बहसमा आख्यान: नेपाली उपन्यासको दिशा र दशा
कार्तिक ३, २०७६

लोकसंवाद डट कमले जनसरोकार र राष्ट्रिय सरोकारका विषयमा लोकसंवाद गर्ने गर्छ । हामी प्रश्नको उत्तर होइन, यसको समाधानका लागि लोकसंवाद सञ्चालन गर्छाैं । लोकसंवादमार्फत् हामी कुनै पनि विषयवस्तुलाई मसिनो गरी पर्गेल्ने जमर्कोेे गर्छौं । 

पछिल्लो समय नेपाली साहित्यमा आख्यान र त्यसमा पनि उपन्यासलेखनमा स्रष्टाहरूको उपस्थिति बाक्लिँदो छ । उपन्यास नलेखी साहित्यकार नै भइँदैन कि क्या हो भन्ने मानसिकताबाट स्रष्टाहरू पीडित भइरहेका छन् । अर्कातिर प्रकाशकहरू भने नेपाली साहित्यिक कृतिहरूको बजार घट्दै गएको चिन्ता जाहेर गरिरहेका छन् ।

 यस पटककाे लोकसंवादमा  हामीले   'नेपाली उपन्यासको दिशा, दशा, शक्ति र सीमा' बारेमा आ-आफ्नाे धारणा व्यक्त गर्न नेपाली आख्यान, विशेषगरी उपन्यासमा सशक्त हस्तक्षेप गरिरहनुभएका नयनराज पाण्डे, अमर न्यौपाने र भर्खरै 'निर्वेद' उपन्यास बजारमा ल्याउनुभएका समालोचकसमेत रहनुभएका शैलेन्द्र अधिकारीकाे सहभागी हुनुहुन्छ । अब सुरु गरौं आजको लोकसंवाद:

घनेन्द्र  ओझा, पत्रकार 

नयनराज पाण्डेसँग जिज्ञासा, वर्तमानको नेपाली उपन्यासलेखन कस्तो छ ?

नयनराज पाण्डे

२०४४ सालमा मेरा स–साना दुईवटा उपन्यास छापिएका थिए । त्यतिखेर उपन्यास लेख्ने लेखकहरू हुँदैन थिए । वर्षमा एउटा–दुईवटा उपन्यासहरू आउँथे । त्यतिखेर ध्रुवचन्द्र गौतमको मात्रै साम्राज्य थियो । अर्को लेखक त्यहाँ आउला भन्ने लाग्दै लाग्दैनथ्यो । कसैले उपन्यास लेख्नतिर मिहिनेत गर्दैनथ्यो, धैर्य देखाउँदै देखाउँदैनथ्यो ।

कथाहरू, कविताहरू लेखनमै केन्द्रित थिए लेखक । नेपालमा उपन्यास लेखनले गति लिन पनि धेरै वर्ष लगायो । त्यसको पनि १५–२० वर्षपछि अथाएत् ८–१० वर्षयतादेखि बल्ल उपन्यासले केही गति लिएको जस्तो लाग्छ । मलाई पछिल्लो समय के लाग्छ भने, एउटा समयमा एउटा कालखण्डमा पुराना लेखकहरूले धेरै विषयमा धेरै किसिमका कालजयी कृतिहरू दिइसक्नुभएको छ । दौलतविक्रम विष्ट, ध्रुवचन्द्र गौतम, भवानी भिक्षुलगायतका लेखकहरूले धेरै कृतिहरू दिइसक्नुभएको छ ।

तर, पछिल्लो समयको एउटा विशेषता म के देख्छु भने विषय र परिवेश अहिले व्यापक रूपमा उपन्यासमा भित्रिएका छन् । पहिला मधेसका मुद्दाहरू उठाउने ध्रुव दाइ, धच गोतामे हुनुहुन्थ्यो भने अरू खालका सीमित परिवेशहरू पहाडी जनजीवनका कुराहरू या शहरी जनजीवनका कुराहरू बढी आउँथे । तर, अहिलेका उपन्यासमा आदिवासी, जनजातिका कुराहरू आएका छन्, मधेसका कुराहरू आएका छन्, पहिचानका कुराहरू छन्, विविध मुद्दाहरू उठेका छन् । त्यस कारण पछिल्लो समयमा उपन्यास संख्यात्मक रूपले राम्रो आएको छ र गुणात्मक रूपले पनि राम्रो आएको छ भन्ने लाग्छ ।

