धर्तीको सुललित गाथा नवराज लम्सालको 'धरा'

धर्तीको सुललित गाथा नवराज लम्सालको 'धरा'

प्रभाती किरण  |  दृष्टिकोण  |  कार्तिक ९, २०७६

डा. नवराज लम्साल नेपाली साहित्यमा सुपरिचित नाम हो । नेपाली साहित्यको मूलतः काव्य विधालाई आधार बनाएर निरन्तर साधना गरिरहेका डा. लम्सालका काव्यविधाका गद्य र पद्य गरी ६ वटा पुस्तकहरू प्रकाशित छन् । नेपालीमा विधा परिवर्तन गरीगरी लेख्नेहरूको जुलुस छ । एउटा विधामा पहिचान बनाउँदै गर्दा अर्कोमा हामफाल्नेहरूको भीडमा नवराज लम्साल निरन्तर कविता र काव्यमै क्रियाशील हुनुहुन्छ । उहाँ गीत लेख्नुहुन्छ, कविताका गद्यपद्य दुवै शैली रुचाउनुहुन्छ । उहाँले दुईवटा महाकाव्य प्रकाशन गरिसक्नुभएको छ । ‘कर्ण’ उहाँको सर्वाधिक चर्चित महाकाव्य हो । यो आलेखमा भने उहाँको पछिल्लो महाकाव्य ‘धरा’को चर्चा गरिएको छ ।

महाकाव्य थोरैले लेख्छन् । महाकाव्य लेख्न ठूलै साधना चाहिन्छ । लेख्न मात्र नभएर पढेर महाकाव्यको मर्म बुझ्न पनि ठूलै कसरत गर्नुपर्छ । आख्यान वा अझ भनौँ, कस्मेटिक उपन्यासहरूले जस्तो महाकाव्यले पाठक पनि भेट्दैन । उच्च बौद्धिक पाठकको अपेक्षा गर्ने महाकाव्य लेखन र पठन दुवै साधनाको विषय हो । त्यसैले पनि नेपालीमा महाकाव्य अन्य विधाका तुलनामा न्यून लेखिएको हुनुपर्छ । सीमित पाठकको पहुँचमा पुग्ने, पाठकमा पनि गुट र उपगुटका कारण कसको पढ्ने, कसको नपढ्नेजस्ता सङ्क्रमणका बीच महाकाव्य लेख्ने चुनौती अँगालेर डा. लम्सालले आफ्नो काव्यप्रतिको प्रेम प्रकट गर्नुभएको छ ।

धराको अर्थ धर्ती हो । यहाँ धराको रूपमा नेपाली धर्तीलाई उभ्याइएको छ । अनेक जात, धर्म, संस्कृति, प्रकृति, भूगोलको समष्टि रूप नेपाली धर्ती केही समयदेखि जात, क्षेत्र, सम्प्रदाय आदिको नाममा विभक्त हुँदै गएको छ । राजनीतिको आवरणमा राष्ट्रिय एकतामाथि धावा बोलिएको छ । यस्तोमा धरा महाकाव्यले देशको इतिहास, भूगोल, संस्कृति र प्रकृतिको मिहीन चर्चा गरेर यी सबैको समग्रता नै नेपाल भएकाले नेपाली हुनाको गर्व त्यतिखेर हुन्छ, जतिखेर अनेक पत्रहरू मिलेर सिंगो थुँगा बन्छ भन्ने सन्देश दिएको छ ।

एकले अर्कालाई वैरी नभएर सहयोगी सम्झने र हातेमालो गरेर अघि बढ्ने राष्ट्रिय स्वार्थलाई महत्त्व दिने देशलाई शिरमा राखेर देशभित्रका सम्पूर्ण जाति, धर्म तथा संस्कृतिको विकासमा प्रतिबद्ध भएर लाग्ने हो भने देश विकास सम्भव छ भन्नु नै महाकाव्यकारको उद्देश्य देखिन्छ ।

