प्रा.डा. कृष्णहरि बराल: तन्नेरीदेखि वृद्धसम्मका प्रिय गीतकार

प्रा.डा. कृष्णहरि बराल: तन्नेरीदेखि वृद्धसम्मका प्रिय गीतकार

घनेन्द्र ओझा  |  अन्तर्मन्थन  |  कार्तिक ८, २०७६

‘यी हल्लाहरू हुन् तिमीले सुनेका’ होस् वा ‘के भूल भयो प्रिया’ अर्थात् ‘नाइँ नभन्नू ल’ नै किन नहोस्, ‘कुन देशकी परी हौ’ भन्नुहोस् वा ‘मर्ने कसैलाई रहर हुँदैन’ नै, यी गीत/गजल नसुन्ने र मन नपराउने नेपाली को होला र ?

हो, यिनै र यस्तै कालजयी, अजर अमर गीत/गजलका सर्जक हुनुहुन्छ प्रा.डा. कृष्णहरि बराल । सिन्धुलीको हतपतेमा मध्यमवर्गीय किसान परिवारमा जन्मिनुभएका बरालको व्यक्तिगत, पेशागत जीवन तथा साहित्यिक एवं समालोचकीय व्यक्तित्वका बारेमा यस पटक लोकसंवाद डटकमले उत्खनन् गरेको छ ।

जन्म, शिक्षा र बाल्यकाल

प्रा.डा. कृष्णहरि बरालको जन्म सिन्धुलीको हतपतेमा वि. सं. २०१० कात्तिकमा पिता खडानन्द बराल र माता पद्मकुमारी बरालका जेठो सन्तानका रूपमा भएको हो । घरको जेठो सन्तान, हजुरबा हजुरआमाको जेठो नाति, उसै पनि माया बढी नै पाउने गरिन्छ । परिवारमा निकै प्यारो गर्थे सबैले बराललाई ।

खान लाउन पुग्ने परिवार थियो उहाँको । ऊबेलामा बरालका हजुरबा आफैँ शास्त्र र उपनिषद् पढ्नुहुन्थ्यो, बुबा पनि साहित्य र शास्त्रमा रुचि राख्नुहुन्थ्यो । हजुरबा सधैँ बिहान उठ्नेबेलामा केही श्लोक पढ्नुहुन्थ्यो । प्रायः हजुरबासँगै सुत्ने बरालको बाल मस्तिष्कमा हजुरबाले पढेका श्लोकहरू यसरी पसे कि तिनै श्लोकको माधुर्यले बराललाई भविष्यमा प्रसिद्ध गीतकार बनायो ।

उसो त बुबाले लेखनाथ पौड्याललगायतका कविहरूका पद्य श्लोक पढिरहँदा बराल ध्यानपूर्वक सुन्नुहुन्थ्यो र आनन्द लिनुहुन्थ्यो । यो उहाँ स्कुल जानुअघिकै कुरा हो ।

बरालको गाउँमा अपर प्राइमरी स्कुल थियो– ५ कक्षासम्म पढाइ हुने । एक दिन बरालका बुबाले भन्नुभएछ, ‘भेडा हेर्न जान्छस् ?’

त्यसबेला त्यस गाउँमा ठूलै भेडा बथान हुनेरहेछन् । बरालले बालउत्सुकतापूर्वक जाने भन्नुभएछ । तर, बुबाले स्कुल लैजानुभएछ उहाँलाई । उहाँको भनाइमा अहिले सोच्दा लाग्छ रे ! ‘आखिर स्कुल जाऔँ भने पनि त म जाइहाल्थेँ । सायद बुबालाई म स्कुल भन्दा जान्नँ भन्ने लाग्यो’, बराल सम्झनुहुन्छ ।

घरमै शास्त्रका पुस्तक, साहित्यिक पुस्तक पढ्ने वातावरण त थियो नै, अझ स्कुल जान थालेपछि त उहाँमा पठन रुचि जाग्ने नै भयो । त्यसमाथि उहाँका स्कुलका गुरुहरू पनि उत्प्रेरक नै हुनुहुन्थ्यो ।

उहाँलाई सम्झना छ, एक कक्षा पढ्नेबेलामा उहाँका काकाले एउटा लोकगीत गाउनुहुन्थ्यो– ‘बस साहिँली घरैमा तिमी, जान्छु म त मलाया छाउनीमा ।’ यस्ता गीत काकाले गाइरहँदा बराललाई खुब आनन्द लाग्थ्यो बालापनमै । उक्त गीत एउटा रातो गाता भएको किताबमा थियो । उहाँले ख्याल गरिरहनुभएको रहेछ । पछि गीतकै अनुसन्धाता र गीतलेखनमै प्रसिद्धी कमाएपछि बरालले उक्त गीतबारे खोज्दा, बुझ्दा थाहा लाग्यो, उक्त गीत त केवलपुरे किसानको रहेछ ।

