अरूकाे अनावश्यक रूपमा कुरा काट्नुः आफ्नै मन र मस्तिष्कको बर्बादी !

अरूकाे अनावश्यक रूपमा कुरा काट्नुः आफ्नै मन र मस्तिष्कको बर्बादी !

निर्जला कक्षपति  |  दृष्टिकोण  |  कार्तिक ५, २०७६

अरूले गरेको व्यवहार र विशेषगरी अरूले भनेका कुराहरूले हामी बेलाबेलामा निकै नै दु:खी हुने गर्छौं । फलानोले मलाई के भनेको होला यस्तो अर्थात् मैले यसो भन्दा उनले यस्तो किन भनिन् ? यस्ता कुराले हाम्रो मन र मस्तिष्क धेरै दिनसम्म बिथोलिन्छन् । यो समस्या घरदेखि अफिस र सिंगो समाजभित्रै छ ।

घरभित्र हुने गरेको सासू–बुहारीको कथा होस् या कार्यालयमा आफ्नै साथीले भन्ने गरेका कुराहरू हुन्, यस्ता कुराहरूले हाम्रो मन निकै नै खलबलिने गर्छ । मन दुखेका कारण हाम्रा दैनिक क्रियाकलापमा समेत यसले प्रभाव पारिरहेकाे हुन्छ । जुन कुरालाई हामी ख्याल गरिरहेका हुँदैनाै‌ । 

हिजोआज सामाजिक संजाल आफ्ना कुराहरू प्रस्तुत गर्ने सशक्त माध्यम बनेको छ । विशेषगरी फेसबुकमा पोष्ट गरिने स्टाटस अनि त्यसमा व्यक्त गरिने प्रतिक्रिया र विचारले हामीलाई केही खुसीका साथै दुखी पनि बनाइरहेको हुन्छ । कतिपय स्टाटस र दिइएका प्रतिक्रियाहरू यस्ता हुन्छन्, जुन पढेर हामी धेरै दिन दुःखी भइरहेका हुन्छौँ । कुनै स्टाटस व्यक्तिलाई नै लक्षित गरेर लेखिन्छन् भने कुनै समाजमा व्याप्त विसंगति र विकृतिलाई लिएर लेखिन्छन् । यस्ता स्टाटस हेरेर यो अवश्य फलानोलाई भनेको हुनुपर्छ भनी अड्कल काट्नेको संख्या पनि ठूलो छ । स्टाटस पढेर निकै दु:खी हुने  मानिस हाम्रो समाजमा धेरै छन् । कतिले त स्टाटसकै कारण रिसइवी साँध्ने पनि गरेका छन् ।

मानिसका बानी थरीथरीका हुन्छन् । कोही केही कुरालाई पनि गम्भीर रूपमा लिने र कोही केही पनि कुरालाई गम्भीरका साथ नलिने । एउटा कानले सुन्यो, अर्काले उडायो भनेजस्तै । तर, हामीले एउटा कुरा के बिर्सन हुन्न भने हरेक मानिसको सोच्न सक्ने सामथ्र्य फरक फरक हुन्छ । जसले जति सोच्न सक्छ, उसको सार्मथ्य त्यति नै हुन्छ । उसको सोचअनुसारको विचार बाहिर व्यक्त गरिन्छ । बुझाइ पनि ठीक त्यस्तै नै हो । उसले प्राप्त गरेको ज्ञानको आधारमा उसको बुझाइको मापन हुन्छ र उसले गर्ने क्रियाकलाप पनि त्यहीअनुसारका नै हुन्छन् ।

एकै परिवारमा रहँदा पनि सबैको बानी सबैलाई मन नपरेको हुन सक्छ । कसैको ठूलो आवाजले बोल्ने बानी हुन्छ । शान्त स्वभाव र शान्तसँग बस्न रुचाउनेहरूका लागि यस्तो बानी फिटिक्कै मन नपर्ने हुन्छ । फलानो आउँछ र जोडजोडले बोल्छ भनेर चिन्ता लिने बानी कसैको हुन सक्छ ।

हरेक मानिसले आआफ्नो जीवन व्यतीत गर्ने हो । यसमा कुनै शंका छैन । आफूले सधैँ सत्कर्म गरेको छ भने अरूले भनेका यस्ता कुराहरूले मानिसलाई कुनै प्रभाव पार्दैन र पार्नु हुन्न पनि । अरूले गरेका कुराले आफू दुःखी हुनु भनेको आफैँले आफैँलाई बर्बाद पार्नु मात्र हो । अरूले भनेका कुराहरू मनमा धेरै दिन लिँदा या भनौँ खेलाउँदा चिन्ता बढी हुने गर्छ । एउटा भनाइ  छ– ‘चिन्ताको घर रोग हो ।’ चिन्ताले रोग निम्त्याउँछ र आफैँलाई नै सिध्याउने गर्छ । अरूले भनेका कुरा लिएर आफ्नो मन अशान्त पार्दा र दुःखी हुँदा आफैँलाई नै हानि पुर्‍याउँछ ।

हाम्रो समाजको स्वरूप हर्ने हो भने संयुक्त समाज हो । परिवारको कुरा गर्ने हो भने संयुक्त परिवारमा बस्ने चलन हो । हिजोआज धेरै ठूलो परिवारमा मानिसहरू सँगै बस्न नरुचाए पनि परिवारभित्र तीन–चार जनाको संख्या रहनेगरी एकै परिवारमा बस्ने गर्छन् । एकै परिवारमा रहँदा पनि सबैको बानी सबैलाई मन नपरेको हुन सक्छ । कसैको ठूलो आवाजले बोल्ने बानी हुन्छ । शान्त स्वभाव र शान्तसँग बस्न रुचाउनेहरूका लागि यस्तो बानी फिटिक्कै मन नपर्ने हुन्छ । फलानो आउँछ र जोडजोडले बोल्छ भनेर चिन्ता लिने बानी कसैको हुन सक्छ ।

बच्चाले मोबाइल हेरेर सताउँदा आमा चिन्तित हुन्छिन् । बच्चाको जंक फुड खाने बानी हुँदा र बच्चाले नटेर्दा पनि धेरै आमा दुःखी र चिन्तित हुन्छन् । बच्चालाई नराम्रो बानीबाट टाढै राख्ने प्रयत्न आमाले सधैँ गर्नुपर्छ तर कसैको नराम्रो बानीलाई लिएर आफैँ दुःखी भने पटक्कै हुनुहुन्न । किनभने अरूको बानी परिवर्तन गर्छु भनेर लाग्नु भनेको त्योभन्दा मूर्ख्याइँ अरू हुन सक्दैन ।

नानी बेलादेखि लागेको बानी छुटाउन निकै मुस्किल पर्छ । कतिपय अवस्थामा हिजोआज यही बानी व्यवहार नमिलेका कारण श्रीमान्–श्रीमतीबीच सम्बन्धविच्छेद भइरहेका छन् । बुढेसकालमा झनै यस्ता एकअर्काका नमिल्ने बानीले एकले अर्कोलाई निकै नै पोल्ने रहेछ । त्यसैले यदि सुखी र खुसी रहने हो भने अरूको बानीले गर्दा आफ्नो टाउको दुखाउने बानी आजैबाट छाड्नुपर्छ ।