अभियानमा रूपान्तरण हुन नसकेकाे भ्रमण वर्ष, २०२०
कार्तिक ७, २०७६

नेपालमा पर्यटनको सुरुवात सन् १९५३ मे २९ मा तेन्जिङ नोर्गे शेर्पा र सर एडमण्ड हिलारीले सगरमाथको सफल आरोहण गरेपछि भएको मानिन्छ । सन् १९५५ पछि नेपालमा जब राणा शासनको अन्त्य र प्रजातान्त्रिक सरकारको सुरुवात भएपछि तत्कालीन नेपाल सरकारले विदेशीहरूलाई भिजिट भिसा प्रदान गर्ने प्रचलनमा ल्याएको हो । त्यसभन्दा अगाडि ब्रिटिस सरकारको स्वमित्वमा रहेको इष्ट इण्डिया कम्पनीले भिसा दिने गथ्र्यो । हिजोआज नेपाल भ्रमण वर्ष, २०२० लाई ‘लाइफ टाइम एक्सपेरियन्स’का रूपमा मनाउने धुमधाम तयारी भइरहेको  प्रचार गरिएको छ । भिजिट नेपाल, १९९८ पछि  सन् २०११ मा नेपाल भ्रमण वर्ष, २०११ सम्पन्न गरिसकिएको छ । पुनः अहिले सन् २०२० लाई भ्रमण वर्षको रूपमा मनाउन तयारी थालिएको हो ।

सरकारले सन् २०२० लाई भ्रमण वर्षको रूपमा मनाइरहँदा २० लाख पर्यटक भित्र्याउने लक्ष्य लिएको छ । सरकारले जुन लक्ष्य लिएको छ, त्यसअनुसारको तयारी कमजोर रूपमा भइरहेको आलोचना सुन्न थालिएको छ । नेपाल खासमा भ्रमण वर्ष मनाइरहनुपर्ने देशमा लिन नहुने मत राख्नेहरूको पनि कमी छैन । भौतिक पूर्वाधार विकास र नेपालका बारेमा सकारात्मक प्रचार प्रसार गर्ने मात्र हो भने १२ महिनाका सबै मौसममा नेपाल भ्रमणका लागि अनुकूल भएको मुलुक हो । विश्व सामु नेपालका बारेमा विश्वसनीय अवस्था कायम गर्ने मात्र पनि नेपाल आइदिनुहोस् भन्नुपर्ने मुलुक नै होइन ।

आफैँमा संसारको सुन्दर गन्तव्य हो नेपाल । तर, हामीले हाम्रो आफ्नै बारेमा हामी आफैँले बुझेका छैनौँ र त गुहार मागिरहेका छौँ । नेपाल देश घुम्न आइदिनुहोस् भनेर मित्रराष्ट्रहरूलाई आह्वान् गरिरहेका छौँ । नेपालीसँग संसारका पर्यटक लोभ्याउने के कुरा छैन ? हाम्रा हिमाल, पहाड र तराईका अधिकांश स्थानहरू पर्यटकीय गन्तव्य हुन् । तर, हामी केवल हामीसँग विश्वको उच्च शिखर सगरमाथा छ, बुद्ध जन्मेको लुम्बिनी छ भनेर घमण्डको खेती गरिरहेका छौँ । यसको मतलब हामीले हाम्रा थुप्रै चिजहरू देखेका छैनौँ वा चिनेका छैनौँ । पर्यटन वर्ष मनाउने तयारी गरिरहँदा छुटेका तर छुटाउनै नहुने विषयमा सरकार, भ्रमण वर्ष राष्ट्रिय समिति र सचिवालयको ध्यान जान जरुरी छ ।  