बालापन यसै रमाइलो । हरेकका आआफ्नै रुचि र स्वभाव भएझैँ बरालका पनि बाल्यकालका रुचि र स्वभाव आफ्नै किसिमका थिए । उहाँलाई बाल्यकालमा कमिला र मौरीसँग खेल्न खुब मनपथ्र्यो । कमिलाका गोलालाई जिस्क्याउने, एउटा गोलोबाट अर्को गोलोमा सारिदिने गर्नुहुन्थ्यो रे उहाँ । मौरीका घारलाई पनि चलाउने, मह काढेर खाने जस्ता ‘लीला’ उहाँले सम्झने बालापनका ‘चकचक’ हुन् ।

उसो त उहाँलाई बाल्यकालमा आफूमा थोरै परपीडक स्वभाव पनि रहेको बताउनुहुन्छ । उहाँका अनुसार बाल्यकालमा खेल्ने क्रममै उहाँले चोर कमिला र अन्य कमिलाबीच ‘भिडन्त’ गराउन फट्यांग्रा मारेर दुई कमिलाका गोलाबीचमा राखेर कमिलाबीच तानातान र भीडन्त गराउनुहुन्थ्यो रे ! ‘यस्तो सोच र व्यवहार अहिले सम्झँदा परपीडक हो कि भन्ने लाग्छ’, उहाँको छ दशकअघिको स्मरण पश्चात्तापमा पुग्यो ।

अँ, स्कुलमा भर्ना हुनुभयो, शिक्षकहरू हुनुहुन्थ्यो– भारतबाट आएका गुञ्जेश्वर, हरि घिमिरे र शिवहरि घिमिरे । उहाँहरूले नै ५ कक्षासम्मका विद्यार्थीलाई एउटै कक्षामा राखेर सबै विषय पढाउनुहुन्थ्यो । विक्रमको २०१० को दशकको मध्यतिरको कुरा हो यो । त्यसबेला शिक्षित व्यक्ति नै कति थिए होलान् र नेपालमा ? त्यसमाथि दुर्गम भेग सिन्धुलीमा । स्वाभाविक थियो उपलब्ध थोरै व्यक्तिबाटै धेरै विषय र धेरै विद्यार्थीलाई पढाउनु ।

स्कुले जीवन छुकछुके हुनु अनौठो होइन । हरेकजसोको स्कुले जीवन र बाल्यकाल केही न केही रूपमा चकचके, छुकछुके हुन्छ नै । बरालको पनि स्कुले जीवन छुकछुके नै रह्यो । स्कुल बिदा भएपछि बराल साथीहरूसँग लुकी डुम, कपर्दी जस्ता खेल खेल्न रुचाउनुहुन्थ्यो । स्कुलको छेउमा एउटा ठूलो शमिको रूख थियो । उक्त रूखका हाँगाहाँगामा बाँदरलेझैँ झण्डिएर लुबी डुम खेलेको सम्झँदा पनि अहिले उहाँको आङ सिरिङ्ग हुन्छ रे ! ‘पछि उक्त बडेमानको रूखलाई हेर्दा पनि म झस्किन्थेँ– कसरी त्योबेलामा त्यत्रो रूखमा झुत्ती खेलियो ?’, बराल सम्झनुहुन्छ ।

उहाँलाई रुचि लाग्ने अर्को खेल कपर्दी थियो । कपदी खेल्दा ठोक्किएर निधारमा लागेको ठाडो लामो ‘चिनो’ देखाउँदै भन्नुहुन्छ, ‘मेरो कपर्दीमोहको परिणाम हो यो ।’

बाल्यकालमा भैँसी चराएको स्मरण पनि छ बरालसँग । उहाँको माथि लेकमा र तल बेँसीमा जग्गा थियो । पुस–माघ महिनामा बेँसी कमलाखोँच झर्नुहुन्थ्यो परिवारसँग । अरूबेला भने बेँसीमा बस्न सकिँदैनथ्यो– औलोको डरले ।

बेँसीमा अर्थात् कमलाखोँचमा उहाँ भैँसी चराउन जानुहुन्थ्यो । भैँसीको ढाडमा चढेर चराउने चलन हुन्छ गाउँमा । उहाँ पनि ढाडमा चढेर भैँसी चराउनुहुन्थ्यो । तर, भैँसी आहाल बस्दा भैँसीको शरीरमा लागेको काउछो बरालका शरीरमा सरेर तनाव दिएको स्मरण उहाँमा ताजा रहेछ ।

अर्को स्मरण पनि छ उहाँसँग भैँसीका बारेको । गाउँभरका भैँसी चराउन ल्याइन्थ्यो । कहिलेकाहीँ भैँसीहरू भीडन्त गर्थे । त्यस्तो बेलामा उहाँको बाल मस्तिष्कले सोच्दोरहेछ, ‘मेरै भैँसीले जित्नुपर्छ ।’

आफ्नो भैँसीले हारेमा उहाँलाई खिन्न लाग्थ्यो रे !

