'विदेशी कहिले पनि पहिला हिमाल चढ्दैन, सबैभन्दा पहिला चुचुरोमा पुग्ने भनेको शेर्पा नै हो'

'विदेशी कहिले पनि पहिला हिमाल चढ्दैन, सबैभन्दा पहिला चुचुरोमा पुग्ने भनेको शेर्पा नै हो'

लोकसंवाद संवाददाता  |  अन्तर्मन्थन  |  कार्तिक ८, २०७६

छाङदावा शेर्पा, सेभेन समिट ट्रेकका निर्देशक हुनुहुन्छ । नेपालका ८ हजार मिटरभन्दा अग्ला १४ वटा हिमाल चढ्ने शेर्पा दक्षिण एसियाका दोस्रो व्यक्ति हुनुहुन्छ । हिमाल पर्वतारोहणका लागि बिछ्याइने रोप फिक्सिङमा पारंगत मानिनुहुने शेर्पाले यस वर्षको अटम सिजनमा पर्वातारोहण संचालक संघसँगको समन्वयमा मनास्लुमा र आफ्नै ट्रेक सेभेन समिटको तर्फबाट धौलागिरिमा फिक्सिङ कार्यको सफल अगुवाइ गर्नुभएको छ ।

यस सिजनमा सगरमाथा र लोत्से हिमालमा रोप फिक्सिङ हुन नसकेर करिब आधा दर्जन समूहहरूले हिमाल पर्वतारोहण गर्न नसकेको अवस्थामा मनास्लु र धौलागिरिमा प्रतिकूल मौसममा पनि कसरी सम्भव भयो ? अन्य हिमाल किन सम्भव भएन ? भन्ने सवालका साथै नेपालका आरोहण क्षेत्रका समस्यामा केन्द्रित रेहर छाङदावा शेर्पासँग लोकसंवाद डटकमले अन्तर्मन्थन गरेको थियो । प्रस्तुत छ, उक्त अन्तर्मन्थनको सम्पादित अंश : 

विगतको तुलनामा यस पटकको अटम सिजनकाे आरोहण कस्तो रह्यो ?

यो वर्षको अटम सिजनको कुरा गर्दा आठ हजार मिटरभन्दा अग्ला मनास्लु, धौलागिरिलगायत सगरमाथा र लोत्सेलगायतका हिमाल आरोहणको प्रबन्ध नेपालका पर्यटन व्यावसायीले गरेका थिए । आरोहणमा हिमालमा मौसमदेखि फिक्सिङलगायतको सबै कुरा मिल्नुपर्ने हुन्छ । मनास्लु हिमालको कुरा गर्नुहुन्छ भने मौसमका हिसाबले एकदमै जटिल थियो । 

तर, त्यो जटिलताका बाबजुद पनि मनास्लुको सफल आरोहण कसरी सम्भव भयो त ? यो सिजनमा मनास्लुको ९० प्रतिशतभन्दा बढी आराेहण सफल भएको भनिँदै छ !

रोप बिच्छ्याउनका लागि हामीले मौसमी रिपोर्ट हेरेका हुन्छौँ । यतिको मौसममा हामीले काम गर्न गयौँ भने हामीलाई खतरा हुँदैन भन्ने विश्लेषण गर्‍यौँ । हाम्रो फिक्सिङ टिमले पर्वातारोहण संचालक संघको समन्वयमा सेभेन समिट ट्रेकले यसलाई निरन्तरता दियौँ । टिम वर्क र संस्थागत जिम्मेवारीका कारण पनि एकदमै सफलता मिल्यो । 

यस पटकको सिजनमा जुनजुन हिमालमा सफल आरोण सम्भव भयो । यसमा क-कस्को भूमिका रहयो ?

