क्वाँटी जनवाद र हाम्रो भागको ‘प्रजातन्त्र’ दिवस

क्वाँटी जनवाद र  हाम्रो भागको ‘प्रजातन्त्र’ दिवस

हरि रोका  |  दृष्टिकोण  |  फाल्गुन ५, २०७५

बा, काकाहरू र दाजुहरू बिहान ७ बजे समाचार सुन्न दलानमा भेला हुन्थे । ‘यो रेडियो नेपाल हो, अब कृष्ण ताम्राकारबाट समाचार सुन्नुस् ।’ सबैका कान ठाडा हुन्थे । समाचार वाचिकाले यो बुलेटिनको समाचार समाप्त भयो नभनुन्जेल कोही चुइक्क बोल्दैनथ्यो । समाचार सकिएपछि सबै आ–आफ्ना कामका लागि बाटो लाग्थे । पञ्चायत शब्दसँग हामी परिचित थियौँ । गाउँको पहिलो प्रधान मेरा बा नै भएका थिए ।

रेडियोमा आक्कलझुक्कल पञ्चायतमा फरिया भिराइदिएझैँ ‘पञ्चायती प्रजातन्त्र’ भनिन्थ्यो । किन फुर्का जोडिन्थ्यो थाहा थिएन । त्यतिमात्र होइन, समाचारलाई महत्व दिएर किन सुनिन्थ्यो ? समाचार कति   बुझिन्थ्यो ? कसैले कसैलाई प्रश्न गर्दैनथे । सायद भनिदिने नभएर, सोधेर सानो होइन्छ भन्ने मानसिकताले वा सबै नबुझेपछि के सोध्ने भनेर पनि हुन सक्छ । 

हाम्रो गणनै थिएन । हामी स–साना स्कुले केटाकेटीका गणनामा थियाैँ । पुस १ गते संविधान दिवस र फागुन ७ गते प्रजातन्त्र दिवसका दिन स्कुल छुट्टी गर्ने चलन थियो । ति दिनका ७ बजे हामी पनि बासँग सार मिलाउन छेउछाउमा उभिएर साथ दिन्थ्यौँ । तर, किन छुट्टी हुन्छ ? के पर्व हो ? ‘ति दिन’ को महत्व के हो ? हामीलाई केही थाहा थिएन । बिदामा सरहरू के गर्थे, हामीलाई मतलव हुन्थेन । समाचार सकिएपछि हामी पनि कोही घाँसपातमा, कोही घर परिवारलाई सघाउन र कोही खेलकुदमा सामेल हुन्थ्यौँ । 

६९ औँ प्रजातन्त्र दिवस मनाउन लागेको यस घडीमा बालबालिकाको स्कुल छुट्टी हुनेछ । बा, काकाहरूका ठाँउमा हामीले रेडियो सुन्नेछौँ । एफएममा वाचक÷वाचिकाहरूले राष्ट्रपति र प्रधानमन्त्रीले परेवा उडाएको समाचार भट्याउने छन् । प्रधानमन्त्रीले विकासको मूल फुटेको चर्चा धुवाँधाररूपमा गर्ने छन् । हाम्रा ओठ सिइएका त छैनन् । तैपनि हामी पनि पूर्वजझैँ प्रतिक्रियाविहिन भई आ–आफ्नै काममा लाग्नेछौं । 

उमेर छिप्पिएर हाइस्कुल पढ्न थाल्दा एउटा साथीले अकस्मात मलाई सोध्यो, ‘तँ जनवादी होस् ? म त भएँ ।’ मैले पहिलो पटक ‘जनवाद’ सुनेको थिएँ । मैले सोधेँ, ‘जनवाद दिवस हो ? छुट्टी हुन्छ ?’ ऊसँग मेरो प्रश्नको जवाफ थिएन । त्योबेला छुट्टी नहुने जनवाद मेरो कामको जिनिस थिएन । केही दिनपछि जनवादीहरूले स्कुल सुधारका माग राखे र स्कुलमा हड्ताल गर्ने प्रयत्न गरे । हेडसरले पुलिस बोलाएर लखेटे । दुई विद्यार्थी रेस्टिकेट भए । स्कुलका हेडसरले हामीलाई भेला गरेर खुरुखुरु पढ्ने, पाठ बुझाउने र पास हुने आठ–दस थान अर्ती दिएर तर्साए । पहिलो नजिर रेस्टिकेट छँदै थियो । मेरा लागि ‘पञ्चायती प्रजातन्त्रका’ विरुद्धमा जनवादको पहिलो विद्रोहको पाठ थियो त्यो ।

