पुरानाे दम खोकीः खानपिन, रोकथामदेखि उपचारसम्म

पुरानाे दम खोकीः खानपिन, रोकथामदेखि उपचारसम्म

प्रा.डा.डम्बरबहादुर कार्की  |  दृष्टिकोण  |  कार्तिक ५, २०७६

गाउँघरका बिरामीहरूलाई नजिकको स्वास्थ्य सेवा केन्द्रमा उपचार गराउन सजिलो पर्छ । स्वास्थ्य केन्द्रमा कार्यरत स्वास्थ्यकर्मीहरूले पुरानो दम खोकी पत्ता लगाउन यो रोगसम्बन्धी जानकारी राख्नु आवश्यक पर्छ । दम खोकीसम्बन्धी प्रश्नहरू सोधेर यो रोगको निदान गर्न सकिन्छ । हेल्थ सेन्टरमा पुरानो दम खोकीबाट पीडित रोगीहरूलाई पत्ता लगाएर उनीहरूको रोगको रोकथाम गर्ने उपायहरू सिकाउन सकिन्छ । दम खोकीबाट पीडित बिरामीहरूलाई स्वास्थ्यकर्मीहरूले उपचार पनि गर्न सक्छन् । दम खोकीका बिरामीहरूको तथ्यांक संकलनले उचारमा आवश्यक पर्ने कुराहरूको बन्दोबस्त गर्न पनि सजिलो हुन्छ ।

दम खोकीलाई कसरी रोकथाम गर्ने ?

दम खोकी हुन नदिन धुवाँ, धुलो र चिसोबाट बच्नुपर्छ । कुनै किसिमको धुम्रपान गर्नुहुँदैन । धुम्रपानको लत लागिसकेकाहरूले यो लतलाई त्याग्नुपर्छ । चुरोट, बिँडी, हुक्का, सुल्पा अथवा सिगार खानेहरूले यो लत छाड्नाले दम खोकी कम हुन्छ । धुम्रपानको साथै घरभित्र दाउरा बालेर खान पकाउँदा निस्कने धुवाँ पनि स्वास्थ्यको लागि त्यतिकै हानिकारक हुन्छ । घरभित्र खाना पकाउँदा धुवाँ नआउने चुह्लो राख्नु बुद्धिमानी हुन्छ । धुम्रपान नगर्ने तर धुम्रपान गर्नेहरूको छेउछाउमा बस्नेहरूलाई पनि धुम्रपानको धुवाँले प्रभाव पार्छ ।

दम खोकी भएकाले कस्तो खाना खानुपर्छ ?

दम खोकीका बिरामीहरूले कार्बोहाइड्रेट, चिल्लो पदार्थ, प्रोटिन, भिटामिन र धातुयुक्त पौष्टिक खाना खानुपर्छ । दम खोकीका बिरामीहरूले दिनमा ४–५ पल्ट आवश्यक खाना खानु राम्रो हो । दिनैपिच्छे प्रोटिन खानाले सास फेर्न मद्दत गर्ने तथा छातीका मांशपेसीहरू शक्तिशाली हुन्छन् । माछा–मासु र दूधमा प्रोटिन हुन्छ । तौल कम भएकाहरूले चिल्लो पदार्थ खानाले तौल बढ्छ । चिल्लो पदार्थबाट कार्बनडाइअक्साइड पनि बढ्दैन तर कार्बोहाइड्रेटबाट कार्बनडाइअक्साइड ज्यादा बढ्छ । रगतमा कार्बाेहाइड्रेट ज्यादा हुनु दम खोकी भएकाहरूलाई राम्रो हुँदैन ।

ठीक मात्रामा गहुँको रोटीबाट आउने कार्बोहाइड्रेट खानु बुद्धिमानी हुन्छ । ताजा फलफूल, सागसब्जी र फाइवरयुक्त खाना दम खोकी हुनेहरूले खाँदा फाइदा हुन्छ । झोल पदार्थ खानापछि खानुपर्छ । खानासँगै धेरै पानी खानाले पेट भरिन्छ र दम पनि गराउन सक्छ ।