यसमा पर्वातारोहण संचालक संघको समन्वमा सेभेन समिट ट्रेकले संगठित रूपमा जुन काम भयो, यसले नै सफलता दिलायो भनौँ । यसमा एकदमै अनुभवी शेर्पाहरूको पनि सहभागिता रहेको थियो । मनास्लुको बेसक्याम्पको मेनेजरमा पनि सेभेन समिट ट्रेकको तर्फबाट एकदमै अनुभवी र सगरमाथा आठ पटकसम्म सगरमाथा चढिसकेका टासी शेर्पालाई दिइएको थियो । बेसक्याम्प मेनेजरले मौसम र आफ्नो सम्पूर्ण टिमलाई संयोजन गरेर नै यो सफलता हासिल गर्न सम्भव भएको हो । 

यस पटकको सिजनमा सगरमाथा र लोत्सेमा किन सम्भव भएन र मनास्लु तथा धौलागिरिमा चाहिँ कसरी सम्भव भयो ?

हिमाल आरोहण सफल हुनका लागि फिक्सिङ टिम अनुभवी र सक्षम हुनुपर्छ । फिक्सिङ राखिसकेपछि मात्र विदेशी आरोहीले हिमाल चढ्ने हो । विदेशी कहिले पनि पहिला हिमाल चढ्दैन । सबैभन्दा पहिला चुचुरोमा पुग्ने भनेको शेर्पा नै हो । पहिला शेर्पाले रोप फिक्सिङ गर्‍यो भने मात्र विदेशीले हिमाल चढ्ने हो । सगरमाथा र लोत्सेमा यो सिजनमा फिक्सिङको लागि टिमवर्क नमिलेर असम्भव भएको जस्तो लाग्छ । टिमवर्क नमिल्दाको परिणाम ने हो यो कि एक महिनामा पनि क्याम्प १ खोल्न सकेन । 

के समयमा नै जिम्मेवारी नदिएका कारण यो असम्भव भएको हो ?

त्यो समयमा जिम्मेवारी नदिएका कारण पनि होला तर त्योभन्दा पनि त्यहाँ टिमर्वक मिलेन जस्ताे लाग्छ। त्यस कारण सगरमाथा र लोत्सेमा आरोहण गर्न आएका आरोहीहरूले हिमाल चढ्न पाएनन् । जस्तो : आइसको बाटो समयमा खोल्न सकेन । खोल्यो तर एकदमै ढिला खोल्यो । त्यो अरू कारणभन्दा पनि टिमर्वक नमिलेका कारण नै हो । हिमालमा काम गर्ने भनेको मौसम र टिमवर्क मिलाउन सक्यो भने मात्र काम हुन्छ । यो सबै काम सफल तुल्याउनका लागि उपयुक्त मेनेजरको आवश्यकता पर्छ । त्यसको अभावका कारण त्यो कार्य असम्भव भएजस्तो लाग्छ । 

पर्यटन मान्त्रलय र पर्यटन विभागले अन्तिम समयमा आएर मात्र रोपवे बिछ्याउनका लागि जिम्मेवारी दिने गरेको गुनासो आउने गरेको छ । यस पटक त्यस्तो भयाे कि भएन ?

तपाईंले एकदमै सही कुरा उठाउनुभयो । जे कुरा पनि समयमा गर्न सकिएन भने सफलता मिल्दैन नि ! अझ हिमाल आरोहण गर्नेजस्तो विषय त मौसमलाई हेरेर काम गर्नुपर्ने हुँदा समयको एकदमै महत्त्व हुने गर्छ । यो आरोहणको काम हरेक वर्ष र हरेक सिजनमा हुने काम हो । यसका लागि नेपाल सरकार पर्यटन मन्त्रालय, विभाग र पर्यटन व्यावसायी मिलेर समयमा नै फिक्सिङको कामको जिम्मेवारी दिनुपर्छ । समयमा नै जिम्मेवारी दिएर पनि सफलतापूर्वक काम सम्पन्न नगर्ने संस्थालाई कार्यवाही पनि गर्नुपर्छ । 

यो सिजनमा सगरमाथा र लोत्सेमा रोपवे बिछ्याउन नसकेको तर मनास्लु र धौलागिरिमा चाहिँ सफल आरोहण सम्भव हुन कुनकुन कुराले सहयोग गरेको हो ?