महाकाव्यको परम्परित मान्यतालाई तोड्दै गद्य र पद्य कविताहरूको पुञ्जबाट आफ्ना अभिव्यक्ति प्रस्तुत गर्दै डा. लम्साल आख्यानलाई भन्दा विचारलाई साध्यका रूपमा अघि सार्नुहुन्छ । निश्चित क्षेत्रलाई परिवेश बनाएर लेखिएको नभएर पूरै नेपाललाई नै परिवेश बनाइएको ‘धरा’भित्र सिंगो नेपालको तस्वीर उतार्नु यसको उल्लेख्य पक्ष हो ।

धोएर आँखा नरुने म देऊ
रोएर छाती नधुने म देऊ
छुनेहरूले नछुने म देऊ
मभित्र मेरै म हुने म देऊ ।

आपूmभित्रकै आफ्नो खोजी गरेर आरम्भ गरिएको धरा ४१५ पृष्ठसम्म फैलिएको छ । यसबीचमा आख्यानमा स्वैरकल्पना, प्रस्तुतिमा कालात्मक प्रयोग, केन्द्रमा देश र साधनका रूपमा कविताका सुन्दर पंक्तिहरूमा विषयको फैलिएको छ ।

त्यसो त सिंगो नेपाललाई विषय बनाएर जनार्दनशरण त्रिपाठीको ‘नेपालश्री’ बृहत्तर महाकाव्य प्रकाशन भएको छ । नेपाली प्रकृति र संस्कृतिलाई विषय बनाएर लेखिएको उक्त महाकाव्य वर्णनात्मक छ । धरा भने नेपाललाई केन्द्रमा राखेर लेखिएको देशभक्त कविको हृदयमा उठेका विचारका ज्वारभाटाहरूको निकाश हो । एउटै देशलाई धेरैमा विभक्त गरेर होइन, विभक्तहरूमा एकत्व खोज्नु नै धराको उद्देश्य हो ।

आज देश छाडेर विदेश जानेको ताँती साह्रै लामो छ । विदेश जानुको कारण देशको दुर्दशा, देशको अविकास र अभाव भन्नेहरूले देश र शासन व्यवस्था, धरा र शासक नबुझेकामा कवि मन खिन्न छ । राजनीति विकासका लागि हो, विनाशका लागि होइन । सम्भारका लागि हो संहारका लागि होइन । कवि लम्सालको यही चिन्तन धरामा प्रतिबिम्बित छ ।

आँखा हुनेले हेरेनन्
मान्छेले
खर्पन देखे, नोल देखेनन्
मान्दिर देखे, भगवान् देखेनन्
बुट्टा देखे, कला देखेनन्
आकृति देखे, अनुहार देखेनन्
चित्र देखे, चरित्र देखेनन्
मान्छे देखे, मन देखेनन्
ऐना देखे, आपूm देखेनन्
सत्ता देखे, कर्तव्य देखेनन् ।

महाकाव्य लेख्नु भनेको पाण्डित्य प्रदर्शन गर्न लेखिने कर्मकाण्डी लेखन होइन । यो विचारको शृङ्खलाबद्ध प्रस्तुति हो । विचार नै त्यो रत्न हो, जसले कविलाई पहिचान दिन्छ ।

नागरिकले देशलाई गरेको गाली यहाँको प्रकृति, भूगोल, कला, संस्कृति, जनजीवनलाई हो वा शासकलाई ? देशलाई हो भने देशले त्यो गाली सुन्दैन । सुन्यो भने के गथ्र्यो होला ? भन्ने चिन्तनले स्वैरकाल्पिनक आख्यान बुनिएको धरामा देशलाई पात्र बनाएर देशको वैशिष्ट्यको विवेचना गरिएको छ । विभिन्न झुन्ड बनाएर त्यसकै लागि लेख्ने, देश लेखेको नाममा कतै सिङ लेख्ने, कतै पुच्छर लेख्ने, कतै आङ लेख्ने, कतै गोडा लेख्ने तर पूर्णता नलेख्ने÷नदेख्ने जमातका विरुद्ध आएको कवि लम्सालको धराको महत्त्वपूर्ण पक्ष नै पूर्णतामा सम्पूर्णताको खोजी हो ।