कलेज पढ्न थालेपछि ‘प्रजातन्त्र’, ‘जनवाद’, ‘समाजवाद’ जस्ता शब्दका परिभाषा खोजिए । अनेकन अर्थ थाहा हुन थाले । खासगरी २०३५/०३६को आन्दोलनपछि ति शब्द सँगसँगै अरु शब्द पनि थपिए । जस्तो ‘बुर्जुवा प्रजातन्त्र’, ‘संसोधनवादी जनवाद’, ‘नौलो वा नयाँ जनवाद’, समाजवाद, फेवियन समाजवाद, साम्यवाद आदि । हरेक शब्दका परिभाषा आ–आफ्नै विशेषतामा आधारित थिए र त्यही परिभाषाअनुरूप विभाजित थिए युवाहरू । शब्दहरूको परिभाषा आ–आफ्नै किसिमले सिक्ने र बुझ्ने गरिएको थियो । शब्द र सिद्धान्तमाथि सामूहिक तथा सार्वजनिक छलफल र बहस हुन्थेनन् । अँध्यारोमा बस्नेहरूले उज्यालो हिँड्न खोज्नेहरूलाई पथप्रदर्शन गरिरहेका हुन्थे । आक्षेप जडिन्थे । एकले अर्कोलाई होच्याउँदा खुसी हुन्थे । शब्दलाई लिएर ग्याङफाइटसमेत हुन्थ्यो । अचम्म थियो हाम्रो प्रजातन्त्र र जनवादको अभ्यास । २०४६ सालमा आइपुग्दा केही शब्द अलि बढी परिभाषित भए । शब्दको एकल मोह त्याग गरेर अर्काले बोकेको शब्दको मान राख्न थालेपछि सहकार्य निम्तियो । र, हामी सबै संसदीय बुर्जुवा प्रजातन्त्रको पुनस्र्थापना गर्ने लडाइँमा सामेल भयौँ । प्रजातन्त्रको पुर्नःबहाली गर्यौं ।

बुर्जुवा प्रजातन्त्रको पुनस्र्थापनापछि पार्टीहरू प्रतिस्पर्धामा उत्रिए । आन्दोलनकारीमध्ये कांग्रेस र कम्युनिस्टबीच कित्ताकाट अभियान सुरु भयो । कांग्रेसका साथीहरू उदार बुर्जुवा प्रजातन्त्रको वकालतमै रमाए । हामी वामपन्थीहरूले ‘जनवादी प्रजातन्त्र’को वकालत गर्‍यौँ । तर, सोभियत संघको विघटन र पूर्वी युरोपको समाजवादी प्रणालीको पतनपछि सत्तारुढ कांग्रेस विश्व बैंक तथा अन्तर्राष्ट्रिय मुद्रा कोषले अभियानका रूपमा प्रवद्र्धन गरिरहेको नवउदारवाद सहितको बुर्जुवा प्रजातन्त्र अभियन्ता बन्न पुग्यो । त्यसको डेढ वर्ष नपुग्दै तत्कालीन एमाले बहुदलीय जनवादको नाममा नवउदारवादी बजारको पथिकका रूपमा बामे सर्न थाल्यो । मूलधारका कांग्रेस–एमाले दुवैले बजारवादी नवउदारवादलाई मार्गदर्शक सिद्धान्तका रूपमा व्यवहारमा अँगाल्न पुगे ।

हामीले युवा उमेरमा आइपुग्दा बुझेको प्रजातन्त्र शब्दको अर्थ बुर्जुवा प्रजातन्त्र थियो । बुर्जुवा प्रजातन्त्रमा बोल्ने, लेख्ने, संगठित हुने, पार्टी बनाउने, भोट दिने, लिनेलगायत अधिकार हुन्छ । तर, आम मानिसको आर्थिक प्रजातन्त्र अर्थात् आर्थिक अधिकार सीमित हुनपुग्छ भन्ने बुझेका थियौँ । ‘जनवादमा’ बुर्जुवा प्रजातन्त्रमा भएजस्तो बोल्ने, लेख्ने संगठित हुने अधिकारका अतिरिक्त जनताको आम सुरक्षाका निमित्त आर्थिक अधिकार पनि थपिएका हुन्छन् भन्ने आम बुझाई थियो, अर्को अर्थमा समानता सहितको प्रजातन्त्र । हाम्रो व्याख्यामा जनवादी प्रजातन्त्रमा बहुसंख्यक जनता सबै हिसावले शक्ति सम्पन्न हुन्छन् भन्ने थियो । हामी त्यही भएर जनवादी प्रजातन्त्रको पक्षमा थियौँ ।

