कठालो नमिलाउने र जुत्तामा पालिस नलगाउनेः सडकमा भने पर्दा !

कठालो नमिलाउने र जुत्तामा पालिस नलगाउनेः सडकमा भने पर्दा !

रूपक अलङ्कार  |  दृष्टिकोण  |  कार्तिक ४, २०७६

अतिथि वा पाहुनालाई स्वागत तथा सम्मान गर्नु मानव सभ्यताको द्योतक हो । यस धर्तीको जुनसुकै सभ्यताले पनि अतिथि सत्कारलाई महत्त्व दिएको पाइन्छ । आफ्नो सम्पर्कमा आएको व्यक्तिको इतिवृत्त जानेर वा नजानेरै पनि उसप्रति मानवीय व्यवहार गर्नुलाई मानिसले आफ्नो कर्तव्यका रूपमा लिएको पाइन्छ संसारका अतिप्राचीन मानिएका सभ्यताले समेत अतिथि सम्मानलाई आफ्नो कुलको धर्मका रूपमा परिभाषित गरी सन्तानलाई सोहीअनुकूलको उपदेश दिँदै आएको छ ।

अतिथिलाई त्यसरी स्वागत सत्कार गर्नुका पछाडि ठूलै सामाजिक कारण वा आर्थिक कारण लुकेको हुन सक्छ । अतिथि सत्कारले संस्कृतिको रूप लिनुभन्दा पहिले नै यस विषयमाथि सामाजिक हिसाबले लामो अभ्यास भएको हुनुपर्छ । वर्षाैंवर्षको अनुभवपछि मात्र अतिथि पूजालाई धार्मिक एवम् सांस्कृतिक लेप लगाइएको हुनुपर्छ । मानवले आफ्नो सभ्यता कुनै निश्चित स्थानमा बसेर मात्र निर्माण गरेको होइन । आफ्ना लागि गाँस, बास र कपासको जोहो गर्दै उसले धर्तीका अनेक पाखा पखेरामा बारबार चक्कर लगायो । यसरी ऊ कहिले आफू एक्लै यात्रारत रह्यो, कहिले परिवारसहित भौँतारियो त कहिले आफ्ना गाईभैँसी, भेडाबाख्रासमेत साथमा लिएर सुरक्षित वासस्थानको खोजीमा दौडिरह्यो । उसलाई आफ्ना लागि मात्र वासको प्रबन्ध गरेर पुगेन, आफ्ना पशुधनका लागिसमेत आवास तथा भोजनको प्रबन्ध गर्नुपर्‍यो ।

यस किसिमको झन्झटिलो व्यावहारबाट मुक्ति पाउने सूत्रका रूपमा मानिसले अतिथि परम्पराको प्रारम्भ गर्‍यो, जसले सबैलाई सहयोग पुग्यो । महिनौँको यात्रामा निस्किएको मानिसलाई कसैको पिँढीमा, ग्वालीमा वा छाप्रामा बसेर एक अम्खोरा पानी मात्र खान पाउनु पनि स्वर्गीयानन्दको विषय हुनपुग्छ । अहिलेको जस्ता सशुल्क अतिथिसेवाको लक्षणसम्म नदेखिएको प्राचीन युगमा अतिथि सम्मानको सूक्ति गाउनुलाई नै मानिसले सर्वकल्याणको मार्ग देख्यो अनि भन्न थाल्यो– ‘अतिथि देवो भवः ।’

अतिथि देवता हुन् बरु हामीले भन्ने गरेका देवतामाथि विश्वासको प्रश्न उठ्ला तर अतिथिमाथि प्रश्न उठ्दैन किनभने अतिथि देवता हाम्रा सामु हुन्छन् । तिनलाई आफ्ना घरमा भएको मीठो मसिनो अन्न–जलले स्वागत गर्दा तिनीहरू तृप्त हुन्छन् र आशीर्वाद दिएर जान्छन् । फलस्वरूप आफ्नो घरको सुख समृद्धिमा वृद्धि हुन्छ भन्ने कुरालाई हाम्रो समाजले परापूर्वकालदेखि आद्यपर्यन्त स्वीकार गर्दै आएको छ । आफ्ना घरमा आएका अतिथिको यथाशक्य सम्मान गरी तृप्त बनाएर आफ्नो जीवन सुधारेका कैयौँ प्रसंगहरू वैदिक गाथा तथा पौराणिक कथाहरूमा पढ्न पाइन्छ ।

