हजुरबा हजुरआमाका हातमा स्मार्ट फोन: विदेशमा रहेका सन्तान मौलिक संस्कृति बुझ्नबाट वंचित
कार्तिक १३, २०७६

'बिहान उठ्नेबित्तिकै अथवा दिनभरि कत्ति फोन चला'को ? यसले गरेर खाँदैन । २४सै घण्टा फोनमा झुन्डिन्छ' यो भनाइ अचेल हरेक घर परिवारमा सुनिने गर्छ ।

बुबा-आमा, हजुरबा-हजुरआमाका मुखबाट सुनिने यी वाक्यहरूभित्रको मर्म भने कमैले मात्र महसुस गरिरहेका छन् ।

अचेल बढ्दो नेपाली युवा जमात विदेसिएकाले सहज रूपमा आफ्ना बाआमालाई विदेश घुम्न बोलाउने चलन चलेको छ । छोराछोरीको प्रगति अथवा संघर्ष देख्न पाउने सुअवसर पनि हो यो वृद्ध बाआमाका लागि । कति बुबाआमाले 'स्वर्ग रहेछ नि छोराछोरी बसेको  देश ! शान्त पनि । कस्ता सफा र राम्रा बाटाघाटा, गगनचुम्बी महल, हराभरा शहरमा पनि' भन्नुभएको धेरै पटक सुन्न पाएको छु ।

देशअनुसारको भेष त गर्नै पर्‍यो ! छोराबुहारीको जिद्दीले अथवा बुबाआमालाई उनीहरूको इज्जतका लागि भए पनि भनेर
विदेशी जिन्स अनि टी सर्टमा आजको भोलि परिवर्तन हुनुपर्ने बाध्यता पनि छ ।

खासमा आजका युवायुवतीहरू दिनभर स्मार्ट फोनहरूमा पूर्णतया लिप्त छन् । विशेषगरी स्मार्ट फोनहरूले हाम्रो जीवनलाई केही हदसम्म सजिलो बनाइदिएका छन् । कतै जानुपरेमा बाटो देखाउने, मनोरंजनका सामग्रीहरू, विभिन्न खेलहरू खेल्न आदि इत्यादिका लागि स्मार्ट फोन उपयोगी छन् ।

बुढेसकालमा नातिनातिनाको मुख हेर्न अथवा पढाइ सकेपछि दीक्षान्त समारोहको अवसरमा विदेश भ्रमण जाने प्रचलन बढेको छ । विद्यार्थी भिसामा विदेसिनेहरूको औसत उमेर २० देखि २५ वर्ष हुने गरेको छ । आफ्नो उज्ज्वल भविष्यका बारेमा सोच्दासोच्दै विदेसिनुपर्दा साँच्चै भन्ने हो भने आफ्नो धर्म-संस्कृतिका बारेमा धेरै ज्ञान लिने अवसर मिलेको हुँदैन । झन् विदेश गएपछि त यो असंभव जस्तो नै हुन्छ ।

देश र परिस्थिति हेरी कतैकतै संभव होला । मठ, मन्दिर, गुम्बा, मस्जिद भेट्ने होइन भने त युट्युवमा भजन र अन्य धार्मिक प्रार्थना बजाएको भरमा नै चाडपर्व सकिन्छन् । पढाइ, काम, घरको ऋण अनि भविष्यमा कसरी सफल बन्ने भन्ने कुरामा नै बढी चिन्तित हुन्छन् विदेसिएका नेपाली ।

आफू नै विदेसिएको दशक नाघिसकेको पत्तो हुँदैन । जिन्दगीको सुनौलो उमेरमा विदेशी भूमिमा एक दशक बिताउँदा हामी खाग काटिएको गैँडा जस्तो हुन बाध्य छौँ । कला, संस्कृति, रहनसहन, पुराना चलन र परंपरा तथा रीति रिवाजप्रति हामी बेखबर छौँ । हामीले यसबीचमा केही ठूलो क्षति भोगिसकेका हुन्छौँ/छौँ तर हामी त्यसबाट पनि बेखबर छौ अर्थात् हामीले गुमाएकाे कुराको हामीलाई हेक्का नै छैन ।

आफैँले नजानेको कुरो हामीले भावी पिँढीलाई दिने कुरो नै भएन । जहाँ रहे पनि आफ्नो संस्कृति, पहिचान, पुर्खा, धर्मका बारेमा भाविष्यमा भावी पिँढीले सोध्ने प्रश्नले हामीलाई बारम्बार पिरोलिरहेको छ ।

कला, संस्कृति, रीतिरिवाज, सामाजिक चलन एक पुस्ताबाट अर्को पुस्तामा हस्तान्तरण हुने कुराहरू हो । आफैँ नै अल्पज्ञानी भएपछि भावी पुस्तालाई केके जवाफ दिने ? बुबाले म सानो हुँदा सुनाउनुभएका अकबर अनि वीरबलका कथाहरू साँच्चै पनि संदेशमूलक अनि नैतिक शिक्षा दिने खालका हुन्थे । हजुरबुबा म सानो हुँदा नै परलोक जानुभयो । धेरै लामो समय उहाँका यस्ता नैतिक सन्देशमूलक कथाहरू सुन्नबाट वंचित भएँ ।