धेरै कमजोर भएका बिरामीहरूले औषधि कम्पनीहरूले बनाएका प्रोटिन प्रयोग गर्न सक्छन् । दम खोकीका बिरामीहरूको बी.एम.आई. २१ भन्दा ज्यादा भएको राम्रो मानिन्छ । धेरै मोटोपन भने स्वास्थ्यका लागि हानिकारक हुन्छ । हाम्रो बी.एम.आई २३ भन्दा कम नै भएको राम्रो हो । आफ्नो तौल हुनुपर्नेजति भएमा खाइरहेको खानाको मात्रा ठीक ठान्नुपर्छ । तौल ज्यादा भएर बी.एम.आई. बढेको अवस्थामा भने ५०० क्यालोरी बराबरको खाना कम गराउनुपर्छ । ३५ सय क्यालोरी बराबर एक पाउण्ड हुन्छ । अर्थात् दिनहुँ ५०० क्यालोरी कम गराउँदा हप्तामा एक पाउण्ड तौल कम हुन्छ । कम तौल भएका व्यक्तिहरूले दिनमा ५०० क्यालोरी बढाउँदा एक हप्तामा एक पाउण्ड तौल बढ्छ ।

आवश्यक क्यालोरी पत्ता लगाउने तरिका

मानिसले सास फेर्दा, मुटु चल्दा र आन्द्रामा पाचन क्रिया हुँदा क्यालोरीको आवश्यकता पर्छ । यसलाई परिश्रम नगरेको अवस्थामा आवश्यक क्यालोरी अर्थात् ब्यासल मेटाबोलिक रेसियो’ भनिन्छ । ४.२ किलो जुस बराबर एक किलो क्यालोरी हुन्छ ।

साधारणतया पुरुषहरूलाई परिश्रम नगरेको अवस्थामा बी.एम.आर. १५ सय क्यालोरी र महिलाहरूलाई १२ सय क्यालोरी आवश्यक पर्छ । पुरुषहरूको यो क्यालोरीलाई पत्ता लगाउन किलोग्राममा लिएको तौललाई एक अंकले अनि २४ ले गुणा गर्नुपर्छ । महिलाहरूको यस्तो क्यालोरी पत्ता लगाउन ०.९ ले पहिले गुणा गरेर पछि फेरि २४ ले गुणा गर्नुपर्छ । सामान्य परिश्रम गर्ने पुरुषलाई २५ सय क्यालोरी र महिलालाई दुई हजार क्यालोरी भए हुन्छ । मानिसले गरेको परिश्रमअनुसार आवश्यक क्यालोरी थाहा पाउन सकिन्छ ।

हप्तामा १–३ दिनसम्म व्यायाम गर्नेहरूको आवश्यक क्यालोरी पत्ता लगाउन बी.एम.आर.लाई १.३७५ ले गुणा गरिन्छ । त्यस्तै, हप्तामा ३–५ दिनसम्म व्यायाम गर्नेहरूको आवश्यक क्यालोरी पत्ता लगाउन १.५५ ले गुणा गर्नुपर्छ । साधारणतया यसरी हिसाब गरेर निकालिएका क्यालोरीलाई नै आवश्यक क्यालोरी माने हुन्छ । कडा परिश्रम गर्नेमा १.८ र धेरै कडा परिश्रम गर्नेहरूमा २ ले गुणा गर्नुपर्छ ।

हाम्रो क्यालोरीको आवश्यकता हाम्रो शरीरमा हुने चिल्लो पदार्थको प्रतिशतले पनि निर्धारण गरेको हुन्छ । शरीरको बोसोको प्रतिशत बी.एम.आई.द्वारा निम्न सूत्रबाट पत्ता लाग्छ :

शरीरको बोसोको प्रतिशतबाट आवश्यक क्यालोरी पत्ता लगाउन गुणा गर्ने अंक अर्थात् लिन फ्याक्टर मल्टिप्लायर पत्ता लाग्छ । यही अंकले बी.एम.आर.को क्यालोरीलाई गुणा गरेर दिन प्रति दिन शरीरलाई चाहिने क्यालोरीको जानकारी प्राप्त हुन्छ ।

पुरुषमा बोसोको प्रतिशत                     गुणा गर्ने अंक
१०–१४                                                  १
१९–२०                                                 ०.९५
२१–२८                                                 ०.९
२८ भन्दा ज्यादा                                      ०.८५

महिलामा बोसोको प्रतिशत               गुणा गर्ने अंक
१४–१८                                                 १
१९–२८                                              ०.९५
२१–३८                                              ०.९०
३८ भन्दा ज्यादा                                   ०.८५