संख्या पनि जरुरी चिज हो । यसले त्यसपछि प्रतिस्पर्धाको वातावरण आउँछ र कुन राम्रो, कुन नराम्रो भनेर छुट्टिन थाल्छ । अहिले त्योचाहिँ आख्यानमा एउटा बहसको विषय बनेको छ । आजभन्दा २० वर्ष अगाडि उपन्यास आउँथ्यो, चर्चा हुन्थ्यो तर उपन्यासका बारेमा व्यापक बहसहरू हुँदैनथे । उपन्यासका विविध पक्षहरूका बारेमा खासै बहसहरू हुँदैनथे । राम्रो वा नराम्रो भनेर समस्या हुन्थ्यो, समालोचनाहरू हुन्थे तर धेरै लेखकहरू आउने आँट गर्दैनथे । अहिले आएर उपन्यासको बजार पनि विस्तार भएको छ । लेखकहरूको रुचि पनि आख्यानतिर बढिरहेको छ । मलाई लाग्छ, धेरै किसिमका विषय र शिल्पहरू यसमा प्रयोग हुन थालेका छन् ।

घनेन्द्र  ओझा

एक्सपरिमेन्टल राइटर (प्रयोगवादी लेखक)हरू पनि छन्, तपाईंले भनेजस्तो ओल्टाइपल्टाइ गर्नेहरू पनि छन् । अघि भनेको जस्तो भिडमा त सबै हुन्छ नि त ! सबै कुराको मिश्रण हुन्छ । त्यसकारण त्यो दुइवटै छ नेपाली उपन्यास लेखनमा । समयले विस्तारै छनोट गर्दैगर्दै लैजान्छ । र, पछि अलिकति फिल्टर भएका आख्यानहरू मात्रै जीवित हुन्छन् ।

अमरजी, उपन्यास लेखनको अवस्था नयनराज पाण्डेले भनेको जस्तै हो अथवा त्योभन्दा फरक अथवा थप केही छ ?

अमर न्यौपाने

यो समयचाहिँ उपन्यासकै समय हो । अलिक पहिला २० को दशक, ३० को दशक भनेको महाकाव्यको युग थियो । यो उपन्यासको युग हो । हामीले विश्व साहित्यमै हेर्‍यौँ भने पनि यो पूरै कथा भन्ने समय हो । मान्छेसँग एकदमै धेरै कथाहरू छन् । पहिला ती कथाहरूलाई कवितामा भनिन्थ्यो । अहिले ती कथाहरूलाई आख्यानमा भनिन्छ । त्यसकारणले यो आख्यानकै समय हो ।

एकदमै उर्वर समयमा एकदमै राम्रा कुराहरू पनि उम्रिइरहेका हुन्छन् । झार पनि उम्रिरहेको हुन्छ । एकदमै नराम्रो पनि उम्रिरहेको हुन्छ, राम्रो पनि । त्यो नराम्रोले विस्तारै जित्दै जान्छ । त्यो बढ्दै जान्छ, ठूलो हुँदै जान्छ ।

तर, सालको रूखको आयु हजारौँ हजार वर्ष हुन्छ । फेरि त्यो लडिहाले पनि कुहिँदैन । त्यस्तोमा सँगसँगै अरू पनि उम्रिरहेका हुन्छन् । ती हुर्किरहेका हुन्छन् । बेकामे झारपात पनि उम्रिएका हुन्छन् । जो झारको आयु सिजनल मात्रै हुन्छ । एउटा ऋतुमा त्यसको आयु सकिन्छ । ती दुईवटै खालका वनस्पति, बोट बिरुवा हुन्छन् माटोमा र अहिले पनि छ ।

घनेन्द्र  ओझा

नयनराज पाण्डेले सकारात्मक हिसाबले कुरा गर्नुभयो र अमरजीले अलिकति आलोचनात्मक हिसाबले कुरा गर्नुभयो । के साँच्चिकै झुर आख्यानहरू पनि आइरहेका हुन् नेपाली उपन्यासमा, शैलेन्द्रजी ?

