलासँग विवाह गरेका थिए भन्ने उल्लेख छ । कारण, उनले यस दुनियाँलाई सन्देश दिन चाहन्थे– ‘उमेर छँदा विधवाले पनि विवाह गर्न पाउनुपर्छ ।’

त्यतिबेला महिला अधिकारकै प्रसङ्ग उठ्दा विवाहका लागि महिलाको मन्जुरी लिने र दुलहाले दुलही (महिला)लाई महर नामक एक प्रकारको धरौटी रकम दिनुपर्ने प्रचलन सुरु भएको पाइन्छ । महिला अस्तित्व र अधिकारको कुरा इस्लामिक धर्मग्रन्थ कुरआनमा पनि गरिएको पाइन्छ– ‘विवाहका अवसरमा गरिएका वाचाहरू पूरा गर्नुपर्छ ।’ कुरआनमा यसरी पनि उल्लेख भएको पाइन्छ– ‘श्रीमतीसँग पनि तिमी सरहको अस्तित्व छ ।’

महिला अधिकारको कुरा कैयौँ उलमा (धर्म गुरु)ले पनि गरेका पाइन्छ । मौलाना रासिद अलखैरीले पुरुषमाथि महिलाको पनि अधिकार हुनुपर्ने तथा महिलासँग मानवतावादी व्यवहार गर्नुपर्ने उल्लेख गरेका छन् । श्रीमतीको अस्तित्व नस्वीकार्ने श्रीमान् पैगम्बर मोहम्मदको भक्त होइन भन्ने कुरा पनि लेखेका छन् । इस्लामिक ग्रन्थ हदिसमा महिला अस्तित्वलाई यसरी स्वीकारिएको पाइन्छ– ‘आफ्नी श्रीमतीको अस्तित्व स्वीकार्ने श्रीमान् महान् व्यक्ति हो ।’

यसरी पैगम्बर मोहम्मदको यस्तै विचारबाट प्रभावित उर्दू लोककथाहरू नै सैयदा बिबिकी कहानी र दस बिबिकी कहानी हुन्, जुन महिलाहरूबाट वाचन गरिन्छ ।

नेपालको मुस्लिम समुदायमा प्रचलित र नैतिक सन्देश दिने उर्दू लोककथाहरू नै रुहानी किस्सा (नैतिक कथा) हुन् । यस्ता कथाअन्तर्गत हातिमताईका कथाहरू, दुई नमाजीका कथाहरू, दाउरेकी बीबीका कथाहरू, सोनेकी इँट, गुलाम रसूलका कथाहरू इत्यादिलाई राख्न सकिन्छ ।

नेपालमा प्रचलित उर्दू लोककथा

नेपालको उर्दू लोकसाहित्यमा लोककथाचाहिँ लोकसाहित्यको एउटा महत्त्वपूर्ण विधा मानिन्छ । लोककथालाई नेपालको उर्दू भाषामा किस्सा भनिन्छ । किस्सा, कहानी र अफसाना सबै पर्यायवाची शब्द भए पनि किस्सा लोककथाका लागि तथा अफसाना र कहानी आधुनिक कथाका लागि प्रयोग भएको पाइन्छ । यद्यपि, ग्रामीण क्षेत्रहरूमा लोककथालाई मसला र कहानी पनि भनिएको पाइन्छ । नेपालमा प्रचलित उर्दू लोककथाहरूलाई विभिन्न आधारमा वर्गीकरण पनि गर्न सकिन्छ ।

* विषयवस्तुका आधारमा

विषयवस्तुका आधारमा नेपालमा प्रचलित उर्दू लोककथाहरूको वर्गीकरण सबभन्दा महत्त्वपूर्ण मानिन्छ । विषयवस्तुका आधारमा नेपालमा प्रचलित उर्दू लोककथाहरूको वर्गीकरण यसरी गर्न सकिन्छ ।

क) मजहबी किस्सा

नेपालको मुस्लिम समुदायमा प्रचलित र इस्लाम धर्मका प्रसङ्गहरूसित सम्बद्ध उर्दू लोककथाहरू नै मजहबी किस्सा (धर्म कथा) हुन् । यस्ता कथाअन्तर्गत अल्लाहका कथाहरू, फरिस्ताका कथाहरू, हुरका कथाहरू, पैगम्बरका कथाहरू, सैयदा बिबिकी, दस बिबिकी कहानी इत्यादिलाई राख्न सकिन्छ ।

