जसले कोमल ओलीलाई दोहोरीमा हराए

जसले कोमल ओलीलाई दोहोरीमा हराए

यमबहादुर दुरा  |  लोकरञ्जन  |  फाल्गुन ३, २०७५

उनका बुबा भारतीय सेनाका सुबेदार धनबहादुर गुरुङ शिक्षाको महत्व बुझेका व्यक्ति थिए । छोरालाई आफुजस्तै पल्टनियाँ बनाउने उनको कुनै रहर थिएन । छोरोले पल्टनमा बुट बजार्नुको सट्टा स्वदेशमै केही गरेर देखाउन् भन्ने उनको चाहना थियो । 

उनी हरप्रकारले छोरालाई पढ्न प्रेरित गर्थे । छोरा पनि पढाइमा तेज नै थिए । लेखपढ गर्ने कार्य निःसर्त कर्म भए पनि छोराले बुबासँग एउटा सर्त राखेका थिए, पढाइमा पहिला भए आफ्ना लागि रेडियो किनिदिनुपर्ने । नभन्दै उनी परीक्षामा पहिलो पुरस्कार थाप्न सफल भए । 

अहिलेका ख्यातिप्राप्त लोकगायक कृष्ण गुरुङले त्यतिबेला पल्टने बुबालाई खुसीको खबरले भरिएको चिठी तात्तातै पठाइहाले । बुबाले छोरालाई निराश पार्ने कुरै भएन । पल्टनबाट छुट्टीमा घर फर्कँदा बुबाले नेसनल पानासोनिक रेडियो ल्याइदिए । उनको खुसीको सीमा रहेन । रेडियोमा खबर सुन्नु र लोकगीत सुन्नु उनको दिनचर्या नै बन्यो ।

त्यस समयमा उनलाई मनपर्ने थुप्रै आवाजहरूमा लोकगीतको एउटा विरहिणी बिम्ब मन छन्त्याल पहिलो नम्बरमै पर्थिन् । छन्त्यालको चर्चित गीत ‘बेनीको बजार...’ आउनुअघि रेडियो नेपालबाट उनकै स्वरमा एउटा मार्मिक गीत बज्थ्यो– खाइसक्यो धैंसले, इज्जेत फाल्छ यै पापी बैंशले...। (बाग्लुङतिर लवजमा ध्याँसोलाई धैंस भनिन्छ ।) 

उनी पिढीको खाँबोमा रेडियो झण्डाएर बारीमा घाँस काट्न जान्थे । रेडियोमा मन छन्त्यालको गीत बजेपछि दौडिएर गीत सुन्न घरै हाजिर हुन्थे । रेडियोमा बज्ने रैथाने पन झल्कने यस्ता गीतले उनको लोकसङ्गीतप्रतिको भोक र तिर्सना थप जागेर आयो । 

बुबाले ल्याइदिएको त्यो नेसनल पानासोनिक रेडियो उनीसँग छैन । आफ्नो सपना, बाल्यकालीन सम्झना, साङ्गीतिक करिअर र व्यक्तिगत इतिहासका अध्यायहरू जोडिएका त्यो रेडियो सुरक्षित नराखेकोमा उनलाई भने पछुतो छ ।

उनी जन्मेहुर्केको जामुने सिम्ले (दुराडाँडा) सांस्कृतिक दृष्टिले समृद्ध थियो । त्यहाँको सांस्कृतिक परिवेश लोकगीतका लागि कम्ताको उर्वरभूमि थिएन । रोदीघरमा गुञ्जने लोकभाका र सामाजिक जमघटका खालमा जम्ने गीतको मोहनी भाकाले भरिएका हुन्थे । यी तमाम उत्प्रेरक तत्वका कारणमा उनमा बाल्यकालमै लोकगीतप्रतिको रुझान विकास भइसकेको थियो । 

