चट्याङ लागेर आमा-छोरा घाइते

चट्याङ लागेर आमा-छोरा घाइते

लोकसंवाद संवाददाता  |  समाचार  |  फाल्गुन ३, २०७५

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका– ८ पारिफाँटामा आज बिहान चट्याङ लागेर आमा-छोरा घाइते भएका छन् । 

इलाका प्रहरी कार्यालय, झलारीका प्रहरी निरीक्षक रमेशदत्त अवस्थीका अनुसार चट्याङ लागेर स्थानीय गौरा खत्री र उहाँका १४ वर्षीय छोरा दिपेश खत्री घाइते भएका हुन् । घाइते दुवैको झलारी बजारस्थित निजी मेडिकलमा उपचार भइरहेको छ । दुवैको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । घरमै रहेका बेला दुवैलाई चट्याङ लागेको हो । 

यस्तै, चट्याङ लागेर सोही ठाउँका जयसिंह खत्रीको ब्याउने भैँसी मरेको छ ।  चट्याङबाट खत्रीको घरको छानामा लगाइएको टायल फुटेको, विद्युत् वायरिङ पूरै जलेको र ट्युबेलमा पानी तान्न राखेको विद्युतीय मोटर जलेको प्रहरी निरीक्षक अवस्थीले बताउनुभएको खबर राससमा छ ।