विशेषज्ञहरूले अन्य सूत्रहरूको प्रयोग गरेर हाम्रो शरीरको बोसोको प्रतिशत पत्ता लगाएका छन् । यहाँ उल्लेख गरेको तरिकाबाट शरीरको बोसोको प्रतिशत पत्ता लगाउन गाह्रो पर्दैन । यो तरिकाबाट पत्ता लगाइएको क्यालोरी वैज्ञानिक सिद्धान्तमा आधारित भएकाले सकभर यसलाई प्रयोग गर्दा सर्वमान्य हुनेछ । युवा–युवतीहरूमा ज्यादा क्यालोरी चाहिन्छ र यिनीहरूमा क्यालोरी पत्ता लगाउने सूत्र अलिक बेग्लै हुन्छ ।

माथि उल्लेख गरिएअनुसार दिनभरमा चाहिने क्यालोरी थाहा पाउन सकिन्छ । हुनुपर्ने भन्दा ज्यादा तौल हुनेहरूले दिनमा ५०० क्यालोरी बराबरको खाना कम गराउँदा हप्तामा एक पाउण्ड तौल घट्छ । कम तौल हुनेहरूले ५०० क्यालोरी बराबरको खाना ज्यादा खाँदा हप्तामा एक पाउण्ड तौल बढ्छ । आफ्नो तौल कम–वेसी भएको बी.एम.आई.द्वारा थाहा पाउन सकिन्छ । एसियाली मुलुकका वासीहरूको वाञ्छनीय बी.एम.आई. २३ भन्दा कम र १८.५ भन्दा ज्यादा मानिएको छ ।

सीओपीडीबाट बिरामीहरूलाई लगातार ८८ प्रतिशत र योभन्दा कम अक्सिजन स्याचुरेसन अथवा रगतको अक्सिजनको प्रेसर ५५ मिलिमिटर मर्करी र कार्बनडाइअक्साइड ५० मिलिमिटर मर्करी भएमा लामो अवधिसम्म घरमा अक्सिजन प्रयोग गर्न सकिन्छ । केही परिश्रम गर्दा अथवा रातीको अक्सिजन स्याचुरेसन केही मात्रामा कम हुँदा अक्सिजनको आवश्यकता पर्दैन ।

पुरानो दम खोकीमा व्यायामको महत्त्व

दम खोकीबाट पीडित रोगीहरूको शरीरमा अक्सिजनको कमी हुन्छ । यिनीहरूका मांशपेसीहरू कमजोर भएका हुन्छन् । छातीका मांशपेसीहरू कमजोर हुँदा सास फेर्न गाह्रो हुन्छ । शरीरका मांशपेसीलाई शक्तिशाली बनाउन अक्सिजन चाहिन्छ र व्यायामले यसलाई मद्दत गर्छ । यसर्थ नियमित व्यायाम गर्नुपर्छ । एक दिन बिराएर प्रत्येक दिन ३० मिनेट हिँड्नु सबभन्दा सजिलो र उपयुक्त व्यायाम मानिन्छ ।

ज्वरो आएको बेला र छाती दुखेको बेला व्यायाम गर्नुहुँदैन । नियमित व्यायामले दम खोकी लाग्ने मानिसहरूलाई फुर्तिलो बनाउँछ । लामो सास लिँदा फोक्सोभित्र अक्सिजन पस्छ र सास छाड्दा कार्बनडाइअक्साइड बाहिर निस्कन्छ । दुई सेकेण्डसम्म सास लिने र चार सेकेण्डसम्म सास छाड्ने गर्नुपर्छ । सास छाड्दा ओठलाई मुजा पारेर मुख सानो गर्नाले सास छाड्न सजिलो हुन्छ । फुकेर गर्ने फोक्सोको व्यायाम अर्थात् इन्सेन्टिभ स्पिरोमेट्रीले पनि फाइदा गर्छ । सास फेर्ने व्यायाम यसका विशेषज्ञबाट सिक्नाले पछि आफैँले गर्न सकिन्छ ।

सीओपीडीमा भ्याक्सिन

पुरानो दम खोकीबाट पीडित पुरुष तथा महिलाहरूलाई जीवाणु, विषाणु र फङ्ग्सबाट संक्रमण हुने डर हुन्छ । दम खोकीका बिरामीहरूलाई निमोनिया हुनबाट बचाउन भ्याक्सिन दिन आवश्यक पर्छ । ६५ वर्षभन्दा ज्यादा उमेर भएका सीओपीडीका रोगीहरूलाई प्रेभिनार– १३ पहिलो पल्ट दिने अनि एक वर्षपछि न्यूमो भ्याक्सिन– २३ दिए पुग्छ । भाइरसको संक्रमण हुन नदिन बर्सेनि भ्याक्सिग्रिपको भ्याक्सिन दिनु बुद्धिमानी हुन्छ ।