उनी बाँसुरी बजाउन निकै रुचि राख्थे । गाईवस्तु चराउन जाँदा पनि रुखमा बसेर मुरली फुक्थे । सुरुसुरुमा बाँसुरी बजाउँदा ताल टिपिँदैनथ्यो । त्यसपछि रिसले बाँसुरी हुर्‍याइदिन्थे । रिस मरेपछि त्यही मुरली खोजेर बजाउँथे । उनी विद्यालय जाँदा र फर्कँदा बाँसुरी नै फुक्थे ।

उनी पढ्ने स्थानीय सर्वोदय माध्यमिक विद्यालयले अतिरिक्त क्रियाकलापअन्तर्गत आयोजना गर्ने लोकगीत प्रतियोगितमा नाम लेखाउँथे । प्रतियोगितामा उनी अक्सर पहिलो पुरस्कार थाप्न सफल हुन्थे । उनको प्रतिभा देखेर सूर्यनाथ न्यौपाने, ठाकुरप्रसाद छाँगा लगायतका शिक्षकहरूले भविष्यमा साङ्गीतिक करिअर रोज्न सल्लाह दिन्थे ।

यस्तै हौसला र प्रेरक तत्वहरूबाट हौसिएर उनले मनभित्र अठोटहरूका चाङ लगाउँदै थिए । एसएलसी उत्तीर्ण भएपछि उच्च शिक्षा हासिल गर्न २०३७ सालमा राजधानी भित्रिए । त्यसपछि उनको साङ्गीतिक यात्राले वेग हान्न थाल्यो । 

रेडियोमा गीत गाउनु उनको ठूलो धोको थियो । यही धोको पूरा गर्न उनी एकपटक एसएलसी उत्तीर्ण हुनुअघि नै राजधानी भित्रिएका थिए । त्यतिबेला रेडियोमा गीत गाउने अवसर मिलेन । निराश भएर घर फर्किए । तर, उनले हिम्मत हारेका थिएनन् । उनीभित्र इरादाको आगो निभेको थिएन ।

रेडियो नेपालको भाषाभाषी गीत ‘फूलबारी कार्यक्रम’ मा २०३८ सालमा पहिलोपटक गुरुङ भाषामा गीत गाए, त्यो पनि आमालाई सम्झेर । ‘मलाई सम्झेर नरुनू आमा’ आशयको गीत गाए । गीत गाएबापत २० रूपैयाँ पारिश्रमिक पाएका थिए । त्यही पैसाले बुट्टे छाता किनेर दिदीलाई उपहार दिए । 

त्यो गीत सुनेर आमाको आँखाबाट अश्रुधारा बग्यो । गण्डकी भेगका धेरै आमाहरूको आसु थामिएन । गाउँघरमा उनको कला र गलाको चर्चा हुन थाल्यो । उनले त्यस गीतबाट मातृभाषाको तागत कति जोडदार हुन्छ भन्ने अनुभूत गर्ने अवसर पाए । 

त्यस समयमा रेडियोमा गीत रेकर्ड गर्न स्वर परीक्षामा उत्तीर्ण हुनु अनिवार्य थियो । अनेक धामा सहेर उनले २०३९ सालमा स्वर परीक्षा उत्तीर्ण गरे । यसपछि साङ्गीतिक यात्राको फलामे ढोका खुल्यो । स्वर परीक्षा उत्तीर्ण भएपछि उनले रेडियो नेपालमा आफ्नो पहिलो लोेकगीतको रुपमा ‘देऊ रुमाल फूल भरेर...’ बोलको गीत रेकर्ड गराए । यो गीत गाउँबस्तीमा निकै लोकप्रिय रह्यो । 

यसका अतिरिक्त ‘गाउंँशहरको भीर’, ‘लालुपातेर, गयो मायाले डाँडै काटेर’, ‘हातैमा देऊ नानी रुमाल’, ‘बुट्टे चोलीरी’, ‘खो पाते’ आदि बोलका गीत जनजिब्रो उच्चारण भइरहन्छन् । 

उनी २०३९ साल राजदरबार सेवामा प्रवेश गरे स्थायी कर्मचारीको रूपमा । पञ्चायत कालमा राजदरबार सेवामा कार्यरत रहनु रवाफको जागिर थियो । तर, त्यो जागिरमा उनी त्यतिविधि रमाउन सकेनन् । राजदरबारको जागिरमा उनीभित्रको कलाकारिता फस्टाउने ठाउँ थिएन ।