मनास्लुमा पनि समस्या नै आएन भन्ने कुरा सही होइन । धेरै खालका समस्या आए । सबैभन्दा ठूलो कुरा मौसम अनुकूल थिएन । त्यसका बाबजुद पनि यस पटकको आरोहण विगतको भन्दा एकदमै सफल भएको छ । मौसमको अवस्था हेर्दा यो सफलता नहुनुपर्ने हो तर टिमवर्क र समयमा निर्णय गर्न सकेका कारण सफल भएको हो । 

विगतका सिजनहरूमा सगरमाथा र लोत्सेमा बढी समूहहरू आउने गरेका भए पनि यस पटक किन मनास्लुमा धेरै टिम आएको जस्तो लाग्छ ?

विदेशी जता धेरै सफल आरोहणहरू हुने गरेका छन्, त्यतै हेरेर जान रुचाउने गर्छन् । हामीले अटम सिजनमा सगरमाथामा पनि सफल गरेर देखायौँ भने विदेशी आरोहीहरू आइहाल्छन् । यस पटक २०-३० जनालाई चढाउन सकियो भने अर्को सिजनमा अर्को २०-३० जना थपिन्छन् तर त्यस्तो वातावरण हामीले मिलाउनुपर्‍यो । 

यो वातावरण सरकार वा व्यावसायी कसले कसले निर्माण गर्ने हो ?

सबैभन्दा पहिला सरकारले समयमा व्यावसायीलाई काम गर्न दिनुपर्‍यो । व्यावसायीले पनि सरकारसँग समयमा नै सल्लाह लिनुपर्‍यो । यसमा कसैको कमजोरी भनेर दोष लगाउनुभन्दा कम्युनिकेसन राम्रो हुनपर्छ तर जाे हुन सकिरहेकाे भने छैन । 

सयममा काम नगर्दा अन्तिममा कामकाे जिम्मेवारी दिँदा सरकारी निकाय र व्यवसायी दुवैलाई फाइदा पुग्ने वा स्वार्थ मिलेका कारण जिम्मेवारी ढिला दिने प्रवृत्ति रहँदै आएकाे छ भन्ने आरोप छ नि ?

फाइदा बेफाइदा त आफ्नो ठाउँमा छ तर समयमा जिम्मेवारी नदिँदा समयमा डोरीलगायतका समानहरू नआउने, सहयोगी शेर्पाहरूको पनि सुनिश्चितता नहुने भयो । जो पायो त्यो शेर्पा पठाएर पनि हुँदैन । जो पायो त्यो शेर्पा गाइड पठाएर पनि हुँदैन । तर, त्यो जिम्मेवरी समयमा नै पायो भने यो सबै गर्न पाइन्छ । गुणस्तरीय सामग्रीदेखि जनशक्तिसम्मको राम्रो प्रबन्ध मिलाउन सकिन्छ । यसले गर्दा सफल आरोहणको सम्भावना बढी हुन्छ । अन्तिम समयमा काम गर्दा राम्रा मान्छेहरू अन्यत्र जान सक्छन् । राम्रो समान पनि  प्रयोग नहुने हुँदा गाह्रो हुने मात्र होइन, विभिन्न खालका समस्या आइरहेका छन् । 

राज्यले यो सिजनका लागि यो मितिभित्र योयो काम गरिसक्ने भनेर समयतालिका निर्धारण गर्न के कुराले छेकेको छ र हरेक सिजनमा यो समस्या आइरहन्छ ?

चाह्यो भने सरकारले नसक्ने कुरा होइन । तर किन गर्न तयार हुँदैन ? मैले पनि राम्रोसँग बुझ्न सकिरहेको छैन । हामी व्यवसायीले संयोजन गर्न नजानेको हो वा न सरकारका पदाधिकारीलाई बुझाउन नसकिएको वा उहाँहरूले व्यवस्थित गर्न नचोहको हो । धेरै वर्षदेखि यही समस्या छ तर समाधान भइरहेको छैन ।

दुर्घटना र ट्राफिक जामको समस्या पनि नेपाल सरकारले समयमा जिम्मेवारी नदिएका कारण भएको हो ?