ख) सरिअती किस्सा

नेपालको मुस्लिम समुदायमा प्रचलित र इस्लामिक धर्मग्रन्थहरूसित सम्बद्ध उर्दू लोककथाहरू नै सरिअती किस्सा (शास्त्रीय कथा) हुन् । उर्दूमा धर्मग्रन्थ अर्थात् धर्मशास्त्रलाई सरिअत भनिन्छ । यस्ता कथाअन्तर्गत कुरआनका कथाहरू, हदिसका कथाहरू, तौरेतका कथाहरू, जबुरका कथाहरू, इन्जिलका कथाहरू इत्यादिलाई राख्न सकिन्छ ।

ग) रुहानी किस्सा

नेपालको मुस्लिम समुदायमा प्रचलित र नैतिक सन्देश दिने उर्दू लोककथाहरू नै रुहानी किस्सा (नैतिक कथा) हुन् । यस्ता कथाअन्तर्गत हातिमताईका कथाहरू, दुई नमाजीका कथाहरू, दाउरेकी बीबीका कथाहरू, सोनेकी इँट, गुलाम रसूलका कथाहरू इत्यादिलाई राख्न सकिन्छ ।

नेपालको मुस्लिम समुदायमा प्रचलित र हाँसोठ्ट्टा उब्जाउने खालका उर्दू लोककथाहरू नै मजाकी किस्सा (हास्य कथा) हुन् । यस्ता कथाअन्तर्गत फुस्सनका कथाहरू, ढोंगा अहिरका कथाहरू, सुखनी दाका कथाहरू इत्यादिलाई राख्न सकिन्छ ।

घ) पिर किस्सा

नेपालको मुस्लिम समुदायमा प्रचलित र पिर (देवता)हरूसित सम्बद्ध उर्दू लोककथाहरू नै पिर किस्सा (देवकथा) हुन् । यस्ता कथाअन्तर्तत पिर गौसका कथाहरू, पिर ख्वाजका कथाहरू, पिर आला हजरतका कथाहरू, पिर वारिस शाहका कथाहरू, पिर साबिर पियाका कथाहरू, पिर सैयदे सालारका कथाहरू, पिर मुस्कोटवा बाबाका कथाहरू, पिर कमर शाहका कथाहरू इत्यादिलाई राख्न सकिन्छ ।

ङ) सहिदी किस्सा

नेपालको मुस्लिम समुदायमा प्रचलित र शहीदहरूसित सम्बद्ध उर्दू लोककथाहरू नै सहिदी किस्सा (शहीद कथा) हुन् । यस्ता कथाअन्तर्गत प्रायः इस्लाम धर्म, देश र जनताका लागि इराकका तानाशाह यजिदसँग लड्दालड्दै शहीद भएका पैगम्बर मोहम्मदका नातिद्वय हसन र हुसेन तथा सपरिवारका कथाहरूलाई राख्न सकिन्छ ।

च) सैतानी किस्सा

नेपालको मुस्लिम समुदायमा प्रचलित सैतानहरूसित सम्बद्ध उर्दू लोककथाहरू नै सैतानी किस्सा हुन् ।

छ) मोहब्बती किस्सा

नेपालको मुस्लिम समुदायमा प्रचलित र प्रेम प्रसङ्गसित सम्बद्ध उर्दू लोककथाहरू नै मोहब्बी किस्सा (प्रेम कथा) हुन् । यस्ता कथाअन्तर्गत लैला मजनुका कथाहरू, उमर खैयामका कथाहरू, रानी सारङ्गा कथाहरू इत्यादिलाई राख्न सकिन्छ ।

ज) सोहबती किस्ता

नेपालको मुस्लिम समुलायमा प्रचलित र यौन प्रसङ्गसित सम्बद्ध उर्दू लोककथाहरू नै सोहबती किस्सा (यौन कथा) हुन् । यस्ता कथाअन्तर्गत मगरेका कथाहरू, स्याल र बुढीका कथाहरू, घाटाका कथाहरू, गवनाका कथाहरू, सुहागरातका कथाहरू, हनिमुनका कथाहरू, मन्टोका कथाहरू इत्यादिलाई राख्न सकिन्छ ।

