कवि जोडीको कविता

कवि जोडीको कविता

लोकसंवाद संवाददाता  |  समाज  |  फाल्गुन ३, २०७५

 

 

 

तिमी फूल हौ हजुरबाको

मञ्जुल

तिमीले निकाल्यौ

शरीरबाट आफ्‍नो मन

त्यसैलाई बनायौ आकृति क्यानभाषमा

र रङ्गैरङहरूले सिँगारेर

बनायौ चित्र फूलको

तिमीलाई थाहा छ ?

तिमी फूल हौ हजुरबाको

 

उज्यालो छ तिम्रो चित्र

उज्याली छ्यौ तिमी

तिम्रो हजुरबाको माया जस्तो

 

तिमी फूल हौ

हजुरबाको स्नेह बगैँचाको

 

तिमीले

तिमीलाई नै बनायौ

 

हजुरबाले हेरिरहनुभएको छ

प्रकाश भएर

स्पर्श गरिरहनुभएको छ

वतास भएर

उहाँले आफ्‍नो हृदयमा

तिम्रो चित्र र तिमीलाई

एउटै क्यानभाषमा राख्‍नुभएको छ

 

तिमीले चित्र बनायौ

हजुरबाको बगैँचाको फूलको

 

 

तिमीले

तिम्रै चित्र बनायौ

 

शायद तिमीले

चित्र बनायौ

हजुरबाले तिमीलाई गरेको प्रेमको

 

तिम्रो सम्झनामा

सुस्मिता नेपाल

तिम्रो सम्झनामा

आँसु भएकी छु

तिमीलाई मेरो आँसुको

मूल थाहा छ

त्यो कसरी बग्छ

कतिसम्म बग्छ

कहाँ पुगेर झरना हुन्छ

र झरिरहन्छ

 

आजको दिन

म तिमीलाई

मात्र तिमीलाई

सम्झन चाहन्छु

 

सङ्गीत भएका तिमी

सङ्गीतकै लहरले

चुम्न चाहन्छु

तिमी सङ्गीत हुँदा

सङ्गीतको एकान्तमै

डुब्न चाहन्छु

तिमी सङ्गीतको भावसँगै बग्दा

म तिम्रै मायाको

सङ्गीतमा बगेको हुन्छु

 

आजको दिन

म तिमीलाई

मात्र तिमीलाई

सम्झन चाहन्छु

सम्झनुको आनन्दको

अनुभूति हुन चाहन्छु