ट्राफिक जाम भएर दुर्घटना भएको होइन । आरोहणमा हरेक सिजनमा मानिसहरू मर्ने गर्छन् । हजारौँ आरोहीमा एक दुई जनालाई त्यस्तो हुन सक्छ । त्यहो ट्रेकिङमा पनि त्यस्तो हुन सक्छ । अलिक ट्राफिक जाम भएको हो तर त्यसलाई अन्यथा लिनुहुँदैन । धेरै वर्षदेखि नै हिमालमा त्यस्तो भइरहेको छ । 

विगतमा भन्दा बढी नै प्रचार प्रसार भइरहेको छ नि ?

यो सोसल मिडियाका कारण बढी प्रचार प्रसार भएको मात्र हो । हिमालमा यस्ता घटना भइरहेको हुन्छ । मैले सगरमाथामा काम गर्न थालेको सन् २००२ बाट हो । त्यसयतादेखि दैनिक ६०-७० जना चढ्ने हो । हिजोआज पनि त्यही संख्यमा चढ्ने हो । दिनमा १०० जना चढेको अवस्था छैन । सोसल मिडियाका बारण बढी प्रचार प्रसार भएको हो । जस्तो : हरेक वर्ष मे महिनाको १०-१२ गते मात्र आरोहणको मिति सुनिश्चित हुन्छ । अप्रलिको अन्तिम साता वा मेको पहिलो साता नै सुनिश्चि गर्न सक्यो भने यस्ता समस्या कमी आउँछ ।

यसका लागि राज्यले कहिलेसम्म जिम्मेवारी दिइसक्नुपर्छ ? 

मेरो विचारमा त जनवरीभित्र नभए पनि फेब्रुअरीभित्र जिम्मेवारी दिइसक्ने परिपाटी बसालिनुपर्छ । त्यसपछि जसले जिम्मेवारी पाउने हो । त्यसले दुई महिनासम्म पूर्वतयारीको काम गर्न मानिसले पाउँछ । त्यो समयमा गुणस्तरको काम हुन सक्छ । हिमाल वा सगरमाथामा रोप फिक्सिङ गर्ने विषय सजिलो काम त होइन नि ! स्तरीय सामग्री कलेक्सन गर्न मानिसलाई दुई महिना समय दिइनुपर्छ । यदि यो काम गर्ने हो भने अहिले आएका समस्यालाई न्यूनीकरण गर्न सकिन्छ । फेरि पनि पूरै हटाउन भने सकिँदैन । 

हिमालमा दुर्घटनाचाहिँ शेर्पाले भनेको नमानेर वा शेर्पालाई हेपेर आफुखुसी गरेका कारण बढी हुन्छ भन्ने कुरा सही हो कि होइन ? 

त्यो एकदमै हुने गरेको छ । आरोहीहरूले शेर्पालाई पैसा तिरेको हुन्छ । उनीहरूले कसैको प्रायोजनमा वा ऋण लिएर आएका हुन्छन् । सबै आरोहीहरू  पैसा भएर हिमाल चढ्न आउने होइन । उनीहरूको सपना हो हिमालको सफल आरोहण गर्नु । जब हिमाल चढ्न थाल्छ, उनीहरूलाई स्वास्थ्यले साथ दिइरहेको हुँदैन तर पनि जसरी पनि चढ्नुुपर्छ भन्ने भावनाले काम गरिरहेको हुन्छ ।

त्यसबेला जीवनभन्दा सफल आरोहणलाई महत्त्वपूर्ण ठानकाे पाइन्छ । त्यही कारणले बढी दुर्घटना हुने गरेको छ । जुन शेर्पा, गाइड र मेनेजरले धेरै सुरक्षा दिन चाहेको हुन्छ तर कोही आरोही सारै जिद्दी हुन्छन् । मैले पैसा तिरेको छ, त्यस कारण मैले भनेको हुनुपर्छ भन्ने खालको प्रवृत्ति बढी हुन्छ । त्यस कारण पनि बढी दुर्घटना भएको हुने गरेको छ । 

जो कसैले हिमाल चढेको हो होइन भनेर देख्ने एक मात्र साक्षी शेर्पा हुन्, सरकारी निकायको कमजोरी कारण नचढेको मानिसलाई पनि चढ्यो भनेर शेर्पाले विभिन्न प्रलोभनमा भनिदिने प्रवृत्ति पछिल्लो समयमा बढ्दै गएको छ भनिन्छ नि ?