हामीले पुरानै नारालाई र पुरानै ठाउँहरूलाई विषय बनाएर सन् २०२० को पर्यटन वर्षको औपचारिकता बढी देखाइरहेको भन्दा नयाँ चिज खास दिन सकिरहेको देखिँदैन । यो मात्रै हो भने पर्यटन वर्ष, २०२० पनि सरकारको सामान्य प्रचार प्रसारमा सीमित हुनेछ । खास उपलब्धि हुने छाँटकाँट देखिँदैन । नेपालमा पर्यटकहरूले घुम्नुपर्ने ठाउँहरू कुनकुन हुन् ? राज्यले विश्वका पर्यटक समक्ष सूची पुर्‍याउन सकिरहेको छैन । उदाहरणका लागि काठमाडौं, भक्तपुर, ललितपुरका विभिन्न धार्मिक तथा ऐतिहासिक ठाउँहरू चितवन, पोखरा, रारा ताल, मुस्ताङ, सगरमाथा, लुम्बिनीमा आदि । यी र यिनै ठाउँहरूलाई मात्रै पर्यटनका गन्तव्य भनेर हामी सदियौँदेखि भट्याइरहेका छौँ । र, पर्यटन क्रियाकलापहरूमा बन्जी जम्प, रिभर र्‍याफ्टिङ, रक क्लाइम्बिङ, प्याराग्लाइडिङ आदिलाई मात्रै लिने गरेका छौँ । तर, साँच्चिकै भ्रमण वर्षलाई यी यति विषयले मात्रै नेपाललाई साँघुरो घेरामा भन्दा वृहत ढंगबाट अगाडि बढ्नु जरुरी छ ।

सरकारको बजेटको वरिपरि मात्रै घुमिरहेको भान हुन्छ । सामान्य किसान, खुद्रा व्यापारी, मजदुर, चालक, लेखक, कलाकार, साहित्यकार, सञ्चारकर्मीलाई कति जानकारी छ यो राष्ट्रिय अभियानका बारेमा ? संघ, प्रदेश र स्थानीय तहले के के गर्दै छन् त गतिविधिहरू ? पार्टी कार्यकर्ता प्रतिपक्ष दल र राजनीतिक नेताहरूमा के कति छन् ? जिम्मेवारी बाँडफाँट जस्ता विषयले महत्त्व पाउँछन् कि पाउँदैनन् ।

के हो वृहत भ्रमण वर्ष योजना ?

पहिलो कुरा त नेपाल भ्रमण वर्ष, २०२० नेपाल सरकार संस्कृति, पर्यटन तथा नागरिक उड्डययन मन्त्रालय तथा पर्यटन बोर्डको मात्रै कार्यक्रम र अभियान बनाउनुहुँदैन । अहिलेसम्मको अनुभव र अभ्यासलाई हेर्दा यसभन्दा फरक बनाउने कोसिस नै गरेको देखिँदैन । हामी भ्रमण वर्षको पूर्वसन्ध्यामा आइपुगेका छौँ । तर, हाम्रा गतिविधिहरू साँघुरो घेरामै सीमित छन् ।

सरकारको बजेटको वरिपरि मात्रै घुमिरहेको भान हुन्छ । सामान्य किसान, खुद्रा व्यापारी, मजदुर, चालक, लेखक, कलाकार, साहित्यकार, सञ्चारकर्मीलाई कति जानकारी छ यो राष्ट्रिय अभियानका बारेमा ? संघ, प्रदेश र स्थानीय तहले के के गर्दै छन् त गतिविधिहरू ? पार्टी कार्यकर्ता प्रतिपक्ष दल र राजनीतिक नेताहरूमा के कति छन् ? जिम्मेवारी बाँडफाँट जस्ता विषयले महत्त्व पाउँछन् कि पाउँदैनन् । राज्य र सरकारले सोच्ने विषय यी हुन् जस्तो लाग्छ ।

पर्यटन वर्षलाई सबैको साझा अभियान बनाउन सके सामान्य नागरिकदेखि देशका ठूला भनिने संघसंस्था र व्यक्तिले निकै फाइदा दिने अभियान हो यो ।

भ्रमण वर्षमा प्राथमिकतामा राखिनुपर्ने विषयहरू

आन्तरिक तथा बाह्य रूपमा पर्यटन वर्ष, २०२० लाई सफल पार्न आमनेपालीको सरोकार र चासोको साझा सवाल बनाउन जरुरी छ । यसले खैरा छाला भएका मात्रै पर्यटक नभएर नेपालभित्रकै पर्यटकहरू एक ठाउँबाट आर्को ठाउँमा भ्रमण गरेर हुने आम्दानी दिगो र भरपर्दो हुने गर्छ । बाह्य पर्यटकको मात्रै भर परेर हुने आम्दानी तिहारमा जुवा खेलेर प्राप्त गरेको आम्दानी जस्तै अभरिलो हुन्छ । हामी यस भ्रमण वर्षबाट दीर्घकालीन पर्यटन प्रबर्दनको विषयमा प्रवेश गर्नु जरुरी छ । सन् २०२० मा मात्रै संसारबाट जति लाख पर्यटक  भित्रिए पनि यो दिगो आम्दानीको स्रोत बन्न सक्दैन ।

कति तयार छौँ पर्यटन वर्षको व्यापार गर्न ?