शैलेन्द्र अधिकारी

अवश्य । अहिले नेपालीहरूमा सबैभन्दा महत्त्वपूर्ण कुरा रिडिङ कल्चर (पठन संस्कृति) जुन छ, त्यो एकदमै राम्रो छ । मान्छेले जन्मदिनको उपहार दिँदाखेरि पनि सकेसम्म किताब दिने बानीको विकास भइरहेको छ । कम्तीमा मान्छेले फेसबुकमा मैले पढिरहेको छु भन्नलाई पनि किताब किनिरहेका छन् । यो रिडिङ कल्चर पाठकहरूमा एक किसिमले बढिरहेको छ भन्ने संकेत हो । केही आजको भोलि साहित्यकार बन्न चाहने र आजको भोलि पैसा कमाउन चाहनेहरूले अलिकति बिगारेका हुन् । त्यसैले हामीले पछिल्लो तीन वर्षयता हेर्ने हो भने, किताबको बजार राम्रो छैन भन्ने प्रकाशक र वितरकहरू पनि छन् । त्यो त पक्कै हो तर यो हुनु स्वाभाविक पनि छ । किनभने जति ठूलो नदी हुन्छ, त्यो नदीमा मिसिने स्रोतहरू पनि त्यति नै धेरै हुन्छन् । सबै स्रोतबाट फोहोर मात्र आउँछ भन्ने पनि छैन ।

तर, विषयवस्तुको हिसाबले कुरा गर्ने हो भने नेपाली उपन्यासमा अब आउन बाँकी विषय केही देखिँदैन भनेजस्तो अवस्था सिर्जना भइरहेको छ । डायस्पोराका कुराहरूदेखि लिएर सामान्य जनजीवन, अल्पसंख्यक, सीमान्तकृत समुदायको र सम्भ्रान्त वर्गसम्मका कथाहरू आइरहेका छन् ।

आख्यान र गैरआख्यानको हिसाबले हेर्ने हो भने पनि कसैको बायोग्राफीलाई छोड्ने हो भने, यद्यपि, बायोग्राफी पनि सँगै छ गैरआख्यानमा, त्यसबाहेक हेर्ने हो भने त अहिले समय आख्यानको हो । हामी नेपाली आख्यानको स्वर्णयुगमा छौँ जस्तो लाग्छ ।

 

घनेन्द्र  ओझा

अहिले नेपाली आख्यानमा उठिरहेका अथवा उठाइइरहेका विषयहरू परम्परागत भए, अलिक त्यसभन्दा भिन्न विषयहरू आउन सकेनन् । तिनैलाई ओल्टाइपल्टाइ गर्‍यो अनि प्रस्तुत गरिदियो भन्ने कुरा आइरहेको छ । अमरजीलाई के लाग्छ ?

अमर न्यौपाने

यो अलिअलि हो पनि, अलिअलि होइन पनि । एक्सपरिमेन्टल राइटर (प्रयोगवादी लेखक)हरू पनि छन्, तपाईंले भनेजस्तो ओल्टाइपल्टाइ गर्नेहरू पनि छन् । अघि भनेको जस्तो भिडमा त सबै हुन्छ नि त ! सबै कुराको मिश्रण हुन्छ । त्यसकारण त्यो दुइवटै छ नेपाली उपन्यास लेखनमा । समयले विस्तारै छनोट गर्दैगर्दै लैजान्छ । र, पछि अलिकति फिल्टर भएका आख्यानहरू मात्रै जीवित हुन्छन् ।

अलिक पहिला त धेरैले आख्यान लेख्थे होलान्, अहिले हामीले आख्यानकारको नाम लियौँ भने एकदमै थोरै आख्यानकारको नाम लिन्छौँ । पुराना आख्यानकारहरू भनेर ५–७ जनाको नाम लिन्छौँ ।

उहिले कति धेरै कविहरू थिए होला ? सयौँ कविहरूले कविता लेखे होलान् । तर, त्यो बेलाका दुई–चार जना कविहरूको मात्रै हामी नाम लिन्छौँ । त्यस्तै हुन्छ जस्तो लाग्छ ।

फेरि विषयभन्दा अझ महत्त्वपूर्ण अहिले शैली हो जस्तो लाग्छ मलाई । नेपालमा धेरै जातजाति र भाषा छन् । धेरै जातजाति र भाषा भएपछि संस्कृति पनि धेरै हुने भयो । संस्कृति धेरै भएपछि त्यहाँ विषय पनि धेरै आउने भयो ।