बुबाले पढ्ने रामायण र गीताका श्लोकहरूले हामीलाई अनुशासित बन्न प्रेरित गर्थे । सबै धर्मको सार अरूको नराम्रो नगर्नू अनि समाजमा सबैको भलो र इज्जत गर्नु पर्छ भन्ने मैले बुझेको छु ।

विदेशमा बुबाआमा आएपछि दिनभर छोराबुहारी काममा जाने अनि वृद्धवृद्धाहरू समय बिताउन टेलिभिजन हेरेर दिन बिताउनुपर्ने हुन्छ । एक कोणबाट भन्ने हो भने वृद्ध हुँदै गएपछि पनि नयाँ प्रविधिसँग घुलमिल हुनु सकारात्मक पक्ष हो । अर्को कोणबाट भन्ने हो भने हामीले भोग्न र अनुभूत गर्न नपाएको संस्कृति, परम्परा, रीतिरिवाज बुझ्ने, जान्ने र महसुस गर्ने एउटा सुनौलो अवसरबाट वंचित पनि हुनु हो, किनभने हाम्रा वृद्ध बाआमासँग भएका अनन्त अनुभव, ज्ञान र नैतिक कथाहरू सुन्नबाट हामी व‌ंचित भइरहेका छौँ । यसलाई 'समुद्र नजिकै पुगेर पनि तिर्खाले छट्पटाएर हिँड्नु' जस्तै  हो भन्न सकिन्छ ।

६० वर्ष उमेर काट्नुभएका अभिभावकहरूको हातमा मोबाइल फोन देख्दा मनमा खुसी भएर आउँछ । अहिले फेसबुकमा उहाँहरूको साथी बन्ने आग्रह आउँदा मन खुसीले प्रसन्न हुन्छ । पहिले बाटोमा हिँड्दा उहाँहरूलाई देख्दा शिर निहुर्‍याएर २ हात जोडेर नमस्कार गरेपछि १०० मिटर पर पुग्दा पनि फर्केर हेर्ने आँट आउँदैथ्यो तर आज प्रविधिले साथी बनाइदियो । खुसी लाग्छ प्रविधिप्रति ।

फेसबुकमा ज्येष्ठ नागरिक सक्रिय छन् अहिले । धेरैका लागि यो उनीहरूको विदेशमा रहेका बच्चाहरू र नातिनातिनाहरूसँग सम्पर्क गर्नका लागि प्रमुख माध्यम देखिन्छ । फेसबुकमा फोटो र 'अपडेट'ले उनीहरूको परिवारका सदस्यहरूको जीवनसँग 'अप टु डेट' हुन सकेको छ । साथै, फेसबुक त्यस्तो स्थान हो, जहाँबाट अन्य मनोरन्जन र समाचारहरूमा सजिलै पहुँच हुन्छ । पर्याप्त प्रयोगकर्तामैत्री भएको र हजारौँ प्रयोगकर्ताहरूसँग सम्पर्क हुन सक्ने फेसबुक पुरानो पुस्ताका लागि  पनि आकर्षक हुनेछ।

हामी अहिले स्मार्ट फोनको लतमा छौँ । हाम्रो व्यवहार बदल्नका लागि अब प्रयास गर्नुपर्ने देखिन्छ । थोरै समय मात्र फोन र सामाजिक संजालमा दिएर अन्य समय सिर्जनशील काममा र सामाजिक कार्यमा खर्च गर्नु हामी सबैका लागि राम्रो हुन सक्छ ।

यसका फाइदासँगै नकारात्मक पाटा पनि धेरै छन् । पारिवारिक सदस्यहरूबीच दूरी बढाउँछ । प्रविधिको धेरै प्रयोगले थकित बनाउनुका साथै वैराग्य पनि महसुस गराउँछ । प्रविधिको प्रमुख बैगुन भनेको यसले व्यक्तिलाई स्वार्थी र एक्लो बनाउन प्रेरित गर्छ । यसको ज्वलन्त उदारहण हो- सेल्फी संस्कृति ।

वर्तमान अवस्थामा सामाजिक संजाल फेसबुकले वास्तवमा आफ्ना युवा प्रयोगकर्ताहरू गुमाउँदै छ तर बढीभन्दा बढी उमेरका मानिसहरू झुल्किरहेका छन् फेसबुकमा । युवा उमेर समूहका प्रयोगकर्ता भने अन्य सामाजिक संजालतिर तानिएका छन् । हामी किन आफ्नो फोनबाट यति मोहित हुन्छौँ ? हाम्रो आँखाबाट टाढा राख्न किन गाह्रो छ हाम्रा ग्याजेट, मोबाइल र ल्यापटपहरू ? कसरी यी चिजहरू हाम्रा लागि वास्तविक जीवनभन्दा बढी आकर्षक र रोचक भएका छन् ?