बरालले सात कक्षा पढ्ने बेलासम्ममा रामायण, महाभारत, देवीभागवत जस्ता काव्य र शास्त्र पढिसक्नुभएको थियो रे ! उहाँले यस्ता काव्यमा रुचि राख्नुभएको देखेर उहाँका एक जना शिक्षकले भन्नुभएछ, ‘काव्यमा मात्र बढी ध्यान नदिनू, गद्य पढ्नू, काव्य मात्र पढ्दा अरू कुरा पढ्न मन लाग्दैन ।’ यसपछि बरालले अन्य साहित्य र पाठ्य सामग्री पनि पढ्न थालेको बताउनुहुन्छ ।

बरालका घरमा मादल थियो । उक्त मादल बजाउँदै काका तथा अन्य गाउँलेहरू लोकगीत खुब गाउँथे । एकादशीलगायतका पर्व र चाडमा भजन हुन्थ्यो । उहाँलाई सम्झना छ, त्यसबेला गाइने गीतहरू ।

‘सालघारीमा साल छ नारान बेलघारीमा बेल छ,
हामीसित जाने भए उडाई लाने रेल छ ।’

उहाँलाई लाग्छ, सायद यस्तै साहित्यिक/सांगीतिक माहोलले नै उहाँमा साहित्य र गीत संगीतप्रति आकर्षित गरेको हो ।

गाउँमा एक जना लोकबहादुर क्षेत्री हुनुहुन्थ्यो । उहाँ त्यस क्षेत्रमै भजन गाउन प्रख्यात । रातरातभर भजन गाएर नथाक्ने । अनि क्षेत्री आउने भनेपछि सारा मान्छे उर्लिएर उहाँको भजन सुन्न आउने । बराल पनि क्षेत्रीका भजन सुन्ने र पछि गाउने गर्न थाल्नुभयो ।

एक पटक राजा वीरेन्द्र सिन्धुली जाँदा लोकबहादुरले भजन गाएको सुनेर चकित परेको बराललाई सम्झना छ । 

उहाँलाई गीत सुन्न असाध्यै मनपर्ने तर त्यसबेला रेडियो नेपाबाहेक अन्य कुनै माध्यम थिएन गीत सुन्ने । कि त गाउँमै काका र अन्यले गाउने स्थानीय लोकगीत र भजन मात्र थिए ।

गाउँमा एक जना डा. मुरलीधरप्रसाद सिंह भन्ने व्यक्ति हुनुहुन्थ्यो । उहाँको घरमा रेडियो थियो । लामो बाँसमा एन्टेना राखेर सिंह विशेषगरी समाचार सुन्नुहुन्थ्यो । यता, बराललाई भने गीत सुन्ने हुटहुटी बढ्थ्यो । समाचार सकिएपछि पर्खिएर भए पनि बराल गीत सुन्नुहुन्थ्यो ।

पछि हरिदीप ढकालकहाँ अर्को त्योभन्दा ठूलो रेडियो ल्याइयो । त्यहाँ गएर पनि बरालले गीत सुन्नुहुन्थ्यो । ‘ममा गीतप्रतिको आकर्षण र रुचि साँच्चै बढेको रहेछ’, बराल सम्झनुहुन्छ ।

‘सुब्बा’ यसरी हुनुभयो ‘कृष्णहरि’

बराललाई घरमा ‘सुब्बा’ भनेर बोलाइन्थ्यो । ऊबेला सरकारी उच्च पद नै सुब्बा भन्ने लाग्थ्यो गाउँमा । शाखा अधिकृत त कहाँ हो कहाँ ठूला हुन्थे रे ! ‘सायद मलाई पनि सुब्बा बनोस् भनेर घरमा सुब्बा भनेर बोलाइन्थ्यो’, बराल सम्झनुहुन्छ ।

स्कुलमा भर्ना गर्ने क्रममा नाम के हो ? भन्दा ‘सुब्बा’ भनेपछि गुञ्जेश्वर गुरुले ‘यस्तो पनि नाम हुन्छ ? ल, कृष्णहरि लेख्ने’ भनेर कृष्णहरि नाम राखिदिनुभएछ । उहाँको नाम नै त्यसपछि कृष्णहरि रह्यो तर न्वारनको नाम भने फरक थियो ।

सात कक्षा पास गरेपछि बरालले ८ कक्षा पढ्न जनकपुर जानुपर्‍यो । काकासँग उहाँ हिँडेर महेन्द्रनगरसम्म जानुभयो । त्यहाँबाट मोटर चढ्नुभयो । उहाँले मोटर देखेको र चढेको पहिलोचोटि थियो ।

जनकपुरमा हिन्दीमा पढाइ हुने । नयाँ ठाउँ, बालापनमै रहनुभएका बराललाई दिक्दार लाग्ने नै भयो । गंगाधर भन्ने प्रधानाध्यापक हुनुहुन्थ्यो । उहाँले काकालाई कक्षा सातमै भर्ना गर्न सुझाउनुभयो तर काकाले कक्षा सात त पास गरिसकेको र आठ कक्षा पढाउन यहाँ ल्याएको बताउनुभयो ।