उनले राजदरबारको स्थायी जागिर छाडेर २०४४ सालमा सांस्कृतिक संस्थानमा बाँसुरीवादकको रूपमा अस्थायी जागिरे भए । आफ्नो रुचि अनुसारको क्षेत्रमा प्रवेश गर्न उनले सुनिश्चित जागिर त्यागेर अनिश्चित भविष्य रोजे । २०५५ सालमा आएर मात्र उनी स्थायी भए । उनले लोकसंगीत संयोजकको जिम्मेवारी पनि सम्हाले । हाल उनी गायन प्रबन्धक पदमा कार्यरत छन् । साथै, उनले अनुसन्धान शाखाको जिम्मेवारी सम्हालिरहेका छन् ।

२०४५ सालमा कोमल ओलीसँगको घम्साघम्सीपूर्ण दोहोरीमा उनले पनि ‘अचुक अस्त्र’ प्रयोग गरे । उनी वनको राजा सिंहको रूपमा प्रस्तुत भए । उनले गीतमै तर्क राखे– डाँफेचरी होस् वा अन्य जीवजन्तु, निहुँ खोज्दै सिंहको मुखमा पर्न आउँछ भने त्यसमा कुनै पनि कानुनको धारा आकर्षित हुँदैन । यस्तो तर्क राखेपछि नतिजा उनको पक्षमा आयो । यसरी उनले ओलीको ‘ब्रह्मास्त्र’लाई निस्तेज पारिदिए ।

उनी थुप्रै दोहोरी प्रतियोगितामा भिडे । दोहोरीमा भिड्दा उनले थुप्रै रोचक अनुभव संगालेका छन् । तीमध्ये एउटा प्रसंग दोहोरीका हस्ती मानिने कोमल ओलीसँग पनि जोडिएको छ । दोहोरी गाउँदा ओली आफूलाई चराको रूपमा प्रस्तुत गर्थिन् । त्यसपछि सिकारी–चराको लाइनमा गीत अघि बढ्थ्यो । अन्ततः उनी डाँफेचरीको रूपमा प्रस्तुत हुन्थिन् । डाँफे, नेपालको राष्ट्रिय चरा । डाँफेको सिकार गर्नु कानुनतः निषेध हुने भइहाल्यो । यही रणनीति अपनाएर उनी विपक्षीलाई हराउँदै आफूलाई सुरक्षित स्थानमा राख्थिन् । यो नै उनको ‘बह्मास्त्र’ थियो ।

२०४५ सालमा कोमल ओलीसँगको घम्साघम्सीपूर्ण दोहोरीमा उनले पनि ‘अचुक अस्त्र’ प्रयोग गरे । उनी वनको राजा सिंहको रूपमा प्रस्तुत भए । उनले गीतमै तर्क राखे– डाँफेचरी होस् वा अन्य जीवजन्तु, निहुँ खोज्दै सिंहको मुखमा पर्न आउँछ भने त्यसमा कुनै पनि कानुनको धारा आकर्षित हुँदैन । यस्तो तर्क राखेपछि नतिजा उनको पक्षमा आयो । यसरी उनले ओलीको ‘ब्रह्मास्त्र’लाई निस्तेज पारिदिए ।

लोकगीतका विभिन्न विधा र शैलीलाई सूक्ष्मतम् किसिमले विश्लेषण गर्नेे गुरुङ ग्रामीणजन र अग्रज पुस्ताले गाएका गीतमा मौलिकता र मिठास पाउँछन् । ती गीतमा स्थानीयपन र जातीय संस्कृतिको सुगन्ध पनि फेला पार्छन् । लोकगीतको मौलिकता बचाउन यस्ता कुरा आवश्यक छन् । अहिलेका गीतमा यी मूलभूत पक्ष नै गायब हुन थालेको उनको ठहर छ ।