यी कठिन प्रश्नहरू हुन् तर यी प्रश्नका उत्तरहरूको पछाडि विज्ञान छ ।

तर, बच्चा र युवाहरू मात्र होइन, यसका कारणा हरेकजसोले एक्लोपनको पीडा सिर्जना गरिरहेका छन्। हो, युवायुवतीहरू भारी स्मार्ट फोन प्रयोगकर्ताहरू हुन् भन्ने प्रमाणको बाबजुद त्यहाँ अन्य उमेर समूहका मानिसहरू पनि स्मार्ट फोन र अन्य ग्याजेटको लतले ग्रस्त छन् भन्ने कुरामा सायदै दुई मत रहला ।

केही अनुसन्धानले मोबाइल फोनहरू प्रयोग गर्ने प्रयोगकर्ता तीब्र गतिमा बढ्दै गएको देखाएका छन् । यो सोच्दा आश्चर्य लाग्न सक्छ कि ज्येष्ठ नागरिकहरू आफ्ना नातिनातिनाहरू वा उनीहरूका बच्चाहरूजतिकै आफ्नो स्मार्ट फोन र उपकरणहरूसँग निकट छन्।

तर, जसरी इन्टरनेटको विस्तार भएको छ र सर्वव्यापी रूपमा फैलिएको छ, प्रायः सबैजसोसँग आज कुनै न कुनै प्रकारको स्मार्ट फोन छ। यसको बारम्बार प्रयोगले खतरा आउँछ तर विश्‍व यस विषयबारे बेमतलब देखिन्छ ।

विस्तृत अनुसन्धानले सुझाव दिन्छ कि स्मार्टफोनको लतको परिणाम भावनात्मक, सामाजिक र शारीरिक रूपमा पनि क्षति हुन सक्छ । समग्रमा हेर्दा यी  सबै समस्याहरूले समग्र जीवनस्तर खस्काउन सक्छ । यो भावनात्मक रूपमा हानिकारक हुन सक्छ ।

एकाकीपन वा सामाजिक समस्याहरू

मानिस सामाजिक प्राणी हो । समाजमा जोडिनु हाम्रो हितका लागि महत्त्वपूर्ण छ । जबकि सोसल मिडिया र इन्टरनेट हामीलाई जोड्ने माध्यम बनेका छन् । त्यहाँ आमनेसामने कुराकानीको विकल्प छैन तर लेखेर, बोलेर वा भिडियोद्वारा हामी आपसमा संवाद गर्न सक्छौँ । आज स्मार्ट फोन प्रयोगकर्ताहरू उनीहरूका उपकरणहरू जाँच्नका लागि वरपरका व्यक्तिहरूबाट उनीहरूका ध्यान बारम्बार तान्छन् । यसलाई 'टेक्नोफेरेन्स'को रूपमा जानिन्छ । यसले आपसी सम्बन्ध र पारिवारिक जीवनमा स्थायी नकारात्मक प्रभाव पार्न सक्छ ।

वयस्कहरूका लागि, जो एक्लै बस्न सक्छ वा युवा पुस्ताभन्दा बढी पृथक हुन सक्छ, यो विशेषगरी महत्त्वपूर्ण छ अरूहरूसँग व्यक्तिगत सामाजिक अन्तर्क्रियामा संलग्न हुन ।

सुरक्षा मुद्दाहरू

दुःखको कुरा, हाम्रो स्मार्ट फोन प्रयोगको बानीले हामीलाई वास्तविक खतरामा पार्न सक्छ । हाम्रो व्यक्तिगत सुरक्षा, गोपनीयता जस्ता कुराहरू हामीले स्मार्ट फोन र सामाजिक संजालकै कारणा गुमाउन सक्छौँ । हाम्रा हरेक सूचनाहरू संजालमा र फोनको डाटामा सुरक्षित हुने हुँदा जतिबेला पनि हाम्रो सुरक्षामा खतरा आउन सक्छ भने हाम्रो गोपनीयता भंग भइरहेको र अरूले गोप्य सूचना लिइरहेको हुन सक्छ ।

हामी अहिले स्मार्ट फोनको लतमा छौँ । हाम्रो व्यवहार बदल्नका लागि अब प्रयास गर्नुपर्ने देखिन्छ । थोरै समय मात्र फोन र सामाजिक संजालमा दिएर अन्य समय िसर्जनशील काममा र सामाजिक कार्यमा खर्च गर्नु हामी सबैका लागि राम्रो हुन सक्छ ।


लेखक फ्रान्समा बसोबास गर्नुहुन्छ र रक्तदान अभियान्ता हुनुहुन्छ