लोपोन्मुख रातो हाब्रे जोगाउन चुनौती

लोपोन्मुख रातो हाब्रे जोगाउन चुनौती

लोकसंवाद संवाददाता  |  समाचार  |  फाल्गुन ३, २०७५

जुम्ला । विश्वको एक दुर्लभ स्तनधारी जनावर रातो हाब्रे (रेडपाण्डा) मानवीय गतिविधिका कारण पछिल्लो समय लोपोन्मुख अवस्थामा छ । 

चोरी सिकार, वनजंगल फँडानी, चेतनाको कमीलगायत कारणले गर्दा लोपोन्मुख हाब्रे संरक्षण चुनौतीपूर्ण बन्दै गएको छ । पहिला घरआँगनमै देखिने हाब्रेलगायत अन्य दुर्लभ वन्यजन्तु हिजोआज जंगलमा पनि देखिन छाडेका छन् । 

हाब्रे नेटवर्कको समन्वयमा कर्णाली विकास हातेमालो सेवा समाज जुम्लाले सिञ्जा र पातारासी गाउँपालिकामा हाब्रे संरक्षणका लागि अभियानका रुपमा काम गर्दै आएको छ । यी संस्थाले एक सय ५० सामुदायिक वनसँग समन्वय गरी हाब्रेको संरक्षण गर्नुका साथै चोरी सिकारलाई न्यूनीकरणका लागि काम गरिरहेको छ । 

सरकारले हाब्रे संरक्षणका लागि छुट्टै नीति बनाए पनि अन्य जनावर जस्तै, हाब्रेलाई प्राथामिकता नदिँदा संकटमा परेको अनुसन्धानले देखाएको हाब्रे नेटवर्क अनुसन्धानकर्ता सरोज श्रेष्ठले बताउनुभयो । 

उहाँका अनुसार हाल नेपालमा ५०० मात्रै हाब्रे छन् । ४३ प्रतिशत हाब्रेको बासस्थान कर्णालीमा रहेको अनुसन्धानले देखाएको उहाँले बताउनुभयो । अनुसन्धान अनुसार जुम्लाका गिडिखोला, देपालगाउँ, ताम्ती, पातारासी, रिया, लगायतका क्षेत्रमा आवश्यक बासस्थान उपयुक्त रहेको अर्का अनुसन्धानकर्ता प्रगति शाहीले बताउनुभयो । 

वन्यजन्तुको चोरी सिकार पछिल्लो समय बढ्दै गएको तर दण्ड सजाय नहुनु प्रमुख समस्याका रुपमा देखिएको छ । मानवीय आवश्यकता परिपूर्ति गर्नका लागि वनजंगल विनाश भए पनि चोरी सिकार नै प्रमुख समस्याका रुपमा देखिएको अनुसन्धानकर्ताको भनाइ छ । 

नेपालका २४ वटा जिल्लामा मात्र हाब्रे पाइन्छन् । वन्यजन्तुको चोरी सिकारीलाई न्यूनीकरणका लागि पत्रकार, नेपाल प्रहरी, स्थानीय सरकारले विशेष गरी अभियान चाल्नुपर्नेमा आवश्यकता देखिएको छ । 

हाब्रे संरक्षणका लागि वैज्ञानिक वन व्यवस्थापनलाई अघि बढाउनुपर्ने डिभिजन वन कार्यालय जुम्लाका वन अधिकृत निरोज झाले बताउनुभयो । अझै पनि अधिंकाशमा चेतनाको कमी छ । हाब्रे मार्दा केही हुँदैन भन्ने सोच पनि छ । वन्यजन्तुको संरक्षणका लागि सबै जिम्मेवार बनाउन विशेष अभियान आवश्यक रहेको उहाँको भनाइ छ । 

हाब्रेको चोरी सिकारीमा संग्लनलाई एकदेखि १० वर्ष कैद र एक देखि पाँच लाख सम्म जरिवाना वा दुवै सजाय हुने कानूनी व्यवस्था रहेको खबर राससमा छ ।