यो हेर्दा सामान्य तर जटिल विषय हो । हामीले यस वर्ष फरक के देखाउने ? नेपाल अब समाजवाद उन्मुख समृद्धितर्फ फड्को मार्दै गरेको मुलुक हो भनेर सन्देश दिइरहेका छौँ । तर, हाम्रा देखाउने, घुमाउने र खुवाउने ठाउँ तथा चिज वस्तुहरू कति नयाँ, अर्गानिक र आफ्नै उत्पादनहरू छन् त ? भन्ने कुराले महत्त्व राख्छ । कि नेपाल भित्रनासाथ चिनियाँ राष्ट्रपति सी चिनफिङको भ्रमणमा जस्तो नक्कली उपत्यकाका केही मुख्य मुख्य भाग सजावट गरेझैँ ठाउँठाउँ गर्ने ?

हामी यस्तो नाटकीय विकास गर्नमा निकै माहिर पनि छौँ । हँुदै नभएको स्वागत हामी घरमा पाहुना आउँदा पनि गर्ने गर्छौं । त्यो पनि वर्गीय सत्कार हाम्रो संस्कार नै बनेको छ । पाहुना कुन स्तरको आउँदै छ, त्यहीबमोजिमको सत्कारको तयारी गरिन्छ । त्यस्तै, नेपालमा पनि मोदी र सीको भ्रमण एउटा देखाउन लायक उदाहरण हुन् ।

अब हामीले नेपालमा विदेशी पाहुना आउँदा हामी नेपालका उत्पादनहरू खुवाउने, हाम्रा संस्कृतिहरू देखाउने, नयाँनयाँ  स्थलहरू घुमाउने तयारी गर्नु उपयुक्त हुन्छ । नेपालका धार्मिक, सांस्कृतिक, कृषि, साहित्य, कला आदि पर्यटनका क्षेत्रहरू अन्तर्राष्ट्रिय विमानस्थल प्रवेश गर्नासाथ सूचना र प्रविधिको व्यवस्था गर्नुपर्छ ।

यसबीचमा गर्नुपर्ने कामहरू

सांस्कृतिक सम्पदाको प्रवर्द्धन

नेपाल बहुसांस्कृतिक, बहुजातीय, बहुधार्मिक सुन्दर मुलुक हो । यी सबै पक्षकोे उपयोग र जागरण अभियान गरी भ्रमण वर्षलाई उपलब्धिमूलक बनाउन सक्छौँ । नेपालको भ्रमण गरेर नेपालको युगीन डकुमेन्ट्री नै निर्माण गर्ने टोनी हेगनले नेपालको नेवारी संस्कृति संसारकै विविध सांस्कृतिक सम्पदाको धनी भनेर उल्लेख गरेका छन् । किरात राई जातिको नमस्कार गरेर कुनै पनि खाना खान दिने संस्कृति सायद संसारकै अनुकरणीय संस्कृति हुनुपर्छ । त्यस्तै, किरात राईहरूको साकेला नाच, लिम्बूको धान नाच, क्षेत्री–बाहुनको बालन, सुदूरपश्चिमको देउडा नाचको पहिचान गराएर हामी भ्रमण वर्षमा यी हाम्रा संकृति र कलाको उपयोग गर्न किन नसक्ने ?  