महाकाव्यको पूर्वीय परम्पराभन्दा अलिक पर हटेर प्रयोगपरक लेखन रहेको धरा काव्यात्मक दृष्टिले विशिष्ट छ । पद्यमा केही लचकता अपनाइएको छ । गद्यमा आख्यान र कला सलल बगेको छ । चिन्तनको गहिराइ गद्यमा अझ सघन भएको छ ।

काठमाडौंले चिन्छ, चिन्दैन
स्वयं काठमाडौं र देशको अनुहार ?
चिन्छ, चिन्दैन
जंगल, चौर र चरिचरन
बाटो, पुल, कुलो र सिमसार
आफैँलाई घेराबन्दी गर्ने हरिया पहाड ?

धरामा समाकालीन समाजका पाखण्ड, बिब्ल्याँटा, शासकीय दासता, रोबोट जस्ता कार्यकर्ता, शासक र देश चिन्न नसक्ने जनता तथा ओठमा धर्ती जपेर व्यवहारमा यसकै बिलो बटुल्न लगाउने राजनीति सबैप्रति आक्रोश छ । व्यंग्य र विद्रोह छ । झिनो आख्यान, न्यून पात्र र प्रस्तुतिको सबल प्रवाहले धरालाई फराकिलो बनाएको छ । महाकाव्यको आकार ठूलो छ । बृहत्तर महाकाव्य भन्न सकिने धरामा जम्माजम्मी २६ वटा खण्ड छन् ।

‘आवाज’ भन्ने खण्डमा मधेस, पहाड र हिमालको आवाज राखिएको छ । यी खण्डमा त्यहाँको प्रकृति र संस्कृतिको मात्र नभएर अभाव र पीडाको कुरा उठाइएको छ । त्यस्तै, ‘अन्योल’, ‘मिलन’ जस्ता खण्डमा देश पढ्न हिँडेको कविले भोगेको अन्योलको वातावरणको चर्चा तथा अन्योलको बादल हटेर कसरी अघि बढ्ने भन्ने दृष्टिकोण दिइएको छ ।

राजधानीलाई मातातीर्थ, राजधानी, काठमाडौं, वसन्तपुर तथा प्रज्ञा खण्डहरूमा चित्रण गरिएको छ । अनेक बिम्बहरूको प्रयोग गरेर सत्तासुखमा रमाउनेहरूले बिर्सेको कर्तव्य सम्झाइएको छ । ‘अबको बाटो’ खण्डमा पुगेर कविले आफ्नो दृष्टिकोण निर्भीक भएर राख्नुभएको छ । अरूले जे गरे पनि आफू कर्तव्यबाट विमुख नहुने र आफ्नो जिम्मेवारी इमान्दार भएर निर्वाह गर्ने विचार अबको बाटो खण्डमा समेटिएको छ ।

नवराज लम्सालको ‘धरा’ दोस्रो महाकाव्य हो । महाकाव्य लेखनको यात्रामा ‘कर्ण’बाट उदाउनुभएका लम्साल ‘धरा’मा आउँदा मौलिक विषय, मौलिक शिल्प संयोजन तथा गहन विचारका साथ अभिव्यक्त हुनुभएको छ ।

महाकाव्य लेख्नु भनेको पाण्डित्य प्रदर्शन गर्न लेखिने कर्मकाण्डी लेखन होइन । यो विचारको शृङ्खलाबद्ध प्रस्तुति हो । विचार नै त्यो रत्न हो, जसले कविलाई पहिचान दिन्छ । धराबाट नेपाली कविताको धरातलमा आफ्नो विशिष्ट पहिचान बनाउन सफल डा. लम्सालको सिर्जना अझ जागोस्, अझ जुर्मुराओस् । निरन्तर साधनाका लागि कवि लम्साललाई शुभकामना ।