क्रिकेट : ज्ञानेन्द्रलाई दिइयो कप्तानी, उपकप्तान दीपेन्द्रलाई

क्रिकेट : ज्ञानेन्द्रलाई दिइयो कप्तानी, उपकप्तान दीपेन्द्रलाई

लोकसंवाद संवाददाता  |  खेलकुद  |  कार्तिक १३, २०७६

राष्ट्रिय क्रिकेट टिमको कप्तानको जिम्मेवारी ज्ञानेन्द्र मल्ललाई दिइएको छ । नेपाल क्रिकेट संघले यसअघि उपकप्तानको भूमिकामा रहेका ज्ञानेन्द्रलाई कप्तान बनाएको हो । युवा अलराउन्डर दीपेन्द्रसिंह ऐरीले उपकप्तानको जिम्मेवारी पाउनुभएको छ ।

पारस खड्काले असोज २८ मा कप्तानीबाट राजीनामा दिएपछि नेपाली क्रिकेटको सिनियर टिम कप्तानविहीन थियो । ज्ञानेन्द्रले यसअघि पारसको अनुस्थिति रहँदा विभिन्न समयमा राष्ट्रिय टिमको कप्तानी सम्हालिसक्नुभएको छ । उपकप्तानको हैसियतमा थुप्रै पटक राष्ट्रिय टिमको नेतृत्व गरिसक्नुभएको छ ज्ञानेन्द्रले ।

घरेलु क्रिकेटमा पनि ज्ञानेन्द्रले विभिन्न फ्रेन्चाइज टिमको नेतृत्व सम्हाल्दै आउनुभएको छ । ज्ञानेन्द्रकै कप्तानीमा ललितपुर प्याट्रियोट्स गत संस्करणको एभरेस्ट प्रिमियर लिग च्याम्पियन बनेको थियो ।

दीपेन्द्रले पनि उपकप्तानको अभिभारा सिंगापुर र जिम्बाब्वेविरुद्धको त्रिकोणात्मक सिरिज तथा ओमानविरुद्धको टी-२० सिरिजमा निर्वाह गरिसक्नुभएको थियो ।

यसअघि दीपेन्द्र यु- १९ टिमको कप्तान हुनुहुन्थ्यो । नोभेम्बर २०१७ मा यु- १९ एसिया कपमा भारतलाई १९ रनले पराजित गदैै ऐतिहासिक जीत निकाल्दा दीपेन्द्र नै कप्तान हुनुहुन्थ्यो भने गत वर्ष दीपेन्द्रकै कप्तानीमा सीवाईसी अत्तरियाले धनगढी प्रिमियर लिगको उपाधि जितेको थियो ।