धार्मिक सहिष्णुता

नेपाल धर्मनिरपेक्ष मुलुक भएछि आममानिसमा धर्मसम्बन्धी आमधारणा वा बुझाइ गलत छ तर पनि संसारका अधिकांश मानिसहरूको विभिन्न धर्मप्रतिको आस्था र विश्वास भने दुई तिहाई जनसंख्याभन्दा बढी नै छ । नेपाल पनि संसारका सबै धर्मका मानिसहरूको गन्तव्य नै भइरहेको छ ।

धार्मिक क्षेत्रहरू पनि उत्तिकै मात्रामा नेपालमा छन् । पशुपतिनाथ हिन्दुहरूको गन्तव्य नै हो भने पूर्वमा हलेसी किरात, बौद्ध र हिन्दुको धार्मिक आस्थाको केन्द्रको रूपमा परिचित पर्यटकीय क्षेत्रसमेत हो । विभिन्न स्थानहरूको नयाँ पहिचान बनाएर या कुनै विधि अपनाएर हामीले धार्मिक पर्यटनको प्रचार गरी आर्थिक उपार्जन राम्रै गर्न सक्छौँ । तर, हामी धार्मिक रूपमा सापेक्ष मात्रै कुरा गरेर अड्किरहेका छौँ । निरपेक्ष कुरा र काम गर्ने हो भने हामी निकै माथि जान सक्छौँ ।

साहित्य, कला पर्यटन प्रवर्द्धन

पर्यटन प्रवर्द्धनका विभिन्न आयामहरूमध्ये साहित्य कला पनि एक महत्त्वपूर्ण पक्ष हो तर हामीले यो पक्षलाई कति महत्त्व दिएका छौँ होला ? या यो पनि विषय हो र भन्दै कति सम्बन्धित विषयले यो विषय समावेश नै गरेको पाइँदैन तर साहित्य, कलाको माध्यमबाट पर्यटन वर्ष, २०२० सफल बनाउन निकै महत्त्वपूर्ण कार्य गर्न सकिन्छ । यो भनेको पर्यटन वर्षमा साहित्यकार तथा कलाकारहरूका पनि सहभागिता तथा उनीहरूले गर्ने योगदानसँग सम्बन्धित विषयहरू अटाउन सकिन्छ । कमसे कम कुनै क्षेत्रको कला र सौन्दर्यको इतिहास समेटेर कला, साहित्य उत्सवहरू गर्ने, कविले कविता लेख्ने, गायक, संगीतकारले गीत बनाउनेजस्ता जागरणका काम गर्ने हो भने कति फलदायी होला भ्रमण वर्ष, सोचौँ त !

कृषि, पर्यावरण, जैविक विविधता, वातावरणसँग जोडिने पर्यटन

संसारकै अर्गानिक खेतीको संभावना भएको देश नेपाल हो । यहाँको हावापानी, वातावरण तथा जैविक विविधता संसारकै उत्कृष्ट छ भन्ने सन्देश पर्यटकका लागि जरुरी छ । हुन पनि संसारका विकसित मुलुकहरूलाई अब नेपालले अर्गानिक कृषि उत्पादन मात्रै होइन, अक्सिजन पनि बेच्न सक्छ भन्ने वैज्ञानिक कारण हामी दिन सक्छौँ ।

जल, जमिन र जंगलको सन्तुलन तथा व्यवस्थापन गर्ने हो भने हामी प्राकृतिक साधन, स्रोतका अचम्मै धनी छौँ तर हामीले यी चिजहरूको उपयोग भने गर्न सकिरहेका छैनौँ । कमसे कम पर्यटन वर्षको अवसरमा उपयोग गरौँ, हामी सक्छौँ भन्ने हो ।

पहिचान तथा स्थानीय उत्पादन र विशेषताहरूको जानकारी

नेपालका विविध पहिचानहरू छन् । जातजाति, भाषा, संस्कृति मात्रै नभएर जीवजन्तु, रातो पाण्डा, काँडे भ्याकुरलगायतका दुर्लभ जीवजन्तुको प्रचार गरी यी चिजहरूको महत्त्व र पहिचान स्थापित गर्ने यो एउटा सुनौलो अवसर पनि हो । स्थानीय स्तरमा उत्पादन हुने अल्लो, ढाका, राडीपाखी जस्ता चिजवस्तुको व्यापार तथा प्रवद्र्धन अन्तर्राष्ट्रिय स्तरमा हामी लैजान सक्छौँ । संसारमा अब मेसिन र आधुनिक औजारले निर्माण गरिएका वस्तु तथा सेवाका तुलनामा नेपालका हाम्रा चिजहरू बहुमूल्य हुन सक्छन् । तर, स्थानीय स्तरसम्म पर्यटन वर्ष पुग्छ कि पुग्दैन ? जनचासोको विषय हो ।

