भारत तेस्रो टेस्टमा विजयी

भारत तेस्रो टेस्टमा विजयी

लोकसंवाद संवाददाता  |  खेलकुद  |  कार्तिक ५, २०७६

भारतले दक्षिण अफ्रिकाविरुद्धको तेस्रो तथा अन्तिम टेस्ट क्रिकेट एक इनिङ र २०२ रनले जितेको छ । यो जीतसँगै तीन खेलको शृङ्खलामा भारत ३–० ले विजयी भयो । चौथो दिनको मंगलवारको खेलमा पहिलो सत्रमा १२ बलभित्रै दक्षिण अफ्रिकाको अन्तिम २ विकेट पतन भएको थियो ।
 
भारतका लागि अन्तिम २ विकेट शाहबाज नदिमले लिएका थिए । भारतले लगातार ११ वटा टेस्ट शृङ्खलामा विजय हासिल गरी नयाँ रेकर्ड कायम गरेको छ । यसअघि अस्ट्रेलियाले देशभित्र लगातार १० वटा टेस्ट शृङ्खला जितेको थियो । दक्षिण अफ्रिकाले यस शृङ्खलामा लज्जास्पद प्रदर्शन गरेको छ । भारतसामु तीनमध्ये दुईवटा खेलमा दक्षिण अफ्रिका इनिङले पराजित भएको हो । एक दशकभित्र दक्षिण अफ्रिकाको यो पहिलो लज्जास्पद प्रदर्शन हो ।
 
भारतले पहिलो इनिङमा ४९७ रन बनाई पाली समाप्तिको घोषणा गरेको थियो । त्यसपछि ब्याटिङ गर्न मैदानमा उत्रिएको दक्षिण अफ्रिकाले दुवै इनिङमा खराब प्रदर्शन गरेको थियो । दक्षिण अफ्रिका पहिलो इनिङमा १६२ रनमा अलआउट हुँदै फलोअनमा परेको थियो । दोस्रो इनिङमा दक्षिण अफ्रिकी टोली १३३ रनमै समेटिएको थियो ।
 
भारतीय ब्याट्सम्यान मयङ्क अग्रवाल (२१५), विराट कोहली (२५४ अविजित) र रोहित शर्मा (२१२) ले दोहोरो शतक बनाएका थिए । भारतीय टिमका प्रशिक्षक रवि शास्त्रीले भारतीय बलरले पनि उत्तिकै राम्रो प्रदर्शन गरेको बताउनुभयो । उहाँले आफ्नो टिमको मुख्य ध्यान नै २० विकेट लिनेमा केन्द्रित थियो भन्दै ब्याटिङमा त भारतको प्रदर्शन प्रशंसालायक रहेको बताउनुभयो ।
 
भारतले यसअघि विशाखापटनम र पुणेमा खेलिएका दुवै टेस्ट जितेको थियो । यी खेलमा भारतीय बलर मोहम्मद शामी र उमेश यादवले १० विकेट लिएका थिए । भारतले यही नोभेम्बर ३ देखि बंगलादेशविरुद्ध दुई टेस्ट र तीन टी-२० प्रतियोगिता भारतमै खेल्दै छ । तर, यो शृङ्खलामा सहभागी हुने बंगलादेशी मुख्य खेलाडीहरूले तलब वृद्धिको माग गर्दै आन्दोलन गरिरहेका कारण शृङ्खला नै खतरामा परेको छ ।