मानिसको संस्कारले मनोविज्ञान सिर्जना गर्छ । मानिसको मनोविज्ञन, मानिसको संस्कारअनुसार फरक हुन्छ । त्यस्तै सिग्मण्ड फ्रायडले मनोविज्ञानको बारेमा विशेषगरी विज्ञानको बारेमा त्यत्रो विश्लेषण गरे । मैले यस्तो सोचेँ । हाम्रो मनोविज्ञान त संस्कृतिले पो निर्माण गर्ने रहेछ ।

जस्तो : उदाहरणका लागि आर्यहरूको समाजमा, क्षेत्रीहरूको समाजमा विशेषगरी भाउजूलाई आमापछि भाउजू मानिन्छ । त्यही थारू समाजमा दाजु बितेपछि भाउजूलाई विहे गर्ने पनि चलन छ । त्यस्तै, हिमालमा गयो भने शेर्पाहरूमा भाउजू विहे गर्नासाथ सबै दाजुभाइकी हुने चलन छ ।

भनेपछि संस्कारले मनोविज्ञान सिर्जना गर्ने भयो नि त ! मलाई भाउजू देख्नासाथ आमापछि भन्ने भावना आउने भयो, त्यही अर्को थारू समाजमा चाहिँ दाइलाई त्यस्तो केही भइहाल्यो भने मैले भाउजूलाई कुनै बेला पनि विहे गर्नुपर्ने हुनसक्छ भनेर हेर्ने भयो भने हिमालमा चाहिँ भाउजू आउनासाथ मेरी श्रीमती हो भनेर हेर्ने भयो । भनेपछि संस्कारले मनोविज्ञानको मनोभावको सिर्जना गर्छ । त्यस कारण हाम्रो देशमा बढी जातजाति र भाषा भएको हुनाले त्यतिकै संस्कृतिहरू छन् र तिनै संस्कृति भएको कारणले विषय पनि त्यति धेरै नै छन् । हाम्रो देशचाहिँ विषयको एकदमै खानी भएको देश हो । 

घनेन्द्र  ओझा

यति हुँदाहुँदै पनि हामीले विषयको विविधता आख्यानमा दिन सकेको छैन, हो शैलेन्द्रजी ?

शैलेन्द्र अधिकारी

त्यो त विषयका हिसाबले भन्ने हो भने विविधता बाँकी नै छ । जस्तै : नयन दाइले मधेसको जुन कथा आफ्ना आख्यानहरूमा लेख्नुभयो, त्यस्तो विषयवस्तु त्योभन्दा अगाडि आख्यानमा आएकै थिएन । सेतो धर्तीको विषय हेर्ने हो भने त्यहाँबाट लेखकहरूले अलिकति रिसर्च गरेर कसरी कथा आख्यानमा ल्याउँदारहेछन् भन्ने थाहा हुन्छ । विषयवस्तुको सवालमा त नयनराज पाण्डेलाई हेर्ने हो भने पनि अमरजीलाई हेरे पनि विषयको विविधता त प्रयोग गरिरहनुभएको छ ।

जुन ढंगले मैले उलारमा कथा भनेँ, त्यो ढंगले मैले लुमा भनेको छैन । त्यसमा चाहिँ बेग्लै किसिमको कथावााचन शैली अपनाएको छु । अनि जुन ढंगमा मैले लुमा भनेँ, त्यो घामकिरीमा भनेको छैन । घामकिरीमा या लु र घामकिरीमा भन्दा मैले फेरि पृथक ढंगले सल्लीपिरमा आएको छु । सफल भएँ, असफल भएँ, त्यो बेग्लै कुरा छ । त्योचाहिँ तपाईंले भन्नुहोला ।

जस्तो : ‘गुलाबी उमेर’मा प्रयोगको हिसाबले हेर्ने हो भने उपन्यासचाहिँ त्यो चिठ्ठी हो । अन्तिममा प्रतिकथन भनेर पढ्दाखेरि सुरुमा थाहा पाउँदैनन् तर पढ्दै जाँदाखेरि अन्तिममा गएपछि जब प्रतिकथन आउँछ, हरेक वर्षमा पात्रले लेखकलाई चिठ्ठी पठाइराखेका छन् । १६–१७ वर्षको उमेरमा पढ्नेले थाहा पाउँछ कि यो विषय कति फरक रहेछ । जसरी पनि लेख्न सकिनेरहेछ । तर, चिठ्ठीको हिसाबले उपन्यास लेख्न सकिन्न रहेछ ।