उनी रोदीघरलाई लोकगीतको मुहान ठान्छन् । रोदीघरबाटै सुनीमाया, यानीमाया, सालैजो, बिनासालैजो ठाडो भाकालगायत थुपै्र लम्मरी भाका जन्मिएको उनको बुझाइ छ । उनी रोदीघरलाई एउटा महत्वपूर्ण सांस्कृतिक बिम्बका रूपमा लिन्छन् । 

तर, कतिपय लेखकले हाम्रो लोकजीवनको सुन्दर बिम्ब रोदीघरलाई पश्चिमा मुलुकको ‘नाइट क्लब’सँग तुलना गरेर भ्रष्टीकरण गरिदिएकामा उनी दुःखी छन् । रोदीघरलाई नितान्त व्यापारिक प्रयोजनका लागि स्थापित ‘नाइट क्लब’सँग दाँज्नु कुनै पनि दृष्टिले तर्कसंगत नहुने उनको तर्क छ । 

रोदीघरजस्तै लोकगीतबारे पनि धेरै भ्रामक कुरा आएकामा उनी चिन्तित छन् । कतिपयले गहिरो अध्ययन नगरी सतही बुझाइका आधारमा लोकगीतलाई परिभाषित गरिदिँदा धेरै द्विविधा आएको उनको बुझाइ  छ । धेरैले लोकगीतलाई सस्तो मनोरञ्जनको माध्यमको रूपमा बुझेका छन् । लोकगीतमा विद्यमान यसप्रकारको भ्रमलाई चिर्न लोकगीतका अध्येताले भ्रम निवारण कार्यलाई महत्वपूर्ण कार्यसूचीकै रूपमा अघि बढाउनुपर्ने उनको सुझाव छ । 

विकास र लोकसंस्कृतिबीच विद्यमान द्वन्द्वमा लोकसंस्कृति पराजित बन्दै गएको छ । उनको विश्लेषण छ, ‘विकाससँगै विनाश आउँछ । लोकगीत त्यसको चपेटामा परेको छ । विकासले लोकगीत खायो ।’ 

परिवर्तित परिस्थितिबारे उनी टिप्पणी गर्छन्, ‘आजकल हामी घाँस काट्न जाँदैनौ, किनभने गाइवस्तु पाल्दैनौं । ढिकीजाँतो गर्दैनौं, मिल आयो । पानी पँधेरौ गर्दैनौं, घरमा धारा आयो । पहिले बेलुका भात खाएपछि रोदीघर जान्थ्यौं, अहिले त्यो समयमा टिभी हेर्छौं । कति फरक आयो, कति । लोकसंस्कृतिमा धेरै ह्रास आएको छ ।’ 

परिणामस्वरूप वनजंगलमा घाँस दाउरा गर्दा, पानी पँधेरो गर्दा, ढिकी जाँतो गर्दा गाउने गीतहरू हराएर गएको उनको निष्कर्ष छ ।

परिस्थिति जति नै जटिल भए पनि नेपालको पहिचान जोगाउन लोकसंस्कृति बचाउनुको विकल्प नभएकोमा उनी दृढ छन् । उनी भन्छन्, ‘ज्याज म्युजिकले नेपालको परिचय दिँदैन । नेपालीपन भएको गीतले नै नेपालको परिचय दिन्छ ।’नेपालको संस्कृतिको ठूलो हिस्सा जनजातिको संस्कृतिले ओगटेकाले उनीहरूको संस्कृति संरक्षण र सम्वद्र्धनमा राज्यले ध्यान दिनुपर्नेमा जोड दिन्छन् ।

सिक्किमका मुख्यमन्त्री पवन चाम्लिङले त्यहाँका हरेक जनजातिको संस्कृति संरक्षणका लागि बजेट छुट्याइदिएको दृष्टान्त दिँदै नेपाल सरकारले पनि यहाँको विविधतापूर्ण संस्कृति जोगाउन चाम्लिङको पदचाप पछ्याउनु राम्रो हुने उनको सुझाव छ ।  