त्यस्तो हुने गरेको छ । हुँदै हुँदैन भन्ने होइन । विदेशी आरोहीहरूबाट त्यस्तो प्रस्ताव धेरै नै आउँछ । खासगरी कुनै समूह वा कम्पनीबेगर व्यक्तिगत रूपमा जानेहरूले यो कार्य बढी गर्ने गर्छन् । बेसक्याम्पमा बसेर चढेको भन्दैमा चढेको हुँदैन । चढेको हो कि होइन भनेर उसको फोटो र भिडियो हेर्नु पर्‍यो नि !  समूह, कम्पनी र शेर्पा गाइड भएकाले त त्यसो गर्न मिल्दै मिल्दैन । तर, कुनैकुनै मानसिले हामीलाई पनि झुकाउँछन् वा झुकाउन खोज्छन् । अथवा शेर्पा नलिई जानेहरू धेरैले ढाँट्ने गरेका छन् । मसँग पनि त्यस्तो परेको छ तर हामी फोटो हेरेर, भिडियो हेरेर प्रमाणित गरेर मात्र प्रमाणपत्र दिनका लागि सिफारिस गर्ने गरिएको छ । 

सरकारी सम्पर्क अधिकृतको सूचनाको स्रोत त शेर्पा नै हो नि ?

हो, शेर्पा नै हो । विगतमा त्यस्तो भयो होला अब त्यस्तो हुन सक्दैन । अहिले फोटो र भिडियो हुन्छ । भिडियो खिचिनँ, फोटो खिचिनँ भन्ने छुट कसैलाई छैन । सबैसँग क्यामेरा हुन्छ । त्यो नहेरी सिफरिस दिने कुरा पनि भएन । अहिले त भिडियो र फोटो नदेखाई सिफारिस गर्न पाइँदैन । अब झुक्याएर त्यो लिन सकिँदैन । पहिला पहिला लिए होलान् । 

तपाईंको नजरमा नेपालको आरोहण क्षेत्रका महत्त्वपूर्ण र सुधार गर्नै पर्ने ३ देखि ४ वटासम्म समस्या केके हुन् ? 

नेपालको हिमाल आरोहणमा दुर्घटना कम गर्नका लागि प्रत्येक आरोहीसँग एक जना शेर्पा गाइड अनिवार्य गरिनुपर्छ । शेर्पा गाइड नराखी पठाउने प्रवृत्तिका कारण धेरे समस्या ल्याउने हो । त्यसरी पठाउने एक-दुई कम्पनीका कारण सबै आरोहण क्षेत्र नै बदनाम हुन सक्छ । दोस्रो र महत्त्वपूर्ण कुरा फिक्सिङको कुरा समय तालिकाअनुसार समयमा नै जिम्मा लगाउने । यसले गर्दा ट्रफिक जाम र दुर्घटना कम हुन सक्छ ।

तेस्रो कुरा बजेट कम मात्र होइन, काम गर्ने सक्षम टिमलाई फिक्सिङको जिम्मा दिनुपर्छ । चौथो कुरा सरकारले खटाएको सम्पर्क अधिकृत सम्बन्धित क्षेत्रमा जानुपर्‍यो र वास्तविक सफल आरोहीलाई मात्र प्रमाणपत्र दिने काम गर्नुपर्‍यो । यति गर्न सकियो भने आरोहण क्षेत्रका समस्यालाई न्यूनीकरण गर्न सकिन्छ ।