विषयवस्तुमा विविधता र नयाँ प्रयोगबारे केही त भइरहेको छ तर विषयका हिसाबले जति आउनुपर्ने हो, ती सबै आइरकेका छैनन् । त्यो आजको भोलि आइहाल्ने कुरा पनि होइन । त्यसका लागि त सुरुमा नयनराज दाइले भन्नुभयो नि आजभन्दा २० वर्ष अगाडि उपन्यास लेख्ने कति थिए ? हामी त भर्खर २० वर्षको यो अवधिमा आइपुगेका छौँ ।सकारात्मक ढंगले दुइटै कुरा हेर्ने हो भने जो स्थापित छन् र हुन लागिरहेका छन्, उनीहरूले विषयको हिसाबले फरक विषय खोजिरहेका छन् ।

केहीले चाहिँ साधारण र परम्परागत विषय लेखिरहेका छन् । त्यो विषय, जुन पहिला पनि लेखिन्थ्यो र अहिले पनि लेखिन्छ । त्यसकारणले यो दुईवटै अवस्थाको बीचमा छौँ हामी जस्तो लाग्छ मलाई ।

घनेन्द्र  ओझा

हामीले यो बीचमा उपन्यास लेखनको शिल्पमा विशेष परिवर्तन गर्न नसकेको हो अथवा नचाहेको हो ? अथवा त्यो चुनौती आख्यानकारहरूले उठाउन नचाहेको हो, नयनराज पाण्डे ?

नयनराज पाण्डे

यसमा मेरो धारणा के छ भने, उपन्यासको समालोचनामा हाम्रो धेरै वायस (पक्षपातपूर्ण) सोेच हावी भएको छ । मूलतः नेपाली उपन्यासको पछिल्लो कालखण्डमा त्यति समीक्षा, समालोचना भएकै छैन । समालोचना अहिलेको स्थितिमा दुई–चार जनाले अलिअलि फाट्टफुट्ट गरेको हुन्छ नत्र विश्वविद्यालयका प्राध्यापकीय शैलीका समालोचना बढी छ । त्यसकारण जसले यो उपन्यास राम्रो, यो उपन्यास नराम्रो, यो उपन्यास कमजोर भनेर देखाइदिनुपथ्र्यो, त्यो वर्ग अहिले पूरा कोमामा छ । त्यस कारणले प्रायः पाठकले समामाजिक संजालमा कहिलेकाहीँ धारणा बनाए । यो उपन्यास मलाई मनपर्‍यो, यो उपन्यास मनपरेन भनेर छिटफुट रूपमा समीक्षाको रूपमा कतैकतै आएको धारणालाई हामीले समालोचना मानेर अनि त्यसको आधारमा नेपाली आख्यान कमजोर भयो, शिल्प कम्जोर भयो भनेर एउटा धारणा बनाइरहेका छौँ ।

मलाई लाग्छ, शिल्पको अध्ययन भनेको बडो गाह्रो कुरा हो । तपाईंले एउटा उपन्यास खरिद गरेर पढेर त्यो उपन्यासको शिल्प फलानोसँग मिल्यो भन्नचाहिँ एकदमै गाह्रो हुन्छ । झट्ट हेरेर आलोचना गर्न या भन्न वा कमेन्ट गर्न सजिलो होला तर शिल्पलाई बुझेर कुरा गर्नचाहिँ गाह्रो हुन्छ जस्तो मलाई लाग्छ ।

व्यक्तिका उपन्यासमा आफ्नैसित तुलना गर्दा को बढी हो, को कमजोर भन्ने होला । पाठकले एउटा धारणा बनाउन त पायो । तर, जस्तो : अमरजीले पनि ‘सेतो धर्ती’बाट ‘करौडौँ कस्तुरी’मा आउँदाखेरि शिल्पमा नयाँ खालको प्रयोग गर्नुभएको छ । त्यो कथा वाचनमा आउँछ । यसमा आउँदाखेरि प्रयोग गरिरहनु भएको छ । ‘गुलाबी उमेर’मा जुन शिल्पको प्रयोग गर्नुभयो, त्यस अगाडि कुनै नेपाली उपन्यासकारले त्यसरी गरेको जस्तो लाग्दैन मलाई । ‘करौडौँ कस्तुरी’मा जुन किसिमले कथा वाचन गर्नुभएको छ, विगतमा अर्कोले त्यसरी गरेको जस्तो मलाई लाग्दैन ।