विशेष ठाउँका विशेष विशेषताहरूको पहिचान र प्रचार प्रसार

नेपालमा विभिन्न ठाउँमा विभिन्न विशेषता भएका ठाउँहरू प्रशस्तै छन् तर हामी ठाउँहरूलाई सानो र ठूलो ठाउँ भनेर पर्यटन प्रवर्द्धनमा कन्जुस्याइँ गरिरहेका छौँ । नाम चलेका ठूला ठाउँहरूको मात्रै आवाज उठाएर ती ठाउँहरूको मात्रै चासो गरिरहेका छौँ । विशेषतः हामीले यातायातको पहुँचको आधारमा पर्यटकीय ठाउँहरू निर्धारण गरिरहेका छौँ तर मनोरञ्जन तथा स्वास्थ्यका हिसाबले कैयौँ ठाउँहरू सुन्दर साथैै महत्त्वपूर्ण रहेका छन् । जस्तैः अहिले नेपालका पूर्वी जिल्लाहरू भोजपुर र खोटाङ हुँदै निर्माण गरिएको मुन्धुम मार्ग नेपाल भ्रमण वर्ष, २०२० का लागि गन्तव्य नै बनाउन सकिन्छ । यो करिव सातदेखि दश दिनको पैदल मार्ग हुन्छ ।

भोजपुर र खोटाङका विभिन्न ठाउँहरू टेम्के, मेरुङ, मैयुम हुँदै साल्पा सिलिचुङसम्मको यात्रा गर्ने हो भने अहिलेको यान्त्रिक मानवले साँच्चिकै प्राकृतिक आनन्दको अनुभूति गर्न सक्छ । तर, हामी जहाजबाटै यात्रा गर्न रमाउँछौ । पैदल हिँड्न डराउँछौँ । अब पैदल यात्राको महत्त्व भने निकै बढ्ने निश्चित छ ।

निष्कर्ष

‘संसारका नेपालीहरू एक हौँ, नेपाल भ्रमण वर्ष, २०२० सफल पारौँ’ भन्ने हो भने सम्भव छ । पर्यटन कुनै पनि देशको गौरवको विषय हो । यसबाट प्रत्यक्ष, अप्रत्यक्ष त्यस देशका सबै नागरिकले फाइदा लिन र नाम कमाउन सक्छन् ।

भारतबाहेक नै नेपालीहरू विभिन्न देशमा ३५ लाखभन्दा बढी छन् । यीमध्ये ५० प्रतिशत मात्रै नेपाल आउने वातावरण बनाउने हो भने पनि नेपालमा अर्बौं रुपैयाँको आय भित्रिन्छ । नेपालका पूर्वका नेपाली पश्चिम र पश्चिमका नेपाली पूर्व, हिमालका मधेस, मधेसका पहाड र हिमाल घुम्न जाने हो भने पनि हाम्रो पर्यटन वर्ष सोचेभन्दा उपलब्धिमूलक हुन्छ । तर, के हामीले यी विषयहरू सोचेका छौँ ?

खाली हामी खैरो छाला कुरिरहेका हौँला र यो वर्षमा यिनैलाई ठगेर जीविको उठाउँला भन्ने लागेको होला । तर, यो हाम्रो गलत धारणा हो । आन्तरिक पर्यटकको जति खर्च बाह्य पर्यटकले गर्दैनन् । अहिले नेपालमा भन्ने हो भने आन्तरिक पर्यटन निकै फस्टाउँदै गएको अवस्था पनि छ । बरु हाम्रो यी पर्यटकलाई हेर्ने सोचमा परिवर्तन आउनु र गर्ने व्यवहारमा परिवर्तन हुनु जरुरी छ । सरकारका सबै निकायहरू कमसे कम प्रचार प्रसार र प्रशिक्षणमा सबै तहमा पुग्नु जरुरी छ ।