जुनसुकै रोगबाट भए पनि सिकिस्त बिरामी हुँदा अक्सिजनले फाइदा गर्छ भन्ने स्वास्थ्यकर्मीहरूकोे विश्वासमा हिजोआज प्रश्नचिह्न लगाउन थालिएको छ । सामान्य अक्सिजन स्याचुरेसन भएका बिरामीहरूलाई अक्सिजन दिएर उपचार गर्दा हानि हुन सक्छ ।

अक्सिजन दिएर अक्सिजनको स्याचुरेसन (एसपीओ२) ९६ प्रतिशत भन्दा ज्यादा बढाउँदा हानि हुन्छ । पक्षाघात र हृदयाघातमा ९३ प्रतिशतभन्दा बढी अक्सिजन स्याचुरेस भएकालाई अक्सिजनले हानि पुर्‍याउन सक्छ । ९०–९२ प्रतिशतसम्म अक्सिजन हुनेहरूलाई भने अक्सिजन प्रयोग गरे हुन्छ ।

सीओपीडीबाट बिरामीहरूलाई लगातार ८८ प्रतिशत र योभन्दा कम अक्सिजन स्याचुरेसन अथवा रगतको अक्सिजनको प्रेसर ५५ मिलिमिटर मर्करी र कार्बनडाइअक्साइड ५० मिलिमिटर मर्करी भएमा लामो अवधिसम्म घरमा अक्सिजन प्रयोग गर्न सकिन्छ । केही परिश्रम गर्दा अथवा रातीको अक्सिजन स्याचुरेसन केही मात्रामा कम हुँदा अक्सिजनको आवश्यकता पर्दैन । सीओपीडीका बिरामीहरूलाई अक्सिजन दिँदा कार्बनडाइअक्साइड बढ्छ, जो फोक्सोका लागि राम्रो हुँदैन । अक्सिजन ५५–५९ मिलिमिटर मर्करी भएर अन्य रोग, जस्तै : पल्मोनरी हाइपरटेन्सन, हार्ट फेलर पोलिसाइथेमिया हुनेहरूलाई पनि अक्सिजन दिन सकिन्छ ।

हिजोआज पल्स अक्सिमिटरबाट सजिलैसँग अक्सिजनको स्याचुरेसन थाहा पाउन सकिन्छ । कार्बनडाइअक्साइडलाई पनि मोनिटर गर्न सकिन्छ, क्याप्टोग्राफीबाट ।

पहिले मास्कभित्र हावा पस्ने प्वाललाई ठूलो–सानो पारेर अक्सिजनको २४ प्रतिशत, २८ प्रतिशत, ३२ प्रतिशत र ३६ प्रतिशत निर्धारण गरिन्थ्यो । हिजोआज मास्कबाट अक्सिजन आउने विशेष किसिमको नलीलाई कलर कोड गरेर अक्सिजनको प्रतिशत निर्धारण गरिन्छ ।

सीओपीडीबाट पीडित बिरामीहरूले आफूलाई उपचार गर्ने चिकित्सकसँग सल्लाह गरेर औषधि प्रयोग गर्नुपर्छ । विभिन्न अवस्थामा विभिन्न किसिमका औषधिहरू प्रयोग गर्नुपर्ने हुन्छ । सास फेर्न सजिलो पार्न औषधिहरूलाई शिराद्वारा, खाएर र सुँघेर प्रयोग गरिन्छन् । औषधि सुँघ्ने सही तरिका चिकित्सकसँग सिक्नुपर्छ ।

सास फेर्न बल नपुग्नेहरूलाई मेसिनद्वारा (सी–क्याप) सास फेर्न सजिलो हुन्छ । सास फेर्न नसक्ने सिकिस्त बिरामीहरूलाई भने भेन्टिलेटरमा राख्नुपर्ने हुन्छ । नाकमा राखिएको नलीद्वारा र विभिन्न प्रतिशत अक्सिजन निकाल्न सकिने भेन्टी मास्कद्वारा सीओपीडीका बिरामीहरूलाई अक्सिजन दिन मिल्छ । हामीले सास फेर्ने हावामा २१ प्रतिशत अक्सिजन हुन्छ । प्रत्येक लिटर अक्सिजनले ४ प्रतिशत अक्सिजन दिन सक्छ । बिरामीलाई चाहिने अक्सिजनको प्रतिशत भेन्टी मास्कद्वारा प्रयोग गर्न सकिन्छ ।