‘निर्वेदमा’ शैलेन्द्र अधिकारीजीले जुन खालका पूर्वीय दर्शनका कुराहरू उठाउनुभएको छ, त्यो ढंगले अरू उपन्यासकारले उठाएको छ जस्तो लाग्दैन । त्यसकारण शिल्प हरेकको फरक फरक छ । शिल्पको भित्री तहमा पुगेर अध्ययन गर्न त हामीले बाँकी नै छ । योचाहिँ अहिले तत्काल हुन्छ भन्ने पनि लाग्दैन मलाई । यसले समय लिन्छ र प्रखर समालोचनाको एउटा वातावरण निर्माण भएपछि बल्ल त्यसपछि हामी शिल्पको कुरा गर्न सक्छौँ ।

अहिले त के छ भने, एउटा पाठकले भन्छ या तपाईंले भन्नुहुन्छ, शिल्प कमजोर भयो भनेर । लेखकले मात्रै यसबारे बचाउ गरेर बसिरहने स्थिति छ । लेखकले लेख्ने हो । उसले आफूलाई निरन्तर परिष्कार गर्ने हो । लेखकको धर्म उसले निर्वाह गर्ने हो । यसको छिनोफानो गर्न त प्रखर समालोचकहरू आउनुपर्छ भन्ने लाग्छ । तर, मलाई आफ्नो लेखनमा पनि निरन्तर रूपमा शिल्पको प्रयोग म गरिरहेको छु भन्ने लाग्छ । जुन ढंगले मैले उलारमा कथा भनेँ, त्यो ढंगले मैले लुमा भनेको छैन । त्यसमा चाहिँ बेग्लै किसिमको कथावााचन शैली अपनाएको छु  । अनि जुन ढंगमा मैले लुमा भनेँ, त्यो घामकिरीमा भनेको छैन । घामकिरीमा या लु र घामकिरीमा भन्दा मैले फेरि पृथक ढंगले सल्लीपिरमा आएको छु । सफल भएँ, असफल भएँ, त्यो बेग्लै कुरा छ । त्योचाहिँ तपाईंले भन्नुहोला । मलाई आजसम्म कुनै बलियो समालोचकले तेरा कृतिहरू यस्ता भएका छन्, यो छन् भनेर आजसम्म भनेको छैन ।

त्यो मेरा लागि मात्रै होइन, नेपाली साहित्य, आख्यान साहित्य वा समग्र साहित्यका लागि दुर्भाग्यको कुरा हो । तर, के छ भने हरेक लेखक ‘जेन्युइन’ लेखक, जुन म लेखन क्षेत्रमै केही गर्छु भनेर आउँछ भने उसले त्यो प्रयोग गरिरहन्छ । शिल्पमा प्रयोग गरिरहन्छ । तर, एउटा के हुन्छ भने शैली भन्ने कुरा, आफ्नो ‘सिग्नेचर’ भन्ने कुराचाहिँ निजी केही चिजहरू हुन्छन् । त्योचाहिँ फेरि लेखकले धेरै परिवर्तन गर्न सक्दैन । त्यो नै लेखकको पहिचान हो ।

समालोचकको हिसाबले या सबैको हिसाबले शैलीमा मात्रै विविधता भएर विषयवस्तुमा विविधता भएन भने पनि त्यो कृति राम्रो बन्न सक्दैन । त्यस कारणले विषयवस्तुमा पनि त विविधता चाहियो । त्यो सँगसँगै शैली र विविधता त अहिले जुन छ, मलाई लाग्छ यो यत्तिकै नरोकिएला । नयाँनयाँ प्रयोग त चलिरहन्छ नै ।

उहाँ (अमर)का केही किताबहरू पढिसकेपछि नाम छोपेर पनि यो अमरजीले लेखेको हो है भन्ने थाहा हुन्छ । कतिबेला मेरो पढ्दा पनि ए नयनराजले लेखेको वाक्यको ‘स्ट्रक्चर’ छ, उहाँले नै लेखेको हो भन्ने हुन्छ । शैलेन्द्रजीको पनि विस्तारै बन्दै जाला, अहिले पहिलो उपन्यास आएको छ, दोस्रो उपन्यासदेखि उहाँको त्यो शैली निर्माण हुँदै जान्छ । 