जसले अतिथिको सत्कार गरेन, त्यसको टीठलाग्दो बर्बादी हुन्छ भन्ने कुरालाई आमनेपालीले वाचन गर्ने स्वस्थानी पुराणले पनि स्थापित गरिदिएको छ । यसरी सामाजिक आवश्यकताबाट प्रारम्भ भएको अतिथि सत्कारले अहिले धार्मिक तथा सांस्कृतिक स्वरूप ग्रहण गरिसकेको छ । अझ धर्मभन्दा पनि संस्कृतिका रूपमा अतिथि पूजा परिचित एवम् परिभाषित छ । प्राचीन सन्दर्भका आधारमा हेर्दा यज्ञमा आमन्त्रित देवताहरू अतिथि हुन्थे । उनीहरूलाई अघ्र्य तथा मधुपर्क समर्पित गरेर सम्मान गरिन्थ्यो । कोही अतिथि आफ्ना घरमा आएमा भेडाबाख्रा काटेर, भोजभतेर (सग्धि सपिति) गरेर, नाचगान गरेर अतिथि आगमनलाई उत्सवका रूपमा मनाउने प्रचलनसमेत पढ्न पाइन्छ ।

ब्राह्मण, ऋषि, राजालगायतका प्रतिष्ठित व्यक्तिहरू अतिथिका रूपमा आए सम्मानको ‘डोज’ सोही किसिमले बढ्ने कुरा स्वाभाविक स्मरणीय पनि छ । जसरी भए पनि अतिथि देवता हुन् र तिनको सम्मान गर्नुपर्छ भन्ने कुरा हाम्रो संस्कृतिको चुरो हो ।

परिचित होस् वा अपरिचित होस्, बास बस्ने बेलामा वा खाने बेलामा आइपुगेको खण्डमा आफूले नखाएर पनि, आफू नसुतेर पनि आतिथिको सत्कारलाई प्राथमिकता दिने चलन छ । अतिथिको जातभात, रूप, वर्ण, संस्कार, संस्कृति र धर्मलाई मुद्दा नबनाई उसको यथायोग्य व्यवस्थापनलाई हाम्रो समाजले ध्यान दिने गरेको छ ।

अतिथि तिथि न मितिसित आउने मात्र होइनन्, खबर दिएर धुमधामसित पनि आउँछन् । अझ कतिपयलाई त ‘कृपया आइदिनुहोस् न’ भनेर अनुनय विनय पनि गर्नुपर्छ । त्यस्ताको खातिरदारी झन् कडा गर्नुपर्ने हुन्छ । वास्तवमा अतिथि त भगवान् नै हुन् । भगवान्लाई खुसी गराउन सकियो भने वारदानको बाढी नै लाग्न सक्छ । त्यस कारण पनि कतिपय अतिथिको स्वागतमा निकै नै मिहिनेत गर्नुपर्छ ।

तीनकुने शहरदेखि बाहिर पर्‍यो । एयरपोर्टबाट आउँदा एक पाखो तान्नाले छोपिदिए देशको इज्जत जोगिने देखियो । त्यस कारण तीनकुनेमा प्रत्येकचोटि नक्कली दुबो, नक्कली सरोबर, नक्कली पर्खालको क्कल गरिन्छ । बरु २०५८ सालमै सल्लोको बोट सारिदिएको भए जंगल बनिसक्थ्यो । वायु प्रदूषण हुन्नथ्यो । फ्लेक्स प्रिन्टको चाइनिज इट्टा लगाउनुपर्दैनथ्यो ।

घर–आँगन सफा राख्ने, तन्ना तथा सिरक, सिरानीका खोल धुने, लिपपोत गर्नेलगायतका कार्य अतिथि आउँदै छन् भन्ने थाहा पाएपछि गर्ने गरिन्छ । कोही अचानकै आइपुगेको खण्डमा उसलाई पिँढीमा वा फलैँचामा बसाएर चोटामा साजसज्जा गर्नेतिर हामी जागरुक बन्छौँ । घरमा नभएका खण्डमा छरछिमेकमा एैँचोपैँचो र सरसापटका लागि पनि दौडिनुपर्ने हुन्छ । यस्ता परिदृश्य हाम्रो समाजमा हामीले नै निर्माण गर्दै आएका छौँ ।