संसदीय प्रजातन्त्रको पुनर्उत्थानपछि नेपाली कांग्रेस सत्तासीन भयो । उसले नवउदारवादी बजारमा आधारित व्यवस्था भित्र्यायो । यो प्रणालीले ‘आर्थिक प्रजातन्त्र’ संकुचित हुँदै गयो र केही मुठ्ठीभर मानिसहरूमा मात्र सीमित हुन पुग्यो । केही वर्ष नबित्दै मुख्य प्रतिपक्षमा रहेको नेकपा एमाले पनि सत्तारुढ हुन पुग्यो । बिस्तारै उसले पनि कांग्रेसले अख्तियार गरेकै नवउदारवादी नीति फरक नाराका साथ तर उही प्रणालीलाई निरन्तरता दियो । यसले गर्दा मुठ्ठीभर टाठाबाठाहरू शक्तिशाली बन्दै गए । निम्सराहरू पिल्सिँदै गए । मुठ्ठीभर भन्नाले, कथित जन प्रतिनिधि, पढेलेखेका सीमित बुद्धिजीवी, उद्यमी–व्यापारी, राजनीतिज्ञ तथा सफेदपोस कर्मचारीतन्त्र भन्ने बुझिन्छ । कांग्रेसको बुर्जुवा संसदीय व्यवस्थाका साथसाथै एमालेको क्वाँटी जनवादको विपक्षमा तत्कालीन नेकपा माओवादीले जनयुद्ध छेड्यो । एक दशक बित्दा नबित्दै बिसायो र सम्झौतामा पुग्यो । सम्झौतापछि मूलधारमा ऊ पनि सामेल भयो बिस्तारै बिस्तारै नवउदारवादलाई नै सिरान लाउन पुग्यो । कांग्रेस र एमालेसँगै ऊ पनि नवउदारवादी भोजमा सामेल भयो र जनताको आर्थिक प्रजातन्त्र गफमा सीमित हुन पुग्यो । एक वर्षअघिदेखि एमाले तथा माओवादी मिलेर नेकपा बनाए । सोहीकालदेखि नेकपा बहुमतको सरकारसहित सत्तारुढ भएको छ । तर, चरित्रगत हिसावले विगत र वर्तमानमा कुनै भिन्नता देखिएको छैन । राजनीतिक विश्लेषकहरू अहिलेको सरकार मुठ्ठीभरकै अधिनस्थ बन्न पुगेको बताइरहेका छन् । यसले मुलुकमा राजनीतिक तथा आर्थिक लगाम लगाइरहेको उनीहरूको भनाई छ ।

 प्रजातन्त्र स्थापित भएपछि सुख पाइन्छ भन्ने थियो । पुराना पण्डितहरूका ठाउँमा नयाँ

पण्डितहरू विराजमान भए । उनीहरू पुरानामै मिसिए । प्रजातन्त्रमा यस्तो हुन्छ भनियो । गिरिजाबाबुले बहुदल प्राप्तिपछिको आमसभामा ‘यो जीत प्रजातन्त्र जीतसँगै पञ्चहरूको पनि जीत’ भन्नुभएकोलाई आत्मसात गरिएको ठानियो । कांग्रेस पञ्चमा रूपान्तरित भए पनि कांग्रेस नै कहलिए । हाल नेकपाकाहरू कांग्रेसलाई विस्थापित गरेर सत्तासीन बन्न पुगेका छन् । उनीहरू कांग्रेसकै नवउदारवादी नीतिगत चास्नीमा समृद्धि र विकास खोजिरहेका छन् । आफू र आफ्नो परिवारको चौतर्फी विकास गरिरहेका छन् । उनीहरूले हालसम्म आफूलाई चास्नीसहितको कम्युनिस्ट भन्न रुचाइरहेको देखिन्छ ।  प्रतिपक्षले पनि हालको सरकारलाई कम्युनिस्टै भनेर हिलो छ्यापिरहेको छ । त्यसैले कम्युनिस्टको जात फाले पनि धेरै पछिसम्म यिनीहरू कम्युनिस्ट नै कहलिएलान् । जेहोस् ४६ सालपछि सत्तामा सामेल भएकाहरूबाहेक मुलुकमा अरु कसैको समृद्धि र विकास भएन र अब पनि हुने लक्षण कहीँ कतै देखिएको छैन । 

६९ औँ प्रजातन्त्र दिवस मनाउन लागेको यस घडीमा बालबालिकाको स्कुल छुट्टी हुनेछ । बा, काकाहरूका ठाँउमा हामीले रेडियो सुन्नेछौँ । एफएममा वाचक÷वाचिकाहरूले राष्ट्रपति र प्रधानमन्त्रीले परेवा उडाएको समाचार भट्याउने छन् । प्रधानमन्त्रीले विकासको मूल फुटेको चर्चा धुवाँधाररूपमा गर्ने छन् । हाम्रा ओठ सिइएका त छैनन् । तैपनि हामी पनि पूर्वजझैँ प्रतिक्रियाविहिन भई आ–आफ्नै काममा लाग्नेछौं ।