शिल्पगत रूपमा चाहिँ मलाई लाग्छ, व्यापक रूपमा प्रयोग भएको छ । अझ म अलिक विस्तृतमा के भन्न चाहन्छु भने ३० को दशकमा जुनबेला ध्रुव दाइ (ध्रुवचन्द्र गौतम)को  साहित्यमा एकदमै बोलबाला थियो, त्यो बेलाचाहिँ धचको, माधवी (मदनमणि)हरूको बारेमा कुरा हुन्थ्यो । एउटा लामो कालखण्डसम्म १०–१५ वटा उपन्यासहरूको चाहिँ ३०–३५ वर्षको अवधिमा ध्रुव दाइका केही उपन्यास र दौलतविक्रमका केही उपन्यास हुन्थे ।

त्यतिखेरसम्म पनि समालोचकहरूको स्थिति के थियो भने उपन्यास निस्किएपछि त्यो त्यतिकै गजबको कृति भइहाल्यो । त्यसको बारेमा मलाई आजसम्म पनि ३० को दशकका उपन्यासको आलोचना गरेर लेखिएका पनि म भेट्दिनँ । उपन्यास लेख्यो कि त्यो विशिष्ट भयो । त्यसमा केही कमी कमजोरी छ भन्ने कुरा त्यसमा बहसै हुँदैनथ्यो । किनभने थोरै लेखिन्थ्यो, थोरै लेखेपछि त्यसले त्यतिकै सम्मान पाइहाल्थ्यो । त्यो स्थिति थियो ।

अब भने संख्यात्मक रूपले आएका छन् । बहस हुन थालेका छन् । पाठकले पनि ‘रिजेक्ट’ गर्छन्, यो भएन, ऊ भएन भन्छन् । एउटाले यो राम्रो लाग्यो भन्छ, अर्कोले होइन, मलाई त यो राम्रो लाग्यो भन्छ । बहसको एउटा वातावरण भइरहेको छ । तर, यो बहस पाठकहरूमा सीमित छ । समालोचकसम्म जब यो बहस पुग्छ अनि आख्यानको हाम्रो हैसियत बल्ल थाहा हुन्छ जस्तो मलाई लाग्छ ।

घनेन्द्र  ओझा

कतिपयचाहिँ आफ्नो मात्रै अध्ययन गर्ने, अरूको अध्ययन नगर्ने लेखकहरू छन् बजारमा । अमरजी अरूको पनि राम्रो ढंगले अध्ययन गर्नुहुन्छ र त्यसको विश्लेषण पनि गर्नुहुन्छ । अहिले नयनराज पाण्डे, शैलेन्द्र अधिकारी र तपाईंलाई लिएर कुरा गारौँ,  नयनराज पाण्डेले भनेको जस्तो तपाईंहरूको लेखनमा शिल्पमा विविधता छ जस्तो लाग्छ आफूलाई ?

अमर न्यौपाने

दाइले अघि भनेजस्तै प्रत्येक मानिसको अनुहार र औँठाछाप अलग–अलग हुन्छ । भनेपछि प्रत्येकको ‘सिग्नेचर’ (शैली) पनि अलग–अलग हुन्छ । एउटा लेखकको एउटा ‘सिग्नेचर’ भन्ने चाहिँ जुनसुकै उपन्यासमा पनि अथवा लेखनमा पनि हुन्छ । तर, उसले फरक–फरक तरिकाले कथा भन्ने, फरक–फरक तरिकाले हिल्पको प्रयोग प्रत्येक उपन्यासमा गर्न चाहन्छ । हामी पनि उमेरअनुसार फरक–फरक हुन्छौँ । हाम्रा सोचाइ र विचारहरू फरक–फरक हुन्छन् । त्यसकारणले गर्दाखेरि राम्रा लेखकहरू, जसले आफ्नो अनुहार र औँठाछाप आफ्नो लेखनमा बनाएका छन्, उनीहरूले चाहिँ साँच्चै नै प्रयोग गर्न चाहन्छन् र गरेका पनि छन् ।

नयन दाइको पनि छ । शैलेन्द्रजीको अर्को आउँदा फरक तरिकाले आउला । म पनि त्यो प्रयास गर्छु । अरू राम्रा सबै लेखकहरूले प्रयास गर्छन् जस्तो लाग्छ मलाई ।