अहिलेका गीत क्षणभङ्गुरपूर्ण रहेको उनको धारणा छ । उनको टिप्पणी छ, ‘आजकलका गीत आज लोकप्रिय छ, भोलि छैन । पुराना गीत हिजो पनि लोकप्रिय थिए, आज पनि लोकप्रिय छन् ।’ 

‘सुखी ज्यानलाई गुँदरी काम्लो...’, ‘सोह्र वर्षे उमेरैमा मै पनि झिल्के हुँदो हुँ...’ ‘बेनीको बजार, जता माया उतै छ नजर’, ‘गाउँ–सहरमा लमजुङ दरबार...’ जस्ता पुराना गीतलाई समयले पछि पारिसक्दा पनि स्रोताले बहुतै मन पराएको उनको बुझाइ छ । 

गाउँबाट राजधानी छिरेपछि आफूभित्रको प्रतिभा तिखार्नतिर लागे । उनले सङ्गीत प्रवीण नरराज ढकाल, शकुन्तला प्रधान, गोपालनाथ योगी र कमलप्रसाद क्षेत्रीबाट शास्त्रीय संगीतको ज्ञान लिए । लोकगायक युक्त गुरुङसँग विभिन्न वाद्ययन्त्रको स्केलका साथै हार्मोनियम, मादल वादनसम्बन्धी ज्ञान र सीप सिके । प्रयाग संगीत समिति इलाहाबादबाट शास्त्रीय गायनमा ‘सिनियर डिप्लोमा’ सम्मको  तालिम लिएका छन् ।
उनकै शब्दमा यसअघि उनले गाउँघरका अपठित आमा–बा, दाजुभाइ र दिदीबहिनीहरूबाट अप्रत्यक्ष रूपमा लोकगीतबारे धेरै कुरा सिके, जो उनका प्रेरणास्रोत हुन् । उनका दृष्टिमा ती अपठित ग्रामीणजन लोकगीतका अनौपचारिक विश्वविद्यालय हुन् । 

यी औपचारिक र अनौपचारिक विश्वविद्यालयबाट सिकेका ज्ञान र सीपले उनको साङ्गीतिक यात्रालाई एउटा उचाइमा पुर्‍यायो । उनले एसिया र युरोपका विभिन्न १३ देशमा पुगेर आफ्नो कला र गलाको आलोक छरिसकेका छन् । गाउँका एउटा कुनबाट उदाएको उनको प्रतिभा देशको सरहदभन्दा धेरै परसम्म पुगेको छ ।  

उनको प्रतिभा गायनमात्र सीमित छैन । उनी लोकगीतका अध्येता र अभ्यासकर्ता दुवै हुन् । उनी लोकगीतको नालीबेली केलाउन सक्छन् । गण्डकी भेगमा प्रचलित ठाडो भाका उनी कुशलतापूर्वक गाउन सक्छन्, जुन भाका अहिले धेरैले गाउन जान्दैनन् । उनको हातबाट कुनै पनि बाजा रोकिँदैन । उनी व्यवसायिक बाँसुरी प्रशिक्षक त हुँदै हुन्, अभिनयमा पनि उनले दरिलो उपस्थिति जनाइसकेका छन् । 

उनले गुरुङ भाषाका दर्जनभन्दा बढी चलचित्रमा अभियन गरिसकेका छन् । टेलिचलचित्र र नाटकमा अभिनय गरेर आफ्नो कला पस्किसकेका छन् । उनले चलचित्र र नाटकमा सङ्गीत संयोजन पनि गरेका छन् । उनी क्षेत्रीय प्रतिभा पुरस्कारलगायत सयौं सम्मान र पुरस्कारद्वारा विभूषित भएका छन् ।

उनी २०७६ साउनमा सांस्कृतिक संस्थानको जागिरबाट सेवानिवृत्त हुँदैछन् । जागिरपछिको खाली समय गाउँ गाउँ डुलेर मौलिक लोकभाका खोज्ने र अभिलेखन गर्ने उनको धोको छ । यहीबाट सही गन्तव्य पुगिने उनको अपेक्षा छ ।