७ लाखको वुमन्स च्याम्पियन्स लिग क्रिकेटको उपाधि चितवन राइनोजलाई

७ लाखको वुमन्स च्याम्पियन्स लिग क्रिकेटको उपाधि चितवन राइनोजलाई

लोकसंवाद संवाददाता  |  खेलकुद  |  कार्तिक ७, २०७६

चितवन राइनोजले काठमाडौं क्याट क्विन्सलाई पराजित गरी वुमन्स च्याम्पियन्स लिग क्रिकेटको उपाधि जितेको छ । राइनोजले फाइनलमा क्याट क्विन्सलाई ४५ रनले पराजित गर्‍यो । क्याट क्विन्सले टस जितेपछि ब्याटिङको निम्तो पाएको चितवनले त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा निर्धारित २० ओभरमा ४ विकेट गुमाई ११२ रन बनायो ।

जवाफमा आएको क्याट क्विन्स पुरा २० ओभर खेलेर ६७ रनमा अलआउट भयो ।

नेपालको पहिलो फ्रेन्चाइज महिला क्रिकेट लिगको उपाधि जितेको राइनोजले ७ लाख रुपैयाँ पायो । उपविजेता क्याट क्विन्सले ३ लाख रुपैयाँ पायो।

खेलमा अप्सरी बेगमले १५ र ममता थापाले १३ रन बनाए । क्याट क्विन्सका ओपनरद्वय शोभा आले ६ र कप्तान रुविना क्षेत्री २ रनमा आउट भए भने रोमा थापाले खाता खोल्न सकिनन् । संगीता राई ४, नीतु भण्डारी २ रनमा आउट भए भने शून्यमा आउट भइन् सरस्वती चौधरी ।

ईश्वरी विष्ट १३ रनमा आउट हुँदा सुमन विष्ट २ रनमा अविजित रहिन् । लक्ष्मी साउद अन्तिम बलमा १ रनमा रनआउट भइन् ।

राइनोजकी सुमन खतिवडा र ऋतु कनोजियाले ३/३ विकेट लिए । म्यान अफ द फाइनल सुमनले ४ ओभरमा ११ रन खर्चिइन् । यसरी नै ऋतुले ४ ओभरमा १ मेडन राख्दै ७ रन खर्चिइन् । रेखा रावलले ४ ओभरमा ९ रन खर्चेर २ विकेट लिइन् ।

यसअघि राइनोजबाट सुमन खतिवडाले टोलीबाट सर्वाधिक २९ रन बनाइन् । उनले २५ बल खेली ५ चौका प्रहार गरिन् । ओपनर काजल श्रेष्ठले २८ बलमा २ चौकासहित २१ रन बनाइन् । उनले कञ्चन श्रेष्ठसँग पहिलो विकेटमा ९ ओभरभित्र ४९ रन जोडेकी थिइन् । कञ्चनले २६ बलमा ३ चौका प्रहार गरी १९ रन बनाइन् ।

ऋतु कनोजिया ६ रनमा रनआउट भइन् भने इन्दु बर्मा १९ बलमा ४ चौका प्रहार गरी २२ र प्यारी चौधरी ९ बलमा ३ रन बनाई अविजित रहिन् । राइनोजकी संगीता राई, लक्ष्मी साउद र सरस्वती चौधरीले १/१ विकेट लिए ।

क्विन्स इभेन्ट म्यानेजमेन्ट प्रालिको आयोजनामा भएको प्रतियोगिताको उत्कृष्ट खेलाडी क्याट क्विन्सकी रुविना क्षेत्री भइन् । उनले नगद ५० हजार रुपैयाँ र सुजुकी स्कुटर प्राप्त गरिन् ।