‘जस्तो राजा, उस्तै प्रजा’ भनेको त्यसै होइन, हाम्रै समाजमा हुर्केका, त्यही व्यवहार र बानीमा अभ्यास परेका मान्छे नै राजा छन् वा प्रशासक छन् । उनीहरूमा समाजको प्रतिबिम्ब पर्नै पर्‍यो । जसरी जनता अरू बेला ढुक्कले बस्छन् र अतिथि आउँदा जुर्मुराउँछन्, त्यसरी नै हाम्रा शासकहरू पनि विदेशी विशिष्ट पाहुना आउँदा जुर्मुराउँछन् । बढीमा एक हप्ता देशको रङरोगन फेरिन्छ, सडक पुछिन्छ, बारमा रङ घसिन्छ, जेब्रा क्रसिङ टल्काइन्छन्, रातारात सडक पिच हुन्छ, महिनौँदेखिको अँध्यारो पोलमा फूल फुल्छ । फोहोरका डंगुर र भत्केका ठाउँ छोप्नलाई फ्लेक्स प्रिन्टको कलात्मक पर्खाल लगाइन्छ । सबथोक नक्कली, सबथोक देखावटी । मानौँ, यहाँ कुनै सर्कस या नौटंकी चल्दै छ– कुनै चाडपर्वको अवसरमा ।

हुनत अतिथिका लागि हामीले गर्ने यस्तो स्वागतको सुरुवात पहिलेबाटै भएको होला । हामी भुरा केटाकेटी हुँदाको कुरा गर्ने हो भने वि.सं. २०५८ को सार्क सम्मेलन याद आउँछ । त्यतिबेला सरकार प्रमुख शेरबहादुर देउवा थिए । सार्क मुलुकका राष्ट्र प्रमुखहरूको सम्मानमा काठमाडौं खुब सिँगारियो । माइतीघर मण्डला भएको ठाउँमा सिंगै टोल थियो, ठूलाठूला घरहरू थिए । रातारात डोजर चलाएर अतिक्रमित जग्गा सरकारले लियो र राम्रो पार्क निर्माण गरियो ।

माइतीघर मण्डलाले अहिले कुन महत्त्व राख्छ, त्यो कुरा जगजाहेर छ । रोडा, बालुवा र इट्टाको डिपोले भरिएको तीनकुने पनि त्यही बेला खाली गरिएको थियो तर तीनकुनेले माइतीघरले जस्तो सजिने अवसर पाएन । तीनकुने शहरदेखि बाहिर पर्‍यो । एयरपोर्टबाट आउँदा एक पाखो तान्नाले छोपिदिए देशको इज्जत जोगिने देखियो । त्यस कारण तीनकुनेमा प्रत्येकचोटि नक्कली दुबो, नक्कली सरोबर, नक्कली पर्खालको क्कल गरिन्छ । बरु २०५८ सालमै सल्लोको बोट सारिदिएको भए जंगल बनिसक्थ्यो । वायु प्रदूषण हुन्नथ्यो । फ्लेक्स प्रिन्टको चाइनिज इट्टा लगाउनुपर्दैनथ्यो ।

विष्णुमतीको फोहोर पुलमा पर्दा लगाएर छोप्नुपर्‍यो । यति वर्षदेखिको फोहोर भन्नेवित्तिकै सफा हुने कुरै भएन । तर, ‘जोगीका घरमा सन्न्यासी पाहुना’ भनेझैँ फेरि पनि हाम्रा देशमा पाहुना त अवश्य पनि आउनेछन् । त्यसको तयारी अहिलेबाटै गरे के बिग्रिन्छ ? पहिलेका अस्थायी सरकारले त यस पटक  चलाउन पाए अर्काेचोटि अर्कै आउँछ जेसुकै गरोस् भनेर फ्लेक्स प्रिन्टले छोपछाप गरे होला । तर, अहिले त स्थायी सरकार छ ।

हरेक भाषण र वक्तव्यका वाक्यलाई दुई तिहाई बहुमत प्राप्त स्थायी सरकारको गायत्री मन्त्रले सम्पुटित गर्न नबिर्सिने सरकारले पाँच वर्षसम्म टिक्ने संरचनाको कल्पना गर्न सक्दैन ? चियापान समारोहमा गाडेको पन्नाल जस्तो आज हाल्यो, भोलि निकाल्यो गरेर कहिलेसम्म चलाउने होला ?

सरकारले यति कर्मचारीका भरमा काठमाडौं सिँगार्‍यो तर अतिथि बिदा भएको भोलिपल्टदेखिको अवस्था उस्तै छ । कर्मचारी आतिथि आउँदा मात्र काम गर्ने गरी भर्ती भएका त होइनन् होला ? यसको मतलब हामी अरू बेलामा आफ्नो कर्तव्यप्रति निच मार्छाैं र अधिकारप्रति उद्यत रहन्छौँ भन्ने नै हो ।

कुनै खास अवसरबाहेक अरू बेलामा सर्टको कठालो नमिलाउने र जुत्तामा पालिससमेत नलगाउने हाम्रो स्वभाव कतै हाम्रा सडकमा प्रतिबिम्बित भएको त होइन ?