गंगाधरले ‘कक्षा चढाउन यहाँ ल्याएको कि पढाउन ?’ भनेपछि काकाले ‘पढाउन पनि र कक्षा चढाउन पनि’ भनेपछि प्रवेश परीक्षा लिइयो । परीक्षामा बराल पास हुनुभयो र कक्षा ८ मा भर्ना हुनुभयो ।

पहिलोचोटि घर छाडेको । नयाँ ठाउँमा गएको । परिवारको जेठो छोरो, जेठो नाति, पुल्पुलिएको, माया र ममता भरपूर पाएको बालक अचानक घर परिवारबाट टाढा हुँदा कस्तो होला ? ‘बडो नमज्जा लाग्थ्यो, घर परिवार नछाड्न पाए हुन्थ्यो जस्तो लाग्थ्यो’, बराल भन्नुहुन्छ, ‘वास्तवमा म आईए पढ्दासम्म घरबाट हिँड्दा धरधरी रुन्थेँ ।’

जनकपुर पुगेपछि बराललाई आश्चर्य लाग्यो– स्कुल निकै ठूलो, विद्यार्थी धेरै, हरेक विषयका शिक्षक फरक फरक । यस्तो लाग्नु स्वाभाविक पनि थियो किनभने उहाँ पढ्ने गाउँको स्कुलमा थोरै विद्यार्थी, सानो स्कुल र तीन जना शिक्षकले पाँच कक्षासम्मका सबै विषय पढाउने ।

उहाँलाई बीजगणित र ज्यामिती गाह्रो लाग्नेरहेछ । शिक्षकलाई सोध्दा उल्टै गाली गर्ने । घोकेरै पास गर्नुभयो रे गणित ।

२०२६ सालमा बरालले एसएलसी दिनुभयो । उहाँ एसएलसी दिएर घर फर्किनुभयो । न रेडियो, न त पत्रपत्रिका, एसएलसीको रिजल्ट थाहा पाउन गाह्रो ।

गंगाधर सरले नै बराल बस्नुभएको घरमा गएर एसएलसी पास गरेको र पाकिस्तानमा कृषि विषयका लागि प्लान आएको बताउनुभएछ । नौ कक्षादेखि नै कृषि विषय पढ्नुभएका बराललाई उक्त प्लानमा पठाउने सोच्नुभएको रहेछ गंगाधर सरले । यसका लागि नागरिकता बनाउनुपर्ने भएछ ।

नागरिकता बनाउन अधिकृतको सिफारिस चाहिनेरहेछ । ऊबेला अधिकृत भेट्नु चानचुने कुरै थिएन । कोही चिनेको अधिकृत पनि थिएन । उहाँका एक जना आफन्त सुब्बा हुनुहुँदोरहेछ । उहाँलाई भनेपछि अधिकृतको सिफारिस पाउनुभएछ ।

उक्त सिफारिस लिएर अंचलाधीशकहाँ जानुभएछ बराल । अंचलाधीशले सिफारिस गर्ने अधिकृतको नाम सोधेछन् । फसाद ! आफन्तले सही गराइदिएर ल्याएको सिफारिस, कसले सही गरेको भन्ने के थाहा बराललाई ? उहाँले आफूले नचिनेको र आफन्तले सही गराइदिएको, भोलिसम्म मात्र प्लानका लागि आवेदन गर्ने समय रहेको बताउनुभएछ अंचलाधीशलाई ।

अंचलाधीशले सिफारिसमा गरिएको अधिकृतको सही देखाएर त्यही सही हेरेर नाम भन्न भनेछन् । त्यो पनि संभव भएनछ । अन्ततः नागरिकता बनेन । बरालको पाकिस्तान गएर कृषि पढ्ने योजना पनि तुहियो ।

अब उच्चशिक्षाका लागि उहाँ जनकपुरकै आरआर अर्थात् रामस्वरूप रामसागर कलेजमा भर्ना हुनुभयो– अर्थशास्त्र, नेपाली र मनोविज्ञान विषयमा । बीएमा पुगेपछि भने उहाँले विषय परिवर्तन गरेर नेपाली, संस्कृति र राजनीतिशास्त्र पढ्नुभयो, कारण अर्थशास्त्रमा गणित पढ्नुपर्ने, उहाँ गणितमा कमजोर ।

जागिर : विद्यालय शिक्षकदेखि प्राध्यापकसम्म

२०३३ सालमा कृषि विकास बैंकमा फारम भर्नुभएको थियो बरालले जागिरका लागि । परीक्षा दिन काठमाडौं आउनुपर्ने भयो । तर, उहाा उत्तीर्ण हुनुभएन । यसपछि बद्री दाहाल भन्ने गाउँले आफन्त यहीँ जागिर खानुहुन्थ्यो । उहाँलाई भेट्न जानुभयो बराल । दाहाल गाउँभरमा आदर्श मानिने । आफैँ कमाएर पढेको भनेर सबैले सम्मानभाव व्यक्त गर्ने ।

‘बद्रीले के विषय पढेको ?’ भनेर सोधेपछि बरालले नेपालीमा बीए गरेको भन्नुयो । तत्कालै बद्रीले ‘स्कुल पढाउने ?’ भनेर सोध्नुभयो । जागिरको खोजीमा रहनुभएका बराललाई के चाहियो र !

बद्रीले तत्काल जिल्ला शिक्षा अधिकारीलाई फोन गर्नुभयो । भोलिपल्टबाटै बराल कीर्तिपुर हाईस्कुलमा निमावि पढाउने गरी हाजिर हुनुभयो । तर, उक्त स्कुलमा माविका लागि पढाउने शिक्षक बिरामी परेकाले माविको कक्षा पनि बरालले नै लिनुभयो ।

उहाँ सम्झनुहुन्छ, ‘नियुक्ति निमाविको भए पनि ८, ९ र १० कक्षालाई नेपाली र ६ र ७ कक्षालाई अंग्रेजी पढाएँ ।’

२०३६ सालसम्म त्यस स्कुलमा पढाएपछि शिक्षकका लागि स्थायी विज्ञापन खुल्यो । उहाँले माविमा भर्न चाहनुभयो तर दुर्भाग्य, माविका लागि कि त माविमै पढाइरहेको वा बीएड गरेको चाहिने भयो । उहाँको नियुक्ति निमावि थियो भने बीएड भर्ना भए पनि पूरा भएको थिएन ।

निमाविमै फारम भर्नुभयो बरालले ।

नाम निस्कियो । अन्तर्वार्तामा ‘बीए पासले किन निमावि भरेको ?’ भनेर सोधियो । बरालले यथार्थ बताउनुभयो ।
अन्तर्वार्तामा बसेका एक जनाले सोधे, ‘अलंकार भनेको के हो थाहा छ ?’

बरालले भनिदिनुभयो ।

त्यसपछि ‘छन्दबारे नि ?’ भनेर पुनः सोधे ।

बरालले एउटा शिखरिणी छन्दको कविता भन्दै छन्दबारे बताउनुभयो ।

ती व्यक्ति प्रभावित भएछन्, त्यहीँ रहेका ल्याबोरेटरी स्कुल, जुन त्यसबेलाको काठमाडौंका राम्रो स्कुलमा गनिन्थ्यो, त्यस स्कुलका प्रिन्सिपल भरत प्रधानसँग भेट्टाइदिए । कुरा मिल्यो तर कीर्तिपुर हाईस्कुलका प्रधानाध्यापकले मानेनछन् ।

भरत प्रधानले जिल्ला शिक्षा कार्यालयबाट बरालका नाममा नियुक्तिपत्र मगाएर बराललाई नियुक्ति दिनुभएछ ।
अब शिक्षण यात्रा ल्याबोरेटरीबाट सुरु हुने भयो बरालको ।

ल्याबोरेटरी स्कुलमा अत्यन्त व्यस्त हुनुपर्ने । बिहान ६ बजेदेखि बेलुकी १० बजेसम्म व्यस्त । यहीबीच नजिकै रहेको त्रिभुवन विश्वविद्यालयबाट एमए गर्ने सुर आएछ बराललाई । भर्ना हुनुभयो । पढ्न समय अत्यन्त कम पाइने । तर, राम्रै अंक ल्याएर एमए पूरा गर्नुभयो उहाँले । ‘७१.४ प्रतिशत ल्याएछु’, बराल भन्नुहुन्छ ।

थेसिस बाँकी थियो उहाँको । तर, उपकुलपतिले भनिदिए क्याम्पस पढाउन पाइने थियो । उहाँले उपकुलपतिका सल्लाहकारलाई भेटेर शिक्षाशास्त्र संकायतर्फ मिल्छ भने नियुक्ति दिन अनुरोध गर्नुभएछ । भाग्यको कुरा ठान्नुहुन्छ बराल, नियुक्ति पाउनुभएछ ।

अब ल्याबोरेटरीको स्थायी जागिर छाडेर कलेज पढाउने रनाहामा करारमा महेन्द्ररत्न क्याम्पस ताहाचलमा पढाउन थाल्नुभयो बरालले । ‘त्यो मेरा निम्ति निकै चुनौतीपूर्ण थियो’, बराल भन्नुहुन्छ, ‘स्थायी जागिर छाडेर कलेज पढाउन आएको थिएँ ।’ यो घटना २०४३ सालको हो ।

पछि २०५० सालमा मात्र उहाँले उपप्राध्यापकमा नाम निकालेर स्थायी हुनुभयो । यसपछि उहाँ त्रिविमा मानविकी पढाउन जानुभयो । सहप्राध्यापक भएपछि उहाँले गजलमा विद्यावारिधि गर्नुभयो । नेपालबाट गजलमा विद्यावारिधि गर्ने पहिलो व्यक्ति पनि बन्नुभयो बराल । त्यसपछि प्राध्यापक बन्नुभयो उहाँ । २०७३ सालमा उमेरहदका कारण अवकास पाउनुहुँदा बरालका अगाडि प्राध्यापक र डाक्टरसमेत थपिए, जुन उहाँका लामो प्राज्ञिक जीवनका गहना बनेर रहेका छन् ।

साहित्ययात्रा : कविताबाट गीत, गजल हुँदै कथातिर

बरालले पाँच कक्षामा पढ्दा कविता सुनाउनुपर्ने भयो । साथीहरूले हिन्दी गीत सुनाए, उहाँले भने ‘कारीको छेउमा कुर्ले ढुकुर कुर्लिन्छ, नेपाल जाँदा सुनकोसी उर्लिन्छ’ लेखेर सुनाउनुभयो । उहाँले नेपाल अर्थात् काठमाडौं जाँदा सुनकोसी तर्नुपर्ने र त्यसमा बाढी आउने सुन्नुभएको रहेछ, त्यही कुरा कवितामा लेख्नुभएछ । त्यो कविता मौलिक भएर प्रशंसित भएछ ।

बुबाले अंचल र जिल्लाका नाम घोक्न पनि कविता बनाउन सुझाव दिनुहुँदोरहेछ । विस्तारै उहाँमा कवि विकसित हुँदै गएछ ।

आफ्ना बुबा र गुरुहरूको प्रेरणाले उहाँले कविता, गीत लेख्न थाल्नुभयो । पछि कलेज पढ्न थालेपछि भने उहाँका कविता, गीतहरू प्रकाशन हुन थाले । जनकपुरमै पढ्दा उहाँको कविता ‘विपरीत व्यथाहरू’ छापियो ‘कर्मयुग’ पत्रिकामा, २०२७ सालमा । यो नै उहाँको पहिलो प्रकाशित रचना थियो । त्यसपछि २०३१ सालमा जनकपुरबाटै प्रकाशन हुने ‘उषा’ पत्रिकामा उहाँका दुई गीत छापिए ।

उहाँ त्यसबेलै हाँस्यव्यंग्य पनि लेख्नुहुन्थ्यो । जनकपुरमै छँदा राष्ट्रवादी विद्यार्थी मण्डलले प्रकाशन गर्ने पुस्तकका लागि भनेर क्याम्पस प्रमुखले रचना माग्नुभएछ बरालसँग । बरालले ‘म भक्त हुँ यो देशको’ भन्ने गीत दिनुभएछ । तर, त्यो छापिएनछ ।

पछि त्यही गीतले बराललाई नेपाली गीतिजगतका अजर अमर प्रतिभा बनाइदियो । (यसबारे तल उल्लेख छ)
उहाँ काठमाडौँ आउनुभयो २०३३ सालमा । जनकपुरबाटै उहाँले त्यसबेलाको रेडियो नेपालको चर्चित कार्यक्रम ‘प्रश्नोत्तरमा’ प्रश्नहरू पठाउनुहुन्थ्यो । फरमाइस कार्यक्रममा पनि उहाँको सक्रियता थियो ।

काठमाडौं आएका बेला उहाँलाई रेडियो नेपाल घुम्न जान मन लागेछ । प्रश्नोत्तर कार्यक्रम पाण्डव सुनुवार र देवी शर्माले संचालन गर्ने । पाण्डव सुनुवारले भेट्नेवित्तिकै ‘मित्र’ सम्बोधन गरेर रेडियो नेपाल घुमाउनुभएछ । सबैसँग परिचय गराउँदा सबैले ‘प्रश्नोत्तरमा भाग लिने कृष्णहरि’ भनेर चिनेछन् । खाजा पनि खुवाएछन् । उहाँ त्यो दृश्य सम्झँदै पुलकित हुनुभयो । भन्नुभयो, ‘म त पूरै चिनिइसकेको रहेछु ।’

पाण्डव सुनुवारले भन्नुभएछ, ‘धेरै भयो मित्र प्रश्नोत्तर नपठाएको ?’

बरालले आफूले गीत, व्यंग्य, गीतिकथा पनि लेखेको सुनाउनुभएछ ।

सुनुवारले पत्रमंजुषातिर देखाएर केही गीत त्यसमा छाड्न भन्नुभएछ । बरालले १० वटा गीत मंजुषामा हाल्नुभएछ ।

अनि चम्कियो भाग्य

पत्रमंजुषामा हालेका १० वटा गीतमध्ये बरालका ६ वटा गीत छनोट भएछन् । त्यसबेला रेडियो नेपाल एक मात्र माध्यम थियो, गीत रेकर्ड गर्ने र गीत बज्ने । तर, गीतहरू रेकर्ड हुन गीत पास हुनुपथ्र्यो । ६ वटा गीत एकेचोटि पास भएपछि त के चाहियो ?

बरालले ती गीतमा स्वीकृतिको छाप लगाएर जानुभयो । सुनुवारले संगीत गर्नका लागि संगीतकार चिनाइदिन्छु भनेर मदन दीपविमकहाँ लैजानुभयो । मदनले ‘म भक्त हुँ यो देशको’ गीत संगीत गर्नुभयो । पछि उक्त गीत गोकुल राईको संगीतमा पाण्डव सुनुवार र सुरेश श्रेष्ठका स्वरमा रेकर्ड भयो ।

उक्त गीत रेकर्डको पनि आफ्नै कथा छ । गीत रेकर्डका लागि स्टुडियो रिजर्भ त गरियो । पाण्डव सुनुवारको स्वरमा रेकर्ड गर्ने भनेर स्टुडियोको डेट लिइएको रहेछ । पछि सुरेश श्रेष्ठको स्वरमा गाउन तयारी भयो । श्रेष्ठले स्टुडियोमा गाउँदै गर्दा नातिकाजी आउनुभएछ र उक्त समय पाण्डवका लागि लिइएकाले सुरेशलाई गाउन नदिने बताउनुभएछ । त्यसपछि सुरेश र पाण्डव दुवैको स्वरमा उक्त गीत गाइएछ ।

त्यही गीत ‘म भक्त हुँ यो देशको’ नै बरालको पहिलो रेकर्डेड गीत बन्यो ।

रानी ऐश्वर्यले फरमाइस गरेपछि...

रानी ऐश्वर्यको जन्मदिनमा रानीले फरमाइस गरेका गीतहरू बजाइनेरहेछ त्यसबेला । संयोग भनौँ वा बरालको भाग्य नै, त्यहीबेला रानी ऐश्वर्यले बरालको ‘म भक्त हुँ यो देशको’ गीत पनि फरमाइस गरिछन् ।

‘त्यसपछि त दिनमै पटक पटक बज्न थाल्यो उक्त गीत’, बराल भन्नुहुन्छ, ‘म उसै चर्चित नहुने कुरै भएन ।’ यसो भनिरहँदा बरालको मुस्कान तेजिलो बन्यो ।

बरालको कविताकृति भूपी शेरचन प्राज्ञ हुँदा नै भूपीलाई भूमिका लेख्न दिइएको थियो । भूपी त्यहीबेला बिरामी पर्नुभयो । बराल र उहाँकी श्रीमती सुष्मा अस्पतालमै भूपीलाई भेट्न जानुभयो । भूपीले आफूले अस्वस्थताका कारण भूमिका लेख्न नसकेको बताउनुभयो ।

भूपी बित्नुभयो । बरालको पाण्डुलिपि पनि हरायो । तर, पछि रामशरण दर्नालले उक्त पाण्डुलिपि फेलापारेर बराललाइ दिनुभयो । अबचाहिँ उक्त कविताकृति प्रकाशन गर्ने बरालको सोच छ ।

उसो त बरालले केही कथाहरू पनि लेख्नुभएको छ । ती कथाहरूलाई पनि पुस्तकका रूपमा संगृहीत गर्ने बराल बताउनुहुन्छ ।

हिन्दी फिल्मले परिष्कार गर्‍यो गीतलेखन

८ कक्षा पढ्न उहाँ जनकपुर जानुभयो । जनकपुरमा हप्ता दिनमा नयाँ फिल्म लाग्ने । उहाँको हिन्दी फिल्म हेर्ने बानी नै परेको थियो । उहाँले ती फिल्मबाट धेरै कुरा सिकेको बताउनुहुन्छ । फिल्मले मान्छेलाई बिगार्छ भन्ने मान्यतामा उहाँ विश्वास गर्नुहुन्न । उहाँलाई त फिल्मले व्यक्तिलाई बरु परिष्कार गर्न पो मद्दत गर्छ भन्ने लाग्छ ।

यो उहाँको आफ्नै अनुभव हो । उहाँले जति पनि फिल्म हेर्नुभयो, ती फिल्मकै कारण आफ्नो गीत/संगीतप्रतिको चेत र शैली अनि विषयमा परिष्कार आएको बताउनुहुन्छ । ‘मैले हिन्दी फिल्मका गीतबाट संगीत र शब्दको विविधता र अन्य कुरा थाहा पाएँ र आफूलाई त्यहीअनुसार नयाँनयाँ कुरा दिन सक्षम बनाउनतिर लागेँ’, बराल भन्नुहुन्छ ।

उहाँले त्यही बेला पहिलो पटक फोटो खिचेको पनि स्मरण गर्नुहुन्छ ।

२०३३ सालमै उहाँ गोरखापत्र जानुभयो । एउटा कोठाबाहिर ‘दुर्गानाथ शर्मा’ देख्नुभयो । ढोका ढक्ढक्याउनुभयो । दुर्गानाथ शर्मा आउनुभयो भित्रबाट ।

बरालले आफूले व्यंग्य लेखेको भनेर ‘दाह्री’ शीर्षकको व्यंग्य दिनुभयो । शर्माले आफ्ना दाह्री देखाउँदै ‘यी मेरा पनि छन् दाह्री’ भनेर हाँस्नुभयो । र, भन्नुभयो, ‘मंसिरभित्र छापिए आयो भन्ने ठान्नू, नछापिए अस्वीकृत भएको बुझ्नू ।’

नभन्दै उक्त व्यंग्य छापियो ।

उहाँले यसबीचमा गीत नै बढी लेख्नुभयो । झण्डै एक हजार गीत लेखेको बराल बताउनुहुन्छ । तीमध्ये ७०० जति त रेकर्ड नै भएका छन् उहाँका गीतहरू ।

२०५० सालमै ‘एक फूल अनेक पत्र’ गीतसंग्रह छापियो उहाँको । एल्बमहरू पनि निकै आइसकेका छन् । निरन्तर गीत, गजललेखनमा बरालको समर्पण देखिन्छ ।

बरालले त्रिविमा मध्यमिककालीन कविता पढाउँदा गजल पनि पढाउनुपर्ने भयो । विस्तारै गजलप्रतिको अध्ययन बढ्न थाल्याे उहाँको । सँगसँगै गजललेखनप्रतिको आकर्षण पनि । उहाँले २०५० को दशकको सुरुदेखि गजल लेख्न थाल्नुभयो तथापि उहाँका गजल शैलीका रचना भने 'एक फूल अनेक पत्र' कृतिमा आइसकेका रहेछन् । पछि गजलमै उहाँले विद्यावारिधि पनि गर्नुभयो ।

‘बरालकी छोरी’ले डोहोर्‍यायो समालोचनामा

बराल एक पटक एक जना दिदीकहाँ जाँदा उहाँले भन्नुभएछ, ‘बरालजी, रूपमती उपन्यासमा त बरालपुत्री खराब हुन्छन् भनेर लेखिएको रहेछ नि !’

बराललाई त्यस उपन्यासबारे लेख्ने हुटहुटी जागेछ र लेख्नुभएछ, ‘रूपमती उपन्यासमा आधुनिकताको प्रश्न ।’ यो सन्दर्भ उहाँ भर्खर क्याम्पस पढाउन थाल्दाको रहेछ ।

उक्त समालोचना लिएर उहाँ मधुपर्क पत्रिकामा जानुभएछ । सम्पादकलाई आफूले क्याम्पस पढाउने र एउटा समालोचना लेखेको भनेपछि सम्पादकले क्याम्पस पढाउनेहरूले के छाप्नयोग्य लेख्छन् र ! भनेझैँ गरेछन् । त्यसपछि बरालले उक्त समालोचना सम्पादकलाई पढेरै सुनाउनुभएछ । त्यसपछि सम्पादकले ‘यस्तै भए त महिनैपिच्छे छाप्छु’ भनेछन् ।

तर, सम्पादकलाई उक्त समालोचना छाडेको २ वर्षपछि २०४६ सालमा मात्र छापिएछ ।

अहिले सम्झँदा भने बराललाई लाग्दोरहेछ, ‘उक्त समालोचनामा म रुद्रराज पाण्डे (उपन्यासकार)माथि अलिक बढी नै पो खनिएँ कि !’

यसपछि बरालको कलम समालोचनाका क्षेत्रमा पनि निरन्तर चलिरह्यो । आजपर्यन्त जारी छ ।

बरालका हालसम्म चार दर्जनबढी कृति प्रकाशन भइसकेका छन् ।

प्रा.डा. बराललाई मनपर्ने गीत/गजलहरू
आफ्नै

– प्रकाशराज रेग्मीको स्वर र बीबी अनुरागीको संगीतमा रहेको ‘थिए शिरमाथि हजार दुःख आफ्नै ।’
– महेश खड्काको संगीत र रजिना रिमालको स्वरमा रहेको ‘अरू कोही आऊन्, नआऊन्, म मर्ने बेला तिमी चैँ आउनू ।’
– गैरे सुरेशको संगीत र प्रेम परियारको स्वर रहेको ‘मर्ने कसैलाई रहर हुँदैन ।’
– रेखा पौडेलको संगीत र अञ्जु पन्तको स्वर रहेको ‘सानै हुरीमा पनि ।’
– वसन्त सापकोटाको संगीत र स्वरूपराज आचार्यको स्वर रहेको ‘पागल म बन्न सक्छु ।’

अरूका

– माधवप्रसाद घिमिरेको शब्द, नातिकाजीको संगीत र नारायणगोपालको स्वर रहेको ‘आजै र राती के देखेँ सपना ।’
– शिव अधिकारीको शब्द, नातिकाजीको संगीत र योगेश वैद्यको स्वर रहेको ‘सपना भुलाई सारा ।’
– गोपाल योञ्जनको शब्द, संगीत र किरण प्रधानको स्वर रहेको ‘भूल हो तेरो, भागी हिँड्नु ।’
– किरण खरेलको शब्द, जयदेवको संगीत र आशा भोसलेको स्वर रहेको ‘यो हो मेरो प्राणभन्दा प्यारो, माइतीघर ।’
– जनार्दन समको शब्द, तारादेवीको संगीत र स्वर रहेको ‘डोकाको नाम्लो, पोतेको दाम्लो भिरेर हुर्कियौँ ।’