नाकबाट नलीद्वारा एक लिटर अक्सिजन दिँदा २४ प्रतिशत, दुई लिटर दिँदा २८ प्रतिशत, तीन लिटर दिँदा ३२ प्रतिशत र चार लिटर अक्सिजन दिँदा ३६ प्रतिशत अक्सिजन दिन सकिन्छ ।

हावाबाट मेसिनले अक्सिजन निकाल्न सकिन्छ । बिजुलीबाट चल्ने यो अक्सिजन बनाउने मेसिन केही महँगो भए तापनि सीओपीडीका बिरामीहरूलाई लामो अवधिसम्म अक्सिजन दिन सम्भव हुन्छ । २४ घण्टामा १५ वटासम्म अक्सिजन दिँदा बिरामीहरूलाई फाइदा हुन्छ । १५ घन्टाभन्दा ज्यादा अक्सिजन नचाहिने कुरामा विशेषज्ञहरूले विश्वास गरेको पाइन्छ ।

सन् २०१९ सम्ममा संसारको जनसंख्या ७.७ बिलियन पुगेको छ । यही अनुपातमा सीओपीडीका बिरामीहरू पनि बढेका छन् । ५.५ बिलियन वर्ष अगाडि पृथ्वीमा अक्सिजन थिएन । ४०० मिलियन वर्ष अगाडि मात्र यो पृथ्वीले अक्सिजन पाएको इतिहास छ । सन् १७७४ मा फ्रान्सका प्रिस्टले र लाभाइसायरले सर्वप्रथम अक्सिजन बनाउन सकेका थिए । मानिसहरूका लागि अक्सिजन अतिआवश्यक वस्तु हो । अक्सिजनलाई सही तरिकाले सीओपीडीमा प्रयोग गर्दा जीवन अवधि लम्बिन सक्छ ।

सीओपीडीमा औषधिहरूको प्रयोग

सीओपीडीबाट पीडित बिरामीहरूले आफूलाई उपचार गर्ने चिकित्सकसँग सल्लाह गरेर औषधि प्रयोग गर्नुपर्छ । विभिन्न अवस्थामा विभिन्न किसिमका औषधिहरू प्रयोग गर्नुपर्ने हुन्छ । सास फेर्न सजिलो पार्न औषधिहरूलाई शिराद्वारा, खाएर र सुँघेर प्रयोग गरिन्छन् । औषधि सुँघ्ने सही तरिका चिकित्सकसँग सिक्नुपर्छ ।

सीओपीडीमा जीवाणुद्वारा संक्रमण हुँदा एण्टिबायोटिक्स प्रयोग गर्ने सल्लाह दिइन्छ । खकार जाँचेर व्याक्टेरिया पत्ता लगाउन सकिन्छ । फाइदा गर्ने औषधि पनि थाहा पाउन सकिन्छ ।

सीओपीडीमा शल्यक्रिया

रोगग्रस्त फोक्सोको भागलाई शल्यक्रियाद्वारा अथवा ब्रंकोस्कोपबाट फ्याँक्न सकिन्छ रोगले अन्तिम अवस्थामा पुर्‍याएको फोक्सोलाई उपचार गरेर स्वस्थ बनाउन सम्भव हुँदैन । हिजोआज काम नलाग्ने फोक्सोलाई फ्याँकेर फोक्सोको प्रत्यारोपण गर्न शल्य चिकित्सकहरू सक्षम भएका छन् । फोक्सोको प्रत्यारोपण भविष्यमा नेपालका स्वास्थ्य केन्द्रहरूमा सम्भव छ । सरकारले समयमा नै शल्य चिकित्सक र उनीहरूलाई सहयोग गर्ने स्वास्थ्यकर्मीहरूको तालिम गराउनुपर्छ । सीओपीडी जस्तो दीर्घरोगको रोकथाम र उपचारमा राज्यको सहयोग अतिआवश्यक छ । हाल नेपालमा उपलब्ध नभएका प्रविधिहरू भित्र्याउने दायित्व पनि सरकारले लिनुपर्छ ।

याे पनि

पुरानो दम–खोकीबाट बच्ने उपाय

धुवाँ, धुलो र पुराना दम खोकीः मानिसको मृत्युको तेस्रो कारण !