दाङ जिल्लामा स‌धैँ रगतकाे अभाव !

दाङ जिल्लामा स‌धैँ रगतकाे अभाव !

लोकसंवाद संवाददाता  |  स्वास्थ्य  |  कार्तिक १३, २०७६

दाङ । दाङ घोराही र तुलसीपुर गरी दुई स्थानमा रक्तसञ्चार केन्द्र सञ्चालनममा रहेको भए पनि रगतकाे भने अभाव हुँदै आएको छ ।  जिल्लामा बढ्दो शहरीकरण, धमाधम स्वास्थ्य संस्था खुल्नु र दुर्घटना बढ्नुले पनि रगतको माग बढेकाले जिल्लामा सधैँजसो रगतको अभाव हुने गरेको छ । 

बिरामीलाई आवश्यक परेको समयमा तुरुन्तै रगत पाउने अवस्था अझै हुनसकेको छैन । रक्तसञ्चार केन्द्र दाङका अनुसार अझै २० प्रतिशत बिरामीले उनीहरुका आफन्तबाटै रगत लिनु पर्ने अवस्था छ । दैनिक १०/१५ युनिट रगत आवश्यक पर्ने जिल्लामा मासिक सरदर ३०० युनिट रगतको आवश्यकतापर्ने रक्तसञ्चार केन्द्रले जानकारी दिएको छ ।

तुलसीपुर र घोराहीका रक्तसञ्चारका लागि गत आर्थिक वर्ष २०७६/७७ मा दुई हजार ९६० जनाले रक्तदान गरेका थिए । तुलसीपुरमा ६४४ युनिट रगत सङ्कलन भएकोमा ६७३ युनिट रगत खपत भएको रक्तसञ्चार केन्द्र तुलसीपुरका नरेश चौधरीले बताउनुभयो । घोराहीमा दुई हजार ३१६ युनिट सङ्कलन भएको र त्यस मध्यमा २२ सय युनिट खपत भएको रक्तसञ्चार केन्द्र घोराहीका प्रमुख दिलीप न्यौपाने बताउनुभयो । घोराहीमा दुई हजार ३१६ युिनटमा एक हजार ८८० युनिट पुरुषबाट र महिलाबाट ४३६ युनिट सङ्कलन भएको उहाँको भनाइ छ । 

त्यसैगरी डाइलोसीस सेवा राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा शुरु भएको र दैनिक छ/सात युनिट रगत खपत हुने गरेको छ । रक्तसञ्चार केन्द्र तुलसीपुरमा फ्रिज सानो क्षमता भएकाले ६० युनिटभन्दा बढी भण्डार गर्न नमिल्ने भएकाले समस्या रहेको रक्तसञ्चार केन्द्रले जनाएको छ । 

त्यसैगरी दाङमा ८० प्रतिशत बिरामीले रक्तसञ्चार केन्द्रबाट रगत प्राप्त गर्ने गरेका छन् । 'जिल्लामा सबैभन्दा बढी ‘बि’ पोजेटिभ समूहको रगतको अभाव हुने गरेको छ ', केन्द्रका प्रमुख न्यौपानेले भन्नुभयो, 'दाङमा सिकलसेलका बिरामी धेरै भएकाले पनि उनीहरुलाई ‘बि’ पोजेटिभ रगत आवश्यक पर्ने भएकाले त्यसको अभाव हुने गरेको हो ।' 

त्यसैगरी घोराहीबाट राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, लमही अस्पताल र निजी अस्पताल दीपज्योति अस्पताल, गोर्खा अस्पताललगायतका जिल्लाका अस्पतालमा रगत खपत हुने गरेको छ । त्यसबाहेक जिल्लाबाहिर बुटवल र नेपालगञ्जका अस्पतालमा समेत कहिलेकाहीँ माग भएबमोजिम रगत पठाउने गरिएको उहाँले जानकारी दिनुभयो

तुलसीपुरमा राप्ती प्रादेशिक अस्पताल, राप्ती लाइफकेयर अस्पताल र तुलसी अस्पतालमा रगत खपत हुने गरेको छ । तर तुलसीपुरमा रगतको अभाव भए घोराहीबाट ल्याउने र घोराहीमा अभाव भए तुलसीपुरबाट पठाउने गरेको तुलसीपुरका इञ्चार्ज रेमन चौधरीले बताउनुभयो ।  

‘बि’ पोजटिभ रगत दाङमा अभाव हुने भएकाले माग पूर्ति गर्न जेसीज, रोटरी र रोट्र्याकलगायतका सङ्घ संस्थासँग समन्वय गरी व्यवस्था मिलाउने गरिएको चौधरीको भनाइ  छ ।  अन्य रगतभन्दा ‘ए’ र ‘बि’ नेगेटिभ र पोजेटिभ रगतका कहिलेकाहीँ समस्याले गर्दा शल्यक्रिया गर्दा समस्या हुने गरेको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरका स्त्री रोग विशेषज्ञ डा विनोद सिंहले बताउनुभयो । 

अन्य समूहको रगत पाइने भए पनि विशेष गरी ‘ए’ र ‘बि’ रगतको अभाव हुने गरेको डा सिंहले बताउनुभयो । ' हामीले जिल्लामा त्यस्तो किसिमको रगतको व्यवस्थापन गर्न पहल गर्दछौँ', उहाँले भन्नुभयो, 'तर व्यवस्थापन नभए बिरामीलाई जिल्ला बाहिर पठाउने गरिएको छ ।' रक्तदान गर्दा एउटा पुरुषले तीन महीनामा एक पटक र वर्षमा चार पटकसम्म र महिलाले वर्षमा तीन पटक चार महीनाको एक पटक रक्तदान गर्न मिल्ने रक्तसञ्चार केन्द्रले जानकारी दिएको छ ।