झ) मजाकी किस्सा

नेपालको मुस्लिम समुदायमा प्रचलित र हाँसोठ्ट्टा उब्जाउने खालका उर्दू लोककथाहरू नै मजाकी किस्सा (हास्य कथा) हुन् । यस्ता कथाअन्तर्गत फुस्सनका कथाहरू, ढोंगा अहिरका कथाहरू, सुखनी दाका कथाहरू इत्यादिलाई राख्न सकिन्छ ।

ञ) कुदरती किस्सा

नेपालको मुस्लिम समुदायमा प्रचलित र प्रत्यक्ष रूपमा प्रकृतिसित सम्बद्ध उर्दू लोककथाहरू नै कुदरती किस्सा (प्राकृतिक कथा) हुन् । यस्ता कथाअन्तर्गत पशु–पक्षीका कथाहरू, कीरा–फटयाङ्ग्राका कथाहरू, बोट–बिरुवाका कथाहरू, घाँस–पातका कथाहरू, ढुङ्गा–माटाका कथाहरू, हिमाल–पहाडका कथाहरू, वन–जङ्गलका कथाहरू, नदी–नालाका कथाहरू, सागर–महासागरका कथाहरू, धर्ती र आकाशका कथाहरू, सूर्य र चन्द्रमाका कथाहरू इत्यादिलाई राख्न सकिन्छ ।

ट) मुद्धती किस्सा

नेपालको मुस्लिम समुदायमा प्रचलित र विगतको इतिहाससित सम्बन्धित उर्दू लोककथाहरू नै मुद्धति किस्सा (ऐतिहासिक कथा) हुन् । यस्ता कथाअन्तर्गत अकबर र वीरबलका कथाहरू, तानाशाह यजिदका कथाहरू, नवाव वाजिद अली शाहका कथाहरू, बेगम हजरत महलका कथाहरू, दिल्लीका बादशाहका कथाहरू, लखनऊका नवावका कथाहरू, नेपालका राजाका कथाहरू, नेपालका राणाका कथाहरू इत्यादिलाई राख्न सकिन्छ ।

ठ) बिरादरी किस्सा

नेपालको मुस्लिम समुदायमा प्रचलित र नेपालको मुस्लिम समुदायका विभिन्न जातजातिसँग सम्बद्ध उर्दू लोककथाहरू नै बिरादरी किस्सा (जातीय कथा) हुन् । यस्ता कथाअन्तर्गत पठान जातिका कथाहरू, सेख र सैयद जातिका कथाहरू, चुरेटी जातिका कथाहरू इत्यादिलाई राख्न सकिन्छ ।

ड) समाजी किस्सा 

नेपालको मुस्लिम समुदायमा प्रचलित र प्रत्यक्ष रूपमा समाजसित सम्बद्ध उर्दू लोककथाहरू नै समाजी किस्सा (सामाजिक कथा) हुन् । यस्ता कथाअन्तर्गत बादशाह र वजिरका कथाहरू, धनी र जमिन्दारका कथाहरू, किसान र गोठालाका कथाहरू, चोर र फटाहाका कथाहरू, सज्जन र भलाद्मीका कथाहरू, श्रमिक र सामन्तका कथाहरू, चालक र बुद्धिमानका कथाहरू, मूर्ख र लाटाका कथाहरू, व्यापारी र ग्राहकका कथाहरू, प्रेमी–प्रेमिका र धोकेबाजका कथाहरू, जोगी र मगन्तेका कथाहरू, दानी र ठगका कथाहरू इत्यादिलाई राख्न सकिन्छ ।

ढ) बाल किस्सा

नेपालको मुस्लिम समुदायमा प्रचलित र बालबालिकासित सम्बद्ध उर्दू लोककथाहरू नै बाल किस्सा (बाल कथा) हुन् । यस्ता कथाअन्तर्गत चलाक बाँदरका कथाहरू, सङ्घर्षशील चरीका कथा, खुडभुडवाको कथा, पौला र पौलीको कथा, कातिल बाहुन र भँगेराको कथा, इलमाने हकिमको कथा, ढुकुर र महुवाको कथा, करौँदाको कथा इत्यादिलाई राख्न सकिन्छ ।

('प्रज्ञा लोकवार्ता विवेचना'बाट साभार)

क्रमश: