महाकवि देवकोटाको १११ औँ जन्म जयन्तीमा प्रवचन एवम् कवितावाचन कार्यक्रमकाे आयाेजना

महाकवि देवकोटाको १११ औँ जन्म जयन्तीमा प्रवचन एवम् कवितावाचन कार्यक्रमकाे आयाेजना

लोकसंवाद संवाददाता  |  साहित्य  |  कार्तिक ९, २०७६

काठमाडौँ । नेपाल प्रज्ञा–प्रतिष्ठानले महाकवि लक्ष्मीप्रसाद देवकोटाको १११ औँ जन्म जयन्तीका अवसरमा ‘प्रवचन एवम् कवितावाचन कार्यक्रम’को आयोजना गरी मनाएकाे छ। काव्य विभागको संयोजनमा आयोजित कार्यक्रममा बोल्दै प्रज्ञा–प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले महाकवि लक्ष्मीप्रसाद देवकोटा स्रष्टा तथा द्रष्टा भएको बताउनुभयो । उहाँले भन्नुभयो– 'नेपाली साहित्यलाई आधुनिकतातर्फ अग्रसर गराउनमा महाकवि देवकोटाको महत्वपूर्ण भूमिका रहेको छ । उहाँले नै नेपाली साहित्यलाई अन्तर्राष्ट्रिय जगत्मा पुर्‍याउनुभयो । नेपाली साहित्यको समृद्धिको सपना देख्नुभयो ।'कुलपति उप्रेतीले महाकवि देवकोटाको मैतीदेवीस्थित ‘कविकुञ्ज’ घरलाई सङ्ग्रहालय बनाउने प्रक्रिया अन्तिम चरणमा पुगेको जानकारी दिनुभएकाे  थियो  । 

कार्यक्रमका सभापति प्रज्ञा–प्रतिष्ठानका पूर्व उपकुलपति प्रा.डा. वासुदेव त्रिपाठीले महाकवि लक्ष्मीप्रसाद देवकोटा विशिष्ट प्रतिभा भएको विचार व्यक्त गर्नुभयो । उहाँले नेपाली साहित्यमा महाकवि देवकोटाजस्तो प्रतिभा सायदै जन्मिने बताउनुभयो । त्रिपाठीले महाकवि देवकोटाको समग्र साहित्यिक व्यक्तित्व तथा कृतित्वमाथि गम्भीर विवेचना समेत गर्नुभएको थियो ।

प्रतिष्ठानका सदस्य सचिव प्राध्यापक जगत्प्रसाद उपाध्यायले नेपालको वैदिक आर्य–संस्कृतिलाई आत्मसात् गरेर साहित्य सिर्जना गर्ने महाकवि देवकोटा राष्ट्रवादी स्रष्टाका साथै मानवतावादी तथा क्रान्तिकारी स्वच्छन्दतावादी धारणका कवि भएको दाबी गर्नुभयो । सदस्य सचिव प्रा। उपाध्यायले देवकोटामा मृत्युबोध भएको आफूले पाएको उल्लेख गर्नुहुँदै देवकोटाले सोही कारण नै छोटो आयुमै डोकाका डोका साहित्य सिर्जना गर्न सकेको बताउनुभयो ।

प्रज्ञा–प्रतिष्ठानका काव्य विभाग प्रमुख तथा कार्यक्रमका संयोजक प्रा. डा.  हेमनाथ पौडेलले कार्यक्रमबारे प्रकाश पार्दै नेपाली साहित्यमा महाकवि देवकोटाको विशिष्ट स्थान रहेको जिकिर गर्नुभयो । प्रा. डा.  पौडेलले भन्नुभयो– 'नेपाली साहित्यका अद्वितीय प्रतिभा महाकवि देवकोटा नेपाली साहित्यका महारथि र नेपाल प्रज्ञा–प्रतिष्ठानका परिकल्पनाकारसमेत हुनुहुन्छ ।'

कार्यक्रममा प्रा।डा। दुर्गा अर्यालले महाकवि देवकोटाको जीवनी र साहित्यिक योगदानबारे प्रवचन दिँदै महाकवि लक्ष्मीप्रसाद देवकोटा साहित्य र शिक्षाजस्ता प्राज्ञिक कार्यका महाअभियन्ता भएको दाबी गर्नुभयो । उहाँले भन्नुभयो– 'महाकवि देवकोटा नेपाली साहित्यका सर्वश्रेष्ठ प्रतिभा हुनुहुन्छ । जसले उहिल्यै सीमान्तकृत वर्गका पक्षमा साहित्य सृजना गर्नुभएको थियो । म्हेन्दोमाया जस्ता कृति त्यसैका उदाहरण हुन् ।' देवकोटाका सबै कृतिमा विशिष्टता पाइने उहाँको दाबी थियो ।

कार्यक्रममा प्राज्ञ डा.  देवी नेपाल र गायिका लोचन भट्टराईले महाकविका एक एक ओटा कविता वाचन गर्नुभएको थियो भने कविहरू भुवनहरि सिग्देल, वासुदेव अधिकारी, फूलमान वल, टीका चाम्लिङ, रञ्जु दाहाल, अमृता स्मृति, भगवती बस्नेत, सुरेन्द्र लिम्बू परदेशी, जीतेन्द्र रसिक र शोभा दुलालले आ–आफ्ना कवितावाचन गर्नुभएको थियो ।  
कार्यक्रम कार्यक्रम तथा योजना महाशाखाका बुद्धि तिमिल्सिनाले सञ्चालन गर्नुभएको थियो ।