शैलेन्द्रजी, तपाईंले नयनराज पाण्डेको आख्यानबारे अध्ययन गरेर किताब नै लेख्नुभएको छ । अमरजीको पनि राम्रो अध्ययन गरिरहनुभएको छ । तपाईं पाठकको रूपमा अथवा समालोचकको रूपमा मात्रै, उपन्यासकारको रूपमा होइन, उहाँहरू दुवै जनालाई साक्षी राखेर भन्दा नेपाली उपन्यास लेखनमा प्रयोग भइरहेका शिल्पहरूले नेपाली आख्यानको उत्कृष्टतालाई कहाँसम्म लैजालान् ?

यो ठ्याक्क २०६० सालपछि आएको उपन्यासको शृंखलालाई हेर्ने हो भने शैलीमा प्रयोगको उत्कर्ष भेट्न सकिन्छ । तर, अगाडि पनि नभएको भने होइन । जस्तो : सरुभक्तका उपन्यास हेर्ने हो भने ‘पागल वस्ती’, ‘तरुनी खेती’ र चुलीकै कुरा गरौँ । अहिले आएको ‘प्रतिगन्ध’मा समेत हेर्ने हो भने सरुभक्तमा शिल्पगत विविधता पूरै भेटिन्छ । अमर न्यौपानेको पानीको घामको जुन ‘स्टोरी टेलिङ’ (कथावाचन)को शैली छ, मैलेचाहिँ सुरुमा नै यसलाई कथा भन्ने कि उपन्यास भन्ने भन्ने दुविधामा परेँ । लेखकले केही भनेको छैन म के भनूँ ? अनि मैले आख्यान मात्र भनेँ ।

पानीको घाम र सेतो धर्ती पढ्ने हो भने त्यो पानीको घाम कसरी उपन्यास ? भन्ने कुरा आउँछ । हरेक कथाहरूभित्र लघु आख्यान, आख्यानको बाहिर आख्यानको जुन ‘आर्ट’ र ‘कन्सेप्ट’ छ त्यसमा, त्यो नयाँ शिल्प नै हो । अब सेतो धर्तीमा त्यो शैली पूरै परिवर्तन भयो । करौडौँ कस्तुरीमा आउँदाखेरि स्वप्नलोकबाट, कहाँबाट सिंगो कथा सकेर आएको नयाँ शैली छ ।

अमरजीकै पछिल्लो उपन्यास गुलाबी उमेरमा प्रयोग गरिएको शैली मैले अहिलेसम्म पढेको छैन । मूल पात्र सुरुमा १३ वर्ष सकिएर १४ वर्षमा जानेबेलामा जब आइपुग्छ, तब सुरुमा ५ मिनेटचाहिँ किताब बन्द गरेर अलिक गम्भीर पाठक रहेछ भने त्यसले सोच्छ– ‘अरे, यस्तरी पनि गर्न सकिनेरहेछ ।’

नयन दाइको घामकिरी हेर्ने हो भने स्वैरकाल्पनिक हिसाबको त्यो कहाँ छ कहाँ, कुन हिसाबले प्रस्तुत गरियो । लू, लूबाट अलिक अगाडि आउँदाखेरि उलार, यी हरेकमा नयाँ शिल्पको प्रयोग देखिन्छ नै ।

हाम्रो कमजोरीचाहिँ के छ भने हामी सबै अंग्रेजी साहित्य र हिन्दी साहित्यसँग तुलना गरेर आइरहेका छौँ । हामीले उनीहरूलाई पछ्याउने अनि उनिहरूले हामीलाई पछ्याउने जस्तो भइरहेको छ । त्यस कारणले यो नै अन्तिम भन्ने कुराचाहिँ होइन । समालोचकको हिसाबले या सबैको हिसाबले शैलीमा मात्रै विविधता भएर विषयवस्तुमा विविधता भएन भने पनि त्यो कृति राम्रो बन्न सक्दैन । त्यस कारणले विषयवस्तुमा पनि त विविधता चाहियो । त्यो सँगसँगै शैली र विविधता त अहिले जुन छ, मलाई लाग्छ यो यत्तिकै नरोकिएला । नयाँनयाँ प्रयोग त चलिरहन्छ नै ।

क्रमश:...