जुम्लामा  पञ्चेबाजा संरक्षणकाे लागि देउसीभैलो

जुम्लामा  पञ्चेबाजा संरक्षणकाे लागि देउसीभैलो

लोकसंवाद संवाददाता  |  पर्यटन  |  कार्तिक १३, २०७६

जुम्ला । जुम्लाको चन्दननाथ नगरपालिका–१० का युवाले पञ्चेबाजा संरक्षणका लागि देउसीभैलो खेलेको बताएका  छन् । उनीहरुले पञ्चेबाजासहित देउसीभैलो खेलेका थिए  ।

पछिल्लो समयमा पञ्चेबाजा लोह हुँदै जान थालेपछि देउसीभैलोसँगै पञ्चेबाजालाई जोड्न थालिएकाे स्थानीय युवा अगुवा लोकेन्द्र गिरीले  बताउनुभएको छ । युवाले पञ्चेबाजा पोशाकमा सजिएर देउसीभैलो खेलेका हुन् । पञ्चेबाजा पाँच बाजाहरूको समूह हो । पञ्चेबाजामा दमाहा, झ्याली, ट्याम्को, ढोलकी र सहनाइ पर्दछन् । पञ्चेबाजा नेपाली धार्मिक एवम सांस्कृतिक बाजाको रुपमा प्रयोग हुँदै आएको छ । 

पञ्चेबाजा जोगाउने अभियानमा गैरदलित युवा समावेश  छन् । घरदैलोमा पञ्चेबाजासहित देउसी टोली पुग्दा स्थानीय उत्साहित हुने गरेका छन् । यो बाजा विवाह, व्रतबन्ध, चाडबाड, जात्रा, रोपाइँ, पूजाआजा धार्मिक तथा सामाजिक उत्सवको बेलामा बजाउने गरिन्छ । नेपाली संस्कृतिमा कुनै ठूलो कार्य गर्दा साइतको महत्व हुन्छ । त्यस्ता साइतमा मङ्गलधुन बजाएर साइतलाई शुभ बनाउने चलन छ । मङ्गल धुन बजाउनका लागि पञ्चेबाजा सबैभन्दा प्रचलित बाजा हो । 'यो बाजाको संरक्षण गर्नु अहिलेको अपरिहार्यता हो', गिरीले भन्नुभयो । 

शहरी भेगमा आधुनिक ब्याण्डबाजासँग पञ्चेबाजाले प्रतिस्पर्धा गर्नुपरेको छ । पञ्चेबाजाको आफ्नै प्रकारको शैली र महत्व भए पनि पछिल्लो पुस्ता आधुनिकतातिर केन्द्रित हुन थालेपछि समस्या भएको हो । 'पञ्चेबाजाप्रति पछिल्लो पिँढीलाई जिम्मेवार बनाउन पहल थालिएको छ' उहाँले भन्नुभयो । पश्चिमा संस्कृतिको प्रभावले लोप हुने अवस्थामा पुगेको मौलिक पञ्चेबाजा जोगाउन यहाँका युवा जुटेका हुन् । गाउँघरमा पञ्चेबाजा बजाउने व्यक्ति भेटिन छाडेका छन् । 

बाह्रदेखि १८ जनासम्मको समूहमा मिलेर बाजा बजाइन्छ । मौलिक बाजा र संस्कृतिको जगेर्ना गर्न सबैले यसप्रति चासो देखाउनुपर्छ । पञ्चेबाजा बजाउनेलाई सम्मान नहुने भएकाले यस क्षेत्रबाट पुराना कलाकार विस्थापित भइरहेको यहाँका युवा बताउँछन् । चन्दननाथ–१० का युवाले नगरपालिका क्षेत्रका सबै बस्तीमा पञ्चेबाजासहित देउसीभैलो खेलेका थिए ।