विराटनगरले पहिलाे तीन महिनामा लक्ष्य भन्दा  करिब ५ अर्ब कम र गत वर्षकाे भन्दा २ अर्ब कम राजश्व सङ्कलन !

विराटनगरले पहिलाे तीन महिनामा लक्ष्य भन्दा  करिब ५ अर्ब कम र गत वर्षकाे भन्दा २ अर्ब कम राजश्व सङ्कलन !

लोकसंवाद संवाददाता  |  कारोबार  |  कार्तिक ६, २०७६

माेरङ । विराटनगर भन्सार कार्यालयले चालू आर्थिक वर्षको पहिलो तीन महीनाको अवधिमा कूल  आठ अर्ब ९९ करोड ३८ लाख नौ हजार राजश्व सङ्कलन गरेको  जनाएको छ । 

यो उठेकाे राजश्व राखिएकाे लक्ष्यको तुलनामा चार अर्ब ९४ करोड ९३ लाख ५० हजारले कमी हो । उक्त अवधिका लागि विराटनगर भन्सार कार्यालयलाई कूल  १३ अर्ब ९४ करोड ३१ लाख ५९ हजार राजश्व सङ्कलन गर्ने लक्ष्य तोकिएको थियो । गत वर्ष सोही अवधिमा  १० अर्ब पाँच करोड २९ लाख ९५ हजार राजश्व सङ्कलन भएको थियो । गत आर्थिक वर्षको तुलनामा चालू आर्थिक वर्षको पहिलो तीन महिनामा रु एक अर्ब ५७ करोड ५६ लाख ४० हजार राजश्व कम उठेको विराटनगर भन्सार कार्यालयका भन्सार अधिकृत मणिराम पौडेलले जानकारी दिनुभयो ।

 चालू आवमा सङ्कलित राजश्वमा भन्सार महशुलतर्फ तीन अर्ब ३५ करोड ९६ लाख ८९ हजार, मूल्यअभिवृद्धि करतर्फ चार अर्ब ४२ करोड १४ लाख ६७ हजार र अन्तःशुल्कतर्फ  ६९ करोड ६२ लाख  रहेको थियाे ।  गएको वर्षमा सो अवधिमा भन्सार महशुल  चार अर्ब ४३ करोड ६० लाख तीन हजार, मूल्यअभिवृद्धि कर पाँच अर्ब २२ करोड ३८ लाख ४८ हजार र अन्तःशुल्क  ६९ करोड ३१ लाख ४५ हजार राजश्व सङ्कलन गरेको विराटनगर भन्सार कार्यालयले जनाएको छ । 

 भन्सार असुलीको प्रगति हेर्दा चालू आवको साउन महीनामा ६८ दशमलव १० प्रतिशत, भदौ महीनामा ६५ दशमलव ९९ प्रतिशत र असोज महीनामा ४९ दशमलव ७६ प्रतिशत भएको कार्यालयले जनाएको छ ।